Let us not make waste our votes

                 आफ्नो मत खेर नफालौं

                                    बुद्धिनारायण श्रेष्ठ

2

सरकारका निम्ति चुनौती र अवसरका रूपमा रहेको संविधानसभा निर्वाचनको मतदान हुने दिन नजिकै आइरहेको छ । अहिले मुलुकको कुनाकाप्चा पनि निर्वाचनमय भएको छ । उम्मेदवार र तिनका कार्यकर्ताले प्रचार-प्रसार उत्कर्षमा पुर्‍याउँदैछन् । अर्कोतर्फ निर्वाचन बिथोल्न उम्मेदवारमाथि भौतिक आक्रमण बढेको छ । प्रचार-प्रसार सामग्री लुटिने क्रम पनि फाट्टफुट्ट हुँदैछ । उम्मेदवार भएका शीर्ष नेताहरूले प्रचार-प्रसारका क्रममा निर्वाचन आयोगले तोकेको आचारसंहिताको मात्रा पनि विस्तारै मिच्दै आएका छन् । जति मतदानको दिन नजिकिँदैछ, त्यत्तिकै मात्रामा घरदैलोमा मत माग्ने क्रियाकलाप बढ्दै आएको छ । ठाउँ-ठाउँमा अवरोध गरिएका घटना पनि सञ्चारमाध्यममा आएका छन् । शीर्ष नेताहरू हेलिकप्टरमा पहाडी क्षेत्रमा हेलिंँदैछन् भने अर्कोतर्फ नेपाली सेनाका प्रधानसेनापतिले निर्वाचन मतदान समय कसरी सुदृढ गर्ने भनी हेलिकप्टर दौडाहा गरेका छन् । निर्वाचन आयोगले विशेष मतदान शिक्षा कार्यक्रम सञ्चालन गरेको छ भने मतदाता परिचयपत्र आफैले छपाइ गरी चुनावको निम्तासहित मतदाताको घरदैलोमा पुर्‍याउन लागेको छ । यसै क्रममा यस लेखोटमा भन्न खोजिएकोचाहिंँ मंसिर ४ गते मतदानका समय मतपत्रमा स्वस्तिक छाप लगाउने बेला जानी-नजानी आफ्नो मतलाई बदरभागी नबनाऔं । ठीक ठाउँमा ठीक तरिकाले मतपत्रमा छाप लगाऔं ।

Matdan Patra

1

यहाँ हामी मतदाता सतर्क हुनुपर्ने कुरा किन गर्न लागिएको हो भने अघिल्लो संविधानसभा निर्वाचनको प्रत्यक्ष र समानुपतिकतर्फ गरी साढे ९ लाखभन्दा बढी मतपत्र -प्रत्यक्षतर्फ ५.१५ र समानुपातिकतर्फ ३.६६ प्रतिशत) बदर भएको थियो । मतपत्र बदर हुनुको मतलब एकातिर जनताको निर्णय गर्ने अधिकार गुम्नु हो भने अर्काेतिर निर्वाचन जित्ने मान्छेले हार्न सक्छ ।

आखिर मतपत्र किन बदर हुन्छ ? यसमा केही असावधानीका कारणहरू हुनसक्छन् । यस्ता असावधानीका बुँदा दुर्गम पहाड तथा मैदानका पिछडिएका एवं महानगरवासी भए तापनि चेतनाका कमी भएका तथा जानकारीमूलक सूचना कमजोर रहेका मतदातालाई लक्षित गरी लेख्न लागिएको छ, जुनचाहिंँ निम्नानुसार हुनसक्छ । 

१) मतदानका समय मतपत्रको चुनाव चिन्हमा स्वस्तिक छाप लागाउँदा छापको मसी नसुक्दै मतपत्र पट्यार मतपेटिका -बाकस) मा खसाल्दा मसी लतपत भएर त्यो लतपतिएको मसी अर्को चुनाव चिन्हमा पनि पर्न सक्छ । यसरी दुई चुनाव चिन्हमा लगाएको मत स्वतः बदर हुन्छ । यसैले छाप लगाउने बित्तिकै हतार-हतार मतपत्र नपट्याऔं ।

२) हामीमध्ये कतिपय मतदाताले छाप लगाउनुअघि स्टाम्प प्याडको मसीको मात्रा याद गर्दैनौं । कहिलेकाहीं मसी धेरै भएको तथा सुख्खा अवस्थामा पनि हुनसक्छन् । मसी चोपिसकेपछि कुन चुनाव चिन्हमा छाप लगाउने भनेर चिन्ह खोज्दा-खोज्दै छापको मसी सुकिसकेको पनि हुनसक्छ । मसी नभएको छाप लगाएमा चुनाव चिन्ह रित्तो हुन्छ र मतदान नै नगरिएको अवस्थाको मतपत्र हुनपुग्छ ।

३) हामीमध्ये कुनै मतदाताले सुकेको मसीको छाप राम्रो देखिएन भनी दोहोर्‍याएर छापमाथि अर्को छाप हान्यौं भने त्यो ठीक ठाउँमा नपरी दिग्भ्रमित छाप हुनपुग्छ । परिणामतः त्यस्तो दोहोरो छापको मतपत्र बदरभागी हुनजान्छ ।

४) मसी धेरै भएको स्टाम्प प्याडमा छाप चोपेर मतपत्रमा जोडले छाप नबजारौं । यसरी छाप जोडले बजार्दा मसी उछिट्टएिर अर्को चुनाव चिन्हमा पुग्न सक्छ । अनि हामीले मतदान गरेको मतपत्र सदर हुँदैन ।

५) चुनाव चिन्ह घेरोको किनार पार गरी अर्को चुनाव चिन्हको केही भाग छुनेगरी छाप लगाउँदा पनि धेरै मतपत्र खेर जान पुग्ने हुन्छ । यस्तो भएमा विजयी हुने उम्मेदवारले पराजय भोग्नुपर्ने हुनजान्छ । 

६) अघिल्लो चुनावभन्दा हाल दोब्बर ठूलो मतपत्र -२० इन्च लामो १५ इन्च चौडा) भएकोले र १२२ दलले भाग लिइरहेका हुनाले राम्ररी हेर्दै नहेरी यही चिन्ह होला भनी स्वात्तै छाप लगाउँदा इच्छा गरेको उम्मेदवारको चिन्हसँग लगभग मेल खाने अर्कै उम्मेदवारमा पर्न सक्छ । त्यसलाई सच्याउन खोज्दा त्यो मतपत्र नै बदर हुनपुग्छ । 

७) कुन पार्टी अथवा कुन उम्मेदवारलाई मत दिने भन्ने कुरो मतदान गर्न लाइन बस्नु अगावै स्वयम् दृढनिश्चय गरौं । कुनै राजनीतिक पार्टीप्रति झुकाव नभएको तथा आफ्नो मनले खाएको उम्मेदवार नभएका मतदाता लाइनमा बस्दासम्म एउटा चिन्हमा छाप लगाउने विचार गछौर्ं, तर मतपत्र हात परेपछि अर्कैमा छाप लगाउने पनि हुनसक्छौं । मतदान गरेर घर पुगेपछि बेकार त्यस अमूक चिन्हमा छाप मारेछु भन्ने पछुतो पनि गछौर्ं । यस्तो पछुतोमा नपरौं ।

Voting

८) चुनाव तथा उम्मेदवारहरूप्रति असन्तुष्टि व्यक्त गर्न धेरै चिन्हका कोठाहरूमा भटाभट छाप मारी हामी मध्येका मतदाता हास्यपात्र नबनौं । हामीकहाँ ‘नेगेटिभ भोटिङ’को व्यवस्था छैन । उम्मेदवारहरूमध्ये कसैलाई पनि मनले खाएन भने ‘माथिका कुनै उम्मेदवारलाई होइन’ भन्ने कोठामा स्वस्तिक छाप ठोक्ने व्यवस्था हाम्रो देशमा छैन । आगामी निर्वाचनदेखि यस कुरामा निर्वाचन आयोग र सरकारले प्रबन्ध गरी असन्तोष मतको प्रतिशत बुभmने प्रबन्ध गर्नु समयानुकूल हुन्छ ।

अझै पनि एकथरी मतदाताहरू मंसिर ४ गते निर्वाचन हुँदैन भन्नेमा छन् । अर्काथरी निर्वाचन भएमा मतदान गर्न पहिलो प्रहरमै पुग्नुपर्छ, अपरान्हपछि के हुन्छ के हुँदैन भन्ने मनसायमा छन् । आजसम्म सरकार र निर्वाचन आयोग निर्वाचन हुन्छ भन्नेमै छन् । अन्तर्राष्ट्रिय संस्थातर्फबाट पनि २ सय २५ जना पर्यवेक्षक पर्यवेक्षणका लागि खटिइसकेका छन् । एमाओवादी अध्यक्षले बीमाओवादीलाई चुनावी प्रक्रियामा सहयोगका लागि आग्रह गर्दै उहाँहरूको मोर्चालाई मन्त्रिपरिषदबाट मनोनीत गरिने २६ सिट लगायत अन्य सहुलियत दिन सकिने प्रस्ताव कात्तिक १५ गते पोखराको कार्यक्रममा भनेका छन् । 

यसैगरी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा-माओवादीसहितका दललाई निर्वाचनपछि संविधान संशोधन गरेर संविधानसभामा सहभागी गराउने विकल्प खुला रहेको कुरा डडेलधुरामा कात्तिक १० गते बताएका छन् । कतिपय राजनीतिक नेताहरूले बीमाओवादी नेताहरूसँग अनौपचारिक कुराकानी गर्दा आफूहरूको बहिष्कार कार्यक्रम शान्तिपूर्ण हुने बताउँदै आएका छन् । यद्यपि कतिपय स्थानमा चुनावी गाडी जलाउने र उम्मेदवारलाई धाकधम्की दिने कुरो भएरै आइरहेको छ । 

यसैबीच संयुक्त राष्ट्रसंघका आवासीय समन्वयकर्ता जिमी म्याकगोल्डरिकले कात्तिक १६ गते नेकपा-माओवादी कार्यालय पुगी मंसिर ४ को संविधानसभा चुनावलाई अवरोध नपुर्‍याउन आग्रह गर्दै ‘तपाईंहरूले गर्ने बहिष्कार शान्तिपूर्ण होस्’ भने । जवाफमा उपाध्यक्ष एवं विदेश विभाग प्रमुखले ‘दलहरूले आचासंहिता पालन गरुन्, हाम्रा कार्यक्रम शान्तिपूर्ण हुनेछ’ भन्ने कुरा बताएका छन् ।

यी कुराहरू आफ्नै ठाउँमा छन् । मुख्य कुरो मतदान समयमा मतदाताले मतपत्रमा बेठीक तरिकाले स्वस्तिक छाप लगाई आफ्नो मत बदरभागी नबनाऔं । एउटै मतले पनि पराजय हुनुपर्ने उम्मेदवार विजयी हुनसक्छन् भन्नेतर्फ ध्यान दिऔं । उदाहरणार्थ, अघिल्लो संविधानसभाको चुनावमा पर्सा-२ बाट मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवार शशीकपुर मियाँ कांग्रेसको अजव द्विवेदीसँग १ हजार ५ सय १० मतले पराजित भए । मियाँको ३ हजार १ सय मतपत्र स्वस्तिक छापको सट्टा ल्याप्चे लगाएकोले बदर भएको थियो । 

हाम्रो एक भोटको पनि ठूलो महत्त्व छ । फुटबलको खेलमा आत्मघाती गोल गर्ने खेलाडी आफूमात्रै हार्दैन, तर एघारजना खेलाडी नै हार्न पुग्छन् । यसबाट सिङ्गो टिमको नाममा समेत प्रतिकूल असर पुग्छ । यद्यपि उसले बल बचाउन खोज्दा-खोज्दै आत्मघाती गोल हुनपुगेको हुन्छ । यसैले आत्मघाती खेलाडीजस्तै हामी आफू आत्मघाती मतदाता नबनौं । विजय हुनुपर्ने उ्रम्मेदवारलाई हरूवा नबनाऔं । मुलुकको विकासलाई पछाडि धकेल्ने मतदाता नहोऔं । आफूले रोजेको चुनाव चिन्हमा सतर्कतासाथ स्वस्तिक छाप लगाऔं । हतार-पतारमा आफ्नो मत बदरभागी नबनाऔंं ।

प्रकाशित मिति: २०७० कार्तिक २१ ०९:०६

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: