Border Business

कूटनीतिका कुरा

बुद्धिनारायण श्रेष्ठ

संविधानसभामा सातौं चरणको मतदानसम्ममा पनि प्रधानमन्त्री चयन हुन नसकी आपसी विश्वास दिन नसक्ने र लिन पनि नसक्ने नालायकीपनाले हाम्रा राजनीतिज्ञ कस्ता छन् भन्ने स्पष्ट भइसकेको छ । यसबाहेक एक व्यक्तिलाई पदासीन गर्न नेपालको अन्तरिम संविधानको धाराउपधारा रातारात संशोधन गर्न गराउन सक्ने पदाधिकारीले संविधान नियमावली संशोधन गरी प्रधानमन्त्री चयनको बाधाअड्चन फुकाउने भूमिका नखेली जागिरे व्यक्तिजस्तै नियमावलीको दफाअनुसार प्रधानमन्त्रीको निर्वाचनमा पराजित भएको घोषणा गर्छु भन्ने सुगारटाइ गर्ने राजनीतिज्ञ पनि हामीले चिनिसक्यौं । यसैबीच राष्ट्रसंघीय महासचिव बान कि मुनले सरकारको वैधतामा प्रश्न उठाएकाले अब हाम्रा कूटनीतिज्ञले केही गर्न सक्छन् कि ? त्यसैले उनीहरू को हुन् भनी चिन्नेतर्फ लागौं ।

यसबारे सबभन्दा पहिला कूटनीतिको परिभाषा गरौं । विद्वान्हरूका अनुसार कूटनीति भनेको सामान्यतया राष्ट्रहरूबीचको कुनै मामिलामा ‘उसले त्यसो भने म यसो भन्छु’ भनी समझदारी ठेगान लगाउने चालबाजीको शस्त्रअस्त्र हो । एउटा राष्ट्र कति मात्रामा स्वतन्त्र रहेको छ भन्ने कुरा अन्य देशले उसलाई दिएको कूटनीतिक मान्यताबाट पहिचान गरिन्छ । बिनाभिडन्त समाधानका उपाय पत्ता लगाउने कोसिस गरिन्छ । यस्तो कूटनीति परिचालन गर्ने दुइटा माध्यम छन्- पहिलो, कूटनीतिक व्यक्ति र दोस्रो, कूटनीतिज्ञ ।

कूटनीतिक व्यक्तिले पूर्ण औपचारिक तथा सरकारी कूटनीतिको काम गर्छ । उनले एक सरकारबाट अर्को सरकारतर्फको निर्णयकर्तासमक्ष सीधा सम्पर्क राख्ने गर्छन् । राजदूतजस्तो कूटनीतिकले राष्ट्रको औपचारिक प्रतिनिधिका रूपमा अन्य सरकारसँग सम्बन्ध विकास गर्ने भूमिकासमेत निर्वाह गर्छ । यस्ता व्यक्तिलाई ‘ट्रयाक-वान डिप्लोम्याट’ पनि भन्ने गरिन्छ । यस्तो वर्गीकरणभित्र परराष्ट्र सेवाका पदाधिकारीहरू, विदेशमा रहेका मिसन तथा दूतावासका अधिकारीहरू पर्छन् ।

अर्कोतर्फ कूटनीतिज्ञ भन्नाले अनौपचारिक तरिकाले दुई देशबीचको मामिला ठेगान लगाउने अथवा औपचारिक प्रक्रियाभन्दा बाहिर रहेर वैयक्तिक या समूहमा अन्तरक्रिया, भेटघाट र छलफलद्वारा समस्या छिनोफानो गर्ने काममा योगदान पुर्‍याउने व्यक्ति बुझिन्छ । यस्ता व्यक्तिविशेषलाई ‘ट्रयाक-टु डिप्लोम्याट’ भन्ने प्रचलन पनि रहेको छ । यिनीहरू गैरसरकारी, पूर्वसरकारी, सार्वजनिक ख्यातिप्राप्त, शैक्षिक विद्वान्, नागरिक समाजका विचार विश्लेषक आदि हुन सक्छन् । यस्ता व्यक्ति विवाद समाधानमा खप्पिस, चालबाजीमा पोख्त, कुराकानीमा भिड्न सक्ने, वार्तालापमा दाउपेच लगाउन सक्ने, गुप्तचाल जान्ने, विचारविमर्शमा तर्क प्रस्तुत गर्न जान्ने स्वभावको हुनुपर्छ । यस्तो गुण भएका हाम्रा कूटनीतिज्ञ को हुन् त ?

यस कुरालाई एकैछिन थाति राखेर हाम्रा कूटनीतिक व्यक्तिले खासरूपमा कूटनीतिज्ञको काम गर्न सकेका छन् छैनन् भन्ने कुरातर्फ लागौं । वास्तवमा कूटनीतिक व्यक्ति अनेक प्रकारको औपचारिक र प्रशासनिक काममा अल्भिmरहनुपर्ने भएकाले उनीहरूले कूटनीतिज्ञको काम गर्न सकेको पाइँदैन । परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको समय एमआरपीे छपाइजस्ता कुरामा रुमल्लिरहनुपर्दा, मन्त्री प्रधानमन्त्रीको विदेश भ्रमणको चोसोमोसो मिलाउन समय खर्चिनुपर्दा र मन्त्री महोदयका दिनको दुई-तीन कार्यक्रममा बोल्ने भाषणको मस्यौदा तयार गर्दा नै दिन बित्ने गर्छ अनि कहाँबाट उनीहरूले कूटनीतिज्ञको भूमिका खेल्न सक्छन् ?

कूटनीतिक व्यक्ति कूटनीतिज्ञ हुन नसकेको अन्य प्रमाण पनि पाइन्छ । मित्रराष्ट्रमा बहालवाला नेपाली राजदूत उनको राजनीतिक पार्टीको निर्वाचनका निम्ति महिनांै दिन आफ्नो कार्य छाडी पार्टी पदाधिकारीमा उम्मेदवार बनी चुनाव जितेका कुरा पनि छन् । हाम्रा यस्ता कूटनीतिक व्यक्तिले राष्ट्रको कूटनीति परिचालन गर्ने हुन् या कुनै अमुक राजनीतिक पार्टीको हकहित हेर्ने हुन् ? यस घडीमा नेपालको पहिचान बढाउन संयुक्त राष्ट्रसंघीय महासभाको अध्यक्ष पदका लागि नेपालको उम्मेदवारीका पक्षमा विदेशी राष्ट्रसमक्ष ‘लबिइङ’ गर्नुपर्ने बेलामा कूटनीतिक व्यक्ति आफ्नो स्टेसनबाट बेपत्ता हुन्छन् अनि कसरी हाम्रो देशमा कूटनीतिज्ञताको विकास हुन्छ ?

छिमेकी देशको कूटनीतिज्ञको कुरा कोट्याइसकेपछि आफ्नो देशको कूटनीतिज्ञको नामावली दिमागमा फुर्छ कि । भारतका नेपालविद् कूटनीतिज्ञ को हुन् भनी सोध्नुहुन्छ भने आधा मिनेटभित्रै नाम कण्ठस्थ आइहाल्छ- एसडी मुनी, केभी राजन, अशोक मेहता, श्यामशरण । यसैगरी चीनको नेपालसम्बन्धी कूटनीतिज्ञबारे एक मिनेटमा नाम भन्न सकिन्छ- वाङ होङवेइ, हुशि सङ, वाङ ओइ, मा जियाली, हुआङ शिन चुआन ।

हाम्रा दक्षिणी छिमेकी कूटनीतिज्ञहरू बेलामौकामा नेपाल भ्रमण गर्छन्, शिक्षादीक्षा दिन्छन् । चिसो राजनीतिक वातावरणलाई कहिले तताएर र्फकन्छन् भने तातो विवादलाई मत्थर पार्छन् । कुनै बेलाचाहिं सोझिएको राजनीतिलाई मोडिदिन्छन् । उदाहरणका निम्ति २०६० जेठ २१ मा माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने निश्चित भएको थियो । त्यसै बेला आमाको मृत्यु हुँदा उनी कोरामा बसेनन् । त्यसैताका होटेल हायातमा बसेका दुईजना भारतीय कूटनीतिज्ञले महानगरपालिकाको तीन घरका ढोका चहारे । अपराह्न राजाले सूर्यबहादुर थापाको नाम घोषणा गरे । यसलाई त्यस बेलाका एकजना राजनीतिक अग्रज नेताले कूटनीतिज्ञको कमाल किन नभन्नु भनेका थिए ।

हालैको कुरा गरौं, नेपालमा राजनीतिक खिचातानी चरमबिन्दु पुगेको समय गत साउन १९ भारतीय प्रधानमन्त्रीका विशेष दूतका रूपमा कूटनीतिज्ञ श्यामशरण काठमाडौं आए । टुप्पादेखि फेदसम्मका पदाधिकारीलाई भेटे । संविधानसभाका केही सभासद्लाई भारतीय दूतावासमा रात्रिभोज दिए । तीन पटकसम्म प्रधानमन्त्रीको निर्वाचन टुंगोमा पुग्न नसकेको वातावरणलाई अझ रंगीन बनाई स्वदेश फर्के । त्यसको ठीक एक हप्तापछि साउन २६ मा अर्का कूटनीतिज्ञ केभी राजन काठमाडौं उत्रे । उनले पनि प्रधानमन्त्रीको चयन र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन नेपालका नेतालाई परामर्श दिए । यद्यपि शरणको काठमाडौं भ्रमण सम्बन्धमा अर्का कूटनीतिज्ञ अशोक मेहताले १ सेप्टेम्बरमा भारतबाट प्रकाशित पायोनियर दैनिकमा लेखे- ‘माओवादीलाई एउटा दीर्घकालीन संवादमा संलग्न गराउन सन् २००९ मै श्यामशरणलाई विशेष दूत नियुक्त गरिनुपथ्र्यो । ब्याक च्यानलका साथै ट्रयाक वान, ट्रयाक टु डिप्लोम्यासी प्रयोग गर्न सकिन्थ्यो ।’ यसबाट ट्रयाक टु कूटनीतिज्ञले वातावरणलाई

आफ्नो पक्षमा ढाल्न कुशलता प्रदर्शन गर्न सक्छन् भन्ने कुरो बुझिन्छ ।

चीनका नेपालविद् कूटनीतिज्ञ पनि बेलाबखत नेपाल आउने गरेका छन् । उनीहरू पदचापको आवाज नसुनिने बिरालाका चालमा आउँछन् । जब कि भारतीय कूटनीतिज्ञ सर्‍याकसुरुक आवाज निकाल्दै आउने मुसाको चालमा आउने गरेको पाइन्छ । चिनियाँ कूटनीतिज्ञ मनले खाएका व्यक्तिसँग भेट गर्छन् र तौली तौली कुराकानी गर्छन् । नेपालको मामिला नेपाल आपै+mले समाधान गर्नुपर्छ भन्ने धारणा ‘ब्रह्मवाक्य’ जस्तै गरी सञ्चारकर्मी समक्ष बोल्छन् र र्फकन्छन् । यद्यपि भित्री तहमा के कस्तो संवाद हुन्छ, बाहिर खास आउँदैन ।

अब हाम्रा कूटनीतिज्ञ को हुन् भन्नुभन्दा पहिला विगतमा को थिए भन्नेतर्फ केही हरफ खर्च गरौं । यस्ता कूटनीतिज्ञको नाम सम्भिmन सकिन्छ- यदुनाथ खनाल, क्षेत्रविक्रम राणा, भीमबहादुर पाण्डे, केशरबहादुर केसी, पद्मबहादुर खत्री आदि । यिनीहरू नेपालका भारत तथा चीनविद् कूटनीतिज्ञ थिए । नेपाल र चीनबीच सगरमाथाको विवाद, चीनका कारण नेपाली सिपाहीको मृत्यु, नेपालमा खम्पा काण्ड, नेपाल-भारत वाणिज्य सन्धिको गाँजेमाजेबारे समस्या समाधान गर्ने सहजकर्ता कूटनीतिज्ञका रूपमा यिनीहरू राष्ट्रका सफल औजार बनेका थिए ।

अब यस लेखको शीर्षकलाई सार्थक पार्न हाम्रा कूटनीतिज्ञ को हुन् भन्नेतर्फ पसौं । अझै पनि को हुन् को होइनन् भन्ने अल्झन रहेको छ । यद्यपि कूटनीतिक मामिलाका जानकारहरू भनी नेपाली सञ्चारमाध्यमले बेलाबखत टिप्ने नामावली यस्तो रहेको छ- भेषबहादुर थापा, सूर्यप्रसाद श्रेष्ठ, लोकराज बराल, राजेश्वर आचार्य, जयराज आचार्य, रमेशनाथ पाण्डे, यादवकान्त सिलवाल, मोहनप्रसाद लोहनी आदि । कृपया माफ गर्नुहोला अन्य व्यक्तिको नाम सम्भिmन सकिएन । छापा र विद्युतीय माध्यमले यस्ता नामलाई भारतविज्ञ अर्थात् चीनविद् कूटनीतिज्ञ भनी तोक्ने गरेको पाइँदैन । भैपरि आएकोे मामिलामा सञ्चारले जसलाई भेट्छ त्यसकै बोली टिप्ने गरेको छ । वास्तवमा उनीहरूलाई भारत या चीनविद् कूटनीतिज्ञ -ट्रयाक टु डिप्लोम्याट) को संज्ञा किन नदिइएको होला ?

यसमा दुई कुरा रहेको हुन सक्छ । पहिलो, हाम्रा यस्ता कूटनीतिक जानकारहरू विभिन्न खेमामा बाँडिई त्यसै खेमाको बोली बोल्ने गर्छन् तर राष्ट्रिय मामिलामा राष्ट्रवादी दृष्टिकोणले नेपालको प्रतिनिधित्व गर्ने विचार छिनाएर नबोल्ने भएकाले उनीहरूले कूटनीतिज्ञको संज्ञा नपाएको हुनुपर्छ । कूटनीतिज्ञमा तटस्थता, वाकपटुता, चातुर्य, समाधानकर्ताको कला हुनुपर्छ । दोस्रो, ती जानकारहरूमध्ये कतिपयले बितेका कूटनीतिक उदाहरणका कुरा मात्र रटान दिने गर्छन् तर भविष्यको प्रक्षेपण गर्न नसक्ने भएकाले पनि कूटनीतिज्ञता प्राप्त गर्न नसकेको हुन सक्छ । तेस्रो, यस्ता ट्रयाक टु डिप्लोम्याटलाई सरकारले चलायमान गर्न नसक्नुको कारण पनि हुन सक्छ । यसैकारण नेपालले मित्रराष्ट्रहरूसँगका कतिपय सन्धिसम्झौता गर्न र नवीकरण गर्न सकेको छैन । यहाँ प्रश्न आउँछ के नेपाली नागरिक समाजका एकल कूटनीतिज्ञले नेपालको राष्ट्रिय मामिलालाई लिएर भारत अथवा चीनका राष्ट्रपति या प्रधानमन्त्रीलाई सिधै भेट्न सकेका छन् ? यसको जबाफ नकारात्मक आउँछ । यस्ता कार्य कूटनीतिक व्यक्तिको ‘चातुर्य र मर्यादा’ साथै ट्रयाक वानको मनोभावनामा निर्भर रहन्छ ।

वास्तवमा ‘ट्रयाक वान’ मा रहेका कूटनीतिक व्यक्ति र ‘ट्रयाक टु’ का कूटनीतिज्ञको रूपक लक्षण भनेको दुवै तहले आआफ्नो बाटोद्वारा कूटनीतिक प्रयास गर्दै अन्त्यतः एउटै गन्तव्यमा पुग्नु हो । दुवै थरी एकअर्काका पूरकका रूपमा अगाडि बढ्नुपर्ने हो तर हामीकहाँ ट्रयाक टु कूटनीतिज्ञ मौलाउलान् र ट्रयाक वानमा रहेका कूटनीतिक व्यक्तिको काममा अतिक्रमण होला भन्ने डर कताकतै रहेको आभास हुन्छ । यी कुरा जेसुकै भए तापनि सरकारले कुशल, अनुभवी र खारिएका तटस्थ ट्रयाक टु कूटनीतिज्ञ पहिचान गरी आन्तरिक रूपमा चलायमान गरे प्रधानमन्त्री चयन सम्बन्धमा हाम्रा राजनीतिज्ञबीच कसिएको तीन गाँठो फुस्कन सक्थ्यो कि ?

प्रकाशित मिति: २०६७ आश्विन ७ ०९:२२

%d bloggers like this: