In search of Nationalism

                      राष्ट्रियताको खोजी

नेपालको राष्ट्रवाद भनेको देशको उन्नति र हितलाई सर्वोपरी मान्ने सिद्धान्त वा नेपालप्रतिको विशेष भक्ति हो ।

बुद्धिनारायण श्रेष्ठ

All Takma- 69                      Buddhi Narayan Shrestha

राष्ट्रियता, देशप्रेम, राष्ट्रवाद, राष्ट्रवादी शक्ति र राष्ट्र –

        नेपालको राष्ट्रियता भनेको आफ्नो देशप्रति इमानदार र प्रतिबद्ध रही नेपालप्रति गर्व गर्ने एक प्रकारको भावना अथवा चेतना हो । नेपालको उत्थान तथा राजनीतिक स्वतन्त्रताको इच्छा, सम्पूर्ण नेपालको सर्वोपरी विकासको इच्छा राख्नु पनि हाम्रो राष्ट्रियता हो । यो समस्त नेपाली नागरिक एकताको भावना हो । यसले नेपाल र नेपाली जनताबीच सम्पर्क स्थापित गर्छ । यो राजनीतिक उद्देश्यभन्दा बढी विस्तृत र व्यापक समष्टिको भावना निर्माण गर्ने तत्त्व हो । यस्तो भावना नेपालको माटोसँग प्रत्यक्ष रूपले जोडिएको हुनुपर्छ । राष्ट्रियता किनबेच हुने वस्तु सम्भिmनुहुन्न । स्वाभिमानी नेपालीका निम्ति राष्ट्रियता नेपालीको आत्मा/मुटु हो । मुटुको माटो बेचिए देशको राष्ट्रियता अन्त्य हुन्छ । मुटु बन्द भए मान्छे मर्छ भनेजस्तै नेपालको राष्ट्रियता टुटे देशको अस्तित्व खतम हुन्छ ।

        देशप्रेम/देशभक्ति भन्नाले नेपालप्रति आस्था राख्नु र आफ्नो देशको भलाइ चाहनु हो भन्ने बुझ्नुपर्छ । राष्ट्रको निष्पक्ष कामकारबाहीले सबैको भलो हुन्छ भन्ने कुरामा विश्वास राख्नु पनि देशप्रेम हो । देशप्रेम त्यो दैवीगुण हो, जुन कुनै पनि लिङ्ग, जातजाति, रङ्ग, वर्ण तथा ओहदादेखि स्वतन्त्र रहन्छ । देशप्रेमको घनत्वको लेखाजोखा मानिसको विचार, भावना तथा कर्महरूबाट गरिनुपर्छ । नेपालको राष्ट्रवाद भनेको देशको उन्नति र हितलाई सर्वाेपरी मान्ने सिद्धान्त वा नेपालप्रतिको विशेष भक्ति हो । राष्ट्रवाद राजनीतिसँग प्रखर रूपमा गाँसिएको हुँदाहुँदै पनि यसको सम्बन्ध मुलुकको आर्थिक अवस्था, राष्ट्रिय सम्पदा, सामाजिक पहिचान, वेशभूषा, भाषा, संस्कृति सबैसँग सम्बन्धित रहेको हुन्छ । समग्रमा भन्नुपर्दा राष्ट्रवाद भनेको देशप्रति समर्पण हो । जनअधिकारको संरक्षण गर्नु हो ।

        नेपालको राष्ट्रवादी शक्ति भनेको देशको सर्वतोमुखी विकास गरी जनताको भलाइ गर्न योजना बनाउने, दिशानिर्देश गर्ने र त्यसको कार्यान्वयन गर्ने-गराउने नेपालभित्रै रहेका संघ, संस्था, निकाय वा राजनीतिक संगठन हो । यस्तो संगठन राष्ट्रप्रति समर्पित र मुलुकप्रति कटिबद्ध रहेको हुनुपर्छ । कुनै संगठनले नेपालको सबै जातजाति र देशको भूगोलप्रति समर्पित रही विविध निकायमा रहेका समूहको राष्ट्रिय भावना जोगाउँछ भने त्यसैलाई राष्ट्रवादी शक्ति मान्नुपर्छ । आफ्नो सत्ताको सौदाबाजी र स्वार्थसिद्धका लागि प्रयोग गर्नेलाई राष्ट्रवादी शक्ति मानिँदैन ।

        राष्ट्र भनेको स्वायत्त शासन भएको राजनीतिक मान्यताप्राप्त संस्था हो । यसमा रहेको केन्द्रीय सरकार आफ्नो भौगोलिक क्षेत्रभित्र नियमसंगत तरिकाले शक्ति परिचालन गर्न सर्वाधिकार सम्पन्न रहन्छ । राष्ट्र विभिन्न तत्त्वले बनेको हुन्छ- १) देशमा कुनै मुलुकको दबाब तथा प्रभाव नपरेको स्वतन्त्र सरकार हुनुपर्छ । आफ्नो देशको माटो, हावापानी, वातावरणअनुसार, नीतिगत तथा प्रशासकीय कामकारबाही सञ्चालन गरिएको हुनुपर्छ । राष्ट्रिय मुद्दाहरूमा आत्मनिर्णय गर्न सक्ने हुनुपर्छ । २) एकाएक घट्ने र छोटो समयावधिमा ह्वार-ह्वार्ती बढ्ने नभई स्थायी जनसंख्या हुनुपर्छ । ३) देशको तोकिएको निश्चित सिमाना हुन्छ । ४) राष्ट्रको हितमा विदेशी मुलुकहरूसँग पत्राचार, कुराकानी, संवाद, सन्धि-सम्झौता गर्न कुशल, कुटिल र सबल रही जनअधिकारको संरक्षण गर्ने  निकाय नै सक्षम सरकार ठहरिन्छ ।

राष्ट्रियता सम्बन्धी केही सवाल –

        माथि उल्लिखित बुँदाहरूका सम्बन्धमा वर्तमान अवस्थामा के हाम्रो सरकार स्वतन्त्र छ ? के स्थायी जनसंख्यामात्रै छ, हाम्रो देशमा ? के हाम्रो राष्ट्रको सीमारेखा सहिसलामत छ ? के हाम्रो सरकार राष्ट्रहितका लागि सक्षम, सबल र प्रभावकारी छ ?

        प्रथमतः हाम्रो सरकार सानोतिनो निर्णय गर्दा पनि हाम्रा छिमेकी राष्ट्रको के विचार छ भन्नेतर्फ लागेको पाइन्छ । तर आफ्नो राष्ट्र के भन्छ, नेपाली जनता के चाहन्छन् भन्नेतर्फ ध्यान दिएको पाइँदैन । कसरी हुन्छ, छिमेकीहरूलाई खुसी पारौं, आफ्नो कुर्सी बचाइराखौं भन्ने धारणा हाम्रो नेता र सरकार प्रमुखमा रहँदै आएको पाइन्छ । हाम्रा राजनीतिक नेताहरू सार्वभौमिकता/राष्ट्रियताप्रति प्रतिबद्ध हुनसकेको देखिँदैन ।

        दोस्रो, समय कुसमयमा नागरिकता प्रमाणपत्र वितरण अभियान चलाउनाको कारण र तीन जनाको सिफारिसले प्रमाणपत्र पाउने प्रावधान गरिएका हुँदा २०६३ सालमा सिफारिसका आधारमा प्रमाणपत्र वितरण गरिँदा करिब १५ लाख अनेपालीले नेपालको नागरिकता प्रमाणपत्र पाए भन्ने समाचार प्रसारण भएको थियो ।

        तेस्रो, दुवै छिमेकीतर्फ देशको सीमा मिचिएको छ, अतिक्रमण भएको छ, कतिपय स्थानमा सीमा विवादित छ । सीमा मिचिँदै गए देशको अस्तित्व लोप हुँदै जान्छ ।

        चौथो, हाम्रो सरकारको शासकीय क्षमता घट्दै गएकोले राष्ट्रियतामा आँच आएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रका लागि कम्मर कस्ने सरकार हुनुपर्नेमा सरकारको खुट्टा लुलो भइरहेछ । सरकार प्रमुख तथा शीर्ष नेताहरूको बोलीको ठेगान हुनछाडेको छ । निर्वाचन नभएकाले जनअधिकार कुण्ठित भएको छ । देशको राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकता दिनदिनै खिइएर गइरहेको छ ।

आखिर किन यस्तो भइरहेछ –

        देशमा राजनीतिक अस्थिरता, नेताहरूबीच एकआपसमा अहम्ता र असमझदारी बढ्दै जानाले र निर्वाचित सरकार नहुनाले नेपालको राष्ट्रियता खिइँदैछ । वैदेशिक हस्तक्षेपको मात्रा दिनदिनै बढ्दै गइरहेको हुनाले स्वाधीनतामा चोट परेको छ । पहिले सरकार गठन, प्रधानमन्त्री/मन्त्रीको नियुक्तिमा तथा नीतिगत कुराहरूमा अप्रत्यक्ष हस्तक्षेप हुन्थ्यो । अहिले त राज्यका विभिन्न अंगका पदाधिकारी तथा सचिव/सहसचिवको नियुक्ति तथा सरुवामा कार्यगत रूपमै प्रत्यक्ष हस्तक्षेपको रोग पसेको सुनिन्छ ।

        हाम्रो राष्ट्रियता र स्वाधीनताको कुरा बेलाबखत ढलपल हुने गरेको पाइन्छ । एउटा सरकार आउँछ, एक प्रकारको स्वाधीनताको कुरा गर्छ । अर्को सरकार आउँछ, अर्कै प्रसंग ल्याउँछ । हामीकहाँ जल-जमिन-जंगलजस्ता राष्ट्रिय सम्पदाको उपयोग, व्यापार-वाणिज्य, औद्योगिक विकास, सीमा सुरक्षा, जनताको जीउधनको सुरक्षाजस्ता विषयको मुद्दामा सहमति तथा राष्ट्रिय नीति कायम हुन नसक्नु नै देश विकास नहुनु हो । यसबारे ठोस राष्ट्रिय नीतिको आवश्यकता परेको छ ।

        अहिले हाम्रो राष्ट्रियता र राष्ट्र सञ्चालन नेपालीको स्वाधीनताभित्र छ-छैन भन्ने प्रश्न उब्जेको छ । बहालवाला प्रधानमन्त्री ‘साँचो त अन्त कतै रहेछ’ तथा ‘भारत र चीनमध्ये एकमा नेपाल मर्ज हुनसक्ने खतरा बढेको छ’ भन्ने गर्छन् । शीर्ष दलका अध्यक्षले ‘सीमासम्बन्धी सवाललाई जनमत संग्रहमार्फत अन्तिम स्वरुप दिनुपर्छर्’ भन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख नियुक्ति सम्बन्धमा गाँजेमाजे चल्दा राष्ट्रपतिले सबैसँग छलफल गरेर मात्रै टंुग्याउँछु भनी साँझमा भनेकोमा भोलिपल्ट एकाबिहानै हतार-हतार सपथग्रहण कार्य सम्पन्न भयो । हाम्रा राजनीतिक पार्टी छिमेकी देशसमक्ष विन्तीपत्र हाल्दारहेछन् भन्ने कुरा एसडी मुनीद्वारा ०६९ साउन १६ मा काठमाडौंको नेपाली समाजमा उजागर भयो । राजनीतिक पार्टीहरूले यस्तै गर्दै जाने हो भने हाम्रो राष्ट्रियताको स्तर कहाँ पुग्ने हो भन्ने प्रश्न उठेको छ ।

वैचारिक-भौगेालिक विखण्डनता –
हाम्रो राष्ट्रियता र स्वाधीनता कमजोर भएको हुनाले नेपालीबीच राजनीतिक वृत्तमा मात्र होइन, तर विद्वत वर्गमा समेत विखण्डनपना आएको छ । नेपाली प्रबुद्ध वर्गमध्ये कोही भारत/चीनप्रति सजग रहेका छन् भने कोही त्रसित भएको पाउँछौं । हामीमध्ये कोही भारतको कुरा गरेर मुख मिठ्याउँछौं भने कोही चीनतर्फ र्फकेर मुख रसिलो बनाउँछौं । भारतीय नेपालविज्ञ काठमाडौं आउँछन् र कुनै केही विषयमा बोलेर छ्यास्स एउटा हड्डी फाल्छन् । त्यही हड्डीलाई लिएर नेपाली राजनीतिक वृत्तबीच र प्रबुद्ध वर्गमा समेत मतान्तर र वैचारिक द्वन्द्व हुने गरेको छ । यो नै हामी नेपालीको कमजोरी हो कि ? हाम्रो देशको भौगोलिक विखण्डनताका कुरा पनि अघि सर्दै आएको छ । ‘एक मधेस एक प्रदेश’का कुरा र एक मधेस नभए एक नेपाल पनि नरहने चेतावनी नेपाली जनताले सुनेका छन् । एक मधेस एक प्रदेश भए ‘एक हिमाल एक प्रदेश’ किन नहुने ? भन्ने प्रश्न पनि जन्मेको छ । यस्तो भएमा जिज्ञासा आउँछ- नेपालचाहिँ कहाँ रहने हो ?

अन्त्यमा –
हाम्रो राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, सार्वभौमिकतालाई अक्षुण्णताका साथ जोगाइराख्न हाम्रो राष्ट्रिय मामिलामा सम्पूर्ण नेपाली एकजुट, एकमुख, एकगुट हुन ढिला गर्नु हुँदैन । राष्ट्रियता सम्बन्धी मुद्दा/समस्या के-के हुन्, घरभित्रै सबै सँगै बसी केलाउनुपर्छ । यस सम्बन्धमा सबै नेपाली सहमतिमा पुग्नुपर्छ र नेपालको राष्ट्रिय भनाइ बन्नुपर्छ । १९५० को सन्धिजस्ता खास विषयमा नेपालको भनाइ छिमेकी राष्ट्रसँग के हुने, आपसमा बसी मन्थन गरेर टुंगोमा पुग्ने बानी बसाल्नुपर्छ । राष्ट्रिय मुद्दामा छिमेकीसँगको कुराकानी र छलफलका लागि विषयगत विद्वत वर्गको टोलीले नीतिपत्र तयार पार्नुपर्छ । त्यस्ता सामग्रीलाई राजनीतिक स्तरमा विस्तृत अध्ययन, छलफल, अन्तरक्रिया, परिमार्जन गरेर अन्त्यमा सर्वसम्मत राष्ट्रिय नीतिपत्रका रूपमा तयार पारिनुपर्छ । यस्ता राष्ट्रियताका कुरामा राजनीतिक पार्टी, बुद्धिजीवी, नागरिक समाज, प्रबुद्ध वर्ग तथा व्यक्ति विशेषले जहिल्यै र जहाँसुकै (भारत, चीन या अन्य देशमा) बोल्दा सबै नेपालीको एउटै कुरो, एउटै मुख, एउटै स्वर हुनुपर्छ । अनिमात्र नेपालको राष्ट्रियता झल्कन्छ ।

Rastriyata

        नेपालको सार्वभौमिकता बचाउन वर्तमान परिप्रेक्ष्यमा समयमै व्यवस्थापिक संसदको निर्वाचन निष्पक्ष, स्वच्छ, स्वतन्त्र, धाँधलीरहित तरिकाले सम्पन्न गरिनुपर्छ । यसपछि देशले एउटा बाटो समात्छ । निर्वाचनको परिणामबाट राष्ट्रियता जगेर्ना गर्न सक्ने, जनताको बोली बोल्ने, सार्वभौमसत्ता बचाइराख्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम अगाडि बढाउने, स्वतन्त्र र सक्षम एकमना सरकार बन्नुपर्छ । यसका लागि जनताले आगामी निर्वाचनमा नेपालको राष्ट्रियता भनेको के हो ? भनी बुझ्ने र कार्यान्वयन गर्नसक्ने उम्मेदवार र पार्टीलाई चिनेर भोट दिनुपर्छ ।

                                                             ♣

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: