Indo-Nepal Yoga Diplomacy

भारत-नेपाल योग कूटनीति

बुद्धिनारायण श्रेष्ठ

भारतबाट समय-समयमा विभिन्न वर्गका कूटनीतिज्ञहरू नेपाल आउने-जाने कुरो नौलो होइन । भारतीय ‘ट्रयाक वान्’ भन्दा ‘ट्रयाक टु’ कूटनीतिज्ञहरूले नेपाल भ्रमण गर्दा नेपाली जनमानसको कान ठाडो हुने गरेको जो कोहीले पनि अनुभव गरेका छन् । उदाहरणका निम्ति दिल्लीबाट ट्रयाक टु विज्ञ एसडी मुनि, jmेभी राजन, अशोक मेहता, श्यामशरणजस्ता नेपाल विज्ञ काठमाडौं आएर महानगर क्षेत्रका चार-पाँच घरदैलोभित्र पसी कुराकानी, खासखुस र कानेखुसी गरेपछि नेपालको राजनीतिक माहोल रङ्गीन हुने गर्छ । यसबाहेक सीताराम येचुरी, राजनाथ सिंह, डीपी त्रिपाठीजस्ता राजनीतिक फाँटका कूटनीतिज्ञ पनि नेपाल आउँदा उनीहरूले प्रशस्त चर्चा पाउने गरेका छन् । अहिलेको घडीमा योगगुरु स्वामी रामदेव ६ दिने योग शिविर सञ्चालनका लागि चैत १३ गते योग कूटनीतिज्ञका रूपमा काठमाडौं आउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कूटनीतिकस्तरमा जस्तै गरी प्रहरी, प्रशासन, राजनीतिज्ञ, एनआरएनका पूर्वअध्यक्ष तथा नेपाल योग साधकहरूले हार्दिक स्वागत गरे । उनी बसेको भाटभोटेनीस्थित निवास र उनी हिँड्ने रुटमा उनलाई महत्त्वपूर्ण व्यक्तिसरह विशेष सुरक्षा प्रदान गरिएको छ ।

स्वास्थ्य विज्ञानदेखि मनोविज्ञानसम्मका खानीको रूपमा रहनुभएका छिमेकी राष्ट्रका योगगुरुलाई स्वागत अभिवादन गर्नु नेपाली संस्कृतिभित्रकै कुरो हो । यसमा कसैले टिकाटिप्पणी गर्नु हुँदैन । यद्यपि विमानस्थलमा स्वागत गर्दा गुरुदेवलाई योग कूटनीतिज्ञका रूपमा आलंकारिक गरिएको थिएन । तर चैत १४ देखि जब राजधानीको टुँडिखेलमा योगाभ्यास सुरु भयो त्यसबेलादेखि स्वामीजी योग कूटनीतिज्ञका रूपमा पनि देखिन थालिएको कुरा नेपाली योग अभ्यासकर्ताहरूले आभास पाएका छन् ।

योगगुरु रामदेव काठमाडौं उत्रेकै दिन सन्तनिवासमा आयोजित एक कार्यक्रममा उहाँले उद्गार गरेका कुराबाट भारत-नेपाल मात्र होइन नेपाल-चीनसम्बन्धी कूटनीतिका कुरा पनि अभिव्यक्त भएको हुनाले योग कूटनीति भन्नैपर्ने देखिन आएको छ । यद्यपि दुई वर्षअघि नेपालमा सञ्चालित चारदिने योग शिविरमा यस्ता कूटनीतिका कुरा उहाँबाट व्यक्त भएको महसुस भएको थिएन । तर यसपटकको शिविरमा तथा अन्य कार्यक्रममा स्वामीजीले भारत-नेपाल सम्बन्ध, खुला सीमा, नेपाल-चीन सीमा व्यवस्थापन, भारत र चीनमा नेपालीलाई रोजगारी, सीमा सुरक्षा, धर्म निरपेक्ष मुलुक, भारतलाई बिजुली चाहिन्छ, नेपालमा बिजुली निकाल्न पानी छ भन्नेबारेमा प्रकाश पारेर कूटनीतिक कुरा पनि गर्न भ्याएका छन् । यसैगरी आध्यात्मिक योग अभ्यासका बीच-बीचमा केही राजनीतिका कुरा पनि छ्यास्सछुस्स भन्दै शिविरलाई हल्का मात्रामा राजनीतिमय पनि बनाउनुभएको छ ।

अब स्वामीजीको योग कूटनीतिको कुरातर्फ फर्कौं । भारत-नेपाल सम्बन्धमा दुवै देशबीच आत्मीय, पारिवारिक, धार्मिक, मैत्री र सांस्कृतिक सम्बन्ध रहेको तथ्य उनले उजागर गरेका छन् । हुन पनि हो- नेपालीहरू बद्री, हरिद्वार, हरिद्वारा, काशी, गायजी, जगन्नाथजस्ता धाममा तीर्थयात्रा गर्न भारत जान्छन् । यसैगरी भारतीयहरू पशुपतिनाथ, मुक्तिनाथ, बौद्धनाथजस्ता देवीदेवता दर्शन गर्न नेपाल भ्रमण गर्छन् । अर्कोतर्फ नेपाली छोरी भारतीय बुहारी भएका छन् भने भारतीय छोरो नेपालको ज्वाइँ र दुवै देशका बाबुआमा सम्धी-सम्धिनी रहेका छन् । यसरी दुवै मुलुकका जनताबीच एकआपसमा अपार स्नेह भए तापनि नेताहरूले यसलाई प्रदूषित पार्ने गरेको कुरा भन्न पनि स्वामीजी चुक्नुभएको छैन । यो एकदमै सत्य कुरा हो । सीधा-साधा जनस्तरको सम्बन्ध राजनीतिक नेताहरूले बेलामौकामा तोडमतोड गरेको अनुभव जनताले गरेका छन् । उदाहरणार्थ, भारतले नेपालमा २०४५ चैत १० देखि २०४७ असार १७ सम्म एकपक्षीय तरिकाले आर्थिक नाकाबन्दी गर्‍यो । दुवै देशबीचको २२ सीमा-नाकाबाट आवागमन मालसामान ओसार-पसार बन्द गरियो । यसमा सर्वसाधारण जनताको कुनै दोष थिएन ।

अर्को बुँदाको कुरा गरौं । स्वामीजीले भारत र नेपालबीचको विद्यमान खुला सीमा व्यवस्थाको पक्षमा वकालत गरेका छन् भने नेपाल-चीन सीमा पनि खुला गरेर देखाउन चीनलाई चुनौती दिएका छन् । उनी भन्छन्- ‘चीन नेपालसँग भारतभन्दा नजिकको छिमेकी हुने भए भारत र नेपालको जस्तै चीनले सिमाना खुला गरेर नेपालीहरूलाई बिनारोकटोक प्रवेश दिने हिम्मत देखाउनुपर्छ ।’ उनी अझ थप्छन्- ‘भारतमा करिब ५० लाख नेपालीले रोजगारी पाइरहेका छन् । चीनसँग हिम्मत भए ५० हजार नेपालीलाई मात्र चीन प्रवेश गराओस् । यदि चीन यसो गर्न असफल भएमा उसले नेपालमाथि स्वार्थपूर्ण नियन्त्रण गर्न खोजेको प्रस्ट हुन्छ ।’

यहाँ प्रश्न उठ्छ, अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनको मापदण्ड र विश्वमा फैलँदै गएको अन्तर-सीमा आतंककारी गतिविधिको परिप्रेक्ष्यमा स्वामीजीको उद्गार कति सार्थक र समसामयिक रहेको छ । भारत-नेपाल सीमा खुला रहेका कारण कतिपय कुरामा सुविधाजनक भएका होलान् । तर अन्य कतिपय बुँदामा खतराजन्य कुराहरू पनि आउँछन् । सिमाना खुला भएकाले दुवै देशका जनता आउन-जान सजिलो भएको छ । तर यहाँ बिर्सन नहुने कुरा के छ भने अन्तर्राष्ट्रियस्तरका आतंकवादी पनि अन्तर्राष्ट्रिय सिमाना सजिलै पार गरेर एक अर्को देशमा चलफिर गरिरहेका छन् । एक देशमा अपराध गर्छन् लुसुक्क खुला सीमा पार गरी लुकिछिपी बस्छन् । सीमाको एकातर्फ योजना बनाउँछन् अनि अर्कोतर्फ गएर विध्वंस मच्चाउँछन् । उदाहरणका निम्ति नेपालका सञ्चार उद्यमी जमिम शाहको हत्या २०६६ माघ २४ गते राजधानीको अतिव्यस्त सडकमा दिनदहाडै गरियो । हत्याको केही घन्टापछि हत्यारा अन्तर्राष्ट्रिय सिमाना पार गरी अर्को देशमा बेपत्ता

भए । यदि भारत-नेपाल सीमा नियमन गरिएको भए हत्यारालाई सीमा पार गर्दा नगर्दै पक्रन सकिने थियो कि । हालै एक उच्च अमेरिकी सैनिक अधिकारीले भारतका लागि खतरा बनेको लस्कर-ए तोइबा समूहले नेपालमा समेत दु्रत गतिमा प्रभाव विस्तार गरिरहेको दाबी अमेरिकी सिनेटमा गरेका छन् । उनले कतै नेपाल र भारतबीचको खुला सीमाका कारण तोइबा सञ्जाल नेपालमा पनि फैलन लागेको कुरा संकेत गर्न खोजेका त होइन ? हुन पनि राजधानीको ठमेल पर्यटकीय बजारमा गएर खोज्ने हो भने इराक, इरान, अफगानिस्तान, बंगलादेश, म्यानमारबाट बिनाप्रवेशाज्ञा आएका व्यक्ति भेटिन सकिन्छ ।

अब कुरो रह्यो नेपाल-चीन सीमाको । दुई देशबीच नियमन सीमा व्यवस्था रहेको छ । यसलाई खुला व्यवस्थापन पद्धतिमा परिणत गरे केही हुन्छ ? यो जिज्ञासापूर्ण रहेको छ । यसको सोझो जवाफचाहिँ अन्तर्राष्ट्रिय आतंकवादको सञ्जाल चीनमा समेत सुदृढ पार्न मद्दत पुर्‍याउनु हो भन्ने हुन सक्छ । यस्तो सञ्जालको ट्रान्जिट मुलुक नेपाल बन्न सक्ने सम्भावना रहन्छ भन्न पनि सकिन्छ । चीनले नेपालीलाई बिनारोकटोक प्रवेश दिने गरेमा नेपालीको वेशभूषामा अन्य देशका नागरिक पनि सजिलै चीन छिर्न सक्ने सम्भावना रहँदैन भन्न सकिँदैन । यसले चीनतर्फको शान्ति सुरक्षा अमनचैनमा खलबल पुर्‍याई नेपाल र चीनको प्रगाढ सम्बन्धमा आँच आउन सक्छ । यस क्रममा स्वामीजीले तेस्रो देशका कुरो नउठाउनुपर्ने थियो । यद्यपि उहाँको भनाइको घतलाग्दो अंशचाहिँ के छ भने नेपालीलाई चीनमा प्रशस्त मात्रामा रोजगारी दिइनुपर्छ । यसो हेर्दा कुरो ठीकै हो । छिमेकीको हैसियतले चीनले नेपालीलाई क्षमताअनुसारको रोजगारी दिनुपर्ने हो । नेपालीले

चिनियाँ भूमिमा रोजगारी पाए भारतमा भन्दा स्तरीय काम र धेरै पारिश्रमिक पाउन सक्ने थिए । छिमेकीलाई खुसी पार्ने र आफ्नो छायामा राख्ननिम्ति नेपाली

कामदारलाई निम्त्याउने अभिलाषा चीनलाई पनि थियो

होला । तर उनको आफ्नै भूमिमा अबौर्ैं जनसंख्या भएकाले आफ्नै नागरिकद्वारा श्रम पूर्ति भइरहेकाले छिमेकी देशबाट श्रमिक आपूर्ति आवश्यक नभएको हुनुपर्छ ।

योगगुरु रामदेवले उठाउनुभएको अर्को बुँदा हो सीमा सुरक्षा । उहाँका अनुसार नेपालीमाथि गहिरो विश्वास गरेका कारण भारतले आफ्नो आन्तरिकदेखि सीमा क्षेत्रको सुरक्षामा समेत ३० हजारभन्दा बढी नेपालीले भारतलाई सुरक्षा प्रदान गरिरहेको छ । यो कुरा पनि जायजै

हो । भारतले नेपालको सीमारेखामा ४५ हजारभन्दा बढी सशस्त्र सेना बल तैनाथ गरेको छ । एक किलोमिटरको दूरीमा सालाखाला २५ जवान सेनाबल रहेका छन् । सीमावर्ती क्षेत्रमा त्यस्ता सेनाका जवानले नेपालीमाथि ज्यादती गर्ने गरेका र नेपाली चेलीको हुर्मत लिने काम पनि बेलामौकामा गर्ने गरेका छन् । सुनौलीजस्तो नाकाबाट नेपाल र्फकने नेपालीबाट दुई-चार सय रुपैयाँ झारेर मात्र सीमापार गर्न दिनेजस्ता कार्य पनि भारतीय सेना बलले बेलाबखत गर्दै आएको सीमावर्ती नेपालीले भागेर आइरहेकै छन् । यसैले यी कुरामा पनि स्वामीजीले भारतीय पदाधिकारीसमक्ष प्रकाश पारिदिए सर्वसाधारण नेपालीले राहत पाउने थिए ।

धर्मका सम्बन्धमा मुलुक धर्म निरपेक्ष होस् वा नहोस् सबै धर्मलाई सम्मान गर्नु मुख्य कुरो हो भन्ने धारणा योगगुरुजीको रहेको स्पष्ट भएको छ । नेपालको भावी संविधानमा नेपाल धर्मनिरपेक्ष रहनेछ भन्ने मस्यौदा गरिएको परिप्रेक्ष्यमा केही समुदायले नेपाल हिन्दु राज्य रहने कुरा उल्लेख हुनुपर्छ भनी उठाइरहेको आवाजमा स्वामीजीको वाणीले आगोमा घिउ हालेजस्तो हुने हो कि गाग्राको पानी खनाएजस्तो हुने हो हेर्न बाँकी नै रहेको छ ।

भारतलाई बिजुली चाहिन्छ, नेपालमा बिजुली निकाल्न पानी छ भन्ने गुरु रामदेवको कुरो पनि तथ्यपरक नै हो । वास्तवमा भारतमा विद्युत् शक्तिको खाँचो छ । नेपालमा त्यसै बगेर गइरहेको पानी उपयोग गरी प्रशस्त विद्युत् उत्पादन गर्न सुझाव त्यसले नेपाललाई समृद्ध र शक्तिवान तुल्याउन सक्छ । तर यस सम्बन्धमा तीतो सत्यचाहिँ नेपाल आपै+mले धेरै बिजुली उत्पादन गर्न सकिरहेको अवस्था छैन । कदाचित नेपालले प्रशस्त मात्रामा उत्पादन गरेमा भारतले त्यसलाई कम मूल्यमा खरिद गर्न चाहन्छ । त्यसमाथि पनि भारतले उत्पादन गरिदिएको विद्युत् सिन्कीको मोलमा आपै+m लिने अभिलाषा राख्छ । नेपालको बिजुली र पानी नेपालीको हकहित नमर्ने गरी उचित मूल्यमा खरिद गर भनी भारतीय पदाधिकारीलाई योगाभ्यासको क्रममा स्वामीजीले कानमा मन्त्रणा गरिदिए नेपाल समृद्ध हुन सक्ने थियो ।

यो निकै खुसीको कुरा हो कि गुरुदेवले नेपाली राजनीतिक नेताहरूलाई पनि सतर्क तुल्याउनुभएको छ । योग शिविर शुभारम्भको पहिलो दिनमै स्वामी रामदेवले राजनीतिक नेतालाई बिझ्ने गरी प्रश्न गरे- ‘यहाँ पनि अति पोषणको सिकार ?’ त्यसको पुस्टयाइँ गर्दै गुरुजीले थपे- ‘धेरैजना अति पोषणको सिकार हुनुभएको रहेछ, अभ्यास गर्न गार्‍हो भएको होला । मोटाएको जीउमा रोगले घर बनाउँछ । सबै थोकले पुगे पनि निश्चित उमेर नाघेपछि मान्छेलाई स्वास्थ्यको चिन्ता सुरु हुन्छ ।’ यी वाणी यस पंक्तिकारलाई एकदमै चित्तबुझ्दो रहेको छ । स्वामीजीको लाक्षणिक अभिव्यक्तिले jmे बुझाउन सक्छ भने नेपाली नेताहरूले सरकारी ढुकुटीको धेरै अपव्यय गरेर उनीहरू मुद्रा कुपोषणका सिकार भएका छन् । यस्तो कुपोषण उपल्लो वर्गका धेरै नेतालाई भएको रहेछ । त्यसैले उनीहरूलाई जनस्तरको निम्ति वर्गसम्म जाने अभ्यास गर्न हिचकिचाहट पैदा भएको रहेछ । मुद्राको परिमाणले मोटाए पनि अझ सञ्चित गर्ने रोगले गाँज्ने गर्छ । लखपति नेतालाई करोडको रोगले छुन्छ र करोडपति निर्णयकर्ता पदाधिकारीलाई अर्बपतिको चाहनाले ग्रस्त बनाउँछ । यस सन्दर्भमा उनको सन्देशको भाव यस्तो पनि हुनसक्छ- खान लाउन पुग्ने निश्चित सम्पत्ति पुगेपछि अनैतिक कार्यले त्यसभन्दा माथि थुपारिएको सम्पत्तिले चिन्ता र चिताको बाटोमा डोर्‍याउँछ । नेपालीमा एउटा उखान पनि छ- ‘थोरै खाए बल, धेरै खाए

मल ।’ त्यसैले चाहिने मात्रामा मात्रै भोजन गर्ने बानी बसालेमा कुपोषणको सिकार हुन पर्दैन अथवा निणर्ायक पदमा पुगेका ठूला नेताले नियमावलीले दिने रकम मात्रै लिने गरेमा जनताको नजरबाट तिरस्कृत हुन पर्दैन भन्ने गुरुदेवको सन्देश समसामयिक रहेको मान्नुपर्छ । यिनै कुरा अंगीकार गरेमा हाम्रा नेताहरूले जनताको विश्वास जित्नेछन् र नेपाललाई समृद्धिको दिशातर्फ धकेल्नेछन् ।

दस वर्षसम्म भूमिगत रही सशस्त्र जनयुद्धको नेतृत्व गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बार्‍ह वर्षदेखि अन्न नखाएका योगगुरु रामदेवको योगशिविर सञ्चालनको तेस्रो दिन एकाबिहानै टुँडिखेलमा योगाभ्यासमा सरिक हुन पुगे । दुवै गुरु चेलाले एकै स्वरमा भने- ‘माओवाद र अध्यात्मवादको मिश्रणबाट राष्ट्रवादको जन्म हुन्छ ।’ यसपछि स्वामीजी एक्लैले भने- ‘राष्ट्रियता र स्वदेशी सामानको पक्षमा मेरो र उहाँहरूको कुरा मिल्छ ।’ निरंकुश राजतन्त्रविरुद्ध माओवादीले जंगलमा तालिम गरे, अब नेपालमा राजतन्त्र छैन । जंगलमा तालिम आवश्यक पनि छैन भन्ने कुराको सन्देश योगगुरुले माओवादीसमक्ष प्रवाहित गरे । यस्तै गुरुजीले खासगरी प्रचण्डलाई लक्ष्य गदर्ैै- ‘आत्मविजेता नै विश्वविजेता हुन्छ । आफ्नो शरीरलाई काबुमा राख्न नसक्नेले परिवार, समाज, पार्टी, संगठन र देशलाई हाँक्न सक्दैन ।’ भन्ने आध्यात्मिक धारणा हजारौं योग अभ्यासकर्तासमक्ष पोखे । अब नेपाली जनताले हेर्नेछन् गुरुजीको उक्तिअनुसार प्रचण्डले आफ्नो धेरै बोल्ने र जहाँ पनि आफै  भ्याउने बानीलाई काबुमा राख्न सक्छन् कि सक्दैनन् ?

%d bloggers like this: