Border Management in Election

            निर्वाचनमा सीमा व्यवस्थापन

नेपाल तथा भारतका नागरिकले पनि अन्तर्राष्ट्रिय सीमा वारपार गर्दा परिचयपत्र देखाउने प्रचलन गरिनुपर्छ

                                                    – बुद्धिनारायण श्रेष्ठ

आउँदो मंसिर ४ गते संविधानसभाको दोसो निर्वाचन हुन लागिरहेको छ । निर्वाचन सफल पार्नका लागि शान्ति सुरक्षा, अमनचैनको ठूलो भूमिका रहेको हुन्छ । मतदाताहरू मतदानका लागि लाइनमा बसिरहेका समय बमगोला पड्किए त के कुरा, एउटा ठूलो आवाजको पटाकामात्र पड्किए पनि भागदौड मच्चिन्छ । त्यसैले यस्ता अवाञ्छित क्रियाकलापलाई संवेदनशील तत्त्वका रूपमा लिनुपर्छ । यस्ता तत्त्व मतदान हुने दिनअगावै नियन्त्रण भइसकेको हुनुपर्छ । अनिमात्र निर्वाचन प्रक्रिया सफलतासाथ सम्पन्न हुन्छ ।

 

यसै प्रसङ्गमा गृहमन्त्रीले असोज २२ गते चितवनमा भनेका छन्- सुरक्षा दिन्छौं, भोट हाल्न जानुस् । यहाँ उठाउन खोजिएको कुरा के हो भने यस्ता सुरक्षाका कुरा देशको अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनसँग पनि गाँसिएको छ । त्यसैले सुरक्षाका दृष्टिकोणमा सीमा व्यवस्थापनलाई बेवास्ता गर्नु भनेको निर्वाचन धाँधलीरहित नहुनु हो । सीमालाई निर्वाचनका समयमा मात्र होइन, त्यसभन्दा निकै अघिदेखि नै नियमन गरिएन भने मतदानको काम पूरा भएको अवस्था आए तापनि त्यसमा लठैतहरूले सीमापारबाट नक्कली मतदातालाई घुसाई डरधम्कीका भरमा फर्जी मत खसाइएको हुनसक्छ । यस्तो अवस्था पैदा भएमा निर्वाचन धाँधलीरहित तरिकाले सम्पन्न भयो भनी अन्तर्राष्ट्रिय स्तरबाट ग्राह्य नहुन पनि सक्छ ।

निर्वाचन प्रक्रिया सुरु भई बारा जिल्ला क्षेत्र नं. ४ बाट प्रत्यक्षमा उम्मेदवारी दाखिल गरेको भोलिपल्ट महम्मुद आलमलाई असोज १८ गते बिहान ११ बजे गोली हानियो । उपचार गर्दागर्दै असोज २४ गते उनको मृत्यु भयो । गोली प्रहारपछि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई व्यक्ति सिमानातर्फ भागेका थिए । घटना लगतै बारा प्रहरी उपरीक्षकले दोषीलाई उम्कन नदिन बारा र पर्सा सीमा-नाकामा कडा निगरानी गरिएको बताएका थिए । आलममाथिको आक्रमणमा भारतीय नम्बरको मोटरसाइकल प्रयोग हुनु र आक्रमणकारी भारततिरै भागेको घटनाक्रमका आधारमा घटना शृङखला सीमापारितिर जोडिने कुरा बारा जिल्ला सुरक्षा समितिका एक अधिकारीले बताएका छन् । यसबाट निर्वाचनका क्रममा शान्ति सुरक्षाका कुरा खुला सीमा व्यवस्थासँग गाँसिएको रहेछ भन्ने बुझिन्छ ।

अझै एकाध शक्ति जसरी पनि चुनाव भाँड्ने मनसायतर्फ लागेको बुझिन्छ । सरकारी संयन्त्र भने जसरी पनि चुनाव गराउन लागिपरेको छ । प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त, सेना परिचालनका लागि रातारात अध्यादेश पारित गरिएको छ । सेनाबल पनि निर्वाचन समयमा सुरक्षाको तेस्रो घेरामा रही सशक्त तरिकाले सुरक्षा प्रदान गर्न कात्तिक ३ देखि खटिएको छ । ६२ हजार सैनिकले मतपत्र छपाइमा सुरक्षा दिनेदेखि मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी गर्ने, विमानस्थल लगायत महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा गर्ने, आपतकालीन समय आइपरेमा उद्धारकार्य गर्ने भएका छन् । उम्मेदवारलाई पर्याप्त सुरक्षा दिन गृह मन्त्रालय गम्भीर र संवेदनशील रहेको जनाइएको छ । यसै सिलसिलामा जिल्ला सुरक्षा समितिले उम्मेदवारको सुरक्षानिम्ति साना हतियार (पेस्तोल) सहितको एकजना प्रहरी खटाउने प्रबन्ध गरेको छ ।

Kantipur Sketch

सरकारले आसन्न चुनावमा सुरक्षा दृष्टिले सिमानामा रहेका विभिन्न जिल्लालाई अति संवेदनशील, संवेदनशील र सामान्य तहमा वर्गीकरण गरेको छ । यस्तो संवेदनशीलताका आधारमा सुरक्षा जवानको तैनाथी संख्या निर्धारण गरिएको छ । भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये खासगरी मध्यतराईका १३ जिल्लालाई अति संवेदनशील मानिएको छ भने पूर्वी र पश्चिमी तराईका ८ जिल्ला संवेदनशील र बाँकी ५ जिल्ला सामान्य वर्गीकरणभित्र पारिएको छ । यसैगरी चीनसँग सीमा गाँसिएको १५ जिल्लामध्ये एक जिल्लालाई अति संवेदनशील र ३ तथा ११ जिल्लाहरूलाई क्रमशः संवेदनशील र सामान्य ठानिएको छ । जनसंख्याको हिसाबमा तराई (मैदानी) भागका अति संवेदनशील र संवेदनशीत २० जिल्लामा १ सय १६ निर्वाचन क्षेत्र छन् भने हिमाली क्षेत्रको अति संवेदनशील र संवेदनशील ४ जिल्लामा ९ क्षेत्र परेका छन् । यसरी सुरक्षाको दृष्टिकोणले सिमानामा रहेको जिल्लालाई विगत गतिविधिका आधारमा वर्गीकरण गरिएको पाइन्छ ।

अर्कोतर्फ खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा अस्थायी रूपमा भित्रिने दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनबाट आपराधिक गतिविधि बढ्न जानसक्ने सम्भावना छ । यस्ता सवारी साधनबाट घटना गराउने र फेरि उतै र्फकने प्रवृत्ति रहेको विगतको अनुभव छ । उदाहरणका निम्ति आपराधिक घटनामा भारतीय नम्बर प्लेट र अन-टेष्ट गाडीको संलग्नता रहेको कुरा महोत्तरी जिल्ला प्रहरीले हालै बताएको कुरालाई लिन सकिन्छ । महम्मुद आलमलाई गोली प्रहार गर्ने पेसेवर सुटर पनि सीमापारिकै नम्बर प्लेट भएको मोटरसाइकलमा आएका थिए र घटनापछि उतैतिर भागे ।

आसन्न निर्वाचनमा साना हतियारको बिगबिगी पनि चुनौतीको रूपमा छ । खुला सीमाबाट पेस्तोलजस्ता हतियार सहजै नेपाल भित्रिने गरेको छ । यसै सम्बन्धमा पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजीले भारतबाट साना हतियार सजिलै पैठारी हुने गरेको कुरा कात्तिक १ गते विराटनगरमा बताए । महिनायता झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा दर्जनभन्दा बढी साना हतियार र गोलीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको जानकारी पनि दिइयो । हिन्दुस्तान टाइम्सको भागलपुर संस्करणमा विहारको मुँगेर, खगडिया, मुजफ्फरपुर लगायत स्थानमा निर्मित अवैध हतियार १५ देखि २५ हजार भारतीय रुपैयाँसम्ममा बिक्री हुने र सीमावर्ती नेपालमा पनि पुग्ने गरेको कुरा केही दिनअघि प्रकाशित भएको थियो ।

यस आलेखमा विभिन्न घटनाक्रम तथा विवरण उल्लेख गर्नुको खास तात्पर्यचाहिँ धम्की दिँदं हतियारको प्रयोग गरी मानसिक आतंक सिर्जना गर्दै जनतालाई मतदान केन्द्रसम्म पुग्न नदिने कारक तत्त्वहरूमध्ये प्रमुख एक तत्त्व खुला-सीमा रहेको छ । माथिको प्रकरणमा बेलिविस्तार गरिएका बुँदाहरू खुला-सीमा व्यवस्थासँग गाँसिएका छन् । चाहे त्यो आलमको हत्या घटना होस् या गृहमन्त्रीको भनाइ अथवा डीआईजी, सुरक्षा समितिका पदाधिकारीको भनाइ किन नहोस्, यी सबै खुला सीमातर्फ नै इङ्गति भएको पाइन्छ ।

यहाँ प्रश्न आउँछ, यस्तो अवस्थामा खुला सीमालाई किन त्यसै छाडा छाडिएको होला ? नेपाल तथा भारतका पदाधिकारीहरूले धेरैपटक भन्दै आएका छन्- खुला सीमाले दुवै देशमा समस्या पैदा गरेको छ । विहारका मुख्यमन्त्री नीतिशकुमारले भनेका छन्- नेपाल र भारत बीचको खुला-सीमा भएर नेपालबाट भारतीय जाली नोट विहारतर्फ भित्रिने गरेकोले विहारको अर्थतन्त्र नै डामाडोल हुने गरेको छ । भारतीय पदाधिकारी नै भन्छन्- उग्रवादी समूह लस्कार-ए-तोइबा सम्बद्ध अव्दुल करिम टुन्डा नेपालबाट खुला सीमापार गरी भारततर्फ पस्नलाग्दा १६ अगस्तमा वनवासामा पक्राउ परेका हुन् । यस्ता घटनाका आधारमा अब खुला सीमालाई नियमन गर्नुपर्ने माग समयले गरेको छ । समय भिडकिँदै गएमा यसले उग्ररूप लिन पनि सक्छ ।

नेपाल तथा भारतमा हुने निर्वाचन समयमा तीन दिनका लागि सीमा-नाका सिल गर्ने प्रचलन चलेर आइरहेको छ । तर दुई देश बीचको सीमामा धेरै छिद्र भएको हुनाले निर्वाचनमा केही न केही घटना हुने गरेको पाइन्छ । नेपालमा हुनलागेको संविधानसभा निर्वाचनको क्रममा मतदान हुने ताकामात्र होइन, त्यसभन्दा निकै पहिलेदेखि खुला सीमालाई पूर्णरूपले निगरानी नराखिएमा सफलतासाथ निर्वाचन सम्पन्न नहुन सक्छ । सीमालाई नियमन गर्ने पहिलो पाइलाका रूपमा परिचयपत्रको व्यवस्था गर्नु नै हो । नेपाल तथा भारतका नागरिकले पनि अन्तर्राष्ट्रिय सीमा वारपार गर्दा परिचयपत्र देखाउने प्रचलन गरिनुपर्छ । आदर्श यात्रुलाई एक मिनेट पनि ढिला नगरी सीमापार गर्न दिनुपर्छ । तर विध्वंसकारी, तस्कर, अपराधी तथा तेस्रो देशको व्यक्ति नेपाली/भारतीय नागरिकका रूपमा फेला परे उनीहरूलाई पक्राउ गर्नुपर्छ । यस्तो संयन्त्रमात्रै सिर्जना गर्नसके संविधानसभाको आसन्न निर्वाचन धेरै हदसम्म भयरहित तथा धाँधलीरहित तरिकाले सम्पन्न हुने थियो ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: