Are the Leaders Seeking Second Mahendra ?

                 नेताले दोस्रो महेन्द्र खोजेका हुन् ?

Blue Jacket

बुद्धिनारायण श्रेष्ठ

महेन्द्रलाई विश्वेश्वरप्रति झ्वाँक चलेजस्तै बाबुरामप्रति रामवरणलाई पनि झ्वाँक उठ्ने पो हो कि ! साँच्चै झ्वाँक चल्यो भने कतै दुवैजना गम्ल्याङ-गुम्लुङ हुने त होइनन् ?

राष्ट्रिय सहमतिको सरकार गठन गरी संकट समाधान खोज्ने उद्देश्यका निम्ति प्रमुख दलहरूबीच सहमति कायम गर्न राष्ट्रपतिले मंसिर ८ देखि दिएको नवौं पटकको समयसीमा माघ १ मा अन्त्य भयो । नौ पटकसम्म भकाभक म्याद थपदिंदा पनि प्रधानमन्त्रीको साझा उम्मेदवारमा नेताहरू समझदारीको विन्दुमा पुग्न नसकेपछि राष्ट्रपति थाकेर उनले प्रक्रियामात्रै जारी रहनेगरी म्याद थप्ने शृङखला अन्त्य गरे । प्रमुख दलहरूले सहमति जुटाउन नसकेपछि अब कति समयमात्र थप्दै जाने भन्ने मनसायअनुसार समयसीमा किटान नगरी सहमतीय सरकार निर्माण प्रक्रियालाई निरन्तरता दिइयो । यो प्रक्रिया कहिलेसम्म चालु रहने हो, स्वयम् राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि थाहा छैन, नागरिक समाजलाई त यसबारे झन् के थाहापत्तो हुने हो र !

यहाँ जिज्ञासा उत्पन्न हुन्छ, के कारणले विद्यमान सरकार वैध भएन र किन नयाँ सरकारका लागि साझा सहमति गर्नुपर्‍यो ? राष्ट्रपतिद्वारा अन्तरिम संविधानको धारा ३८ -१) अनुसार राजनीतिक सहमतिको सरकार गठनका लागि मंसिर ८ गते आह्वान गरिएकोले र संविधानसभाको असामयिक अन्त्य गरिएपछि मुलुकमा विद्यमान राजनीतिक र संवैधानिक संकट निकासका लागि बाबुराम भट्टराई नेतृत्वको सरकार बहिर्गमन हुनुपर्ने र सहमतीय सरकार गठन हुनुपर्ने भएकोले वर्तमान सरकार मान्य नभएको देखिन्छ ।

नयाँ सरकार किन आवश्यक पर्‍यो भन्ने सम्बन्धमा व्यवस्थापिका संसद भंग भइसकेको र वैशाख महिनामा नयाँ निर्वाचन हुने घोषणा पनि भइसकेको हुँदा निर्वाचनका लागि सहमति जुटाउन र संवैधानिक निकायको रिक्तता पूर्ति गर्नका निम्ति पनि सहमति आवश्यक परेको देखिन आएको छ । वास्तवमा निर्वाचन गराउने निकाय निर्वाचन आयोगका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबै पदाधिकारी रिक्त भइसकेका छन् । विधिको साशन लागु गर्ने सर्वोच्च अदालतका धेरै अस्थायी न्यायाधीशहरूको म्याद पनि सकिएको छ । यसका लागि पनि सहमतीय सरकारकै खाँचो परेको छ ।

दलका नेताहरूले आपसी सहमति गर्ने भन्दै दुई महिना समय लिए, तर आपसी सहमतिमा पुग्न सकेनन् । चाँडो सहमतिमा पुगी राजनीतिक निकास दिन जनताले विभिन्न कोणबाट दबाब दिए । अन्तर्राष्ट्रिय समुदायले समेत छिटो सहमति जुटाउन गरेको आग्रहलाई शीर्ष नेताहरूले कुनै वास्ता नै गरेनन् । आफ्नै तालमा ताली बजाइरहे । यसको कारणचाहिं एकथरी नेतालाई सत्ता नभई नहुने र अर्काथरीलाई सत्ता छाड्नै नचाहने रोग लागेकोले दलहरूबीच द्वन्द्व उत्पन्न भएको छ । यसले मुलुकलाई थप संकटमा धकेलेको छ । यस बाहेक शीर्ष नेताहरूमध्ये कुनै एकले अन्य नेताहरूबाट विश्वास लिन सक्षम भएको सावित गर्न नसकेकोले र आफूले अरु नेतालाई विश्वास दिन पनि नसकेको हुँदा सहमतिको समस्या घुमाउने दहमा रुमलिइरहेको वस्तुजस्तो भएको छ । एक नेता अर्को नेतालाई तत्कालका लागि सर्वोपरी नेतृत्वदायी मान्न तयार छैनन् । नेताले यस्तो अवस्था सिर्जना गरेका हुनाले यहाँ भन्नुपर्ने अवस्था उत्पन्न भएको छ- नेताहरूले दोस्रो महेन्द्र खोजेका हुन् कि ?

Sketch

इतिहास अवलोकन गर्दा राजा महेन्द्र र प्रधानमन्त्री विश्वेश्वरको स्वार्थ बाझिएको हुनाले २०१७ साल पुस १ गतेको घटना घट्न गयो । विश्वेश्वर लगायत नेताहरूलाई जेलमा हालियो । विश्वेश्वरलाई कहिलेसम्म जेल सजाय दिइने हो भनी सञ्चारजगतद्वारा सोधिएको जवाफमा महेन्द्रले ‘आवश्यकभन्दा एकदिन पनि बढी राखिने छैन’ भनी जवाफ दिएका थिए । यहाँ उल्लेख गर्नुपर्ने नै हुन्छ कि महेन्द्रको कूटनीति र विश्वेश्वरको राजनीति हातेमालो गरी सँगसँगै अगाडि बढेको भए आज नेपाल लगभग दक्षिण कोरियाली विकासकै हाराहारीमा पुग्ने थियो होला । तर दुर्भाग्य यस्तो हुनसकेन । यस्तो हुन नसक्नाको कारणचाहिं विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व युरोपेली समाजवादी देशमा समेत पुगिसकेको थियो । फलस्वरुप ती देशमा हुने भएका विश्व समाजवादी सम्मेलनमा जवाहरलाल नेहरूलाई भन्दा विश्वेश्वर कोइरालालाई बढी निम्तो आउन थालिसकेको थियो ।

अर्कोतर्फ राजा महेन्द्रले पूर्व-पश्चिम राजमार्ग निर्माणको थालनी गरेका, नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाएका, देशभित्र नेपाली रुपैयाँमा मात्र कारोबार सुरु गराएका र कोदारी राजमार्ग निर्माणका सन्दर्भमा चीन जोड्ने सडकबाट महेन्द्रले कम्युनिष्ट भित्र्याउन लागे भन्ने छिमेकीको भनाइमा ‘नेपालमा कम्युनिष्ट गाडी चढेर आउँदैन’ भन्न उनी बाध्य भएका थिए । यिनै परिप्रेक्ष्यमा नेपालको सरकार प्रमुख र राष्ट्र प्रमुखबीच मनोमालिन्यताको विजारोपन गर्न छिमेकी मुलुक उद्यत भएको होइन भन्न सकिँदैन । हाम्रा वर्तमान नेतावृन्दले यस्ता घटनाक्रमको मनन गर्नुपर्छ र त्यसबाट शिक्षा ग्रहण गर्न सक्नुपर्छ ।

विगतका घटनालाई हृदयंगम गर्दै देशको सर्वोत्तम हितका लागि नेताहरू मिलिजुली राजनीतिक गतिरोधको अन्त्यका लागि दलहरू सहमतिमा पुग्नुपर्छ । यस परिप्रेक्ष्यमा राष्ट्रपति र प्रधानमन्त्री दुवै अप्ठ्यारोमा परिसकेका छन् । राष्ट्रपतिले सहमतीय सरकारको आह्वान निरन्तर रूपले गरिरहेका छन् भने प्रधानमन्त्रीले पनि सहमति जुटाउन आफू प्रतिबद्ध रहेको पटक-पटक जनाएका छन् । तर परिणाम निक्लिएको छैन । यस्तो दुष्परिणामको दोष दुवैमा खनिन सक्छ ।

अन्तरिम संविधान- २०६३ पनि ‘बाँदरको पुच्छर, लौरो न हतियार’ भन्ने भनाइका रूपमा देखियो । संविधानले लौरोका रूपमा न कुनै नेताको टाउकोमा हिर्काउनसकेको देखियो, नत हतियारका रूपमा अवाञ्छित कसैलाई फायर गरेर -हटाएर) अर्कोलाई प्रतिस्थापन गर्न सक्ने देखियो । यो कस्तो प्रकारको संविधान निर्माण भएको रहेछ- व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका लागि १७ पटक निर्वाचन गर्दा पनि निर्णयमा पुग्न नसक्ने र यस्तैगरी सहमतीय सरकारका लागि नवौं पटकको म्याद थप्दा पनि समाधानको उपाय केही बोल्न नसक्ने संविधान कस्तो हो ? समस्या परेपछि बाधा-अड्काउ फुकाउने प्वाल त हुनैपर्ने हो । यसैबाट अन्तरिम संविधान निर्माताहरू कत्तिको दूरदर्शी रहेछन् भन्ने पनि देखियो । जनताले उनीहरूलाई चिन्नुपर्ने समय आएको छ ।

यहाँ त सहमतीय प्रकरणमा ‘जोगी देख्दा भैंसी तर्सने र भैंसी देख्दा जोगी तर्सने’ उखान चरितार्थ भएको जस्तो देखियो । महेन्द्रलाई विश्वेश्वरप्रति झ्वाँक चलेजस्तै बाबुरामप्रति रामवरणलाई पनि झ्वाँक उठ्ने पो हो कि ! साँच्चै झ्वाँक चल्यो भने के हुने हो, थाहा छैन । कतै दुवैजना गम्ल्याङ-गुम्लुङ हुने त होइनन् ? यसै प्रसङ्गमा उपराष्ट्रपति परमानन्द झाले हालै सप्तरीको बसबलपुर गाविसमा ‘मुलुकको हितका लागि राष्ट्रपतिले आवश्यक पर्दा कानुन मिचेरै भए पनि अघि बढ्दै संविधानको धारा ३८ -२) अनुसारको सरकार गठन गर्नुपर्छ भन्ने कुरा बताइसक्नु भएको छ । यसबाट के बुझिन सक्छ भने उनले एकाध हप्ता राष्ट्रपति पदको कार्यवाहक पाए भने संविधानको उपधारालाई हतियारका रूपमा प्रयोग गरी गतिरोध अन्त्य गर्ने थिए । यद्यपि यो कुरा आफ्नै ठाउँमा छ ।

आजको संवेदनशील घडीमा नेताहरूले मनन गर्नुपर्ने कुरा के देखियो भने मुलुकमा भोलि कतैबाट ठूलो राजनीतिक विध्वंस हुँदैछ, त्यसकारण आजै हामी सबै एकजुट भई सहमतिमा पुगौं र देशलाई निकास दिऔं भनी निर्णयमा पुग्नुपर्‍यो । राजनीतिकमात्र होइन, आर्थिक विकासमा पनि ध्यान दिऔं । सहमति गर्न नसके दोस्रो महेन्द्रले हामी सबैलाई गाँज्नेछन् भनी नेतावृन्दले बेलैमा सोच्नुपर्‍यो । शीर्ष नेताहरूले नेपालको विकासलाई फेरि अर्को तीस वर्ष पछाडि नधकेल्नोस् । कृपया, दोस्रो महेन्द्र नखोज्नोस् । भावी पिढीले तपाइर्ँहरूलाई सराप्नेछन् । तपाइर्ँहरू सबै विलिन हुने काम नगर्नोस् । सहमतिमा छिट्टै पुगिहाल्नोस् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: