Dignity of national dress

                                                      राष्ट्रिय पोसाकको गरिमा

                                                                                                       बुद्धिनारायण श्रेष्ठ

नेपाल सरकारले २०६७ भदौ ७ गते सार्वजनिक सूचना प्रकाशित गरी नेपालीको राष्ट्रिय पोसाक दौरासुरुवाल, कोट र चोलो-सारी हो भनी घोषणा गरेपछि यसबारे बहस चलेको छ । यसैबीच देशमा एक सयभन्दा बढी जातजाति भएको र हरेकको आफ्नै सांस्कृतिक पहिरन भएकाले दौरासुरुवाल सबैको पोसाक हुन नसक्ने भन्दै अधिवक्ता सुनिलरञ्जन सिंहले नेपाल सरकारको निर्णय विभेदपूर्ण भयो भनी सर्वोच्चमा रिट दायर गरे । सर्वोच्चका तीन सदस्यीय बेन्चमा बहुमतले नेपाल सरकारको सूचनाका पक्षमा निर्णय दिएपछि यसका नकारात्मक पक्षतर्फ चर्चा अझ अगाडि बढ्न पुग्यो । नाम चलेका चार मैदानी नेताले संयुक्त हस्ताक्षर गरी राष्ट्रिय पोसाक भनिएको दौरासुरुवाल सार्वजनिक रूपमा जलाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएपछि नेपालको राष्ट्रिय पोसाक कुनलाई मान्ने भन्ने कुरामा जलाइएको दौरासुरुवालको आगो अरूतिर पनि सल्कयो । यो आगोको फिलिंगो व्यवस्थापिका संसद्को बैठकमा पनि पुग्यो । मैदानी मागका लोकतान्त्रिक मधेसी मोर्चा र अन्य साना दलका सभासदले राष्ट्रिय पोसाकबारे सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाउँदै संसद्को बैठक अवरोध गरे । मोर्चाका कार्यकर्ताहरूले सडकमा विरोध प्रदर्शन पनि गरे ।                                                                                                                                                   
यसैबीच सर्वोच्च अदालतले दौरासुरुवालका सम्बन्धमा भएको आदेशबारे सञ्चारमाध्यममा गलत सूचना गएको भन्दै राष्ट्रिय पोसाक सर्वोच्च अदालतले तोक्ने होइन, अदालतबाट रिट मात्रै खारेज भएको हो भन्यो । यद्यपि मधेसी मोर्चाका नेताहरूले प्रधानन्यायाधीशलाई भेटेर रिट खारेज भएकामा गुनासो गरेका थिए ।

प्रधानमन्त्रीको छनोट सम्बन्धमा राष्ट्रपतिले दुईपटक दिएको सहमतीय पद्धतिको म्याद गुज्री बहुमतीय प्रणालीमा पुग्नै लागेको घडीमा व्यवस्थापकीय संसद्को बैठक अवरुद्ध हुन लाग्यो भनेर सभामुख सुवास नेम्वाङको साँच्चै टाउको भारी हुन पुग्यो । राष्ट्रिय पोसाकका सवालमा संसद्को बैठक स्थगित गर्न हुँदैन भन्ने सोचमा सभामुखले हिमाल, पहाड, तराई सबै क्षेत्रका सबै जातिको सांस्कृतिक पहिरन राष्ट्रिय पोसाक भएको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै मैदानी भागका सभासदलाई मत्थर पारे ।

यहाँ जिज्ञासा उत्पन्न हुन्छ- नेपालीको राष्ट्रिय पोसाक के हुने हो या कुन हुनुपर्ने हो ? यो पंक्ति लेख्दासम्म नेपाल सरकारको ज्युँदै रहेको सूचनाले दौरासुरुवाललाई मानेको छ । सर्वोच्चको फैसला आदेशमा जेजस्तो तोक्नुपर्ने नपर्ने हो सरकारले नै गर्ने हो भन्ने मनशायसाथ पन्छँदै रिट निवेदन खारेज गरिएको पाइयो । संविधानसभा अध्यक्षले हिमाल, पहाड, मैदान गरी यी तीनै क्षेत्रका पहिरन राष्ट्रिय पोसाक हो भन्ने मनशायका साथ सरकारको ध्यान खिचेका छन् । यस सम्बन्धमा प्रश्न उठेको छ, एउटै राष्ट्रको नागरिकको तीन प्रकारको राष्ट्रिय पोसाक हुन सक्छ या सक्दैन ?

हिमाल, पहाड र मैदानको नेपाल

नेपाल राज्यको भूबनोट मूलतः हिमाल, पहाड र मैदान रहेको छ । हाम्रो देशको नाम नेपाल रहेको हुनाले ‘ने’ ले हिमाल भन्ने सांकेतिक भाव जनाउन सक्छ भने ‘पा’ ले पहाड र ‘ल’ ले मैदान भन्ने बुझाएको मान्न सकिन्छ । अर्कोतर्फ ‘नेपाल’ शब्दलाई लाक्षणिक तरिकाले मानव शरीरका रूपमा लिने हो भने ने-पा-ल भन्ने तीन अक्षरले शिर, पेट र खुट्टाको भाग भन्ने जनाउन सक्छ । यसैगरी वेशभूषाका हिसाबले ने अर्थात हिमालले शिरको टोप/टोपी, पा अर्थात पहाडले दौरा/भोटो एवं ल अर्थात मैदानले सुरुवाल -पाइजामा/धोती) हो भनी बुझाउन सक्छ । यसै सिलसिलामा सभामुख महोदयले तीनै भौगोलिक क्षेत्रका सबै जातिको पहिरन राष्ट्रिय पोसाक भएको संकेत गर्नुभएका सम्बन्धमा टोपी, भोटो र पाइजामा नेपालीको राष्ट्रिय पोसाक हो भन्न खोज्नुभएको हो कि ?

वास्तवमा हिमाली भेकका बासिन्दाले सांस्कृतिक हिसाबमा सामान्यतया बख्खु, दोचा र टोप लगाउने गरेका छन् । यस्तै पहाडी खण्डका बासिन्दाले टोपी, भोटो र सुरुवाल लगाउँछन् भने मैदानी भागका जनताले कुर्ता र पाइजामा -धोती) प्रयोगमा ल्याउने गरेका छन् । प्राकृतिक मौसमी वातावरणअनुसार हिमालको काखमा धोतीले जाडो छेक्न सक्दैन भने मैदानी भागको प्रचण्ड गर्मीमा बख्खु थाम्न सकिँदैन । हाम्रो देश बहुसांस्कृतिक मात्रै होइन, बहुप्राकृतिक पनि रहेको छ । यस अर्थमा नेपाली समाजमा हावापानीअनुसार बहुवेशभूषा रहेको छ भन्ने कुरामा कुनै शंका छैन ।

पोसाक र देशको पहिचान

बहुवेशभूषाका सम्बन्धमा एउटै राष्ट्रको तीन किसिमको राष्ट्रिय पोसाक हुन सक्छ या सक्दैन भन्ने कुरा अन्तर्राष्ट्रिय परिप्रेक्ष्य र नेपालको पहिचानका सन्दर्भमा हेर्नु युक्तिसंगत ठहर्न सक्छ । विश्वका कतिपय देशका वेशभूषाले नै त्यस देशको पहिचान बोकेको पाइन्छ । उदाहरणार्थ, भुटानको घो -लामो बख्खु) राष्ट्रिय पोसाक हो भने साउदी अरेबियाको घाँटीदेखि गोलिगाँठोसम्म छोपिने बाहुला भएको कमिज ‘थोबे’ र खप्पर छोप्ने ‘तगियाह’ पर्न आउँछ । यस्तै श्रीलंकाको चाहिँ सामान्यतया कोलार नभएको बाहुलावाला लामो कुर्ता र खुट्टासम्म लत्रेको धोती राष्ट्रिय पोसाक मानिन्छ ।

नेपालमा अहिलेसम्म दौरासुरुवाल, कोट, र टोपीले राष्ट्रको सूर्यचन्द्र अंकित दुई त्रिकोणीय राष्ट्रिय झन्डाले जस्तै नेपालको पहिचान केही मात्रामा भए पनि बनाएको महसुस गरिएको छ । नेपालको राष्ट्रिय झन्डाको आकारप्रकार नफेरिने कुरा पक्का भएको जस्तो छ । तर राष्ट्रिय पोसाकका सन्दर्भमा अनेक कुरा उठेका छन् । यो पारम्परिक भयो, लगाउन असजिलो छ, गरम प्रदेशमा सहजयोग्य भएन भन्ने कुरा बजारमा चलेको छ । अब सहज र तीनवटै भौगोलिक क्षेत्रको हावापानीअनुसार सबै नागरिकका लागि पाच्य हुने गरी कसरी र कुनचाहिँ पहिरनलाई राष्ट्रिय पोसाकका रूपमा तोक्ने भन्ने कुरा गम्भीर रूपमा खडा भएको छ ।

यस सम्बन्धमा मनन गर्नुपर्ने कुरा के छ भने राष्ट्रिय पोसाक भनेको खेतमा हिलिन जाँदा, व्यापारमा सौदाबाजी गर्दा, मलामी र जन्ती जाँदा लाउनै पर्ने बाध्यात्मक पहिरन होइन । यो त राष्ट्रको औपचारिक सभासमारोहमा लगाउनुपर्ने पोसाक हो । देशको प्रतिनिधित्व गर्दै विश्वका विभिन्न देशको औपचारिक निम्तोमा अन्तर्राष्ट्रिय सम्मेलन महोत्सवमा जाँदा नेपाल र नेपालीको पहिचानका निम्ति लागाइने आफ्नो देशको राष्ट्रिय पोसाक हो । जसरी नेपालको राष्ट्रिय झन्डा विश्वका झन्डाहरूबीच अलग्गै प्रकारले पहिचान गर्न सकिन्छ, त्यसै गरी पोसाकले पनि छुट्टै पहिचान बनाउन सक्यो भने टाढैबाट नेपाली चिनिन सक्ने हुन्छ । कतिपय देशका बासिन्दाले नेपालको नाम नसुनेको पनि हुन सक्छ । तर उनीहरूलाई नेपाल भनेको माउन्ट एभरेस्टको देश हो अथवा शेर्पा गाइडको देश हो, बुद्धको जन्म भएको देश हो, गोर्खा सिपाहीको देश हो भनेमा उनीहरूले तत्काल नेपालको पहिचान गर्न सक्छन् । यस्तै कुरा नेपालीको राष्ट्रिय पोसाकमा पनि अड्किएको छ ।

साँच्चि नै भन्ने हो भने व्यवस्थापिका संसद्को बैठकमा बस्ने सभासदहरूका लागि कुर्ता पाइजामाकै भए पनि एउटा खास ‘ड्रेस कोड’ तोकिनुपर्ने हो र सबै सभासदले अनुसरण गर्नुपर्ने हो । यद्यपि दौरासुरुवाललाई कतिपय सभासदले अंगीकार गरेका छन् । व्यवस्थापिका संसद् भनेको राट्रको गरिमामय विधायिका अंग हो । संसद्को बैठक कक्षमा पसेपछि पोसाकले पनि सांसदलाई संवेदनशील बनाउँछ र जिम्मेवारी बोध गराउन सक्छ । अहिलेको परिस्थितिमा कुनै सभासद सेन्डोगन्जी, कट्टु र फ्याङ्ले चप्पलमा बैठक कक्षभित्र पसी पोडियममा बोल्न पुगे भने पनि सभामुख महोदयले उनलाई टुलुटुलु हेर्दै ध्यानाकर्षण गराउलान् । सर्वविदितै छ, अधिकांश सभासद बैठक सेसनमा पूर्ण पोसाकमा आउँदैनन् । कुर्ता पाइजामा भए पनि पूर्ण सेटको लिवास हुनुपर्ने हो । यही नै खड्केको कुरा रहेको छ ।

राष्ट्रिय पोसाक र औपचारिक समारोह

राष्ट्र प्रमुख तथा सरकार प्रमुखको औपचारिक राजकीय भ्रमणको सयम त आफ्नो राष्ट्रको इज्जतका लागि राष्ट्रिय पोसाक अनिवार्य हुन्छ । पश्चिमा देशका सभासमारोहका निम्ताकार्डमा ‘ड्रेस कोड’ किटिएकै हुन्छ ‘नेसनल या र्फमल या क्याजुअल’ का रूपमा । त्यसमा पनि शान्त रात्रिभोजको ड्रेस कोड अलग्गै पनि हुन सक्छ । यस्ता भोजमा तक्मा अलंकारको ‘मिनियचर’ लगाउनुपर्ने पनि हुन्छ । उदाहरणका निम्ति उल्लेख गरौं, यस्ता औपचारिक राजकीय भ्रमणका निम्तोमा उपस्थित तीनजना नेपाली पदाधिकारीको राष्ट्रिय पोसाक तीनथरीको भयो भने यसभन्दा लाज मर्नु कुरो केही पनि हुँदैन । यसबाट नेपाल राष्ट्रको नीतिनियममा एकाम्यता तथा एकरूपता रहेनछ भनी अन्तर्राष्ट्रिय समुदायले बुझ्नेछन र नेपाली-नेपालीबीचको फुटको सन्देश विदेशी जगत्मा प्रवाह हुनेछ । त्यसैले राष्ट्रको तोकिएको राष्ट्रिय पोसाक हुनैपर्‍यो र त्यसैलाई सबै पदाधिकारीले अनुसरण गर्नुपर्छ ।

अन्त्यमा

देशको राष्ट्रिय पोसाक आफैंमा पूर्ण हुनुपर्छ । उपमाका निम्ति मैदानी भागको पहिरनलाई राष्ट्रिय पोसाकका रूपमा मान्नैपर्ने हो भने कुर्ता, पाइजामा, घाँटीसम्म ढाक्ने जवारीकोट, छालाको मोटो चप्पल र काँधमाथि पातलो गम्छा हुनैपर्छ । यसमा कपडाको रङ पनि किटान हुनुपर्छ । अर्कोतर्फ कोट, पाइन्ट र कमिजलाई राष्ट्रिय पोसाक मानियो भने यसमा नेकटाइ र टोपी हुनैपर्छ । नत्र पोसाक अपूरो हुन्छ । कोट पाइन्टलाई राष्ट्रिय पोसाक मानिएमा नेपालको राष्ट्रिय पोसाक युरोप र अमेरिकी पोसाकको हुलमा बिलाउन जानेछ । उनीहरूको भीडमा नेपालीको छुट्टै पहिचान हुन सक्दैन ।

छिमेकी देश चीनमा माओत्सेतुङकालमा माओकोट र पाइन्टलाई राष्ट्रिय पोसाकका रूपमा लिइएको थियो । उनको देहावसानपछि सुट र नेकटाइ अवलम्बन गरिएको बुझिन्छ । अर्का छिमेकी देश भारतमा जवाहरलाल नेहरूका पालामा शेरवानीको प्रचलन रहेको थियो । हिजोआज घाँटीसम्म ढाकिने कोट प्रचलनमा ल्याएको देखिन्छ । भारत र चीनमा बहेको हावाले नेपाललाई पनि छोएको हो भने दौरासुरुवालरूपी राष्ट्रिय पोसाकमा फेरबदल गर्नैपर्ने जस्तो अवस्था आएको छ । तर यसमा नेपालको आफ्नो मौलिकता झल्किनैपर्ने हुन्छ । हिमाली भेक र पहाडको उत्तरी खण्डका बासिन्दालाई पाच्य र सबैलाई मान्य हुन्छ भने खैरो रङको बाँकटे भोटो र छोटो मोहतामा सेफ्टी हालेको पाइजामा अनि गुलाफी वर्णको सक्कली ढाकाटोपी र आकाशे निलो रङको घाँटीसम्म ढाकिने जवारकोट तथा मोटो तलुवा भएको छालाको कालो चप्पल राष्ट्रिय पोसाकका रूपमा तोकिए नेपालको बजारमा राष्ट्रिय पोसाकसम्बन्धी होहल्ला रोकिने थियो । यसबाट टोपीले हिमाली भेकको प्रतिनिधित्व गर्ने र बाहुले भोटोले पहाडी खण्ड सम्झाउने तथा पाइजामाले मैदानी भागको पहिरन बुझाउने सम्भावना भएकाले सबै वर्ग तैंचुप-मैंचुप हुन्थे कि !

                                                                                                                                  ♣

%d bloggers like this: