Sugauli Treaty Until Nepal Having Prosperous

Sugauli treaty until Nepal having prosperous

New 2072Buddhi Narayan Shrestha

 

नेपाल समृद्ध नभएसम्म

बुद्धिनारायण श्रेष्ठ

 

सुगौली सन्धिमा गुमेको भूभाग सहीसलामत फिर्ता लिन सकिन्छ

 

पृथ्वीनारायण शाहले सुरु गरेको नेपालको सीमा एकीकरण अभियानको सिलसिलामा विशाल नेपाल उच्च हिमशिखरका साथै पहाड, उपत्यका, तराई, तथा पूर्व–पश्चिम लमतन्न परी बीच–बीचमा अवस्थित भन्ज्याङ, घाँटी, थुम्का–थुम्कीहरूले भरिएको थियो ।

 

त्यस समयमा १८ तथा १२ ठकुराई, सिरमोर, गढवाल क्षेत्र, कुमाउँ प्रदेश, बाईसी, चौबीसी राज्य, काठमाडौँ उपत्यका, सेन राज्य, माझकिराँत, पल्लोकिराँत, लिम्बुआन क्षेत्र तथा लेप्चा इलाकासमेत गरी, तत्कालीन अवस्थामा छरिएर रहेको ५६ वटा पृथक्–पृथक्, ससाना राज्य–रजौटा क्षेत्रहरू एउटै सीमा रेखाभित्र बाँधिई सिंगो राष्ट्र एकीकृत नेपालको रूपमा स्थापित भएको थियो ।

 

नेपाल राज्यको एकीकरणको अन्तिम चरणमा आइपुग्दासम्मको अभियानमा वीर बलभद्र र भक्ति थापाले गरेको रगतको बलिदान, बहादुर शाह र अमरसिंह थापाले देखाएको वीरता र भीमसेन थापाको कुटिलताको परिणामस्वरूप नेपालको सिमाना पूर्वमा टिस्टा नदीदेखि पश्चिमको किल्लाका ‘गडा र हिमालको उत्तरी फेदीदेखि दक्षिणको उर्वरा समतल भूभाग गंगा–जमुना संगमसम्म पुगेको थियो । नेपालको मानचित्रको सीमारेखाभित्र अंकन गरिएको थियो ।

 

यस्तो विशाल भौगोलिक क्षेत्र ओगटेको हिमाली राज्य स्थापना भएकोमा भारत शासन गरिरहेको ‘सूर्य नअस्ताउने देश’ का अंग्रेजी शासकलाई चित्त बुझेन ।

 

उनीहरूले तिब्बतसम्म पुगेर एकाधिकार व्यापार गर्न पाएनन् । यसैले नेपालले एकीकरण गरेको बुटवल क्षेत्रका छेउछाउका गाउँबस्तीहरूमा अंग्रेजले दावा गर्दै निहुँ खोज्न थाल्यो । नेपालचाहिँ आफ्नो हक अधिकारमा अटल रह्यो । परिणामतः दुवै देशबीच शत्रुता पैदा भयो । अन्ततः कम्पनी सरकारले सिमानासम्बन्धी छलफल गर्ने मनसाय जाहेर गर्‌यो ।

 

यसै प्रसंगमा अंग्रेजको तर्फबाट मेजर पेरिस ब्राडशा र नेपालका तर्फबाट कमिस्नर कृष्ण पण्डितले दुईतर्फको प्रतिनिधित्व गर्दै कुराकानी अगाडि बढाउँदै गएका थिए । तर ब्राडशा र पण्डितका बीच सम्बन्ध बिग्रँदै गयो र कुराकानी नमिल्ने ठानी नेपाली पक्ष अप्रिल १८१४ मा वार्ता भंग गरी काठमाडौँ फर्कियो ।

 

यस्तैमा आफूले भनेको कुरा नेपालले नमानेको भन्ने अत्तो थापेर अंगे्रज पक्षले अब लडाइँकै घोषणा गर्नुपर्‌यो, संघर्ष अपरिहार्य नै भयो भन्ने ठाने । यसको फलस्वरूप कम्पनी सरकारले १ नोभेम्बर १८१४ मा नेपालसँग संघर्ष गर्न विधिवत् युद्धको घोषणा गर्‌यो । गोर्खालीले अंग्रेजका विरुद्धमा युद्ध गर्ने–नगर्ने भन्ने विषयमा काठमाडौँमा भारदारहरूबीच छलफल तथा वादविवाद भयो ।

 

केही भारदारले लडाइँ रोक्नुपर्छ भन्ने धारणा प्रस्तुत गरे भने धेरैजसो भारदारले लडाइँ गर्न अंग्रेजले लल्कारिसकेकाले लडाइँको तयारी गर्नुपर्ने राय व्यक्त गरे ।

निचोडमा अंग्रेजसँग युद्ध गर्नैपर्छ भन्ने भीमसेन थापाको प्रस्ताव नै स्वीकृत भयो । यसअनुसार नेपाली फौजका गणहरूको प्रबन्ध गरियो । परिणामतः कम्पनी सरकार र गोरखाली सेनाबीच ‘एङ्लो–गोर्खा’ युद्ध सुरु भयो । यो युद्ध वर्षौं चल्यो । युद्धका क्रममा नेपाली सिमानाभित्र अंग्रेजहरूको सैनिक गतिविधि तथा दबाब तत्कालीन परिस्थितिमा बढ्दै आएकाले अब अरू युद्ध लम्ब्याउन नेपालले उचित ठानेन ।

 

अतः युद्ध स्थगनको लागि कम्पनी सरकारसँग वार्ता गर्न २८ मे १८१५ मा नेपालको तर्फबाट गजराज मि श्र र चन्द्रशेखर उपाध्यायलाई सुगौलीतर्फ पठाइयो । वार्तामा कम्पनी सरकारका पेरिस ब्राडशाले भाग लिएका थिए । कम्पनी सरकारले आफ्नो हातमाथि पारी नेपाललाई अप्ठेरो पार्ने किसिमका थुप्रै माग राखे, जुनचाहिँ नेपाललाई स्वीकार्य भएन ।

 

फलस्वरूप प्रथम चरणको वार्ता असफल भयो । यसपछि नेपाललाई शान्ति सन्धि गर्न अंग्रेजतर्फबाट दबाब आयो र दोस्रोपटक वार्ता भयो । तर नेपाललाई तराई क्षेत्र छोड्न अंग्रेजले राखेको प्रस्ताव मन्जुर नभएकाले यो वार्ता पनि भंग भयो । अर्को प्रयासस्वरूप तराई छोडेबापत अंग्रेजले नेपाललाई सालिन्दा केही रकम दिने र अन्य केही सुविधा प्रदान गर्ने लोभ देखाई लर्ड हेस्टिङ्सले सुगौली सन्धिको मस्यौदा तयार गरे ।

 

यो मस्यौदो २ डिसेम्बर १८१५ मा नेपालसमक्ष प्रस्तावित गरी पठाइयो । १५ दिनभित्र यस सन्धिपत्रमा सहमति हस्ताक्षर गरी स्वीकृति पठाउन नेपाललाई भनियो । तर यसमा नेपाल सरकारले हस्ताक्षर गर्न तत्परता देखाएन ।

 

यसको प्रतिक्रियास्वरूप सर डेभिड अक्टरलोनीको नेतृत्वमा अंग्रेजी सेना काठमाडौँतर्फ अगाडि बढ्ने एकाएक योजना बन्यो । यसैले नेपाल सरकारले शान्ति सम्झौताको लागि आफ्नो प्रतिनिधि ब्रिटिस हेडक्वाटरमा पठाउने जानकारी गरायो । यसअनुसार नेपालका तर्फबाट पण्डित गजराज मि श्रलाई साथमा लिई चन्द्रशेखर उपाध्याय मकवानपुरतर्फ लागे ।

 

मकवानपुरको सुगौलीमा पुगी उनले नेपालका तर्फबाट सन्धिमा सहमति हस्ताक्षर गरी ४ मार्च १८१६ दिउँसो २.३० बजे कम्पनी सरकारलाई हस्तान्तरण गरे । अंगे्रजका तर्फबाट गभर्नर जनरल डेभिड अक्टरलोनीले प्रामाणिक हस्ताक्षर गरी एक प्रति चन्द्रशेखरलाई दिए । परिणामतःएकीकृत नेपालको एकतिहाइ भूमि गुम्यो ।

 

यसरी विवश भएर सुगौली सन्धि स्वीकार गर्न नेपाललाई कर लागेको थियो । यस्तो करकापमा परी गरिएको सुगौली सन्धि भएको आज दुई सय वर्ष पुगेको छ । तथापि नेपाल राष्ट्र र नेपाली जनता समृद्ध भएमा र अन्तर्राष्ट्रिय स्तरमा वैचारिकरूपले शक्तिशाली भएमा सुगौली सन्धिमा गुमेको नेपालको भूभाग भारतबाट एक दिन सहिसलामत फिर्ता लिनसक्ने सम्भावना रहेको दखिन्छ ।

 

उदहारणका निम्ति सन् १८४२ मा हङकङ अंग्रेजहरूले सदाको लागि भनी सन्धि गरेर लिएका थिए । तर त्यो भूभाग १५५ वर्षपछि अंग्रेज नतमस्तक भएर चीनलाई फिर्ता गर्न बाध्य भयो । चार सय वर्षअघि कब्जा गरेको मकाउ १९९९ डिसेम्बर २० मा फिर्ता हुन सक्यो । यस्तै, मोगलले लगानी उठाइरहेको ‘गोआ’ लाई चार सय वर्षअघि पोर्चुगलले आफ्नो अधीनस्थ पारेको थियो ।

 

अंग्रेजी शासनबाट भारत स्वतन्त्र भइसकेपछि १९६० जनवरीमा गोआको भूमि भारतले फिर्ता लिन सकेको थियो । यिनै उदाहरणको परिपे्रक्षमा आजभन्दा दुई शताब्दीअघि मात्र अंग्रेजले चोक्टाएको नेपालको बाँकी भूभाग फिर्ता हुन सक्दैन भन्न सकिन्न ।

Annapurna Post- Sketch 72-11-21

सुगौली सन्धि खेदजनक भएकाले यस दिनलाई तिरस्कृत भावनाले हेर्नुपर्छ नेपालले भविष्यमा यस्तो कालो दिन खेप्न नपरोस् भनी सार्वभौमिकता तथा भौगोलिक अखण्डतामा सबै नेपालीले प्रतिबद्धता जनाउँदै दृढ संकल्पित रहनुपर्छ सन् १९५० को सन्धिको धारा ले यसअघिका सबै सन्धिसम्झौता खारेज गरेकाले सुगौली सन्धि सदाका लागि भएको होइन भन्ने मनन गरी नेपाल नेपालीले आत्मबल जगाउँदै आजको दिनलाई भत्र्सना गर्नुपर्छ

यसैले नेपालको चोक्टिएको पुख्र्यौली जमिन मूल भागसँग गाभिन नसक्ने भन्ने देखिँदैन । केही अघिदेखि भारतको पूर्वी राज्य आसामले स्वतन्त्रताको आवाज गुन्ज्याइरहेको छ भने नेपालको भूखण्ड पराधीनको हातमा कुँजिएर रहिरहेकोमा यसले आफ्नो ऐतिहासिक मातृभूमिमा एकीकरण भई गाभिने स्वतन्त्रता पाउँदैन भन्न सकिन्न । तर यसका लागि नेपाल समृद्ध र बलियो हुनुपर्‌यो, नेपालीले नै पहलकदमी गर्नुपर्छ ।

 

विश्वको उदीयमान राष्ट्र चीनले आर्थिक क्षेत्रमा विश्वलाई नै गाँज्दै राजनीतिक र विज्ञान प्रविधिमा समेत समृद्ध भएकाले आफ्नो गुमेको हङकङको भूभाग बेलायतबाट फिर्ता लिन सक्षम भएको हो । अंग्रेजले हङकङ लिँदा गरेको सन्धिजस्तै नेपालसँगको सुगौली सन्धि भएकाले कालान्तरमा नेपाल समृद्ध भए नेपालले फिर्ता पाउन सक्दैन भन्न मिल्दैन ।

 

यसका लागि प्रत्येक नेपालीको आर्थिक स्थिति उँभो लाग्नुपर्‌यो, प्रतिव्यक्ति आम्दानी बढाउने परिबन्ध मिलाउनुपर्‌यो । देशभित्रै कलकारखाना, उद्योगव्यवसाय फस्टाउनुपर्‌यो । जलस्रातेको दोहन गर्दै साहसिक पर्यटनको विकास गर्नुपर्‌यो । अनि राजनीतिक फाँटबाट सबल, सशक्त र दूरदृष्टि रहेको नेतृत्वले क्रमबद्ध योजना निर्माण गरे नेपालको आर्थिक अवस्था उकालो लाग्न सक्छ ।

 

नेपाली समाजको विकासको गति अगाडि बढ्न सक्छ । आर्थिक तथा सामाजिक विकास भएमा प्रत्येक नेपालीको बौद्धिक क्षमता वृद्धि भई सोच्ने शक्ति बढोत्तरी हुन जान्छ । समाजमा चेतना अभिवृद्धि भएपछि राष्ट्रिय जागरण तथा राष्ट्रप्रेमको भावना जागृत हुने मात्रा पनि स्वाभाविकैले थपिन पुग्छ ।

 

यसपछि सामाजिक जागृतिले भरिपूर्ण भएको नेपाली नयाँ पुस्ता आफ्नो पुर्खाले आर्जेको मेची–टिस्टा र महाकाली–काँगडाको गुमेको भूभाग फिर्ता लिन सक्षम हुन सक्नेछ र चन्द्र–सूर्य अंकित त्रिकोणाकारको झन्डा एकीकृत नेपालको चौकिल्लामा फहरिन सक्नेछ । नेपालले अन्तर्राष्ट्रिय जगत्मा विश्व जनमत बटुली प्रत्येक नेपाली नागरिकमा आत्मबल जागे सुगौली सन्धिको छेकबार भत्की टिस्टा र किल्लाकाँगडा नेपालको सिमानाभित्र फेरि समाविष्ट हुनेछ ।

 

यसै कारणले नेपालको नयाँ संविधानको धारा ४ (२ख) मा ‘नेपालको क्षेत्र यो संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र हुनेछ’ भन्ने पनि उल्लेख भएको छ ।

स्मरण गर्नुपर्ने कुरा के छ भने ठीक दुई सय वर्षअघि आजैका दिनमा अंग्रेजशासित भारत र परापूर्वकालदेखि स्वतन्त्र रहिआएको नेपालबीच सुगौली सन्धि भएको थियो ।

 

करकाप छलछाम र दबाबमा परी नेपालले यो सन्धिमा हस्ताक्षर गर्नुपरेको इतिहासले बताएको कुरा सर्वविदितै छ । सन्धिका कारण नेपाले आफ्नो एकतिहाइ भूभाग गुमाउनुपरेको थियो । यसैले नेपालको सिमानाको इतिहासमा आजको दिनलाई नेपाली नागरिक समाजले घृणा जनाउनुपर्छ । सुगौली सन्धि खेदजनक भएकाले यस दिनलाई तिरस्कृत भावनाले हेर्नुपर्छ ।

 

नेपालले भविष्यमा यस्तो कालो दिन खेप्न नपरोस् भनी सार्वभौमिकता तथा भौगोलिक अखण्डतामा सबै नेपालीले प्रतिबद्धता जनाउँदै दृढ संकल्पित रहनुपर्छ । सन् १९५० को सन्धिको धारा ८ ले यसअघिका सबै सन्धिसम्झौता खारेज गरेकाले सुगौली सन्धि सदाका लागि भएको होइन भन्ने मनन गरी नेपाल र नेपालीले आत्मबल जगाउँदै आजको दिनलाई भत्र्सना गर्नुपर्छ ।

– See more at: http://annapurnapost.com/News.aspx/story/44782#sthash.hmV4R5TT.dpuf

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: