Regained Boundary of New Territory

                    नयाँ मुलुक प्राप्तिको सिमाना

एक सय पचास वर्षअघि आजकै दिन बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला नयाँ मुलुकका रूपमा नेपालले तत्कालीन अंग्रेज सरकारबाट फिर्ता पाएको थियो । यसपछि नेपालको वर्तमान सिमाना कायम रहँदै आएको छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने सिलसिलामा जसरी १७ नोभेम्बर १७६९ मा नेपालको जन्म गराएको दिन सम्झनुपर्छ, त्यस्तैगरी १५ नोेभेम्बर १८६० मा वर्तमान नेपालको सिमाना बाँधिएको हुनाले आजको दिन नेपालीले सम्झना गर्नुपर्ने दिन परेको छ । भारतमा उब्जेको सिपाही विद्रोहमा इस्ट इन्डिया कम्पनी सरकारका अनुरोधमा नेपालले गोर्खाली फौज पठाई विद्रोह समन गरिदिएबापत सुगौली सन्धिमा नेपालले गुमाएको पश्चिम तराईको भू-भाग फिर्ता प्राप्त गरेको थियो ।

नेपालको सिमानाको ऐतिहासिक पृष्ठभूमि अध्ययन गर्दा सन् १८०६ मा नेपाल पूर्वमा टिस्टादेखि पश्चिममा किल्ला काँगडासम्म फैलिएको थियो । सन् १८०९ मा पश्चिमी सीमा घटेर सतलजमा आइपुग्यो । सन् १८१४-१६ को अंग्रेज-गोर्खाली सीमायुद्धको परिणामले हाम्रो देशको सिमाना मेची र महाकाली खुम्चिन पुग्यो । ४ मार्च १८१६ मा दुई देशबीच सुगौली सन्धिमा हस्ताक्षर भएपछि तत्कालीन विशाल नेपालको एक तिहाइ भाग गुम्यो । सन्धिले नेपाललाई तराईविहीन बनायो । अध्येताहरूका अनुसार, नेपाल करकापमा परेर सन्धिमा हस्ताक्षर गरेको थियो । अंग्रेजले सुगौली सन्धि २ डिसेम्बर १८१५ मा तयार गरी त्यसमा प्रतिहस्ताक्षर गर्न नेपाललाई १५ दिनको म्याद दिएको थियो । तर नेपालको चित्त नबुझी म्यादभित्र सहीछाप गरिएन । महिनौ दिन बिते । यसैबीच अंगे्रजले नेपालको राजधानी काठमाडौंमा धावा बोल्ने चेतावनी दिए । सन्धिमा सहीछाप गर्ने या अंग्रेजविरुद्ध लड्ने भन्नेबारे नेपाली भाइभारदार एकमतमा पुग्न सकेनन् । तर तत्कालीन शासकका निर्देशनमा नेपालका तर्फबाट भारदार चन्द्रशेखर उपाध्यायले सन्धिमा प्रतिहस्ताक्षर गरी सुगौलीमा रहेको अंग्रेजको क्याम्पमा बुझाए । यद्यपि नेपालका भाइभारदार असन्तोष भई अंग्रेजविरुद्ध फेरि लडाइँ गर्लान् भनी थामथुम पार्न नेपाललाई अंग्रेजले प्रतिवर्ष दुई लाख रुपैयाँ दिने प्रावधान सन्धिको धारा ४ मा गरियो ।

सन्धिको धारा ३ मा नेपालले ती इलाका सदाका लागि सुम्पिइएको भनिए तापनि ९ महिनापछि अर्थात् ११ डिसेम्बर १८१६ मा पूरक सीमा सन्धि गरी कोशीदेखि राप्तीको मैदानी माग अंगे्रजले फिर्ता गर्‍यो । यो भूमि फिर्ता दिनुको भित्री मनसायचाहिँ औलो लाग्ने, चारकोशे झाडी र नदीको बलौटे जमिनभन्दा दुई लाख रकमको मूल्य बढी भएको अंग्रेजले ठानेको हुनुपर्छ । यो सन्धिपछि नेपालले प्रतिवर्ष २ लाख रकम पाउने प्रावधान बन्द भयो । 

नयाँ मुलुकका रूपमा रहेको राप्तीदेखि महाकाली नदीसम्मको भू-भाग फिर्ता हुनुमा बेग्लै कुरा रहेको छ । भारतमा अंग्रेज शासनप्रति असन्तोषको भावना सन् १८५० ताका प्रारम्भ भएको थियो । यसैबीच ‘सिपाही विद्रोह’का नामले स्वतन्त्रता संग्राम सुरु भयो । यो विद्रोह दमन गर्न इस्ट इन्डिया कम्पनी सरकारको अनुरोधमा नेपालले २ जुलाई १८५७ मा ६ रेजिमेन्ट गोर्खाली फौज अंग्रेजको सहायतार्थ भारततर्फ पठायो । यसका साथै लर्ड केनिङको अनुरोध अनुसार, जङ्गबहादुर आफैं तीन पल्टन सेना लिएर १० डिसेम्बर १८५७ मा लखनऊतर्फ प्रस्थान गरे । तिनले गोखपुरदेखि लखनऊसम्मका विभिन्न स्थान नियन्त्रणमा लिई विद्रोही जत्थालाई १० मार्च १८५८ सम्ममा पूर्णरूपले लखनऊबाट हटाई अंग्रेजी प्रभुत्व कायम गरे । गोर्खाली फौज नेपाल र्फकंदा ‘लखनऊ लुट’ गरी आए भन्ने पनि इतिहासमा चर्चा गरिएको छ ।

जङ्गबहादुरको गुणको बदला नेपाललाई के गरेर चुकाउने भन्ने कुरो भारतका बि्रटिस शासकहरूमा धेरै सरसल्लाह भयो । अन्त्यमा सुगौली सन्धिद्वारा हरन गरिएको राप्तीदेखि कालीनदीसम्मको मैदानी भाग नेपाललाई फिर्ता गर्ने निधो भयो । त्यसबेला नयाँ मुलुकका रूपमा चिनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाको सीमारेखा २७८ किलोमिटर रहेको छ भने यसको क्षेत्रफल ९ हजार २ सय ७ वर्गकिलोमिटर छ ।

महत्त्वपूर्ण कुरा के रहेको छ भने जङ्गबहादुरले नयाँ मुलुकरूपी भूमिको नापनक्सा नगरी फिर्ता लिन मानेनन् । यसैकारण बि्रटिस कमिस्नरद्वारा त्यस क्षेत्रको सर्भेक्षण गरिँदै ७ फिट अग्लो र १० फिट गोलाइ भएको २ सय ५२ जङ्गेखम्बा खडा गरियो । दुई वर्ष लगाएर जङ्गेखम्बाका साथै दसगजा क्षेत्र कायम गरिएपछि मात्रै दुई देशबीच १५ नोभेम्बर १८६० मा सीमा सन्धि भयो । सुगौली सन्धिमा नेपालले गुमाएको यो भाग ४४ वर्षपछि नेपालले फिर्ता पायो । सन्धिमा भारतका भाइसराय गभर्नर जनरल अर्ल केनिङका तर्फबाट लेफ्टिनेन्ट जनरल जर्ज र्‍यामसे र नेपालका महाराजाधिराज सुरेन्द्रविक्रम शाहका तर्फबाट जङ्गबहादुर राणाले १ नोभेम्बर १८६० मा काठमाडौंमा संयुक्त हस्ताक्षर गरेका थिए । यसलाई गभर्नर जनरलले कलकत्तामा १५ नोभेम्बर १८६० मा अनुमोदन गरे । सन्धिको प्रारम्भिक अनुच्छेदमा ‘यो भू-भाग नेपाल दरबारबाट खटाइएको कमिस्नरको उपस्थितिमा बि्रटिस सरकारबाट नियुक्त कमिस्नरले दुई देशबीचको सीमारेखामा सीमांकन गरी पक्की स्तम्भहरू ठड्याई सो सीमाक्षेत्र विधिवत् नेपाली अधिकारीलाई सदाका लागि हस्तारण गरियो । यो सीमाक्षेत्र शान्तमय तरिकाले पुनःस्थापना गरी सदैव नेपालको अधीनमा रहने सुनिश्चितताका लागि दुई राष्ट्रबीच यो सन्धि गरिएको छ’ भन्ने विवरण उल्लेख गरिएको छ ।

जङ्गबहादुरलाई इतिहासको कालखण्डमा निरङ्कुश शासक तथा खलनायकका रूपमा चित्रण गरिए तापनि सीमा संरक्षणका दृष्टिकोणमा र नेपालको गुमेको पश्चिमी तराई भाग अंग्रेजबाट फिर्ता लिन उनले गरेको कार्यको सराहना गर्नुपर्छ । जङ्गबहादुर नभएको भए नेपालको सुदूर दक्षिण-पश्चिमी भाग हालसम्म पनि तराईविहीन रहने थियो होला । यसबाट सीमा मामिला सम्बन्धमा उनको दूरदर्शीपना रहेको बुझ्न सकिन्छ । सीमारेखामा खम्बा नठोकी भू-भाग फिर्ता लिन्न भन्ने उनको अडानमा राष्ट्रियता र भौगोलिक अखण्डताप्रतिको सजगपना झल्कन्छ । सायद बि्रटिस भारत र नेपालबीच भएको सीमायुद्ध र त्यसको परिणामले नेपालको एक तिहाइ भूमि गुमाउनुपरेको तीतो अनुभवको इतिहास उनको मनमा रहेको हुनुपर्छ ।

जङ्गबहादुरले सीमाखम्बा ठोक्ने अडान लिएकै कारण त्यस्ता सीमा स्मारक चिह्नलाई जङ्गेखम्बा भन्ने गरिएको हुनुपर्छ । यद्यपि उनको शासनकाल अघि पनि यस्ता खम्बा स्थापना गरिएका थिए । तर सीमा निर्धारण गर्ने सबै स्तम्भलाई एकै आकार-प्रकारको बनाउने प्रचलन चलेपछि उनकै नामबाट ‘जङ्गेखम्बा’ नामकरण भएको हुनसक्छ ।

तर विडम्बना, हिजोआज बनिएको सीमास्तम्भ जङ्गेखम्बा नभई ‘लुरेखम्बा’मा रूपान्तरित गरिँदैछन् । नयाँ निर्माण गरिएका खम्बा होचा, पुड्का र ख्याउटे प्रकारका छन् । कसैले एक लात्ती दियो भने सीमाखम्बा भाँचिने प्रकृतिका छन् । अर्को कुरा, जङ्गेखम्बालाई मूल खम्बा नमानी साक्षी खम्बा -रिफरेन्स पिलर) मान्ने प्रचलन पनि बढेको छ । उदाहरणका निम्ति झापा भद्रपुर मेची नदीको पूर्वी किनारामा अवस्थित जङ्गेखम्बालाई साक्षी खम्बा मान्दै भद्रपुर विद्यालयको प्राङ्गणमा गाडिएको नयाँ पुड्का खम्बालाई मूलखम्बामा दरान गरिएको छ । यसबाट ३ सय फिट चौडा नेपालको भू-भाग छिमेकी मुलुकको साँधभित्र पर्नगएको छ । यस सम्बन्धमा प्रशासन मौन रहेको छ ।

नयाँ मुलुकरूपी चार जिल्लाकै सीमा मिचिएको कुरा गरौं । बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी कमसेकम १३ स्थानमा सीमा मिचिएका छन् । जङ्गेखम्बा हुँदाहुँदै पनि त्यसको बदला स्तम्भ सारेर कुठाउँमा बनाउनाले र कञ्चनपुरको परासनमा खम्बा नं. १९५ लडाएर प्यारातालको भू-भाग मिचिन पुगेको छ । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले फिर्ता लिएको जिल्लाका यस्ता भू-भाग मिचिनबाट वर्तमानकालका प्रधानमन्त्रीहरूले दिलचस्पी दिनसकेको पाइँदैन ।

नेपालको ५४ भन्दा बढी स्थानमा दक्षिणी छिमेकीद्वारा सीमा अतिक्रमण, मिचान, वादविवाद भइरहेकोले यतिखेर कतिपय नेपालीले जङ्गबहादुर निरङ्कुश शासक भए तापनि सीमाको मामिलामा १ सय ५० वर्षपछि पनि उनलाई स्मरण गर्नलागेका छन् । नेपालको स्वाभिमानता, राष्ट्रियता र मुलुकको साख बेलायतसम्म पनि पुर्‍याएको सन्दर्भमा जङ्गबहादुर स्मरणीय रहेका छन् । जङ्गबहादुरले आर्जेको नयाँ मुलुक प्राप्तिपछिको सिमानाको भू-भाग तथा देशका अन्य क्षेत्रको सीमान्त भूमि अतिक्रमण हुनबाट बहालवाला प्रधानमन्त्रीले बचाएमा भविष्यको पिढीले उनलाई पनि सदा स्मरण गरिरहनेछन् ।

प्रकाशित मिति: २०६७ कार्तिक २९ ०८:०९  15 November 2010

Advertisements
%d bloggers like this: