Mananiya – Tananiya – Chhananiya

                  माननीय – ताननीय – छाननीय

Mananiya-Tananiya-Chhananiya 70-10-13

Advertisements

Book Discourse

Pustak Baarta

Identification of Prithvi Narayan

            पृथ्वीनारायणको पहिचान

Labeda Survey PP Size

                                                                                                               Buddhi N Shrestha

समाजमा रहेका नागरिक र देशका प्रशासकको पनि बहुपहिचान हुन्छ। उनीहरुले समाज तथा राष्ट्रका लागि गरेको योगदान अलग–अलग पहिचानका रूपमा हेर्ने गरिन्छ। यस मानेमा पृथ्वीनारायण शाहको पनि बहुपहिचान रहेको पाइन्छ। विभिन्न राज्य–रजौटा, भुरे–टाकुरे, स–साना आकारमा छरिएर रहेका हिमाली राज्यहरूलाई एकीकरणको सूत्रमा बाँधी एउटा बलियो हिमाली राष्ट्र खडा गर्ने अभियन्ताका रूपमा पृथ्वीनारायण शाहको पहिचान छ।
नेपालको सिमाना व्यापक र सुदृढ बनाउने चाहना राख्ने चिन्तकका रूपमा उनको अर्काे प्रकारको पहिचान पाइन्छ। कतिपयले उनलाई राजाका रूपमा हेर्ने गरेका छन् तर उनको क्रियाकलाप अध्ययन गर्दा नेपाल राष्ट्र निर्माता, राष्ट्राध्यक्ष, राष्ट्रप्रेमीको पहिचानसमेत छ भन्नुपर्ने हुन्छ। अन्य कुनैले उनी एकीकरणवादी होइनन् तर राज्य विस्तारवादीका रूपमा रहेको पनि पहिचान गर्छन्। कसैकसैले उनलाई क्रूर शासक र कीर्तिपुरेको धार्नीका धार्नी नाक काट्ने व्यक्ति पनि भन्छन्। यसबाट समाजमा रहेका विभिन्न व्यक्तिको आ–आफ्नै कोणद्वारा उनको पहिचान गरिएको छ भन्न सकिन्छ। यी कुरा आफ्नै ठाउँमा छन् तापनि आफ्नो देहावसान हुनुअगाडि पृथ्वीनारायणले दिएको सन्देश र अभिव्यक्त गरेका दिव्यदृष्टिलाई मनन् गर्दा उनलाई उपदेशकर्ताका रूपमा पनि लिन सकिन्छ। त्यस्ता समयसापेक्ष उक्ति उपदेशमध्ये खासगरी आर्थिक र कूटनीतिक रणनीतिका केही प्रसङ्ग यहाँ उल्लेख गर्न खोजिएको छ।
आर्थिक रणनीति

‘देस (विदेश) का कपरा लगाउन मन्हाई गरिदिनु, आफ्ना देसका कपरा बन्न ज्यान्नालाई नमना देखाई बन्न लाउनु’ भन्ने पृथ्वीनारायणको विचारोक्तिलाई बिर्सेर सरकारले हेटौंडा कपडा कारखाना तथा ज्योति स्पिनिङ मिलजस्ता कलकारखाना बन्द हुन बाध्य तुल्यायो। यो उक्तिको मनसाय देशभित्रै कलकारखानाको विकास गर्नु हो भन्ने बु‰न सकिन्छ। तर सरकारले भएका कलकारखाना बन्द गर्दै त्यहाँका मेसिनरी पार्टपुर्जा कौडीको मोलमा लिलाम गर्‍यो। उदहरणार्थ, बाँसबारी छालाजुत्ता कारखानाको लिलामी मिसिनले अहिल्यै पनि भारतको गोरखपुरमा जुत्ता उत्पादन गरिरहेकै छ।
Picture

‘देशको जिनिस्, जरिबुटी विदेश पठाउनु र नगद खैंचनु’ भन्ने उक्ति भए तापनि नेपालमा भएको १० हजार १ सय ६७ प्रकारको वनस्पति, सुगन्धित बिरुवापात र जडीबुटी परदेशी आएर संकलन गरी नाममात्रको निर्यात शुल्क तिरी असीमित परिमाणमा लैजान्छन्। नेपालीले नै संकलन गरी प्रतिस्पर्धात्मक मूल्यमा विभिन्न देशमा निकासी गरिने व्यवस्था भए नेपालको आर्थिक हैंसियत केही भए पनि बढ्ने थियो।
‘खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जगामा सारिकन पनि खानी चलाउनु’ भन्ने उक्ति सम्बन्धमा यसको उल्टो रितले कार्यान्वयन गर्ने गरेको पाइन्छ। उदहारणार्थ, गत वर्ष नेपाल सरकारबाट अनुमति लिएर चिनियाँ कम्पनीले प्युठान र रोल्पाको सिमानामा पर्ने माडीखोलाको किमिचौर बगरमा सुनखानी खोजी कार्य सुरु गर्दा नगर्दै त्यहाँ अस्थायी टहरा बनाई बस्ती बस्न सुरु भइहाल्यो।

‘पानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जगामा सारिकन पानी चलाउनु, गर्‍हो बन्या जगामा घर भया पनि घर अरु जगामा सारी कुलो काटी खेत बनाई अवाद् गर्नु’ भन्ने पृथ्वीनारायणको विचारोक्ति हँुदाहुँदै पनि काठमाडौं महानगरभित्रका साबिक राजकुलोको नाम–निशान मेटिएको छ। धोबीखोला, टुकुचा जस्ता खोलाको अस्तित्व लोप हुनेगरी बस्तीले ढाकिसकिएको छ। उनको उक्तिलाई मार्गदर्शनका रूपमा लिइएको भए आज ट्राफिक जाम हटाउन सडक चौडा गर्ने क्रममा सर्वसाधारणको अर्बौ रुपियाँ बेकार खर्च हुने थिएन। नदीका डोलक्षेत्र हराभरा भएर सागसब्जी र खाद्यान्न प्रशस्त उत्पादन भई प्राकृतिक वातावरण पनि सन्तुलनमा रहने थियो। तथापि पृथ्वीनारायणकै उक्तिलाई सम्झना गरेर होला हाल सरकारले भू–उपयोग योजना लागु गर्न लागेको छ, जसमा कि कृषियोग्य वर्गीकरणमा परेका जमिनमा आवास तथा अन्य प्रयोजनका लागि उपयोग गर्न बन्देज लगाइने भएको छ।
जनता आर्थिकरूपमा सम्पन्न भए उनीहरूले सरकारलाई प्रशस्त राजस्व बुझाउँछन् र सरकार बलियो हुनसक्छ भन्ने हो। जनता समृद्ध भए सरकार सुदृढ हुन्छ, विदेशीको भर पर्नुपर्दैन तर सरकारले देशभित्रै कलकारखानाको प्रबन्ध गरी श्रम तथा रोजगारी सिर्जना गर्न नसकेकाले जनता आर्थिक मामिलामा पिल्सिएका छन्। सरकारको आर्थिक तथा उद्योगधन्दा नीति कमजोर रहेका कारण २०७० मंसिर महिनामा मात्रै ३९ हजार नेपाली श्रम बेच्न विदेश हान्निए। नेपाली युवायुवतीले विदेशमा श्रम गरेर रेमिटेन्स नपठाएको भए अहिलेसम्ममा नेपाली बजारमा नगद चल्तीफिर्तीमा हाहाकार भइसक्ने थियो होला।

कूटनीति

भारतमा शासन गरिरहेका अंग्रेजको पञ्जाबाट नेपाललाई जोगाउन पृथ्वीनारायणले अनेक रणनीति र कूटनीति अवलम्वन गर्ने सिलसिलामा भनेका थिए– ‘यो राजे दुई ढंुगाको तरुल जस्तो रहेछ, चीन वादशाहसित ठूलो घाहा (मित्रता) राषनु, दषिनको समुद्रका बादशाहसित घाहा ता राषनु, तर त्यो महाचतुर छ’ भन्ने उक्तिलाई देशको बागडोर सञ्चालनका लागि मार्मिक दृष्टान्तका रूपमा लिन सकिन्छ। हुन पनि हो, भारत या चीनमध्ये कुनै एकलाई नेपालले चिढाउने काम गर्‍यो भने नेपाल चिरिप्प नभए पनि हानि भने पुग्न सक्ने सम्भावना छ। त्यसैले नेपाल छुरीको धारमाथि हिँड्नुपरेको छ। चतुरोको फन्दामा परेर नेपाल छुरीको बीच धारबाट दक्षिणतर्फ चिप्लियो भने दक्षिणको चतुरोले नेपाललाई खेलाई–खेलाई आफ्नो बसमा पार्नसक्छ।
दक्षिणतर्फको मित्र चतुर छ भन्ने दृष्टान्त अन्य कुराबाट पनि अनुभव गर्न सकिन्छ। नेपालमा प्रत्येक नयाँ प्रधान मन्त्री हुनेबित्तिकै ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्न तातो निमन्त्रणा पठाइहाल्छ। हाम्रा सरकार प्रमुख पनि लुरुलुरु गइहाल्छन्। आफू भने १६ वर्षदेखि नेपाल आएका छैनन्। मित्रता भनेको त लगभग ‘रिसिप्रोसिटी’ का आधारमा सुदृढ हुने होइन र! उनीहरूको ध्येय होला, हामी बोलाउँछांै उनीहरू आइहाल्छन्। यहीँ हामी उनीहरूको कुरा सुनिहाल्छौं, जे सूत्र भन्नुपर्ने हो, उनीहरूलाई भनिहाल्छौं। अनि बेकारमा धाइधाइ नेपाल जान किन आवश्यक पर्‍यो र! सायद हाम्रा नेताहरुले पृथ्वी विचार बिर्सेर हो कि आफूमात्रै धाइरहेछन्।

उत्तरको मित्र पनि कम छैन। चीन–नेपाल सीमा–नाकाबाट रात–बेरात नेपाल छिरेका तिब्बतीलाई हिरासतमा लिएर चिनियाँ राजदूतावासलाई बुझाऊ, होइन भने उनीहरू जताबाट आएका हुन्, उतै फिर्ता पठाऊ भनेर दबाब दिने गरेको छ, चीनले। चीन भन्छ– ‘यस्ता तिब्बती शरणार्थी होइनन्।’ यसबाट नेपाल फसादमा परेको छ।
वास्तवमा अनियमित तरिकाले नेपालतर्फ घुस्ने तिब्बतीबारे चीनको आफ्नै कमजोरी छ, जुन उसले आजसम्म महसुस गरेको छैन तर नेपाललाई बोझ पारेको छ। तिब्बतीहरू नेपालतर्फ पस्न खोज्ने त चिनियाँ सीमा–नाकाबाटै हो। चीनले नेपाल छिर्ने नाकामा गतिलो ध्यान पुर्‍याएर तिब्बतीलाई त्यतै रोक्न किन सकेको छैन? चीनबाट उम्केपछि मात्रै उनीहरू नेपाल पस्ने हुन्। अर्कोतर्फ मौन चालमा नेपालको दक्षिणी भेगको आर्थिक विकास परियोजनामा चिनियाँ परामर्शदाता तथा कामदार संलग्न गराई भारतको कमजोरी बुझ्ने कार्यमा चीन विस्तारै अघि बढ्दै गरेको कुरालाई भारतले सुक्ष्म दृष्टिले हेर्ने गरेको छ। त्यसैले पृथ्वीनारायण शाहलाई नेपालले दुई ढुंगामध्ये एक ढुंगाले नकिचिने र दुईमध्ये एकमा नलहसिने रणनीति बनाउने व्यक्तिका रूपमा पनि पहिचान गर्न सकिन्छ।

यिनै परिप्रेक्षमा पृथ्वीनारायण शाहको दिव्यविचारलाई राष्ट्रवादको जगका रूपमा लिनु सान्दर्भिक हुन्छ। उनको चिन्तनका अवधारणा राष्ट्रिय नीतिको आत्मास्वरूप रहेको मान्नुपर्छ। उनले कतिपय नराम्रा कार्य पनि गरेका होलान्। उनको केही नकारात्मक पक्ष पनि होलान्। आखिर उनी पनि मानिस थिए। बत्तीसै लक्षणले युक्त सर्वगुण सम्पन्न प्राणी यस संसारमा हुँदैनन् तर अधिकांश क्रियाकलाप राम्रो गर्ने व्यक्तिलाई राम्रै दर्जाको मान्नुपर्छ। यसैले पृथ्वीनारायण शाहमा उनले प्रतिपादन गरेको कूटनीति र आर्थिक रणनीतिको प्रसङ्गमा नेपालको अस्तित्व, पहिचान र सामर्थ्यलाई एक सूत्रमा बाँध्न योगदान पुर्‍याएको व्यक्तिको पहिचान रहेको मान्न सकिन्छ।
हामीले उनलाई शाहवंशीय राजाहरुको पितापुर्खाका हैसियतमा होइन, नेपाल राष्ट्रको निर्माता, हिमाली राज्य एकीकरणका अभियन्ताका प्रतीकका रूपमा पहिचान गर्नुपर्छ। नेपाललाई कसरी अखण्ड राख्नुपर्छ र हाम्रो स्वाधीनता एवं स्वतन्त्रता कसरी बचाइराख्नुपर्छ भन्नेबारे सरकारी नीति निर्माताले पृथ्वीनारायण शाहको दिव्यविचार कार्यान्वयनमा ल्याउनुपर्छ।

Identification of Prithvi Narayan

 

Nagarik

Both bribe taker and giver are the culprits

Ghus Linya Dinya

PrithviNarayan to unify the Boundaries of Nepal

सीमा एकीकरणमा पृथ्वीनारायण

सत्रौं शताब्दीमा नेपालदेखि दक्षिणतर्फ रहेका विभिन्न राज्य-रजौटाको भूमिमा आधिपत्य जमाएर बेलायती इस्ट इन्डिया कम्पनी सरकारले भारतमा शासन गरिरहेको थियो। ‘ब्रिटिस साम्राज्यमा कहिल्यै घाम अस्ताउँदैन’ भन्ने धारणाका साथ भारतमा एकछत्र शासन गरिरहेको कम्पनी सरकारको आँखा उत्तरतर्फको बाइसे, चौबीसे तथा सेन राज्य जस्ता सानातिना भुरे-टाकुरे हिमाली राज्यप्रति पर्‍यो। अंग्रेजको यस्तो कुदृष्टिप्रति पृथ्वीनारायण शाह सजग भई त्यसको प्रतिकारस्वरूप उनले हिमाली राज्यको सीमा एकीकरण गर्दै एउटा सशक्त राज्यको सुदृढ सीमा तयार पार्ने अभियान सुरु गरे।

हिमवत् खण्डमा रहेका राज्यको सीमा सृदृढ र निश्चित नभए अंग्रेजले यी सानातिना सबै राज्यलाई एकदुई गरी अंग्रेजी शासनभित्र विलय गराउँछ भन्ने पृथ्वीनारायणले बुझेका थिए। अर्को कुरा, यी हिमाली राज्य हुँदै अंग्रेजलाई तिब्बतसम्म व्यापार गर्न पुग्नु थियो भन्ने उनमा ज्ञान थियो। यिनै पृष्ठभूमिका आधारमा पृथ्वीनारायणले गोरखा राज्यको सीमामा थप गर्दै भक्तपुरको सीमा एकीकरण गरेपछि १८२६ मंसिर १ गते नेपाल राज्यको जन्म गराए।

यो सीमालाई उनले काठमाडौं खाल्डो पूर्वतर्फ भुटानको छेउछाउसम्म पनि तन्काए। उनको देहान्त भएपछि उनका सन्ततिले नेपाल खाल्डो पश्चिमतर्फको भूमिमा नेपालको सिमाना विस्तार गर्दै अन्तत: विशाल नेपालको सिमाना कायम भयो। तर अंग्रेजलाई सुदृढ तथा एकीकृत हिमाली राज्यको सिमाना कायम भएको पचेन। परिणामत: अंग्रेज-नेपाल सीमा युद्ध भई अंग्रेजी शासनको छलछामका कारण सुगौली सन्धिद्वारा विशाल नेपालको सीमारेखामा कुठाराघात गरेर वर्तमान नेपालको सीमा कायम हुन पुग्यो।

सीमा एकीकरण अभियान सञ्चालन गर्ने क्रममा पृथ्वीनारायणले विभिन्न रणनीति अख्तियार गरेका थिए। अंग्रेज कुनै न कुनै दिन यतातर्फ आउने चेस्टा गर्नेछ भन्ने उनले अन्दाज गरेका थिए। यसैले आफ्नो सीमा जोगाइराख्न सुरक्षित किल्लाको खोजी गरी सन्धिसर्पन हेरी गढी तथा गौंडालाई तम्तयार तुल्याई राख्नुपर्छ भन्ने उनको कथन थियो। उनी भन्ने गर्थे, ‘दक्षिणतर्फको समुद्रका बादशाहसित घा (मित्रता) राख्नु, तर त्यो महाचतुर छ।’ यसैकारणले मकवानपुर गढी, सिन्धुली गढी, चिसापानी गढी, सिम्रौनगढ जस्ता प्रवेश गर्ने मुख्य-मुख्य नाकामा गढी वा किल्ला बनाई निगरानी राख्नुपर्छ भन्ने उनको दिव्य विचार थियो।

कथंकदाचित दक्षिणी बादशाहको सेना उत्तर बढ्दै आयो भने समथर मैदानी भागमा लडाइँ गर्नु हुँदैन, तर पहाडी प्रदेशमा ल्याएर मात्र लडाइँ गर्नुपर्छ। चुरे पहाडको घाँटीमा बैरी आइपुगेपछि उनीहरूलाई सखाप पारी काटिदिन सजिलो हुन्छ। यस्तो गर्न सकेमा हामीलाई पाँच-सात पुस्तासम्मलाई पुग्ने खरखजाना पनि मिल्नेछ र श्रीगंगा नदीसम्म हाम्रो देश (नेपाल) को साँध-सिमाना लाग्नेछ भन्ने उनमा आभास रहेको थियो।

यसैगरी पृथ्वीनारायणको सन्देश थियो, ‘चतुरो बैरी लडाइँमा लड्न सकेन भने लोलोपोतो तथा अनेकौं छलकपट गरेर भए पनि हाम्रो देश नेपालको सिमानाभित्र आउने प्रयास गर्नेछ। यो नेपालको तखत भनेको एउटा प्राकृतिक किल्ला हो। यस किल्लालाई दक्षिणी बादशाहले पायो भने संसारका चारैवटा बादशाहलाई ओरालो लगाइदिनेछ। यथार्थमा यो राज्य ईश्वर (प्रकृति) आफैंले रचना गरेको किल्ला हो। आफ्नो किल्लालाई मजबुत राख्न विदेशका महाजनलाई पर्सा गढीबाट उत्तरतर्फ आउन बन्देज गर्नुपर्छ।’

यिनै परिप्रेक्षमा नेपालको सिमानाको सुरक्षा गर्न र खासगरी नेपालको राजधानी रहेको काठमाडौं खाल्डोलाई सुरक्षित राख्न यसको चारैतिर दुर्ग बनाउनु र यसभित्र कुनै फिरंगीलाई पस्न नदिनू भन्ने पृथ्वीनारायण शाहको अवधारणा थियो। यसैको सिलसिलामा उनले भनेका थिए- शिवपुरी, फुल्चोकी, चन्द्रागिरि, महादेवपोखरी, दाप्चा, पालुङ र काहुले जस्ता सात ठाउँमा पक्की किल्ला बनाउनुपर्छ। यस्तो किल्लैपिच्छे लमछट् गरी (लमतन्न पारी) तोप राख्नुपर्छ। यस्ता प्रत्येक किल्लाको ढोकामा पापाँचजना सिपाही पनि तैनाथ गर्नुपर्छ। यस्तो प्रबन्ध गर्न सके संसारका चारै बादशाहले नेपालको सिमानामा एकैपटक चढाइँ गर्दै आए भने पनि उनीहरूको केही लाग्ने छैन।

आफ्नो देशमा हजारौं धनु, बन्दुक, खुँडा र हजारौं तोप जम्मा गर्न सकिए इन्द्रको आसनलाई पनि डगाउन सकिन्छ भन्ने उनको धारण थियो। यसबाहेक उनले भारदार र सैनिकलाई धन कमाउन नदिनु, धनसम्पत्तिमा सिपाही भाइभारदारको मन गयो भने उनीहरू विलासी हुन्छन्, सैनिकलाई कसैको मुलहिजापछि लाग्न नदिनु र नुनको सोझो गर्न लगाउनु, सीमारक्षाका लागि सिपाहीलाई सधैँ तिखारि राख्नुपर्छ, तिखारिएका सिपाही कसैको स्वार्थमा लाग्दैनन् र आफ्नो देशको रक्षा गर्ने काम पनि फत्य हुन्छ भनेका थिए।

देशको माटो जोगाउन पृथ्वीनारायणको दृढ रणनीति रहेको पाइन्छ। यसै सिलसिलामा नेपालको कूटनीतिअन्तर्गत छिमेकी देशलाई समदूरीमा राख्न सक्नुपर्छ, एउटा देशलाई नेपालको सीमातर्फ लहस्सिन दिनु हुँदैन, दक्षिणी बढे भने हाम्रो देशको हित हुँदैन, उनीहरूलाई उत्तरतर्फ बढ्न नदिन ठाउँठाउँमा भाँजो तगारो हाल्नुपर्छ भन्ने उनको दिव्योपदेश थियो। यस्तै, आफ्नो देशको सीमावर्ती भूमि जोगाउने सिलसिलामा ‘जाइ कटक् नगर्नु, झिकी कटक् गर्नु’ अर्थात् शत्रुमाथि जाइ नलाग्नु तर जाइलागेमा शत्रुलाई हान्न नचुक्नू भन्ने रणनीति अख्तियार गरेको बुझिन्छ। यसको मतलब तराईतिर ओर्लिएर लडाइँ नगर्नु तर पहाडतिर डो:याएर गढीगौंडामा पारेर शत्रु सखाप पार्नुपर्छ भन्ने उनको सिद्धान्त थियो।

पृथ्वीनारायणले ससाना हिमाली राज्यको सीमा एकीकरण गर्ने अभियान सुरु नगरेका भए आज हामीमध्ये कोही बंगाली बाबु भइरहेका हुन्थ्यौं होला भने कोही बिहारी दादा बनिरहेका हुने थियौं। यसैगरी कोही उत्तर प्रदेशी पठान त कोही उत्तराञ्चलवासी गढवाली र बाँकी सिक्किमी लेप्चामा गाभिन पुगेका हुने थियौं होला।

आज नेपाल राष्ट्र, नेपालको राष्ट्रियता बचाउन, राष्ट्रिय सीमा संरक्षण गर्न र नेपालीलाई नेपाली भएर बाँच्न पृथ्वीनारायण शाहको दिव्योपदेशले योगदान पुर्‍याएको छ। उनका यस्ता उक्ति र विचार आजको घडीमा पनि त्यत्तिकै सान्दर्भिक छन्। उनको समयकालदेखि हालसम्म नेपालमा धेरै उथल-पुथल भए। उदाहरणार्थ, ऐतिहासिक कालखण्डमा थापा तथा पाँडेकाल थियो भने एक सय चार वर्ष राणाशासनकाल चल्यो।

समयचक्रमा संवत् २००७ देखि २०१७ सम्म प्रजातान्त्रिक अवधि र त्यसपछि ३० वर्षे पञ्चायती काल गुज्रियो। समयको बहाबसँगै पुन: प्रजातन्त्र प्राप्ति हुनुका साथै लोकतन्त्रको प्रार्दुभाव भयो। यसपश्चात् शाहवंशको अन्त्य भएर नेपालमा गणतन्त्रात्मक व्यवस्था आयो। यतिका कालखण्ड व्यतित भइसक्दा पनि पृथ्वीनारायणको उपदेश अझै सामयिक छ।

विदेशीले नेपालमाथि गरेको दुई आक्रमणमा पृथ्वीनारायण शाहले विजय प्राप्त गरेका थिए। १८१९ माघ १० गते मीर कासिम अली खाँका फौज मकवानपुरको हर्नामाडीबाट उत्तरतर्फ बढ्दै गर्दा गोर्खाली सेनाले हराएर खेदेका थिए। यसैगरी कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्ललाई सहयोग गर्न कप्तान किनलकको नेतृत्वमा आएका भारतका अंग्रेजी फौज सिन्धुलीगढी उक्लिँदा नउक्लिँदै १८२४ असोज १५ मा गोर्खाली फौजले उनीहरूमाथि अकस्मात आक्रमण गरी लघारेका थिए।

सिन्धुलीमा फिरंगी आइलाग्दा पृथ्वीनारायणले मकवानपुर एकीकरण गरेर गोर्खा राज्यको सिमाना दक्षिणमा जनकपुरसम्म पुर्‍याएका थिए। यस्ता युद्धमा गोर्खाली सेनाले फिरंगी आक्रमणकारीलाई हराएर भगाउन नसकेको भए वर्तमान नेपालको इतिहास र भूगोल अर्कै हुने थियो।

यसैकारणले होला, हाम्रा गणतान्त्रिक राजनीतिक नेताहरू पनि पृथ्वीनारायण शाहको विचारको उल्लेख गर्न विस्तारै हिच्किचाउन छोडेका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही महिनाअघि पृथ्वीनारायणलाई नेपालको नायक र आफूलाई दोस्रो नायक भनेका थिए। हालका वर्षमा प्रचण्डले पृथ्वीनारायणको बारम्बार गुनगान गर्दै पृथ्वीनारायणको स्तुति शंकराचार्यले गरेको शिवको स्तुतिभन्दा पनि भक्तिभावपूर्ण हुनुपर्छ भनेका छन्। यसैगरी बाबुराम भट्टराईले प्रचण्डको प्रशंसा गर्ने क्रममा देशले ‘नयाँ नेता’ खोजिरहेको उल्लेख गर्दै अहिलेसम्म बुद्ध, पृथ्वीनारायण शाह र केही हदसम्म बीपीमा नेतृत्व क्षमता देखिएको २०६९ माघ २४ मा व्यक्त गरेका थिए।

पृथ्वीनारायणका विचार, उक्ति , उपदेश, धारणा र दिव्य दृष्टिलाई नेपाली राष्ट्रवादको जग हो र नेपाल राष्ट्रको आत्मा भन्न सकिन्छ। अहिले पनि हामीलाई राष्ट्र र राष्ट्रियतासम्बन्धी केही समस्या आइपरेमा उनको त्यसबेलाको वैचारिक दृष्टिकोण अवलम्बन गर्‍यौं भने ती समस्या समाधान गरी देशको राष्ट्रियता अक्षुण्ण राख्न सक्छौं।

%d bloggers like this: