Prithvi Narayan’s Positive/Negative Aspects

Prithvi Narayan’s Positive/Negative Aspects

 

New 2072

Buddhi Narayan Shrestha

Whatever the negative/positive aspects of Prithvi Narayan is to be said, had he not started the unification of scattered Himalayan States, we would not be in a position to be called ‘Our Nation Nepal, We are the Nepalis.’ It is the everlasting truth.

पृथ्वीनारायणका राम्रा/नराम्रा पक्ष

 

बुद्धिनारायण श्रेष्ठ
नेपालमा लोकतन्त्र आएको समय कालखण्डतिर प्रायः राजनीतिक नेता नेपालको सीमा एकीकरण अभियन्ता पृथ्वीनारायण शाहको नाम लिन हिच्किचाउँथे। उनले गरेको काम तथा उनका भनाइ, सन्देश, उक्तिको कुरा गर्दा आफू प्रतिगामी होइन्छ कि भनी डराउने गर्थे। तर तत्कालीन व्यवस्थापिका संविधान सभामा राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, संघीयता, प्रादेशिक सीमांकन, प्रदेशको नाम तथा सदरमुकाम निर्धारणमा अड्चन र किचलो उठ्दा सविधान सभाका पदाधिकारी तथा राज्यको नेतृत्व तहमा रहेका राजनीतिकर्मीले पृथ्वीनारायणको कथन, दिव्योपदेश र भनाइ स्मरण गर्न थाले।
सायद पृथ्वीनारायणले नेपालको भौगोलिक एकीकरण गरेको दृष्टान्त हृदयंगम गर्दै नेताहरुले आफ्ना छरिएका विचार एकत्रित गरेर नयाँ संविधान ल्याउन सकेका हुन् कि! यो कुरा आफ्नै ठाउँमा छ। नयाँ संविधान आउनुअघिको पुस महिनामा पृथ्वीनारायणबारे कसले के भने अनि के लेखे भन्ने सम्बन्धमा यहाँ उद्धृत गर्न खोजिएको छ। जुन यसप्रति रुचि राख्नेलाई रुचिपूर्ण हुन सक्छ। जुनुसकै व्यक्तिको पनि सकारात्मक र नकारात्मक पाटो हुन्छ। यसै सन्दर्भमा लेखकहरुले पृथ्वीनारायण शाहबारे लेेखेका ती दुवै पाटो निम्न प्रकरणमा उल्लेख गर्ने जमर्को गरिएको छ।

सकारात्मक पाटो
पृथ्वीनारायण शाहबारे एमाओवादी अध्यक्ष तथा पूर्वप्रधान मन्त्री पुष्पकमल दाहालले नयाँ राष्ट्रिय एकीकरण नामक त्रैमासिक पत्रिका विमोचन गर्दै भने– ‘पृथ्वीनारायण शाहको मुलुक एकीकरण अभियान प्रक्रिया समाज विकासको ऐतिहासिक भौतिकवादी दृष्टिकोणले सही थियो। तत्कालीन अवस्थामा शाहको एकीकरण उचित थियो। अब नयाँ आधारमा राष्ट्रिय एकता हुनुपर्छ। मैले जनयुद्ध सुरु गर्ने बेला पृथ्वीनारायण शाहको फौजी र राजनीतिक दस्तावेज अध्ययन गरेको थिएँ। पृथ्वीनारायणले विकासको अवरोधका रूपमा रहेका बाइसे चौबीसे राज्य एकीकरण गरी ठीक काम गरेका हुन्।’

यसै सिलसिलामा पूर्वप्रधान मन्त्री डा. बाबुराम भट्टराई भन्छन्– ‘नेपालको इतिहासमा गौतम बुद्धपछि शाहमात्रै त्यस्तो ऐतिहासिक व्यक्ति हुन पुगे जसको नाम लिएर नेपालीले गर्व गर्न सक्छन्। नेपाललाई बाहिर चिनाउन सक्छन्। शाहको क्षमता असामान्य छ।’ उनी थप्छन्– ‘शाहको दिव्योपदेश पढ्दा उनको दूरदर्शिता र नेतृत्व कौशल प्रमाणित हुन्छ। यो आज पनि उत्तिकै महत्वपूर्ण छ। विदेशी प्रभावबाट देशलाई मुक्त गर्न र परिपक्व कूटनीति चलाउन शाहको मार्ग निर्देशन आधारभूतरूपमा आज पनि सही छ।’ यसभन्दा अघि भट्टराईले भनेका थिए– ‘अहिलेसम्म बुद्ध, पृथ्वीनारायण शाह र केही हदसम्म बिपीमा नेतृत्व क्षमता देखिएको छ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सभासद अर्जुनरसिंह केसी लेख्छन्– शून्य अवस्था, अभावै–अभाव र भीषण कठिनाइबीच पृथ्वीनारायण शाहले ७० भन्दा बढी साना–ठूला राज्यरजौटा एकीकरण गरेर सिङ्गो राष्ट्र बनाउन सुरु गरे। नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायणबारे कतिपय कम्युनिस्ट पक्षबाट निन्दा गरेको सुनिन्छ। त्यस्ता गतिविधिले कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालले पृथ्वीनारायणबारे लेखेको विचार पनि लत्याएको देखियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी कोर्छन्– ‘पृथ्वीनारायण शाहजस्ता व्यक्तित्वको उदय नभएको भए झन्डै ५० राजारजौटा एकपछि अर्को ब्रिटिस उपनिवेशवादको चर्को भेलमा बगेर जाने थिए र सायद आजको सार्वभौम र स्वतन्त्र राष्ट्रका रूपमा नेपालको पहिचान रहन असम्भवप्रायः हुने थियो। चिन्तन र दृष्टिकोणको परिवेशमा नै उनी राष्ट्रनिर्माता हुन पुगेका हुन् र यसैको सेरोफेरोमा उनको आर्थिक, सैनिक र परराष्ट्रसम्बन्धी रणनीति बुझ्नुपर्ने हुन्छ। हामीलाई आज उपलब्ध मौकाका निर्माता पृथ्वीनारायण नै हुन्। यसै कारण उनी राष्ट्रनिर्माता मात्र नभएर राष्ट्रिय एकताका प्रतीक हुन्।’ लोहनी अरु लेख्छन्– ‘पृथ्वीनारायणलाई नकारात्मक बिम्बका रूपमा देख्नेहरु अब उनलाई राष्ट्रनिर्माताका रूपमा बुझ्न थालेका छन्। आउँदा वर्षहरुमा आफूलाई अग्रगामी भन्न कहिल्यै नथाक्ने नेतृत्व पंक्तिको जमात अरुभन्दा पहिले पृथ्वीनारायणको सबभन्दा ठूलो भक्त हुन पुगे भने त्यो आश्चर्य हुने छैन।

पूर्वमन्त्री तथा इतिहास/संस्कृति अध्येता विद्वान् मोदनाथ प्रश्रित उल्लेख गर्छन्– ग्रीष्म निवासका निम्ति अंग्रेजहरुको आँखा नेपालतिर फर्कन लागेको बेलामा गोर्खाका युवराज पृथ्वीनारायण शाहले आफ्ना पिता नरभूपाल शाहबाट बाइसे–चौबीसेमा विखण्डित नेपाललाई पुनः अस्तव्यस्ततामा ल्याउन चाहने विदेशीहरुको रणनीति र कूटनीति चलिरहेको बेला नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायणको विराट योगदानलाई अझ सम्मान गर्दै नेपालको बृहत्तर विकासमा योजनाबद्धरूपले अघि बढ्दै जानु आवश्यक छ।’ प्रश्रितले आफ्नो लेखको अन्तिममा कोरेका छन्– इतिहासका महानायक पृथ्वीनारायणको महान् योगदानबारे सम्पूर्ण जनतालाई पुनः जागृत गर्नैपर्छ। उनका योगदानलाई युगयुगसम्म अमर बनाउन अभियान चलाउनैपर्छ।

एमाले उपाध्यक्ष वामदेव गौतमले उपप्रधान मन्त्रीका हैसियतमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी विचार अभियानले आयोजना गरेको कार्यक्रममा बोलेको बेहोरा छापिएको थियो– ‘पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरणमा पुर्या एको योगदान बिर्सेर इतिहास पूरा हुँदैन। पृथ्वीनारायणको योगदान कसैले बिर्सनु हुँदैन।’ पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन र बिदा दिने विषयमा आफूले विशेष चासो राखेको पनि गौतमले बताएको सञ्चारमाध्यममा आएको थियो।

एमाओवादी नेता तथा पूर्वमन्त्री गोपाल किराती लेख्छन्– ‘नयाँ हुनलाई पुरानो आधार चाहिन्छ, पुरानो आधारबिना नयाँ बन्न सक्दैन। यो विज्ञानको नियम हो। यसरी भौगोलिक एकीकरणका रूपमा पृथ्वीनारायण शाहको सम्मान इतिहासको सही मूल्यांकन हुनेछ र त्यही पुरानो एकीकरणको आधारमा टेकेरमात्र नयाँ राष्ट्रिय एकीकरण सम्भव छ।’

पृथ्वीनारायणबारे राजनीतिक नेताबाहेक विद्वान् वर्गले गत वर्ष के लेखे भन्ने पनि सान्दर्भिक हुने भएकाले केही थप गरिँदैछ। प्रा. डा. तुलसीराम वैद्यले एउटा कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्रमा लेखेका छन्– गोरखा राज्यको विस्तार गर्ने जुन सैनिक अभियान चलाए त्यसबाट नेपाल राज्यको पुनर्निर्माण कार्यको थालनी भयो। जसबाट आज मेचीदेखि महाकालीसम्मका सारा बासिन्दा ‘हामी नेपाली’ भनी गौरवसाथ विश्वमा खडा छौं। यदि त्यस बेला पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार अभियान नचलाएको भए नेपाल राष्ट्र पुनर्स्थापना वा निर्माण हुने नै थिएन।

अध्येता सगुनसुन्दर लावती लेख्छन्– ‘गोरखाको राज्यबाट उठेर पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेका हुन्। नेपाल एकीकरण गर्ने महत्वकांक्षी अभियानको सफलतामा सैन्य हस्तक्षेप र कूटनीतिको मिश्रित योगदान थियो। गोर्खा र दश लिम्बुवानबीच भएको सन्धि आफैँमा विशिष्ट थियो। हार–जितको आधारमा नभएर आपसी सम्झौतामा दुई स्वतन्त्र राज्यबीच एकीकरणले छिन्नभिन्न भागहरु जोडेर एउटै राष्ट्र नबनाएको भए यतिखेर हामी के हुन्थ्यौं? कहाँ हुन्थ्यौं? हाम्रो राष्ट्रियता के हुन्थ्यो? हाम्रो राष्ट्र नेपाललाई एक बनाउने पृथ्वीनारायण शाहमाथि आज जुन प्रकारको नीति लिइएको छ त्यो एकदम गलत छ।

विजय अर्यालले अंग्रेजी लेखमा भनेका छन्– यदि पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए उनको हिन्नति गर्ने व्यक्तिहरु आज कुन देशमा पर्थे? उनीहरु नेपाल भनिने देशमा बसिरहेका हुन्थे? के आज मधेसी नेताहरुले एक मधेस एक अथवा दुई प्रदेशको माग गर्न पाउँथे होला? यदि आजका नेताहरुमा पृथ्वीनारायणको जस्तो केही विचार भइदिएको भए देश धेरै अगाडि बढिसकेको हुन्थ्यो।

गत पुसमा नागरिकले सम्पादकीयमा लेखेको छ– अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमानामा बस्ने नेपाली कसैले पनि पृथ्वीनारायण शाहलाई एकताको आधार नमान्ने हो भने नेपालको इतिहास उपेक्षा गरेको ठहर्छ। यदि कसैले अहिले आएर पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता मान्न अस्वीकार गर्छ भने त्यो केवल एक अर्घेल्याइँ मात्र हो। यसैगरी अन्नपूर्ण पोष्ट दैनिक लेख्छ– नेपालका निर्माता पृथ्वीनारायणले आन्तरिक सुरक्षा, परराष्ट्र नीतिसम्बन्धी मान्यता, सार्वजनिक जीवनको शुद्धता र जवाफदेही, मुलुकप्रति साझा सम्मान र समानताको अवधारणा अनि योग्यलाई जन्म, कुल र जातभन्दा माथि उठेर जिम्मेवारी दिने प्रचलनको श्रीगणेश गरेका थिए।

अध्येता लेखक कञ्चन पुडासैनी लेखमा भन्छन्– हालका वर्षमा प्रचण्ड (पुष्पकमल दाहाल) ले पृथ्वीनारायणको बारम्बार गुणगान गर्दै उनको स्तुति शंकराचार्यले गरेको शिवको स्तुतिभन्दा पनि भक्तिपूर्वक हुनुपर्छ भनेका छन्। पृथ्वीनारायणबारे हिजो कटु आलोचना गर्नेहरु बारम्बार उनलाई सम्झन थाले। उनको देशभक्तिपूर्ण चिन्तन र उपदेश देशभर गुञ्जयमान हुन थालेको छ। यसले राष्ट्रिय एकताको महत्व बढ्दै गएको झल्काउँछ।

अर्का अध्येता सविता प्रसाई सापकोटा लेख्छिन्– ‘दुई ठूला देशसँग सदैव जोगिएर रहनुपर्छ र यी दुवै राज्यलाई सधैँ सन्तुलनमा राखी वैरभाव होइन, मैत्रीभावमा अगाडि बढ्ने प्रयत्न गर्नुपर्छ भन्ने पृथ्वीनारायणको दूरदर्शी विचार नेपाल देश रहुन्जेलका लागि उपयोगी छ।’ यस पंक्तिकारलेे पनि नेपाल राष्ट्र, नेपालको राष्ट्रियता बचाउन, राष्ट्रिय सीमा संरक्षण गर्न र नेपालीलाई नेपाली भएर बाँच्न पृथ्वीनारायण शाहको दिव्योपदेशले योगदान पुर्याजएको छ भनी गत वर्ष लेखेको थियो।

पृथ्वीनारायण शाहलाई यथावत सम्मान गर्दै राष्ट्रको सीमा एकीकरण अभियन्ताका रूपमा उनको निधन भएको दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने काम गरिए यसले राष्ट्र विकासका लागि खेल्नुपर्ने कूटनीति, रणनीतिमा समेत मद्दत पुर्यािउनेछ भनी सभासद अर्जुननरसिंह केसीको नेतृत्वमा मोदनाथ प्रश्रित, भरत बस्नेत, डा. सुरेन्द्र केसी, पेशल निरौला तथा यो लेखन्दाससमेतले प्रधान मन्त्री सुशील कोइरालालाई भेटी स्मरणपत्र प्रस्तुत गरेका थियौं। भेटका अवसरमा सबैसामु प्रधान मन्त्रीले सकारात्मक कुरा गरेका थिए। पृथ्वीनारायणको एकाध उक्ति पनि कोइरालाले बोलेका थिए। तर त्यसको पर्सिपल्ट प्रधान मन्त्रीका स्वकीय सचिव अतुल कोइरालाले साँझ भरत बस्नेतलाई फोनमा भनेछन्– ‘पृथ्वीनारायणका विषयमा उनलाई सम्मान गर्नुपर्ने हो। अहिले पुस महिना छ। माघ ८ गते संविधान जारी गर्ने क्रममा यसले तनाव ल्याउँछ कि! यसैले संविधान जारी गर्दा राष्ट्रिय एकता दिवस पुस २७ लाई कायम गरिने घोषण गरिनेछ।’ तर दुर्भाग्यवस यस्तो हुन सकेन।

नकारात्मक पक्ष
पृथ्वीनारायणप्रति नकारात्मक टिप्पणी गत वर्ष दैनिक पत्र–पत्रिकामा प्रकाशित भएको यस पंक्तिकारले देखेको छैन। तर २०७० पुसमा उनको नकारात्मक पाटो उल्लेख भएको पाइएको छ। जुनचाहिँ यहाँ उद्धृत गर्न लागिएको छ। प्रा. डा. गोपाल शिवाकोटी लेख्छन्– पृथ्वीनारायण शाह अत्यन्तै महत्वकांक्षी व्यक्ति थिए भन्ने कुरामा सन्देह रहन्न। उनको विजय अभियान एकीकरणका लागि नभएर अन्य राज्यमाथि विजय प्राप्त गर्ने साम्राज्यवादी र विस्तारवादी अभियान थियो। अहिले पनि नेपालको विस्तार काँगडासम्म भएको भनी दाबा गरिन्छ तर नेपालको सो क्षेत्र एकीकरण भएको भए अंग्रेजसँगको सुगौली सन्धिपछि त्यो क्षेत्रका मानिसले विद्रोह गर्नुपर्ने थियो।

यस प्रसंगको प्रतिवाद जस्तो हुने गरी श्रवण मुकारुङले लेखेका छन्– ‘द्वन्द्वको पराकाष्ठास्वरूप एकातिर पृथ्वीनारायण शाह खुनी, व्यभिचारी, साम्राज्यवादी भएका छन् भने अर्कोतिर पराक्रमी, अद्भुत र महान्। आखिर उनी के हुन्? कति हुन् वा होइनन्? यसको सार्थक र वस्तुगत उत्तर अबको नेपाली राजनीतिले दिनुपर्नेछ।’ यिनै सन्दर्भमा इतिहासविज्ञ ज्ञानमणि नेपाल लेख्छन्– इतिहास हेर्दा पृथ्वीनारायण कहाँनेर चुके? उनले के विराम गरे? जनताकै लागि उनले आफ्नो तन, मन, धन सबै अर्पेका थिए। देशकै लागि अघि बढेका थिए, जीवन जोखिममा पारेर लागेका थिए। गुणीजनका गुण देख्न नसक्नु कस्तो दृष्टिदोष हो?

सञ्चारकर्मी ध्रुवहरि अधिकारी कोर्छन्– ‘पृथ्वीनारायण शाहलाई यदाकदा साम्राज्यवादीको बिल्ला लगाइदिएको देखिन्छ, सुनिन्छ। समयसापेक्ष कुरो हो, त्यो युगमा राज्यविस्तार अभियान अन्यत्रका राजाले पनि चलाएका थिए। विभिन्न ऐतिहासिक पुस्तकका लेखक महेशचन्द्र रेग्मीले पृथ्वीनारायणले सन् १७६८ मा थालनी गरेको ‘गोरखाली साम्राज्य’ स्थापनाको अभियान उनका सन्तानले सन् १८१४ सम्म कायम राखेको पुष्टि गर्नुभएको छ।’ पौराणिक इतिहासविज्ञ डा. महेशराज पन्तको लेखाई छ– धेरैजसो लेखमा पृथ्वीनारायणलाई राष्ट्रनिर्माता भनी गुणगान गरिएको छ त कुनैकुनैमा उनको बदख्वाइँ गरिएको छ। तर दुवै थरी विचारका प्रतिपादन गरी लेखिएको लेखमा पुरानै कुरा शब्दान्तरमा दोहोर्याइएकाले नयाँ कुरा खास छैन।

यसैताका दीपेन्द्र अधिकारीले लेखका छन्– पृथ्वीनारायण शाहको नेतृत्वमा राष्ट्रिय एकीकरणको क्रममा भएका अमानवीय कुराहरुलाई वस्तुपरक ढङ्गले अध्ययन गरेर त्यसको मूल्यांकन पनि गरिनुपर्छ। अनि अध्येता कृष्ण सेढाई लेख्छन्– ‘नेपालमा पृथ्वीनारायण शाहको भूमिकालाई अवमूल्यन गर्नेहरुले आफूलाई नेपालको कुनै विशिष्ट नेता वा कुनै दूरदर्शी राजनीतिज्ञका रूपमा सिद्ध गर्न सकेका छैनन्। अर्कोतर्फ डा. गेहेन्द्रमान उदास ‘पोखरेली’ कोर्छन्– पृथ्वीनारायण र उनका वंशजहरुले तिनै बाइसे–चौबीसे जितेर एकीकरण गरेका हुन्। त्यसैले आदिवासीहरुले पृथ्वीनारायाणप्रति लाञ्छना लगाई शत्रुभाव लिनुपर्ने इतिहासले देखाउँदैन।

अध्येता पुरुषोत्तम दाहालले लेखेका छन्– पृथ्वीनारायण शाह देखिएका निर्णायकमध्ये प्रमुख एक थिए तर उनका विषयमा आफूलाई अग्रगमनका मसिहा ठान्नेहरुले सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको माला पहिर्यामइदिएका छन्। यस्तै सन्दर्भमा ज्यो. पण्डित ओजराज उपाध्याय (लोहनी) ले कोरेका छन्– पृथ्वीनारायण शाहको उपदेशको राष्ट्र तथा राष्ट्रियतालाई बंग्याएर यहाँ कसले कसका लागि राजनीति गरिरहेछ?

पृथ्वीनारायण शाहको नकरात्मक पक्ष उधिन्दै राजेन्द्र महर्जनले सुन्दरानन्द बाँडाको हवाला दिएर लेखेका छन्– बाँडाले पृथ्वीनारायण शाहद्वारा कीर्तिपुरबासीका धन दौलत, बिर्ता, खेत सँगै सर्वस्वहरण गरिएको रहस्य उजागर गरेका थिए। कीर्तिपुरका प्रजाहरु सबैको नाक काटेको तथ्यलाई नेपाली इतिहासकार र लेखकहरुले हेक्का राख्नुपर्ने हो। नाक काट्न खटाइएका भोटेहरुले मुख पनि काटेको र काटिएका मानिसको संख्या ८६५ जना भएको तथ्यसमेत छोपछाप पार्ने प्रपञ्च रचिएको छ नै।

यस्तो अभिव्यक्ति आउँछ भन्ने पूर्वज्ञान भएजस्तै गरी संस्कृति अध्येता तथा झर्रो लेखक सौरभले पृथ्वीनारायणका समयमा कीर्तिपुरेको नाक काटिएको प्रसंग कोटयाएर लेखक हेमिल्टनको हवाला दिंदै लेखेका थिए– ‘सन् १७६६ मा कीर्तिपुरको जनसंख्या हुन आउँछ २ हजार २ सय ५० मात्र। अब वृद्ध, महिला, बालबालिका छाडेर युद्धयोग्य जनसंख्या हुन आउँछ एक चौथाइ अर्थात् ५ सय ६० जना।’ सौरभ डेनियल राइटले लेखेको कुरा अगाडि बढाउँदै लेख्छन्– ‘ती नाकहरुको तौल १७ धार्नी (करिव ८० पाउन्ड) थियो। जम्मा ८६५ जनाको नाक काटिएको थियो।’ यस सन्दर्भमा सौरभ टिप्पणी गर्छन्– १७ धार्नी बराबर ८० पाउन्ड हुँदैन। ८९.७ पाउन्ड हुन्छ। एक व्यक्तिको नाकको तौल २० देखि २५ ग्राम हुन्छ। २५ ग्राम नै मानौं, १ धार्नी बराबर २.४ किलोग्रामको हिसाबले १७ धार्नी बराबर ४०.७ किलोग्राम नाक हुन आउँछ, जसको अर्थ हो १६२७ जनाको नाक काटियो, यो ८६५ को करिब दोब्बर छ। यसलाई भनिन्छ, ढाँटेको कुरा काटे पनि मिल्दैन।

अन्त्यमा
पृथ्वीनारायण शाहको सकारात्मक तथा नकारात्मक पाटो जे/जस्तो भनिएको, देखिएको, बुझिएको, सुनिएको भए तापनि अंग्रेज फिरंगीविरुद्ध छरिएर रहेका हिमाली राज्यलाई एकताबद्ध गर्ने अभियान पृथ्वीनारायणले सुरु नगरेको भए अहिले ‘हाम्रो देश नेपाल, हामी नेपाली’ भएर रहने थिएनौं भन्ने कुराचाहिँ शाश्वत सत्य हो। त्यसैले यस घडीमा समेत पृथ्वीनारायण शाहको भनाइ सार्थक रहेको आभाष हुन्छ। उनले नेपाल राष्ट्र, नेपालको राष्ट्रियता, सार्वभौमिकता बचाउन, राष्ट्रिय सीमा संरक्षण गर्न र नेपालीलाई नेपाली भएर बाँच्न दिएको सन्देश आज पनि त्यत्तिकै सान्दर्भिक मान्न सकिन्छ।

– See more at:

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: