Ungoverned Border and Terrorist Activities

कमजोर सीमासँग गाँसिएका गतिविधि

बुद्धिनारायण श्रेष्ठ

अमेरिकी परराष्ट्र मन्त्रालयअन्तर्गत ‘अफिस अफ द कोअर्डिनेटर फर काउन्टर टेरोरिज्म’ को २०६७ साउन २१ मा प्रकाशित आतंकवादसम्बन्धी वाषिर्क प्रतिवेदन-२००९ मा नेपाल अन्तर्राष्ट्रिय आतंकवादी समूहका लागि सुरक्षित स्थान नभए तापनि अतिवादी समूह भारत जाने पारवहन मार्गको रूपमा नेपाल प्रयोग हुन सक्ने बुँदा उल्लिखित छ । यसको पुस्ट्याइँमा मुख्यतः नेपाल-भारत सीमामा सरकारविहीनताका कारणले आतंककारी भेद्य चर्कन पुगेको कुरा उल्लेख गरिएको छ । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा कमजोरीका कारणले मामिला राँकिएको प्रसंग पनि कोट्याइएको छ । उदाहरणार्थ असार महिनामा लस्कर-ए-तोइवाका सदस्य मोहम्मद ओमार मदनी नेपालको बाटो भएर नयाँ दिल्लीतर्फ गएको उल्लेख छ ।यो प्रतिवेदनका सन्दर्भमा हाम्रो गृहमन्त्रालयले नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय आतंकवादीको सञ्जाल नरहेको विज्ञप्ति प्रकाशित गरेको छ । यसको पुस्ट्याइँका निम्ति नेपालको भूमिमा कुनै पनि प्रकारका अवाञ्छित र आतंककारी गतिविधि गर्न कसैलाई छुट छैन र कसैले गरे त्यस्ता समूहलाई कारबाही गर्न सरकार कटिबद्ध छ भन्ने कुरा विज्ञप्तिमा भनिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसनले तोकेको मापदण्डअनुसार सुरक्षा प्रबन्ध मिलाइएको कुरा पनि उल्लेख गरिएको छ तर नेपालमा आतंककारी गतिविधि बढ्दै गएको कुरा अमेरिकाले पहिले पनि उल्लेख गरेको थियो । ‘प्याटर्न अफ् ग्लोबल टेरोरिज्म-२००३’ प्रतिवेदनमा सीमित सरकारी अर्थतन्त्र, कमजोर सीमा नियन्त्रण र नाजुक सुरक्षा संयन्त्रका कारण नेपाल केही बाहिरी विद्रोही र अन्तर्राष्ट्रिय आतंककारीको आउजाउको थलो र हतियार ओसारपसारको माध्यम बनेको संकेत अमेरिकाले दिएको थियो ।

यस प्रसंगमा अमेरिकी प्रतिवेदन अतिरञ्जित हो या गृहमन्त्रालयको विज्ञप्ति ढाकछोप गर्ने प्रवृत्तिको हो भन्ने द्विविधा पर्न आएको छ । गृहमन्त्रालयले भनेअनुसार अमेरिकी प्रतिवेदन आधारहीन मान्ने हो भने नेपालबारे उसले किन यस्तो लेख्यो भन्ने प्रश्न उठ्छ । के उसले नेपाललाई आफ्नो छत्रछायाँमा पारिराख्न यस्तो लेखेको होला ? तर जानकार विश्लेषकहरू भन्छन् अमेरिकी भनाइ शतप्रतिशत तथ्यगत नभए पनि थुप्रै प्रतिशत सत्य हुन सक्छ ।

यस्तो सत्यताका लागि अमेरिकाले नेपाल-भारत खुला सीमाको हवाला दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थाको प्रसंग गाँसेको छ ।  आतंकवादी मोहम्मद ओमार मदनी नेपाल आए, खुला सीमापार गरी निर्धक्क भारत पसे । यसै सन्दर्भमा नेपालका लागि भारतीय राजदूत राकेश सूदले साउन ३१ गते राजधानीमा आयोजित एक कार्यक्रममा नेपालमा अस्थिरता जारी रहे आतंकवादीले भारतविरुद्ध नेपाली भूमि प्रयोग गर्न सक्छन् भनेका छन् । यसैगरी नेपालमा बढिरहेको माफिया डन दाउद इब्राहिमको व्यापारिक दखललाई रोक्नुपर्ने आवाज भारतीय नेताहरूले २०६१ भदौ २४ मै उठाएका थिए । यद्यपि नेपालको कुन क्षेत्रमा कसरी दाउदले व्यापारिक जालो बुनिरहेको छ भन्ने कुरा स्पष्ट रूपमा उल्लेख नगरिएको भनी त्यस बेलाका नेपाली पदाधिकारीले यस कुरालाई बेवास्ता गरेका थिए तर यस्तै कुरा फेरि ब्युँझिएको छ ।

यस्ता उदाहरणलाई पुस्ट्याइँ गर्ने कुरा हाम्रो ठमेलको पर्यटकीय बजारमा दुईचार घन्टा अध्ययन गर्दा प्रमाणित हुन पुग्छ । भारतसँग हाम्रो सीमा खुला र खुकुलो हुनाका कारणले इरानी, अफगानी, पाकिस्तानी नागरिकले भारत उत्तरप्रदेशको बासिन्दाका रूपमा सजिलै अन्तर्राष्ट्रिय खुला सीमापार गरिआएका छन् । बंगलादेशी व्यक्ति पश्चिमबंगालको भारतीय नागरिकका रूपमा नेपालमा भित्रिन्छन् । यसैगरी श्रीलंकाली भारत बिहार राज्यको बासिन्दा भएर र म्यानमारका नागरिक नेपाली भएर अन्तर्राष्ट्रिय सीमामा चलखेल गर्न सक्छन् । यी देशका नागरिकको लवाइखवाइ, वेशभूषा, रहनसहन, मुखाकृति भारतीय र नेपालीसँग मिल्दोजुल्दो रहेको छ । अन्तर्राष्ट्रिय सीमारेखामा भारतीय र नेपाली नागरिक बिनासोधपुछ ग्वारग्वार्ती आवतजावत गरिरहेका हुन्छन् ।

यस्ता अवाञ्छित तत्त्व त्यही हुलमा मिसिएर नेपाली र भारतीय बासिन्दाका रूपमा सजिलै सीमा वारपार हुन्छन् । अमेरिकी तथा युरोपेली व्यक्ति रूपरंगले टाढैबाट चिनिन्छन् र उनीहरूसँग राहदानी र प्रवेशाज्ञापत्र मागिन्छ ।

आतंकवादसम्बन्धी अमेरिकी वाषिर्क प्रतिवेदनमा नेपालको प्रसंग जोडिनुमा भारतीय विदेशमन्त्रीको भनाइले पनि पुस्टि गर्छ । विदेशमन्त्री प्रणव मुखर्जीले २०६३ कात्तिक ९ मा आतंकवादी एजेन्टले पाकिस्तान, जम्मु कश्मीर, दिल्ली र काठमाडौंसम्म पनि आफ्नो सञ्जाल फिँजाएका छन् भनेका थिए । यसबाट नेपाल आतंकवादीका लागि सुरक्षित स्थल होइन भन्न सकिने अवस्था छैन । नेपाल आतंकवादी घुसपैठ गर्ने थलो बन्दै गएको छ भन्ने प्रसंग अर्को कुराबाट पनि आँकलन गर्न सकिन्छ । नेपालको उत्तरी पहाडको डाँडाकाँडा, थुम्काथुम्की बौद्ध गुम्बाले भरिन लागिसक्यो, मनाङ-मुस्ताङ हेर्नोस् या ताप्लेजुङ । काठमाडौं खाल्डोभित्रकै थुम्काथुम्की हेरौं, विशाल गुम्बा ठडिएका छन् । किन र कसरी यी गुम्बा निर्माण भए ? के नेपालीको धनजनले मात्र यत्रो संख्यामा गुम्बा बन्न सक्छ ? यसबाहेक हाम्रो हिमाली भेगका बासिन्दा किन बौद्ध भिक्षु बन्दै छन् ? पश्चिमी मुलुकका नागरिक पनि हिमाली भेगमा धन खन्याउँदै किन गेरुवस्त्रधारी भिक्षु भएर बसेका छन् ? यसको जबाफ हुन सक्छ नेपालको उत्तरी सीमा चीनको स्वशासित प्रदेश तिब्बतसँग जोडिएको

छ । यसैले त्यसतर्फ गुम्बा बनेको होला । त्यहाँबाट बौद्ध भिक्षुका रूपमा चीन जानआउन सजिलो पर्छ । चिनियाँ सुरक्षाको आन्द्राभुँडी बुझ्न सजिलो हुन्छ ।

अर्कोतर्फ हाम्रो दक्षिणी मैदानी सीमावर्ती क्षेत्रमा बेपत्ता तरिकाले मदरसा विद्यालय खुलेका छन् । त्यही अनुपातमा मस्जिद निर्माण हुँदै

छन् । भारतको सोचाइ रहेको छ मदरसामा दिउँसो उर्दु र कुरान पढाउने शिक्षक रात परेपछि खुला सीमाबाट भारत छिरेर गडबड मच्ााउँछन्, आतंककारी गठबन्धन गर्छन् । मस्जिदमा नमाज पढ्न र पढाउन अफगानिस्तान र इरानदेखि आउने गर्छन् । उनीहरू शिक्षकको पनि शिक्षक हुन्छन् । सरकारलाई केही थाहापत्तो हुँदैन ।

अझै अर्को कुरा गरौं । तपाईं मैदानदेखि हिमालसम्मको भ्रमण जानुहोस् । यिसु खि्रस्टका सयौं चर्च देख्न सक्नुहुन्छ । त्यहाँ पिटर रामबहादुर र सिस्टर फुलमाया भेट्नुहुन्छ । उनीहरूले पादरीबाट मासिक पारिश्रमिक र मर्दापर्दा एकमुष्ट रकम पाउँछन् । छोराछोरी पढाउन सहुलियत प्रदान गरिएको छ । उनीहरू नेपाली संस्कृति र परम्पराबाट टाढिन्छन् र मरेपछि शव गाडिन्छ । यस्तो क्रियाकलापको परिणाम खोज्दै गए नेपालमा आतंकवादीको चलखेल छैन भन्न एकदमै मुस्किल हुन्छ ।

गृहमन्त्रालयचाहिँ आतंककारी गतिविधि गर्न कसैलाई छुट छैन भनी कागजी रूपमा डुक्रन्छ तर कार्यान्वयनमा यति फितलो छ कि दिनदहाडै आतंक मच्चाउन काठमाडौं खाल्डोमा मात्रै दस हजारभन्दा बढी साना हातहतियार प्वाल परेको सिमानाबाट अवैध तरिकाले भित्रिएको कुरा प्रहरी प्रशासनले नै स्विकारेको छ । अर्कोतर्फ विमानस्थलमा अन्तर्राष्ट्रियस्तरको सुरक्षा प्रबन्ध गरिएको छ भनिन्छ तर काठमाडौंबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण भई २०५६ पुस ९ मा अफगानिस्तानको कन्दहार पुर्‍याइएको घटनाक्रमको प्रसंगमा नेपालमा आतंककारीको चलखेल हुँदैन भन्ने कुरा मान्न भारत अझै हिच्किचाइरहेको छ । स्मरणीय छ विमान अपहरण काण्डपछि हवाइमार्गमा नियमन सीमा व्यवस्था अपनाइएको छ ।

यस्ता उदाहरणबाट नेपाल आतंकवादी आउनेजाने थलो हुनुमा नेपालको सीमा व्यवस्थापन गाँसिएको छ भन्न सकिन्छ । दक्षिणतर्फको खुला सीमालाई नियमन गरिएमा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि र गैरकानुनी चलखेल पचास प्रतिशत नियन्त्रण हुन सक्छ । सीमामा हुने अनैतिक क्रियाकलापबाट दुवै देशका सीमावर्ती बासिन्दा प्रभावित हुँदै आइरहेका छन् । सीमा व्यवस्थापनका मुख्य सरोकारवाला पनि उनीहरू नै हुन् । यसैले सीमारेखाको दुवैतर्फका नागरिक कसरी सुरक्षित हुन्छन् भन्ने कुरा हृदयंगम गरी दुवै सरकारले संयुक्त कदम चाल्नुपर्छ । यसै प्रसंगलाई लिएर राजदूत राकेश सूदले २०६६ जेठ ३० मा अपराधीहरूले दुई देशको स्वार्थविपरीत खुला सीमाबाट फाइदा नउठाऊन् भनी दुवै पक्ष मिलेर काम गर्नुपर्छ भनेका थिए । वास्तवमा नेपालमा कुनै पनि कारणले आतंक र अस्थिरता हुनु हुँदैन, त्यसो भएमा भारतलाई पनि असर पर्छ भन्ने कुरो उसले राम्ररी बुझेको छ । नेपालमा आतंकवादीको चलखेल नहोस् भन्ने भारत चाहन्छ ।

अर्कोतर्फ उत्तरको नियमन सीमालाई नियन्त्रण र व्यवस्थित गरिए आतंकवादी गतिविधि अझ कम हुन सक्छ । हाम्रो उत्तरी अध्यागमन र भन्सार चौकी सीमानाकाभन्दा दसौं किलोमिटरभित्र रहेकोले सीमामा पर्याप्त मात्रामा नियन्त्रण र निगरानी हुन सकेको छैन । हाम्रा सीमा प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर तथा राष्ट्रिय अनुसन्धानका अंगले कागजी घोडा नदौडाई कार्यगत रूपमा क्रियाशील कार्य गरे नेपालमा आतंककारी गतिविधि निस्तेज भई भारत र चीन नेपालप्रति आश्वस्त रहने थिए । यसैगरी नेपाल अन्तर्राष्ट्रिय आतंककारीको आउजाउ थलो हो भन्ने कुरा अर्को पटकको अमेरिकी प्रतिवेदनबाट हट्न सक्थ्यो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: