Splitted Nepal by Sugauli Treaty

Splitted Nepal by Sugauli Treaty

 

Namuna Sahitya

Buddhi Narayan Shrestha

 

सन्धिले चोइटयाएको नेपाल

बुद्धिनारायण श्रेष्ठ

 

दुई सय वर्षअघि भएको सुगौली सन्धिले नेपालको भूमि चोइटिएर नेपाल तराईविहीन भएको थियो । तर चोइटिएको पूर्वी तराई नौ महिनामा फेरि जोडिन आइपुग्यो । सन्धिको ४४ वर्षपछि पश्चिमी तराई फर्केर मूलभूमिमा मिसियो ।

यद्यपि मेची–टिष्टा र काली–काँगडा चोइटिएर छुट्टिएकै अवस्थामा रह्यो । यसपछि वर्तमान नेपालको सिमाना कायम रहिरहेको छ । यसरी चोइटिएको क्षेत्र फेरि जोडिएकोले बेलाबखत त्यस्ता जोडान क्षेत्रको रसायन कमजोर भएको पाउँछौं । तर पकलक्क चिरोपर्ने दरार पैदा भएको छैन ।

यस्तो चोइटिने र जोडिने नेपालको सिमानाको इतिहास अवलोकन गर्दा पृथ्वीनारायण शाहले हिमाली क्षेत्रका भुरे–टाकुरे, बाइसी–चौबिसी राज्यहरू एकीकरण गरेको प्रसंग आउँछ । उनका सन्ततिले नेपालको सिमाना पूर्वमा टिस्टादेखि पश्चिममा किल्ला काँगडासम्म जोडेका थिए ।

Choityako Nepal

परिणामत: एउटा सशक्त हिमाली राष्ट्र खडा भएको थियो । तर भारतमा शासन गरिरहेको अंग्रेजलाई यो कुरा पचेन ।

अंग्रेज हिमाली क्षेत्रका साना–तिना तथा कमजोर राजारजौटालाई आपसमा वैमनश्य पैदा गराई भारतको अरु राज्यलाई भैंm आफ्नो अधीनमा लिएर तिब्बतसम्म व्यापार विस्तार गर्न चाहन्थ्यो । तर एकीकृत नेपाल पूर्व–पश्चिम फैलिएकाले अंग्रेज तिब्बतसम्म पुग्न सकेन ।

नेपाल एकीकरण गर्ने सिलसिलामा पाल्पाका राजा अधीनस्थ बुटवल र स्युराजको भू–भागसमेत नेपालको सीमाभित्र समाहित गरिएको थियो । यिनै दुई क्षेत्रको स्वामित्वमाथि अंग्रेजले बखेडा उत्पन्न गर्दै यी भाग साविक औधका राजा अन्तर्गत थियो, त्यसैले अंग्रेज सरकारको भू–भागभित्र पर्छ भनी कचिङ्गल झिक्यो ।

तर नेपालले बुटवल र स्युराज औधका बजिरले खोसेर अंग्रेजलाई दिनुअघि पाल्पाका राजामातहत रहेकोले यी दुवै ठाउँ स्वत: नेपालको हुनगएको जिकिर गर्दै रहयो ।

यस्तो विवादमाथि अत्तो थापेर अंग्रेजी शासक गभर्नर जनरल लर्ड होस्टिङ्गसले नेपालविरुद्ध १ नोभेम्बर १८१४ मा विधिवत युद्धको घोषणा गर्‍यो । अंग्रेज जसरी भए पनि युद्ध गरी नेपाललाई घुँडा टेकाउन चाहन्थ्यो ।

नेपाल दरबारका भाइभारदारचाहिँ युद्ध गर्ने र नगर्ने भन्ने दुई फ्याक्लामा बाँडिएका थिए । तर अन्त्यमा अंग्रेजसँग युद्ध नगरी धरै छैन भन्ने पक्षको कुरा नै नेपाल सरकारले निर्णय लियो ।

अंग्रेजले बेतिया, गोरखपुर, अलमोडा, देहरादुन तथा सिरमौर गरी पाँच स्थानबाट नेपालमाथि धावा गर्‍यो । युद्धका क्रममा कतिपय क्षेत्र अंग्रेजले कब्जा गर्थ्यो भने अन्य कतिपय स्थानमा गोरखाली फौजको मातहत हुन्थ्यो ।

उदाहरणार्थ, पूर्वी क्षेत्रमा अंग्रेजी पल्टनका सिपाही र अफिसर गोरखालीद्वारा मारिंँदा अंग्रेज सेनापति रणमैदान छाडेर बेतियातर्फ भागेका थिए । गोरखालीले खेद्दै सिमाना कटाएका थिए ।

पश्चिमतर्फको युद्ध अभियानमा नेपालका अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवरजस्ता सेनापति तैनाथ थिए । देउथलमा भक्ति थापा र नालापानीमा बलभद्र कुँवर, सतलजमा अमरसिंह थापाले युद्ध मैदानमा ठूलो पौरख देखाए । तर अंग्रेजले नालापानी किल्लाभित्र जाने पानीको नाला काटिदिने जस्ता अमानवीय अनेक छलछाम गर्न लागे ।

युद्ध वर्षौं लम्बिँदै जान लाग्यो । अंग्रेजी फौजसँग सैन्यशक्ति र द्रव्यशक्ति पनि थियो । तर पनि थकित हुँदै गएको थियो । नेपाली फौजतर्फ भने युद्ध सामग्री अपुग र रसदपानी पनि अभाव हुँदै आएको थियो । फलत: गोरखालीले किल्ला थाम्न नसक्ने अवस्थामा पुगेका थिए ।

यस्तो अवस्थामा दुवै राष्ट्रबीच पहिले रहिआएको शान्ति तथा मैत्री सम्बन्धलाई फेरि स्थापना गर्न अंग्रेजले केही सर्तहरू राखी सुगौली सन्धि तयार पारी लेफ्टिनेन्ट कर्णेल प्यारिस ब्राडसले हस्ताक्षर गरेर २ डिसेम्बर १८१५ मा नेपालसमक्ष पठायो ।

प्रस्तावित सन्धिमा पश्चिमतर्फ महाकाली नदीदेखि सतलज/काँगडा र पूर्वतर्फ मेचीदेखि टिस्टासम्म अनि चुरे सिवालिक पर्वतदेखि दक्षिणतर्फको मैदानी भाग नेपालले अंग्रेजलाई सदाका लागि छाड्नुपर्ने उल्लेख गरिएको थियो ।

महत्त्वपूर्ण कुराचाहिँ सन्धि मस्यौदा भएको मितिले १५ दिनभित्र नेपालको महाराजाधिराजबाट अनुमोदन गरी फिर्ता पठाउनु पर्नेछ भन्ने उल्लेख भएको थियो ।

मसौदा सन्धि नेपाल दरबारमा प्राप्त भएपछि भाइभारदार तथा सेना प्रमुखबीच धेरै दिन छलफल भयो । छलफलको क्रममा आधाजसो भारदार अंग्रेजसँग लड्नैपर्छ, यो सन्धिमा हस्ताक्षर गर्न हुँदैन भन्ने मनसायका थिए ।

बाँकी भाइभारदार अंग्रेजसँग युद्ध गर्न सकिँदैन भन्ने पक्षमा थिए । यसैले सन्धि अनुमोदन गर्ने—नगर्ने भन्ने सम्बन्धमा नेपालले महिनौं दिनसम्म पनि निर्णय गर्न सकेन । यसैबीच नेपालले सन्धिमा सहमति जनाएन भने अब काठमाडौं राजधानीमाथि नै हमला गर्ने भन्ने अंग्रेजले धम्कीपूर्ण हल्ला फिँजाए ।

आखिर नेपाल दरबार विवश भएर सन्धिमा हस्ताक्षर गरी अंग्रेजलाई बुझाउन चन्द्रशेखर उपाध्यायलाई पठाइयो । उपाध्यायले गजराज मिश्रलाई साथमा लिई मकवानपुरको सुगौलीमा रहेको अंग्रेजको क्याम्पमा गई नेपालका तर्फबाट सन्धिमा काउन्टर हस्ताक्षर गरी इस्ट इन्डिया कम्पनीका प्रतिनिधि महाराज्यपाल डीडी अक्टरलोनीलाई हस्तान्तरण गरे ।

अक्टरलोनीले सन्धिलाई ४ मार्च १८१६ मा अनुमोदन हस्ताक्षर गर्दै बेलायत सरकारका तर्फबाट एक प्रति उपाध्यायलाई सुम्पुवा गरे । यो सन्धिबाट नेपालको एक तिहाइ भू–भाग चोइटिएर फुत्क्यो । परिणामत: नेपाल तराईविहीन भएको थियो ।

यसरी नेपाललाई चोइटयाउन गरिएको सन्धिमाथि उल्लिखित घटनाक्रमअनुसार नेपालले राजीखुसीसाथ गरेको होइन भन्ने देखिन्छ । सन्धिमा काउन्टर हस्ताक्षर १५ दिनमा गर्नु भनिएकोमा नेपाल विवश भएर ९३ औै दिनमा मात्रै हस्ताक्षर गरिएको थियो । महत्त्वपूर्ण कुराचाहिँ नेपालले असन्तुष्टि जनाउँदै नेपालका राजा–महाराजाले सन्धिमा हस्ताक्षर नगरेको प्रतिविम्बित हुन्छ ।

नेपाल खुस भएको भए भारदारले हस्ताक्षर गरेको सन्धिलाई सरकार या राष्ट्रप्रमुखले अनुमोदन (रेटिफाइ) गर्नुपर्ने हो । तर यस्तो गरिएको पाइँदैन । जबकि सन् १९५० को शान्ति तथा मैत्री सन्धिमा नेपालका तर्फबाट श्री ३ (प्रधानमन्त्री) र भारतका तर्फबाट राजदूतले संयुक्त हस्ताक्षर गरिएकोमा नेपालका राजा त्रिभुवनले रेटिफाइ गरेको पाइन्छ ।

नेपाल करकापमा परेर मात्र सुगौली सन्धि गरिएको हो भन्ने कुरा अंग्रेज र गोरखालीबीच कहिल्यै पनि युद्ध र मनमुटाव नभएको मेची र टिस्टा बीचको भू–भाग नेपालबाट हठात् खोसिएकोबाट प्रमाणित हुन्छ ।

यतिमात्र होइन, मेची–टिस्टा बीचको बलजफ्ती लिइएको नेपाली जमिन लेप्चा प्रदेश (सिक्किम) लाई टिटालिया सन्धि गरी दिइयो । मेची–टिस्टा क्षेत्रमा असन्तुष्ट गोरखाली फौजले युद्ध गर्लान् भन्ने संशयले ४० दिनभित्र खाली गर्नुपर्छ भन्ने उल्लेख गर्दै सन्धिपश्चात् मनसुन वर्षा सकिने बित्तिकैदेखि अंग्रेजले मेची नदीको पूर्वी किनारमा भटाभट जंगे सीमाखम्बा खडागरी १८१७ जनवरी महिनामा नक्सा नै प्रकाशित गर्‍यो ।

नेपाललाई करकापमा पारेर सन्धि गर्न लगाइएको कुरा स्वयम् अंग्रेजलाई पनि महसुस भएको थियो । त्यसैले बेखुस भारदारहरूलाई निवृत्तिभरणका रूपमा वितरण गर्न प्रतिवर्ष २ लाख रुपियाँ नेपाललाई प्रदान गरिने कुरा सन्धिको धारा–४ मै उल्लेख गरियो ।

यी सबै बुँदाबाट नेपाल डरत्रास र धाकधम्कीमा परी विवश भएर सुगौली सन्धि (असमान भए पनि) हस्ताक्षर गर्न करबलमा परेको पुष्टि हुन्छ ।

सुगौली सन्धिपछि नेपालमा बेलायती ‘लिगेसन’ स्थापना भयो । परिणामत: अंग्रेज रेजिडेन्ट काठमाडौंमा बस्न पाउने व्यवस्था भयो । यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि अप्रत्यक्ष रूपले आँच आउन सुरु गर्‍यो ।

ब्रिटिस गोर्खा रेजिमेन्ट स्थापना गरी गोरखा सैनिक भर्ती गर्ने गरियो । यस्ता नेपाली गोरखा सैनिकले बेलायतका लागि जीउज्यान दिनुपर्ने प्रावधान बन्यो ।

सुगौली सन्धिले चोइटयाएर नेपाललाई तराईविहीन बनाउँदा मर्कामा परेको रहेछ भन्ने अंग्रेजको दिमागमा परिरहेका कारण सन्धि भएको ९ महिनापछि राप्तीदेखि कोसीसम्मको समथर तराई भू–भाग फेरि नेपालमा नै जडान हुन आइपुग्यो । यसका कारण नेपाललाई प्रतिवर्ष दिइने दुई लाख नगद दिन बन्द गरियो ।

धारा–३ मा सन्धिमा उल्लिखित भूमि नेपालले सदाका लागि परित्याग गर्नेछ भनिए पनि नेपाललाई चित्त बुझेको छैन भन्ने अंग्रेजले ठानेको थियो । यसैले सन्धि सदाका लागि होइन भन्ने चरितार्थ गर्न अंग्रेजले चोइटयाएको पूर्वी तराई क्षेत्र र नयाँ मुलुक नेपाललाई फिर्ता गरेको हुनसक्छ । यसबाट पनि नेपाल सन्धिमा हस्ताक्षर गर्न बाध्य हुनुपरेको प्रमाणित हुन्छ ।

असमान सन्धिको चोट नेपालमाथि परिरहेकोले जंगबहादुरले ब्रिटिसकालीन भारतमा उब्जेको सिपाही विद्रोह समन गरिदिए बापत नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता लिएर वर्तमान नेपालको सिमाना कायम हुनपुगेको छ । यी सबै कारणले दुई सय वर्ष अघिको सुगौली सन्धि नेपालका लागि कालो सन्धिका रूपमा रहेको मान्नुपर्छ ।

यो सन्धिले गर्दा नेपाल राष्ट्र नै अपमानित र अपहेलित भएको कुराले वीर योद्धा अमरसिंह थापाको मनमा चस्का परेकोले गोसाइँकुण्डमा गएर उनले त्यहीं देहत्याग गरेका थिए ।

सुगौली सन्धिजस्ता विभेदकारी सन्धि—सम्झौता नेपालले अब कहिल्यै देख्न—भोग्न नपरोस् । राष्ट्रको अखण्डता, सार्वभौमिकता र स्वाधीनता कायम राख्न सुगौली सन्धिलाई खेदजनक तरिकाले भत्र्सना गर्नुपर्छ ।

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: