Digging out the Controversial Expression of Defence Minister

        रक्षामन्त्रीको विवादास्पद अभिव्यक्ति खोतल्दा

                                                                                                                       बुद्धिनारायण श्रेष्ठ
रक्षामन्त्री शरदसिंह भण्डारीले देश विखण्डन हुनसक्ने अभिव्यक्ति दिएपछि राजधानी लगायत मोफसलका विभिन्न जिल्लामा चर्का नाराबाजी साथै विरोध प्रदर्शन भए । रक्षामन्त्रीले यस्तो के बोले र विभिन्न जिल्लामा प्रदर्शन गरियो ? उनले बोलेका हुन्- २२ जिल्लाका जनताले नेपालबाट छुट्टनि चाहे कसैले रोक्न सक्दैन । मधेसका जनताले चाहे २२ जिल्ला नेपालबाट टुक्रन सक्छ । उनी प्रश्न गर्छन्- राजतन्त्र समाप्त गर्न सकिन्छ भनेर कुन संविधान, कानुनमा लेखिएको थियो ? तर जनताले रुचाएनन् र फालिदिए । उनी अझ अगाडि सर्दै भन्छन्- तराईका २२ जिल्लाका जनताले छुट्टनिे निर्णय गरे संविधान, कानुनले रोक्न सक्दैन । उनको जिकिर छ- मधेसका जनताको भावना राष्ट्रले बुझ्न नसके नेपालबाट २२ जिल्ला टुक्रिन पुग्छन् । उनले चेतावनी दिँदै सुझाव पनि प्रस्तुत गरेका छन्, ‘२२ जिल्लाका मधेसीलाई हेपेर, पेलेर पन्छाउनुभन्दा सम्मान दिएर भावनात्मक रूपमा एकता कायम गरी राष्ट्रिय एकता र अखण्डता बलियो पार्नुपर्छ ।’ यहाँ प्रश्न आउँछ- रक्षामन्त्रीले किन यस्तो उद्गार पोखे ? अर्को कुरा, उनको भनाइ अनुसारका २२ जिल्ला कुन-कुन हुन्

रक्षामन्त्रीको अभिव्यक्तिमा तीन बुँदा रहेको पाइन्छ । प्रथमतः मधेसी समुदायलाई राष्ट्रले हेपाहा प्रवृत्ति देखायो । दोस्रो, राजा फाल्ने कुरा संविधानमा लेखिएको थिएन । तेस्रो, मैदानी भागमा रहेको मधेस छुट्टनि सक्दैन भनी संविधानमा उल्लेख भएको छैन ।

यी बुँदाबारे विश्लेषण गर्नुअघि रक्षामन्त्रीको भनाइ अनुसारका २२ जिल्ला कुन-कुन हुन् भन्नेतर्फ लागौं । उनले उल्लेख गरेको मधेस बुझिने मैदानी भाग कञ्चनपुरदेखि झापासम्म २० जिल्ला रहेका छन् । बाँकी २ जिल्ला डडेलधुरा र इलामलाई गाभ्न खोजेको हो भने यी त पहाडि भू-बनौटका जिल्लामा पर्छन् । यो उनको आशय अनुसारको मधेस -मैदान) होइन । यदि उनले भित्री मधेसलाई तान्न खोजेका हुन् भने तीन जिल्ला पर्छन्- उदयपुर, सिन्धुली र मकवानपुरको भाग । जिल्ला संख्याबारे स्पष्ट पार्ने जिम्मेवारी उनकै हो । तर यहाँ एउटा लाक्षणिक कुरा देखियो । संविधानसभामा मतदानको अवस्था आयो भने ६०१ को संख्यामा रहेका सभासदमध्ये २० मैदानी जिल्लाका सभासदले मात्र दुई तिहाइ नपुग्ने छाँट देखेर अरू दुई जिल्ला थपिएको हुनसक्छ । थप्नैपरे मधेसको भाइ भित्री मधेस तीन जिल्ला थप्नुपर्ने थियो, तर दुई जिल्लामात्र थप्न पुग्नुभयो ।

अब मधेसी समुदायलाई राष्ट्रले हेप्यो भन्ने उनको भनाइतर्फ ध्यान दिऔं । के राष्ट्रले साँच्चै मधेसी समुदायलाई हेपेकै हो त ? वास्तवमा यस्तो देखिँदैन । देशको सर्वोच्च पदमा रहेका राष्ट्रपति, उपराष्ट्रपति, उपप्रधानमन्त्री तथा अन्य गण्यमान्य पदाधिकारी ती २० जिल्लाभित्रैका वासिन्दा हुन् । सरकार टिकाउने र गिराउने खेलमा यिनै जिल्लाका सभासद महोदयको अहम् भूमिका रहेको देखिँदै आएको छ । मधेसी समुदायको बोलवालाको कदर हुँदै आइरहेकै छ । गिरिजाप्रसाद, मातृकाप्रसाद, विश्वेश्वरप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजालजस्ता पूर्वप्रधानमन्त्री तथा भगवतीप्रसाद सिंहजस्ता प्रधानन्यायाधीश पनि ती जिल्लाकै वासिन्दा थिए । सडक, सिंचाइ, उद्योग, कलकारखानाजस्ता विकासका कुरामा तिनै जिल्लालाई अग्रस्थान दिएको पाइन्छ । सरकारी बजेट र योजना त्यतैतिर बढी सोहोरिएको भेटिन्छ । त्यसैले ती २० जिल्लालाई राष्ट्रले हेपेको र हेला गरेको भन्ने कुरा लङ्गडो तर्क भएको देखिन्छ । हाम्रा मैदानी भागका दाजुभाइको मानसिकतामा आफू हेपिएको हीनताबोध देखिएको मात्र हो ।

बाँकी रह्यो, मधेसी युवालाई नेपाली सेनामा भर्ना गरिएन भन्ने गुनासो । विषय वा प्रसंगले अर्को अर्थ नलागेमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्रीका हैसियतले भारत भ्रमण गरेको कुरा जोडौं । भ्रमणको अवसरमा भारतीय सञ्चारकर्मीले हाम्रा प्रधानमन्त्रीलाई मधेसी युवालाई किन सेनामा स्थान दिनु भएको छैन – भनी प्रश्न गरेछन् । हाम्रा प्रधानमन्त्रीले प्रत्रि्रश्न गरेछन्- भारतीय गोर्खा रेजिमेन्टमा तपाईंको सरकारले भारतसँग जोडिएको मधेसका जवान केटालाई किन भर्ना गरेका छैनन् –  किन पहाडका आला-काँचा केटालाई मात्र लिने गरिएको छ –  यसपछि तैंचुप मैंचुप भएछन् ।

रक्षामन्त्रीले आफ्नो भनाइ पुष्ट्याइँ गर्ने सहारा खोज्दै राजालाई हटाउन संविधानमा लेखिएको थिएन, तर जनताले फालिदिए भन्ने उपमा जोड्न खोजेका छन् । संविधानमा उल्लेख नभए तापनि राजा हटाइए । तर नेपाल अविभाज्य राज्य हो भनी संविधानको धेरै दफामा लेखिएको कुरालाई चाहिँ रक्षामन्त्रीले सरासर बेवास्ता गरे । यो नै उनको कमजोरी देखिन आउँछ ।

अब मैदानी भागको मधेस नेपालबाट छुट्टनि कुनै कानुन र संविधानले रोक्न सक्छ या सक्दैन भन्नेतर्फ लागौं । नेपालको अन्तरिम संविधान- २०६३ को धारा ४ मा नेपाल राज्यलाई भाग लगाउन नसकिने व्यवस्था गरिएको छ । धारा ४ -१) मा नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी र पूर्ण लोकतान्त्रिक राज्य हो भनी उल्लेख गरिएको छ । यसै धाराको -१) -क) मा यस संविधान प्रारम्भ हुँदाका बखत नेपालको सीमारेखाले घेरेको क्षेत्रफलमा कहिल्यै कमी हुनदिन नहुने प्रावधान छ । तर संविधान प्रारम्भ भइसकेपछि नेपालको क्षेत्रफलमा थप भू-भाग प्राप्त हुनआएमा सो सीमाक्षेत्र स्वीकार गर्न सकिने प्रावधान छ । यस्तै धारा १५ मा नेपालको सार्वभौमसत्ता वा अखण्डता सम्बन्धमा प्रतिकूल हुनेगरी कानुन बनाउन रोक लगाइएको छ ।

धारा ३ ले नेपालको अथवा नेपाली भू-भागको अखण्डताप्रति आस्थावान रही एक राष्ट्रको रूपमा समष्टिगत तरिकाले आबद्ध हुन सबै नेपाली जनतालाई आह्वान गरेको छ । यसैगरी नेपाल राज्यको सिमाना विषयमा छिमेकी मुलुकसँग कुनै पनि सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन व्यवस्थापिका-संसदमा तत्काल कायम रहेको सम्पूर्ण सदस्यहरूको दुई तिहाइ बहुमतले गर्नु पर्नेछ । तर नेपाल राज्यको प्रादेशिक अखण्डतामा प्रतिकूल असर पर्नेगरी कुनै सन्धि वा सम्झौता गरिने छैन भनी धारा १५६ मा उल्लेख गरिएको छ ।

यसबाहेक धारा १४३ -१) मा नेपाल राज्यको अखण्डता वा कुनै भागको सुरक्षामा नेपालमाथि बाह्य आक्रमण, आन्तरिक युद्ध, सशस्त्र विद्रोहका कारण गम्भीर सङ्कट उत्पन्न भएमा सङ्कटकालीन अवस्थाको घोषणा गर्नसक्ने प्रावधान पनि छ ।

संविधानको यतिका धारा तथा उपधारामा नेपाल अविभाज्य र विखण्डन गर्न नसकिने राज्य हो भनी लेखिएको र यो संविधान लागू भएको बखतको क्षेत्र कायम रहने भनी उल्लेख गरिएको देख्दादेख्दै रक्षामन्त्रीले किन नेपालबाट २२ जिल्ला चोइटिएर अलग हुनसक्छ भन्ने संविधान विपरीत अभिव्यक्ति दिए ? उनले केही वर्षअघि दलबदल गरी पसेका पार्टीको नुनको सोझो गरेका हुनसक्छन् । नयाँ नारा दिँदा लोकपि्रय भइन्छ भन्ने भावनाले पनि उनको मुखबाट यस्तो अभिव्यक्ति फुत्किएको हुनुपर्छ । त्यसपछि विभिन्न पार्टी, संघ-संस्थाबाट उनलाई रक्षामन्त्रीबाट हटाउनुपर्ने चौतर्फी आवाज आएपछि उनले दुई कदम पछाडि हट्दै भने, ‘म राष्ट्रिय अखण्डताप्रति सधैं प्रतिबद्ध रहँदै आएको व्यक्ति हुँ र आफ्नो मुलुकको विखण्डन बनाउने विषयको कल्पना पनि गर्न सक्दिन । मधेसका २२ जिल्लाका नेपालीलाई भावनात्मक एकताका आधारमा राष्ट्रिय मूलप्रवाहीकरणमा ल्याउनुपर्छ र त्यसले मुलुकलाई बलियो बनाउँछ ।’ उनले मन्त्रिपरिषदमा स्पष्टीकरण दिँदै भनेका छन्, ‘आफूले राष्ट्रिय एकता र अखण्डतामा आँच आउनेगरी अभिव्यक्ति दिएको छैन ।’ उनको फेरिएको बोलीमा २२ जिल्ला टुक्र्याउने कुराबारे जिब्रो चपाइएको पाइन्छ । यसबाट उनको आफ्नो बोलीभन्दा उनलाई मन्त्रीपद बढी प्यारो रहेको बुझिन्छ । नत्र देश टुक्र्याउने आशयले बोलेको कुरा पर्सिपल्टै होइन भनी स्पष्टीकरण प्रसारण गरिरहनुपर्ने थिएन ।

यस्ता अभिव्यक्ति पहिले पनि बेलामौकामा आएको पाइन्छ । तर समयको अन्तरालमा बिलाएर गएको देखिन्छ । जनतान्त्रिक तराई मुक्तिमोर्चा -ज्वाला समूह) का अध्यक्ष नगेन्द्रप्रसाद पासवानले स्वतन्त्र तराईको जन्म भइसकेको र सीमा पनि भौगोलिक दृष्टिकोणले आफैं स्पष्ट रूपमा छुट्टइिसकेकोले सीमा छुटयाउने वार्तामात्र हुन बाँकी रहेको कुरा २०६४ असार २७ मा बोलेका थिए । यस्तैगरी तमलोपा अध्यक्ष महन्थ ठाकुरले २०६४ माघ १० मा मधेसी मूल वासिन्दाको माग पूरा नभए मधेस छुट्टै राष्ट्र हुनसक्छ भनेका थिए । तमलोपा नेता राजेन्द्र महतोले मधेसी जनता २३९ वर्षको गुलामीबाट मुक्ति पाउन लडाइँ लडिरहेको र ‘समग्र मधेस एक प्रदेश’ नभए मुलुकमा विखण्डन आउनसक्ने अभिव्यक्ति २०६४ माघ १७ मा दिएका थिए । त्यसैले यस प्रकारको भनाइको छाल समय-समयमा आउँदै हराउँदै गएका छन् । हालैको अभिव्यक्तिलाई पनि यस्तै दर्जामा राख्न सकिन्छ ।

तर नेपाली जनताले हालको अभिव्यक्तिलाई संवेदनशील मानेका छन् । अभिव्यक्ति दिने व्यक्ति बहालवाला रक्षामन्त्री हुन् । देशको साधसिमानामा कुनै कतै संकट परेमा रक्षा मन्त्रालयबाट त्यसको प्रतिरक्षा हुनुपर्ने हो । तर स्वयम् रक्षामन्त्रीले नै यस्तो भनेको हुँदा अन्तर्राष्ट्रिय समुदायले पनि कान ठाडो पारेका छन् । संसदीय व्यवस्थामा मन्त्रीहरू प्रधानमन्त्रीप्रति उत्तरदायी रहन्छन् । प्रधानमन्त्रीले पनि मन्त्रिपरिषदका सदस्यहरूलाई ‘चेन अफ कमान्ड’मा राखेको हुन्छ । संसद अधिवेशनको सुरुमा राष्ट्रप्रमुखद्वारा सरकारको नीति तथा कार्यक्रम उजागर गरिन्छ र यसैअनुरूप मन्त्रिपरिषदले काम गर्छ । कुनै मन्त्रीले यस विपरीत बोलेमा प्रधानमन्त्री पनि जिम्मेवार रहन्छन् । मन्त्रीले बोलेको कुरा राष्ट्रिय नीति तथा संविधान विपरीत ठहरिए पदबाट राजीनामा दिने प्रचलन अन्तर्राष्ट्रिय जगतमा छ । यसैले पदाधिकारीले सार्वजनिक स्थानमा उद्गार गर्दा सोची-सम्झी राष्ट्रिय एकता, प्रादेशिक अखण्डता र देशको सार्वभौमिकतामा अडिग रही बोल्ने गर्नुपर्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: