Road Widening Movement and Traffick Jam

                      सडक चौडा अभियान र ट्राफिक जाम   

बुद्धिनारायण श्रेष्ठ
काठमाडौं महानगरपालिकाभित्रका सडक चौडा गर्ने काम अभियानकै रूपमा थालिएको छ । यो काम शीतलनिवासबाट प्रधानमन्त्री निवास हुँदै चारखाल अड्डासम्मको थिरबममल्ल सडकबाट सुरु गरिएको थियो । महानगर क्षेत्रको मुख्य मार्गको साँगुरो सडकपेटी तथा अनधिकृत तवरमा बनाइएका घरटहरा र कुनाकाप्चाका संरचना भत्काउँदै अहिले नदीकिनारमा बसेका सुकुम्बासी बस्तीका छाप्राटहरा भत्काउन लागिएको छ । यद्यपि भत्काइएका सडकपेटी तथा फराकिलो बनाइएका सडकका खाल्डाखुल्डी पुर्ने र सम्याउने काम नगण्य मात्रमा भएको छ । चारखाल अड्डाअगाडिको सडकपेटी अत्यन्तै साँघुरो महसुस हुन्छ । दुई जना पैदलयात्रु आमनेसामने भई हिँड्न अप्ठेरो छ । आखिर नगरका व्यस्त क्षेत्रको यस्ता सडक संरचना किन फराकिलो पार्न लागिएको छ ?

महानगर क्षेत्रको सडकमार्ग फराकिलो पार्नुपर्ने मुख्य कारण नगर क्षेत्रको सडकमा बेलामौकामा सवारीसाधन घन्टौं रोकिई जाम हुने समस्यालाई समाधान गर्नु नै हो । तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने यसरी सडकको कुनाकाप्ची फराकिलो पार्दैमा महानगरको व्यस्त सडकमा गुड्ने सवारीसाधन जामको समस्या समाधान होला ?

सडक चौडा पार्ने काम एउटा विकल्प मात्र हो । ट्राफिक जामको रोग निदान गर्न सडक चौडासँग गाँसिएका अन्य पूरक वैकल्पिक व्यवस्थामा पनि सुधार आउनुपर्छ । यस्ता तत्त्वहरूमध्ये सडक व्यवस्थापन, सवारीचालक शिक्षा, ट्राफिक प्रहरी, ट्राफिक बत्ती, सडक प्रशासन, पैदलयात्री अनुशासन, नागरिक चेतना, छुट्टै बाइक-लेन आदि पर्छन् । सडक दायाँबायाँ अनियमित तथा अतिक्रमण गरी बनाइएका भौतिक संरचना जसरी युद्धस्तरमा भत्काइए, त्यसैगरी यी पूरक वैकल्पिक तत्त्वलाई पनि फुर्तीका साथ बिनामुलाहिजा काबुमा ल्याउन सक्नुपर्छ ।

सडक व्यवस्थापन

सडक व्यवस्थापनअन्तर्गत जनघनत्व अनुसार छहारीसहितको बस वे -बिसौनी), ट्याक्सी स्ट्यान्ड, ट्याक्सी तथा निजी गाडी पार्किङ क्षेत्र निर्माण गरिनुपर्छ । सडक सुपरिवेक्षक चनाखो भई सानोतिनो खाल्डाखुल्डी देखिनेबित्तिकै समयमै मर्मतसम्भार गर्ने प्रबन्ध हुनुपर्छ । खाडलको मुख फराकिलो भइसकेपछि लागत धेरै लाग्ने हुन्छ । रोडबोर्डको व्यवस्थापन सञ्चालन चुस्त हुनुपर्छ । जेब्रा क्रसिङ निर्माणलाई पनि महत्त्वपूर्ण तत्त्वका रूपमा लिनुपर्छ । कुनै पनि सडकबाट दायाँ या बायाँ मोडिने जङ्क्सन बिन्दु जस्तोसुकै जाम भएका बखतमा पनि भ्वाङ् -खाली) रहनुपर्छ । यस ठाउँमा क्रस चिह्न अंकित गरिनुपर्छ । भ्वाङमा सवारीसाधन अडाए जरिवाना गर्नुपर्छ । यस्तो खाली ठाउँ राखिएमा दाहिने-देब्रे मोडिने गाडी जाममा फस्ने थिएनन् । यस्ता समस्या समाधान नगरी बांगाटिंगा सडक केही फराकिलो पार्दैमा ट्राफिक जामको समस्या हट्नेवाला देखिँदैन । भारतका प्रधानमान्त्री इन्दिरा गान्धीले इमर्जेन्सीका समयमा नयाँदिल्लीका सडकमार्ग फराकिलो बनाई हराभरा तुल्याएका थिए । यद्यपि घरजग्गाधनीले निकै विरोध गरेका थिए । तर उनीहरूको केही लागेन । यति हुँदाहुँदै पनि चाँदनीचोक जस्तो घुइँचो पुराना सडक छेउछाउ तोडमोड गरिएन ।

सवारीचालक शिक्षा

कुनै कुरा पनि सुगम र व्यवस्थित तरिकाले सञ्चालन गर्न सम्बन्धित विषयको औपचारिक शिक्षा हासिल गरेको हुनुपर्छ । सडकमा सवारीसाधन जाम कम गर्ने कुरा सवारीचालकमा पनि भर पर्छ । चालकले अज्ञान अथवा अल्पज्ञानका कारण वाहन जहाँ ँपायो त्यहीं रोक्ने गर्नाले पनि पछाडि आइरहेका गाडी जाममा पर्छन् । हामीकहाँ नेपाल यातायातजस्ता सार्वजनिक सवारीसाधन चलाउने चालक मुढेबल लगाएर अगाडिको गाडीलाई ओभरटेक गर्छन्, अनि एकैछिन पछि एउटा यात्रुले यस्सो हात उठाइदियो भने ठाउँ-कुठाउँमा घ्याच्चै रोक्छन् । अनि महानगर सडकजाम सडक चौडा गरेर मात्र सुल्भिmन्छ र ! रजिस्टर्ड ड्राइभिङ स्कुलबाट निश्चित अवधिको कोर्स सफलतासाथ पूरा गरेको प्रमाणपत्र प्राप्त गरेपछि मात्र सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिन सक्ने व्यवस्था गरिनुपर्छ । अनुमतिपत्र प्राप्त गरेको तीन महिनाभित्र कुनै घटना/दुर्घटना भए ड्राइभिङ स्कुल जिम्मेवार रहने प्रबन्ध हुनुपर्छ । दुर्भाग्यवस हामीकहाँ च्याउसरि उम्रेका ड्राइभिङ सिकाउने संस्थाले सैद्धान्तिक र प्राक्टिकल ज्ञान नै पूरा मात्रामा दिने गरेका छैनन् । हामी तपाईंले ‘एल अर्थात् लर्नर’ लेखेको गाडी हाम्रो सडकमा गुडेको कहिल्यै देखेका छैनौं । अनि कहाँबाट पाउँछन् सिकारु चालकले व्यावहारिक ज्ञान र सीप ! यहाँ त ट्रक र बसका हेल्पर खलासी दुई-चार महिना रातबेरात हुइँकिँदै सक्कली चालक आराम गरेका बेला नक्कली चालक बन्दाबन्दै गाडीचालक भइहाल्छन् । उनीहरू गाडी रोकिने बेला त के मोडिने बेलामा पनि साइड सिग्नल बाल्ने कष्ट उठाउँदैनन् । अनि झ्याम्म एक्सिडेन्ट पर्छ । परिणाम घन्टौं सडक जाम हुन पुग्छ ।

ट्राफिक प्रहरी

ट्राफिक प्रहरीको कर्तव्य सडकमा सवारीसाधन सुगमताका साथ चलाउने अनुमति दिनु हो । यसैगरी गल्ती गर्ने चालकलाई हदैसम्म सजाय गर्नु पनि हो । यसभन्दा पनि मुख्य कुरो चालकलाई गल्ती गर्ने मौका नै नदिनु हो । घटना घट्नुअगावै ट्राफिकले सचेत गराउनुपर्छ । घटना घटिसकेपछि मात्र प्रहरीले उपस्थिति जनाउने होइन । उदाहरणार्थ, एकतर्फी सडकमा प्रहरी सडक मोडमा अलि पर -लुकेर) बसेको हुन्छ । साधन मोडिनेबित्तिकै उसले रोक्छ । यसको बदला सडक जंक्सनमा बसेर साधन मोड्न साइडलाइट बाल्दा इसाराले जान पाइन्न भन्ने गरेमा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु भनेजस्तै घटना घट्न पाउने थिएन । तर घटना घटेपछि सवारीचालक र ट्राफिकबीच गलफती पनि हुन्छ । अनि साँघुरो सडक ट्राफिक जाममा पर्छ अनि सडक कुनाकाप्ची फराकिलो पार्दैमा नगरको सवारीसाधन जाम हुने समस्या टर्ला त ?

सवारीसाधन आवागमन र यसको चालन सार्वजनिक चासो र सरोकारको विषय हो । सवारी चालकले कुठाउँमा गाडी अडाए अथवा ट्राफिक नियमावली मिचेमा उनलाई दण्डित गर्नुपर्छ । यो ट्राफिक प्रहरी प्रशासनसँग सम्बन्धित रहेको छ । तर सबै ठाउँ, समय तथा घटनामा प्रहरीले पूर्ण न्याय पुर्‍याउँछन् भन्ने छैन । यसमा मानवीय कमजोरी रहेको हुन सक्छ । जानीजानी कमजोरी गर्ने तत्त्वमाथि नागरिक अधिकारको हनन हुन गए त्यसप्रति अपिल गर्ने संस्थाको प्रबन्ध हुनुपर्छ । यसका लागि ट्राफिक अदालतको व्यवस्था हुनु सान्दर्भिक देखिन्छ ।

पैदलयात्री अनुशासन

नगर क्षेत्रको ट्राफिक जाम कम गर्न पैदलयात्रीको पनि भूमिका रहन्छ । जेब्रा-क्रसिङ र आकासेपुलबाहेक जताततैबाट पैदलयात्रुले सडक पार गर्न लाग्दा सवारीसाधन रोकिन पुगी जामको मात्रा बढ्न जान्छ । सडक डिभाइडरलाई ढालेर अथवा नाघेर बाटो पार गर्ने संख्या पनि कम छैन । यस्ता यात्रुप्रति जनचेतना अभिवृद्धि गर्ने संयन्त्र खडा गरिनुपर्छ । सडक पार गर्न नहुने ठाउँबाट पार गर्दा पैदलयात्रु दुर्घटना परे त्यस्ताको क्षतिपूर्ति दिन नपर्ने प्रबन्ध भए पैदलयात्रु अनुशासनमा बस्नुपर्ने चेतना अभिवृद्धि हुन्थ्यो । यसबाहेक जेब्रा-क्रसिङ नभएको र ट्राफिक प्रहरी नरहने स्थानमा सडक पार गर्दा सवारीसाधनले प्राथमिकता पाउने हो कि पैदलयात्रीले भन्ने व्यावहारिक नियमावली बन्नु सान्दर्भिक हुन्छ । यस्तैगरी सिधा सडकमा गुडेका सवारीसाधनले प्राथमिकता पाउने हो या मोडिएर आएकाले भन्ने पनि ट्राफिक नियमावलीभित्र पार्नुपर्छ । विकसित देशमा हो भने पैदलयात्रीले प्राथमिकता पाउँछन् । सिधा सडकबाट र मोडिएर जाने वाहनले आलोपालो गर्ने चलन छ । हामीकहाँ जसको शक्ति उसैको भक्ति प्रथा रहेको छ । अनि महानगरमा गाडी जाम हुने समस्या कसरी समाधान हुन्छ ?

बाइक-लेन

खुसीको खबर, माइतीघर-तीनकुने सडक ६ लेनको हुने भएको छ । साइकल-लेन छुट्टै हुनेछ र यसको जमिनभित्र युटिलिटी पाइप, तार आदि हुनेछ । यसो त अहिल्यै पनि विमानस्थल गोल्डेनगेट छेउछाउ साइकल-लेन छ । तर साइकलवालाले उपयोग गरेका छैनन्, मोटरगाडी गुडेकैतिर जोतिन आइपुग्छन् । यहाँ त साइकलभन्दा पनि मोटरबाइक-लेन आवश्यक छ । वागमती अञ्चलमा ४ लाख ६० हजार मोटरबाइक दर्ता भएका छन् । चारपांग्रे सवारीसाधन लगभग ९५ हजार छन् ।

सडकको सबभन्दा बायाँतर्फ बाइक-लेन बनाइए चारपांग्रे साधन जाममा पर्ने थिएनन् । मोटरबाइक चारपांग्रे गाडीको दायाँ र बायाँबाट एकैपटक गोली छुटेजस्तो गरी ओभरटेक गर्छन् अनि ट्राफिक स्टप नजिकै दुई गाडीबीच घ्यास्स घुसि्रन्छन् । तीनकुने-सूर्यविनायक ६ लेनको सडकमा बायाँपट्ट ितुरुन्तै बाइक-लेन छुट्याउन सकिन्छ । किन कसैको ध्यान नपुगेको होला ? साँच्चै भन्ने हो भने बाइक-लेन सिर्जना गरिएमा नगर क्षेत्रको सडक सवारीजामको समस्या ७५ प्रतिशत समाधान हुन्छ ।

ट्राफिक बत्ती र ओभरफ्लाइ

भएका ट्राफिक लाइटको मर्मतसम्भार गरी सुचारु भएमा र ठाउँठाउँमा सडक ओभरफ्लाइ निर्माण गरिए सवारीसाधन जाम देख्न नपर्ने हुन सक्छ । बिचरा, अहिलेका ट्राफिक प्रहरीले स्वविवेकीय आधारमा कुनै सडकबाट गुडेका साधनलाई दस मिनेटसम्म जान दिइरहन्छन् भने अर्को सडकका साधनलाई तीन-चार मिनेटमै रोकिदिन्छन् । यस्तो असमान अवधिले गर्दा एकातिरको गाडीजामको लस्करले किलोमिटर नाघेको हुन्छ र यसले गर्दा दायाँबायाँका सहायक मार्गमा अर्को जामको लर्को लाग्छ ।

अन्तिम

यी सबै कारकतत्त्व विचार गर्दा वर्तमान सडकको भित्तै पुर्‍याएर चौडा गर्दा पनि सवारीसाधन जामको समस्या पूरै समाधान हुने देखिँदैन । यसको व्यवस्थापन, सडक प्रशासन र नागरिक चेतना पनि पूरक तत्त्व हुन् । यसबाहेक मुख्य सहरी भागको ट्राफिक जाम साँच्चै घटाउने या हटाउने हो भने बुढानीलकण्ठबाट गोदावरी जाने, थानकोटबाट सुन्दरीजल जानेजस्ता सवारीसाधन मध्यसहर नछोईकन ओहोरदोहोर गर्न सक्ने हुनुपर्छ । यसका लागि नदी कोरिडरमार्गको विकास तथा विस्तार हुनुपर्छ । महानगरको मध्यमार्गका रूपमा रहेको वागमती पुलदेखि पानीपोखरी, कलंकी चोकदेखि चाबहिलचोक, कोटेश्वरदेखि विशालनगरजस्ता क्षेत्रबाट सिधै बाहिर निस्कने त्रिज्यामार्ग -रेडियल रोड) र लिंकरोड विकास गर्नुपर्छ अनि मात्रै महानगरभित्रको सडक चौडा अभियान सफल भई कान्तिपुरी नगरीको सवारीसाधन घन्टौं जाम हुने रोगबाट मुक्त हुन सक्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: