Nepal-China Border Business

नेपाल-चीन सीमा मामिला

(दुई देशबीचको सीमावार्ता नै अवरोध हुनु हुँदैन । कूटनीतिक माध्यम परिचालन गरी वार्ताद्वारा सीमा मामिला हल गर्नुपर्छ ।)

नेपाल र चीनबीच चीनको सियानमा २०६८ माघ १८ देखि हुने भनिएको संयुक्त सीमा समितिको बैठक नेपालले एकतर्फीर् रूपमा दुई दिनअघि नै रद्द गरेको थियो । यद्यपि परराष्ट्र सचिव दुर्गा भट्टराईले वार्ता रद्द होइन, अलिपछि गर्न स्थगित गरिएको बताएका थिए ।

नेपाललले एकाएक वार्ता रद्द गर्नुको कारण संयुक्त सीमा सुपरिवेक्षण टोलीले कुठाउँमा फेला पारेको सीमाचिह्न नं. ५७ र सगरमाथाको उचाइ सम्बन्धमा बैठकमा एकमत नहुने जस्तो देखिनु नै हो । यो मामिलामा नेपाली टोलीले प्रधानमन्त्री बाबुराम भट्टराईलाईर् अगि्रम जानकारी गराएको थियो । प्रधानमन्त्री भट्टराईले अहिले त्यस सम्बन्धमा कुरै नगर्नु भन्ने निर्देशन दिएपछि नेपालले एकतर्फी रूपमा वार्ता रद्द गरेको थियो (कान्तिपुर, माघ २०) ।

पाँच वर्षअघि दुई देश बीचको साझा सीमा निरीक्षण गरी आधुनिक प्रविधिबाट नक्सांकनसमेत तयार पारी चौथो बोर्डर प्रोटोकलमा ‘प्लेनी पोटिन्सियरी’ले हस्ताक्षर गरी नवीकरण गर्न संयुक्त सीमा समिति बनेको थियो । तर अहिले प्रधानमन्त्रीले वार्ता नै रद्द गर्न किन निर्देशन दिए ? सीमा सम्बन्धी संवेदनशील मामिलामा जमिन गुमाउने कुरा आए यस्तोमा सहमति जनाउँदा आफूलाई ‘राष्ट्रघाती’को आरोप आइलाग्ने र यसबाट महत्त्वपूर्ण राजनीतिक प्रभाव पर्ने डरले भट्टराईले वार्ता नगर्न निर्देशन दिएको कुरा बुझिएको छ । तर कूटनीतिक माध्यमद्वारा एकआपसमा सल्लाह नगरी सीमावार्ता किन रद्द गरियो भन्ने कुरा विचारणीय छ । प्रधानमन्त्रीलाई आरोप लाग्ने डरमात्रै हो कि यसमा नेपाल र चीन बीचको कूटनीतिक मामिलाको उत्तार-चढाव पनि गाँसिएको छ भन्ने कुरा मननीय छ ।

यसै सम्बन्धमा नेपालका लागि चिनियाँ राजदूत वाङ हौलानले भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा माघ १९ गते आयोजित, नेपालमा चिनियाँ पर्यटकहरूको सम्भावना विषयक छलफल कार्यक्रममा ‘ती समस्या जो सीमासँग सम्बन्धित छन्, लाई सधैंका लागि सुल्झाउने प्रयासमा दुवै मुलुुक लागिपरे पनि अन्तिम समयमा नेपालले खुट्टा झिकेको छ’ भनेका छन् । यसबाट नेपाली पक्षले एकतर्फी रूपमा सीमावार्ता रद्द गरेको मामिलाप्रति चिनियाँ पक्ष सशंकित बनेको देखिन्छ । यस्तो शंकालाई नेपालले कसरी हटाउने भन्ने कुरामा ठोस रणनीति लिनुपर्ने बेला आएको छ । होइन भने भारत र चीनबीच नेपाल ‘पुल’ बन्ने भन्ने प्रधानमन्त्रीको सोचाइमा तुषारापात पर्नसक्ने देखिन्छ । यसको असर सम्पूर्ण नेपाली जनतामा पर्न सक्छ । यसै त चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको पुस ३० को चारघन्टे नेपाल भ्रमणका समय नेपाली जनताले उनको अनुहार हेर्न नपाएको र नागरिक अभिनन्दन गर्न नपाएको गुनासो जनमानसमा रहेको छ । कतै यस्ता कूटनीतिक कमजोरी र मौका-बेमौकाको अभिव्यक्तिले दुई देश बीचको आपसी सम्बन्ध र सम्पर्कमा असर पार्ने त होइन ? तर यसमा प्रतिकूल असर पर्न दिनु हुँदैन । संयुक्त बैठक रद्द हुनमा सीमाचिह्न र सगरमाथाको उचाइ मामिलातर्फ लागौं ।

सीमाचिह्न नं. ५७

२०६३ बैसाख ५ मा गठन भएको तेस्रो संयुक्त सीमा सुपरीवेक्षण समितिको अन्य काम सकिए पनि सीमाचिह्न नं. ५७ को अवस्थिति कुठाउँमा भेटिनाका कारणले बाँकी काम अड्किन पुगेको देखिन्छ । नेपाल र चीनबीच संवत् २०१८-१९ मा सीमाङ्कन गर्ने सिलसिलामा यो सीमाचिह्न स्थापना गरिएको थियो । अनि ०३५-३६ मा पहिलो सीमा सुपरीवेक्षण गरेका समय यो चिह्न भेट्टाउन सकिएन । यसैगरी संवत् २०४५ मा दोस्रो सीमा सुपरीवेक्षणका बेला पनि यो ५७ नं. को सीमाचिह्न फेला पर्न सकेन । तर यस पटकको तेस्रो संयुक्त सुपरीवेक्षण टोलीले भाग्यवश चट्टानमाथि अंकित गरिएको यो सीमाचिह्न पत्ता लगायो । यद्यपि सीमा उल्लेखन -बाउन्डरी डेलिमिटेसन) गरेको भन्दा अलिकति कुठाउँमा अर्थात् नेपालतर्फ रहेको देखियो । यसबाट नेपालको केही हेक्टर बञ्जर तथा भिरालो जमिनको प्रश्न उठेको छ । यस्तो प्रश्नबाट कतै नेपाल र चीनबीच सीमा विवाद भएर काम अल्भिmएको त होइन ? या चीनले पनि नेपालको सीमा मिचेकाले यस्तो विलम्ब भएको पो हो कि ? भन्ने विभिन्न शंका-उपशंका उत्पन्न भएको छ ।

यस सम्बन्धमा २०१८ असोज २१ मा दुई देशबीच भएको ‘नेपाल-चीन सिमानाको सन्धिपत्र’ अध्ययन गर्दा सीमारेखा ‘ग्यानब्यान पहाडी शृङखला हुँदै तलतिर झरी लाप्चे नदीको पश्चिमी सहायक नदी पार गर्छ र त्यसपछि कोर्लाङपारिको टिप्पामा ५ हजार ३ सय ७० दसमलव ५ मिटरको उचाइतक पहाडी शृङखला हुँदै जान्छ’ भनी उल्लेख गरिएको छ ।

यसैगरी २०३६ मंसिर ४ मा हस्ताक्षर गरिएको पहिलो सीमा प्रोटोकोलमा ‘सीमाचिह्न नं. ५६ बाट सीमारेखा हिउँले ढाकेको कोर्लाङपारि पहाडको पर्वतमालाबाट गुज्रँदै पहिला उत्तर-पूर्वतर्फ जान्छ र त्यसपछि ५ हजार ३ सय १३ मिटरको उचाइबाट ५ हजार ६ सय ६६ मिटर हुँदै उत्तर भएर पश्चिमतर्फ लाग्छ, अनि उत्तर-पूर्वतर्फको ५ हजार ७ सय ३८ मिटरको सीमाचिह्न नं. ५७ मा पुग्छ’ भन्ने वाक्य लेखिएको छ ।

नेपाल-चीन सीमा समितिको प्रतिवेदन- २०२१ अध्ययन गर्दा ऐतिहासिक कालमा यस क्षेत्रमा नेपाल र तिब्बतबीच विवाद भई समाधान भएको कुरा देखिन्छ । यसअनुसार संवत् १८५२ को पत्र व्यवहारमा नेपाल ‘लप्ची’लाई नेपालभित्रकै भूमि ठान्थ्यो, जबकि तिब्बत लप्चीमा रहेको गुम्बालाई आफ्नै ठानी त्यहाँ दलाई लामाको आदेश पठाउँथ्यो । तर १८६० माघ सुदी ६ रोज २ मा अम्बा घ्याङलुङले लेखेको चिठ्ठीमा लप्ची र सोथाम नेपालको हो र सोक्टा तिब्बतकै हो भनी स्पष्ट गरेका थिए । यस्तै २०१८-१९ को नेपाल-चीन सीमावार्ताका समयमा आदान-प्रदान गरिएको पत्रमा कोर्लाङपारिको टिप्पा सिमाना भई लप्ची र सुमनाम दुवै नेपालभित्र पर्ने व्यहोरा स्पष्ट रूपमा उल्लेख भएको छ ।

यी विवरणबाट कोर्लाङपारि टिप्पाको ५ हजार ७ सय ३८ मिटरको उचाइमा सीमाचिह्न नं. ५७ रहनुपर्छ भन्ने कुरा सबैतिरबाट देखिन आउँछ । नापी विभागले संवत् २०५४ मा प्रकाशित गरेको स्थलरूप नक्सामा पनि यसैअनुसार अंकन गरिएको छ, तर कोर्लाङपारिको टिप्प्ाामा सीमाचिह्न नं. ५७ अंकन भएको छैन । नं. ५६ बाट एकैचोटी ५८ अंकन गरिएको छ । सायद पहिलो र दोस्रो सीमा सुपरीवेक्षणमा सीमाचिह्न फेला नपरेकाले नक्सा काँचै राखिएको होला ।

समाधान

५ हजार ७ सय ३८ मिटरमा भएकेा ५७ नं. सीमाचिह्नलाई मान्दा नेपालले करिब ६ हेक्टर भूमि चीनलाई छोड्नुपर्ने हुन्छ । सार्वभौमसत्ता सम्पन्न राष्ट्रले आफ्नो एक इन्च भूमि पनि छाड्ने कुरा आउँदैन । तर यस मामिलामा चीनको यत्तिकै क्षेत्रफलको जमिन नेपालतर्फ पारिए समाधान हुनसक्छ । यसका लागि सीमाचिह्न ५७ बाट चीनतर्फ सीमाचिह्न नं. ५७ -१) सहायक खम्बा स्थापना गरी पानीढलोबाट ६ हेक्टर जमिन नेपालतर्फ पार्दै सीमालाई साविक सीमारेखामा जोड्दै लैजानु समाधानको एउटा उपाय हुनसक्छ, तर यसका लागि कूटनीतिक पहलको आवश्यकता पर्छ । स्मरणीय छ, संवत् २०१७-१८ मा नेपाल र चीनको सीमा अंकन गर्दा पानीढलो, नदी सीमा सिद्धान्त, भोगाधिकार, लेनदेन, नागरिकताको आधार तथा प्रचलन अपनाइएको थियो । त्यसै सिद्धान्तलाई मानी सीमाचिह्न ५७ लाई यथावत राखी नंं. ५७ -१) थप गरिएमा समाधानको बाटो निक्लन सक्ने देखिन्छ ।

सगरमाथाको उचाइ   

नेपाल-चीन संयुक्त सीमा समितिको २०६३ पुस १२ मा काठमाडौंमा भएको बैठकमा नयाँ बनाइने नक्सामा सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दसमलव ४३ मिटर अंकन गरिनुपर्ने कुरा चीनले नेपालसमक्ष प्रस्ताव राख्यो । तर नेपालले सधैं सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मान्दै आएको व्यहोरा चीनसमक्ष प्रस्तुत गर्‍यो । छलफलका क्रममा चीनले हिउँको भाग ३ दसमलव ५७ मिटर घटाइ चट्टानी भागको उचाइ उल्लेख गर्नुपर्ने कुराको जिरह गर्‍यो । किनभने चीनले २०६२ असोज २३ मा चोमोलोङ्माको मापनको क्रममा हिउँले छोपेको भाग कट्टा गरी सगरमाथाको चट्टानी भागको उचाइ घोषणा गरेको थियो ।

२०६६ चैत २२ को संयुक्त बैठककमा नक्सामा सगरमाथाको उचाइ चीनले प्रस्ताव गरेको नयाँ उचाइ लेख्ने र नेपालले आधिकारिक रूपमा मान्यता दिएको परम्परागत उचाइलाई पनि निरन्तरता दिँदै दुवै उचाइ उल्लेख गर्ने कुरामा सहमत भएको थियो । तर नेपाल सरकारले यस सम्बन्धमा आजसम्म कुनै निर्णय गर्नसकेको छैन । यसैले संयुक्त समितिको कार्यअवधि लम्मिँदै आएको थियो । अब त प्रधानमन्त्रीको निर्देशनले वार्ता नै रोकियो ।

वास्तवमा एउटा सगरमाथाको उचाइ दुई प्रकारको राख्न कति वैज्ञानिक हुन्छ ? भन्ने कुरा जिज्ञासापूर्ण छ । नेपालले परम्परागत उचाइ भन्ने र चीनले घटी उचाइलाई मान्ने गर्दा विश्वका अन्य देशले कुन उचाइ पछ्याउने ? यस सम्बन्धमा जिज्ञासा उठ्न सक्छ, सगरमाथाको उचाइ हिमचुचुरोको हुनुपर्ने हो या हिउँभित्रको चट्टानी भागको ?

हिमचुचुरोको उचाइ गणना गर्ने सम्बन्धमा आजसम्मको अन्तर्राष्ट्रिय प्रचलन, मापदण्ड र प्राकृतिक सिद्धान्तअनुरूप विश्वका विभिन्न हिमचुलीको उचाइ हिउँको माथिल्लो भागलाई लिइने गरिएको छ । संसारका अग्ला शिखरको उचाइ हिउँसाथ अथवा हिउँ बेगरको गरी दुई प्रकारले अंकन गर्ने प्रथा कतै पनि अपनाइएको पाइँदैन । सगरमाथा सम्बन्धमा दुई उचाइ मानिए आरोही कुन विन्दुमा पुगेपछि आरोहण सफल भएको मान्ने ? हिउँको भागमुनिको चट्टानी तहसम्म पुगेकोलाई सफल मान्ने कि हिउँले पुरिएको चुचुरोमा पुगी झण्डा गाडेपछि मात्र सगरमाथा विजय गरेको मान्ने ? यस्ता विवादित कुरा उठ्ने भएकाले सगरमाथाको दुइटा उचाइ नक्सामा अंकन गरिनु युक्तिसंगत देखिँदैन ।

अहिलेसम्म चीनले आफ्नै तरिकाले सगरमाथाको मापन गरेको छ । चुचुरो नेपालतर्फ परेको र त्यसको उत्तर-दक्षिणी फेद चीन र नेपालमा रहेको सगरमाथाको उचाइ मापन र निर्धारण गर्न अब संयुक्त सीमा समिति अन्तर्गत एक संयुक्त टोली गठन गरिनुपर्छ र यसै टोलीले संगणना गरेको अन्तिम उचाइलाई नक्सामा अङ्कन गरिनुपर्छ । यत्तिकै कुुरालाई लिएर दुई देश बीचको सीमावार्ता नै अवरोध हुनुहुँदैन । कूटनीतिक माध्यम परिचालन गरी वार्ताद्वारा सीमा मामिला हल गर्नुपर्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: