S D Muni’s Logic on Open Border

खुला सिमानाबारे एसडी मुनीका तर्क

बुद्धिनारायण श्रेष्ठ

Posted by: Nayapatrika Daily July 21, 2015 Leave a comment

 
नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको कुनचाहिँ धारामा नेपाल र भारतबीचको सिमाना खुला रहनेबारे उल्लेख छ ? भारतीय प्रोफेसर, विश्लेषक तथा पूर्वकूटनीतिज्ञ एवं नेपालविज्ञ एसडी मुनीले नयाँ पत्रिका दैनिकसितको एक अन्तर्वार्तामा भनेका रहेछन्, ‘सन् १९५० को सन्धिअन्तर्गत नेपाल–भारत खुला सिमाना छ । सन्धिपछि दुवै देशबीच विशेष सम्बन्ध रहेको र खुला सिमाना कायम भएको हो ।’

 
यहाँ जिज्ञासा उत्पन्न हुन्छ, नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको कुनचाहिँ धारामा ‘नेपाल र भारतबीचको सिमाना खुला रहनेछ’ भन्ने उल्लेख भएको छ ? नेपालका तत्कालीन प्रधानमन्त्री मोहनशमशेर राणा र नेपालका लागि भारतका राजदूत चन्द्रेश्वरप्रसाद नाराइन सिंहद्वारा ३१ जुलाई १९५० (२००७ साउन १६) मा संयुक्त रूपमा हस्ताक्षरित सन्धिमा १० धारा रहेका छन् । यी दसैवटा धारा र सन्धिको भूमिका धेरैपटक आद्योपान्त पढ्दा यसमा कतै पनि ‘सिमाना’ तथा ‘खुला’ भन्ने शब्द उल्लेख भएका पाइँदैनन् । यससँग सम्बन्धित पत्राचारमा पनि यी शब्द रहेका छैनन् । त्यसो भए अध्येता एसडी मुनीले कुन धारालाई इंगित गर्न खोज्नुभएको होला भन्ने पूरक जिज्ञासा आउँछ । यस सम्बन्धमा कोट्याएर हेर्दा उहाँले धारा ७ को सहारा लिएर खुला सिमानाको कुरा उल्लेख गर्न खोज्नुभएको हो कि जस्तो लाग्छ ।

 
अब हेरौँ धारा ७ ले के भन्छ ? यसमा खुला सिमानाका शब्द प्रयोग भएका छन् या छैनन् ! अंग्रेजी लिपिमा हस्ताक्षरित सन्धिको केशवप्रसाद भट्टराईले नेपालीमा अनुवाद गरेको पुस्तक (नेपाल–भारत सम्बन्ध १९५०–८९, नदेसर, वाराणसी, दीपक प्रेस, १९९०, पृष्ठ २५९–२६५) मा यस्तो उल्लेख छ– ‘नेपाल र भारत दुवै देशका सरकार पारस्परिक आधारमा एक–अर्को देशका नागरिकलाई आ–आफ्नो भूभागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोबारमा भाग लिने, डुलफिर गर्ने र यस्तै प्रकारका अन्य विशेषाधिकार प्रदान गर्न स्वीकृति प्रदान गर्छन् ।’

 
यस धारामा खुला सिमाना भन्ने शब्द कतै पनि उल्लेख भएको छैन । दुई देशबीचको सिमाना खुला रहनेछ भन्ने लाक्षणिक तथा अभिप्रेरित शब्द पनि प्रयोग गरेको पाइँदैन । यस सम्बन्धमा दुवै देशका सरकार एक–अर्का देशका नागरिकलाई पारस्परिक तौरमा डुलफिर गर्ने स्वीकृति प्रदान गर्छन् भन्ने वाक्यांश सिमाना वारपार गर्ने कार्यसँग सम्बन्धित रहेको देखिन्छ । कतै मुनीले यसै वाक्यलाई समातेर नेपाल–भारतबीच खुला सिमाना छ भनेका त होइनन् ? यदि हो भने यसलाई खुला रूपमा एक–अर्को देशमा आवतजावत गर्नेछन् भन्ने शब्दार्थ लाउन मिल्ने देखिँदैन । यसको मतलब सन्धिअनुसार एक देशले जेजस्तो व्यवस्था गर्छ, अर्को देशले पनि त्यसैसँग मिल्दोजुल्दो प्रकारको प्रबन्ध गर्नुपर्छ भन्ने मनसाय ‘पारस्परिक तौरमा डुलफिर अर्थात् मुभमेन्ट अन् रिसिप्रोकल बेसिस’ भन्ने शब्दहरूले एक हदसम्म जनाउन सक्छन् । तर, यस धारामा दुई देशबीच खुला सीमा पद्धति रहनुपर्छ भन्ने कुनै भावार्थसम्म पनि रहेको पाइँदैन । समान आधारमा आवतजावत गर्न पाउनेछन् भन्ने मात्र उल्लेख भएको पाइन्छ ।

 
नेपालले भारतीयलाई खुला रूपमा अथवा नियन्त्रित रूपमा आफ्नो देशमा आवत–जावत गर्न दिन्छ भने भारतले पनि नेपालीलाई लगभग त्यस्तै (समान) रूपमा नेपाल आउन–जान दिने व्यवहार गर्नुपर्छ भन्नेसम्म हो । तर, एक देशले जस्तो व्यवस्था गर्छ अर्को देशले पनि त्यस्तै व्यवस्था गर्नुपर्छ भन्ने कुनै बाध्यता किटानी उल्लेख गरिएको छैन । यो कुरा व्यवहारले देखाएको छ । उदाहरणार्थ, एक देशको नागरिकले अर्को देशको भू–भागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्न पाउँछन् भन्ने सन्धिमा स्पष्ट उल्लेख भए पनि नेपालले यसलाई मान्यता नदिएका कारण भारतीय बासिन्दाले नेपालमा जग्गा–जमिन तथा भवन खरिद गर्न पाउँदैनन् । तर, नेपालीलाई भारतमा जग्गा किनबेच गर्न दिइराखिएको छ ।

 
यस सम्बन्धमा मुख्यत: बुझ्नुपर्ने कुरा के छ भने नेपाल र भारतले एकअर्को देशका नागरिकलाई अनौपचारिक रूपमा खुलमखुला आवत–जावत गर्न दिँदै आएको मात्र हो, लिखित रूपमा खुला सीमा भन्ने केही पनि भेटिँदैन । यस अर्थमा अब भारत या नेपालमध्ये कुनै एकले खुला सीमा पद्धति अवलम्बन गर्न छाड्यो भने अर्को देश पनि लगत्तै त्यही पद्धतिमा जानुपर्छ भन्ने खास बाध्यता पर्दैन ।

 
यसै मनसायअनुसार भारतले नेपालसँगको एक हजार आठ सय ८० किलोमिटर लामो सिमानामा ४ मे २००२ मा दश हजार एसएसबी तैनाथी सुरु गरी हालसम्म ४५ हजारभन्दा बढी अर्धसैनिक जवान तैनाथ गरेको छ । नेपालले चाहिँ १७ अक्टोबर २००४ देखि मात्रै सशस्त्र प्रहरी बल तैनाथ गर्न सुरु गरी हाल पाँच हजारको संख्या पुर्‍याएको छ । यस अर्थमा पहिले भारतले र त्यसपछि नेपालले दुई देशबीच नियमन (रेगुलेटेड) सीमा पद्धति अवलम्बन गर्ने तालसुर देखाएको छ । किनभने खुला सीमा पार गर्ने यात्रुलाई भारतीय एसएसबीले झोला, पोकापुन्तुरा छामछुम गर्छ अनि मुम्बईमा कमाइ गरी आफ्नो देश फर्कंदै गरेका नेपालीबाट सय–पचास नझारी खुला सीमा पार गर्न दिँदैन । सन्धिमा खुला सीमाजस्ता शब्द स्पष्ट लेखिएको भए एसएसबीले यस्तो गर्न मिल्दैनथ्यो ।

 
पूर्वकूटनीतिज्ञ मुनीले सन् १९५० को सन्धिमा उल्लेखै नभएको खुला सीमा उल्लेख छ भनी के कारणले र कुन उद्देश्यले अभिव्यक्ति दिएका हुन् ? यो कुरा संवेदनशील छ । यसमा दुवै देशले औपचारिक तवरले नागरिक समाजलाई स्पष्ट पार्नुपर्ने वातावरण सिर्जना भएको छ ।
यसै प्रसंगमा यस पंक्तिकारले ०६१ असार १५ गते स्पेस टाइम दैनिकमा लेखेको एक लेखको विषयवस्तु अनुमोदन गर्दै भारतीय राजदूतावास, काठमाडौंका काउन्सिलर सञ्जय बर्माले असार १८ गते सोही पत्रिकाको ‘पाठक विचार’ स्तम्भमा ‘भारतीय दूतावासको स्पष्टोक्ति’ शीर्षकमा ‘१९५० को नेपाल–भारत सन्धिमा दुई देशबीचको खुला सिमानाबारे कुनै पनि दफामा उल्लेख छैन । खुला सिमाना प्राचीनकालदेखि आजसम्म दुवै देशबीच रहँदै आएको घनिष्ठ मित्रतापूर्ण सम्बन्धको धरोहर हो’ (स्पेसटाइम दैनिक, २०६१ असार १८) भनेका छन् । यस भनाइले नेपाल–भारतको सीमा खुला गर्ने भन्नेबारे कुनै लिखित दस्ताबेज रहेको पाइँदैन भन्ने तथ्य बुझाउँछ ।

 
यहाँ जिज्ञासा पैदा हुन्छ, कुनै लिखत नभई कसरी दुई देशबीचको सीमा खुला भयो ? यसको जवाफ हुनसक्छ, ब्रिटिस गोर्खा रेजिमेन्टमा नेपाली हट्टाकट्टा आलाकाँचा केटा भर्ना गर्न र तिनीहरू घर आउन जान सजिलोका लागि, बेलायती र भारतीय तयारी सामान नेपाल भएर तिब्बतसम्म बेच्न र नेपालको चारकोसे झाडीबाट टिम्बर, जडीबुटी, जनावरका काँचो छाला जस्ता कच्चा पदार्थ ओसार्न सजिलोका लागि नजानिँदो तरिकाले बिस्तारै सीमा खुला गरिँदै गयो । यसमा दुवै देशका सरकारले रोकटोक गरेन । अनि अनौपचारिक खुला सीमा बढ्दै गयो । यद्यपि, अशोक मेहताले भनेजस्तो सीमा वारपार गर्न अनुमतिपत्र आवश्यक भने पथ्र्यो ।

 

 

यस सम्बन्धमा अर्को प्रसंग पनि जोडौँ । सन् १९५० को सन्धिमा खुला सीमा पद्धति रहनेछ भनी उल्लेख गरिएको भए अर्को सन्धि नगरी दुई देशबीच हवाई मार्गमा नियमन सीमा पद्धति लागू हुनसक्ने थिएन । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ०५६ पुस ९ मा दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरणपश्चात ०५७ असोज १५ देखि दुई देशबीचको खुला सीमा पद्धति ‘नियमन सीमा पद्धति’ मा रूपान्तरित भयो । तत्पश्चात दुवै देशका यात्रुलाई परिचयपत्र अनिवार्य गरियो । यसबाट भारतका नेपाल विज्ञ एसडी मुनीले भनेजस्तो दुवै देशबीच सन्धिले सीमा खुला गरेको रहेनछ भन्ने बुझ्नुपर्छ ।

यसै परिप्रेक्षमा भारतीय गोर्खा पल्टनका पूर्वकमान्डर तथा नेपालविज्ञ अशोक मेहताले भनेका छन्– ‘संवत् २०१६ सालमा रक्सौल नाकाबाट अमलेखगन्ज भएर काठमाडौं जाँदा हामीले नेपाल जान नेपाल सरकारको भिसाजस्तो अनुमतिपत्र लिएका थियौँ । पासपोर्ट नै त थिएन, तर कलकत्ताको नेपाली वाणिज्य दूतावासबाट अनुमतिपत्र लिएका थियौँ’ (नयाँ पत्रिका, २०७२ असार २४) । मेहताको यस भनाइबाट पनि मुनीले भनेजस्तो खुला सीमा भएको भए १९५० को सन्धि भएको दश वर्षपछि पनि मेहताले अनुमतिपत्र लिनुपर्ने थिएन होला भनी जान्न सकिन्छ । यसरी अनौपचारिक परिपाटी चल्दै आएकाले सन् १९५० को सन्धिमा खुला सीमाको कुरा उल्लेख नगरिएको हुनुपर्छ । तर, एसडी मुनीले सन्धिमै खुला सीमा उल्लेख छ भनेको कुरा सही देखिन आएन ।

(सीमाविद् श्रेष्ठ नापी विभागका पूर्वमहानिर्देशक हुन्)
– See more at: http://www.enayapatrika.com/2015/07/17025#sthash.CZ5yw45x.dpuf

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: