Wave of Borderless Terror

Wave of Borderless Terror

 

Susta Dagarma

Buddhi Narayan Shrestha

 

With a view to implement administration, Islamic State (IS) is expanding horror and terror in various countries of the world. It has targaterd the busy business centres of the cities. international airports, stadiums, restuarants, clubs and public places etc.

Islamic militants killed:-

4 persons in  Medana (Saudi Arabia) on 4 July 2016,

165 people in Baghdad (Iraq) on July 3,

20 people in Dhaka (Bangladesh) on July 2,

30 policemen in Kabul (Afganistan) on 29 June,

13 Nepali Security Guards in Kabul (Afganistan) on 20 June,

41 people in Istanbul Airport (Turkey) on 29 June,

41 general people in Brussels  Airport and Metro Stations (Belgium) on 22 March,

49 people in Orlando Florida (USA) on 12 June,

130 persons in Paris (France) on 13 November 2015.

Bangladesh and Afganistan attack may be ‘A Wake-up Call for Nepal.’ Nepal is somehow near to these countries. It is to be noted that Nepal-India have an open, vagabond and porous international border. Afgani, Iraqi, Bangladeshi, Mynmarian terrorists and criminals may travel from Nepal to India and India to Nepal vice versa, in a disguised manner as Indians and Nepalis, as there is no obstruction in the international border. Their faces, attaires, dialects, habits and postures are as similar to Indians/Nepalis.

So it is the high time to implement the ‘Regulated Border Regime’ between Nepal and India to check and obstruct these disguised terrorists. The first phase of the regulated system is the introduction of Identity Card. A system must be developed that the travellers must produce their ID Cards, while crossing  the international border. If the border is not regulated, some terrible incidents may happen, as the Indian Aircraft was hijacked from Kathamandu to Kandhar Afganistan on 24 December 1999. After this incident, regulated border regime (ID Card System) was introduced on the air route, from 1 October 2000. So  it should not wait for such a terrible and monsterous incidents to introduce ID Card System also on the surface route between Nepal and India. More details have been mentioned in my following article in Nepali language:

 

सीमारहित आतंकको तरंग

बुद्धिनारायण श्रेष्ठ

 
विश्वभर इस्लामिक शासन कायम गर्ने नीति लिएको इस्लामिक स्टेट (आइएस) ले संसारका विभिन्न भागमा आतंक फैलाउँदै आएको छ । अब हुँदाहुँदै अमेरिकाको ओर्लान्डोबाट आतंकको जालो नेपालको नजिक पनि आइपुगेको छ । केही दिनअघि मात्र बंगलादेशको राजधानी ढाकामा आइएस आंतककारीले एउटा क्याफेमा भोजन गरिरहेका कैयौं मानिसलाई बन्धक बनाई तिनीहरूमध्ये २० जनालाई मारे । यसरी आइएसको आतंककारी गतिविधि र क्रियाकलापको गति सीमारहित तरिकाले गत वर्षदेखि निकै बढेर आइरहेको पाइन्छ ।

सन् २०१४ मा अस्तित्वमा आएको आइएस त्यस्तो अतिवादी संस्था हो, जसले इराक र सिरियालाई अखडा बनाएर विश्वका विभिन्न मुलुकमा त्रासदीपूर्ण आतंककारी क्रियाकलाप सञ्चालन गरिरहेको छ । अहिले आइएस विश्वभर आतंकको पर्यायवाची बनेको छ । ५० भन्दा बढी देशमा सञ्जाल फैलिसकेको दाबी गर्ने आइएसले खासगरी आवागमन बढी हुने सहरको मध्यभागमा तथा नाम चलेको होटेल रेस्टुरामा विस्फोट गरेको पाइन्छ । यसैगरी अन्तर्राष्ट्रिय विमानस्थल, खेलमैदान, क्लब, व्यस्त बजार, सार्वजनिक सवारी साधन तथा सर्वसाधारण जम्मा हुनेजस्ता ठाउँलाई निसाना बनाउँदै आएको छ ।

भनिन्छ, आतंककारीको कुनै जात, धर्म, संस्कार वा आफन्त तथा खास भूगोल र सिमाना पनि हुँदैनन् । तिनको धर्म भनेकै संसारमा आतंक मच्चाउनु र आफ्नो संगठनका नाममा त्रास फैलाउनु हो । तिनको दिल र दिमागमा मानवता र दया भन्ने कुरा हुँदैन । आतंककारीले गत एक वर्षभित्र ५० मुलुकका १ हजार १ सय ६१ मानिसको ज्यान लिइसकेको कुरा ‘द रिलिजन अफ पिस डट कम’ अनलाइनमा उल्लेख गरिएको छ ।

हालैको ताजा हमलामध्ये जुलाई ४ मा साउदी अरेबिया जेद्दाको मेदिना अमेरिकी कन्सुलेट अफिस नजिकै अमेरिकी स्वतन्त्रता दिवसका दिन आत्मघाती विस्फोटकले ४ जनालाई मारे, केहीलाई घाइते बनाए । जुलाई ३ मा आइएसले इराक बगदादको कार्रादा व्यस्त बजार क्षेत्रमा कार बम विस्फोट गरेर भीषण आक्रमणको धमाकामा झन्डै तीन सय जनाको ज्यान लियो भने डेढ सयभन्दा बढीलाई घाइते बनायो । ठूलो संख्यामा मानिस मर्दा पनि मतलब नगरेको भन्दै त्यहाँका प्रधानमन्त्रीलाई सर्वसाधारणले देख्नेबित्तिकै ‘चोर’ ‘कुकुर’ भन्दै गाली गरेका थिए ।

बंगलादेश राजधानी ढाकाको बेकरी क्याफेमा जुलाई २ मा आतंककारीले हमला गरी सबैलाई नियन्त्रणमा लिएर २० जनालाई धारिलो हतियारले बर्बरतापूर्वक घाँटी रेटेर मारेका थिए । कुरआनको आयात पढ्न सक्ने केहीलाई छाडिदिएका थिए । सुरक्षाकर्मीले ६ जना आतंककारीलाई मारेका थिए भने भिडन्तमा २ जना प्रहरी पनि मर्न पुगेका थिए । प्रधानमन्त्री शेख हसिनाले ‘यी आतंककारी कस्ता मुसलमान हुन् ? उनीहरूको कुनै धर्म छैन’ भनेकी थिइन् ।

अफगानिस्तानको काबुलमा जुन २९ का दिन आत्मघाती बम हमलाकारीद्वारा ३० प्रहरी मारिएका थिए भने ५० जनाभन्दा बढीलाई घाइते तुल्याइएको थियो । यसअघि जुन २० मा तालिवान लडाकुले गुडिरहेको बसमा आक्रमण गर्दा १३ नेपालीसहित १५ जनाको मृत्यु भएको थियो । अफगानी राष्ट्रपतिले ‘यस्तो आतंक मानवताविरुद्धको अपराध हो’ भनेका छन् । जुन २९ कै दिन टर्की इस्तानबुलको (संसारकै तेस्रो व्यस्त) अतातुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा आइएस आतंककारीको हमलामा ४१ जनाको ज्यान गयो । २४० घाइते भए भने ३ आतंककारीको आत्मघाती मृत्यु भएको थियो ।

२२ मार्चमा बेल्जियमको राजधानी ब्रसेल्स विमानस्थल र मेट्रो स्टेसनमा शृंखलाबद्ध विस्फोटमा ३१ जना मारिए । जुन १२ का दिन अमेरिका फ्लोरिडास्थित ओल्र्यान्डो समलिंगी क्लबमा अन्धाधुन्ध गोली चलाउँदा ४९ जनाको मृत्यु भयो । गत वर्ष नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसमा आतंककारीद्वारा १ सय ३० व्यक्तिको ज्यान लिइएको थियो । यसबाट सन् २०१६ मा आइएस आतंककारीको हमला थप तीव्र बन्दै गएको बुझिन्छ ।

यस लेखमा यत्तिका घटना उल्लेख गर्नुका कारण चाहिं नेपाल पनि सतर्क रहनु आवश्यक छ भनी दर्साउन खोजिएको हो । आतंककारी गतिविधि एसियामा छिरिसकेको र नेपाल नजिकै आइपुगेको कुरा बंगलादेशको रेस्टुराँमा गरिएको हमला र हत्याले संकेत गरेको छ । यस्तो काण्ड नेपालका लागि ‘वेक अप कल’ पनि हुन सक्छ ।

तीन साताअघि अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रतिवेदनमा समेत नेपालमा इन्डियन मुजाहिद्दिनको प्रभाव बढ्दै गएको उल्लेख छ । यस्तै, अमेरिकी परराष्ट्र मन्त्रालयअन्तर्गत ‘अफिस अफ द कोअर्डिनेटर फर काउन्टर टेरोरिज्म’ सम्बन्धी ‘टेरोरिज्म रिपोर्ट–२००९’ मा नेपाल अन्तर्राष्ट्रिय आतंकवादी समूहका लागि सुरक्षित स्थान नभए पनि अतिवादी समूह भारत जाने पारवहन मार्गका रूपमा नेपाल प्रयोग हुन सक्ने बुँदा उल्लेख छ । यसको पुस्ट्याइँमा लेखिएको छ– ‘मुख्यत: नेपाल–भारत सीमाको कतिपय सेग्मेन्टमा सरकारविहीनता (अनगभर्नड स्पेसेस) का कारण आतंककारी चलखेल गर्न पुग्छन् । जुन महिनामा लस्कर–ए–तोइबाका सदस्य मोहमद ओमार मदनी नेपालको बाटो भएर नयाँदिल्लीतर्फ गएका थिए ।’ यसैगरी अमेरिकाकै ‘प्याटर्न अफ ग्लोबल टेरोरिज्म–२००३’ को प्रतिवेदनमा ‘सीमित सरकारी अर्थतन्त्र, कमजोर सीमा नियन्त्रण र नाजुक सुरक्षा संयन्त्रका कारण नेपाल केही बाहिरी विद्रोही र अन्तर्राष्ट्रिय आतंककारीको आउजाउको थलो र हतियार ओसारपसारको माध्यम बनेको छ’ भन्ने उल्लेख गरिएको थियो ।

नेपालभित्रै पनि उग्रवादी समूह लस्कर–ए–तोइबा सम्बद्ध तथा भारतमा भएको ४० बम विस्फोटकका योजनाकार एवं १९९३ को मुम्बई आक्रमणको सन्दिग्ध आतंकवादी अब्दुल करिम टुन्डालाई १६ अगस्त २०१३ मा पोखरामा पक्राउ गरी भारतीय प्रहरीलाई अनौपचारिक तवरमा बनवासा नाकामा हस्तान्तरण गरिएको थियो । यस्तै, अमेरिकाले विदेशी आतंककारी संस्थाका रूपमा सूचीकृत गरेको तथा भारतमा प्रतिबन्धित मुजाहिद्दिन समूहका सहसंस्थापक एवं मोस्ट वान्टेड व्यक्ति यासिन भटकललाई २८ अगस्त २०१३ मा काठमाडौं सीतापाइलामा पक्राउ गरी भारतीय प्रहरीसमक्ष रक्सौलमा बुझाइएको थियो ।

यहाँ प्रश्न उब्जन पुगेको छ, यस्ता खुङ्खार आतंकवादीहरू नेपाल भएर भारत र भारतबाट नेपाल कसरी सजिलै ओहोरदोहोर गर्छन् ? यसको कटुसत्य जवाफ हो– नेपाल र भारतबीचको सीमा खुला मात्रै होइन, छाडा र छिद्रमय (पोरस) छ । अनि नेपाली र भारतीय यात्रुका रूपमा आतंककारी संस्थासँग सम्बन्धित अफगानी, इराकी, बंगलादेशी, बर्मेली पनि सजिलै बिनारोकटोक अन्तर्राष्ट्रिय सीमा वारपार गर्ने गरेका छन् । उनीहरूको अनुहार, वेशभूषा, बोलीचालीदेखि चालचलन, खानपिन, भावभंगी नेपाली अथवा भारतीय नागरिकसँग मिल्दोजुल्दो छ । यिनीहरू दिनको धेरै पटक सीमामा आवतजावत गर्न सक्छन् ।

यिनै कारणले नेपाल–भारत सीमालाई अब क्रमश: नियमन (रेगुलेसन) गर्दै लैजानु अपरिहार्य हुन आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको २० फेब्रुअरी २०१६ मा भएको भ्रमणका समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘वान टु वान’ कुराकानीमा भनेका थिए– ‘खुला सिमाना रहेकाले आतंककारी गतिविधि तथा अपराधीका लागि भूमि दुरुपयोग हुन नदिन नेपाल र भारतका सुरक्षा एजेन्सीबीच सहकार्य मजबुत पार्नुपर्छ ।’ जवाफमा प्रधानमन्त्री ओलीले पनि ‘हाम्रो दुई देशबीच खुला सिमाना छ, यसमा हुने अवाञ्छित गतिविधि रोक्न हामी दुवै देश सक्षम छौं’ भनेका थिए । विहारका मुख्यमन्त्री नीतिश कुमारले १ फ्रेब्रुअरी २०११ मा नयाँदिल्लीमा भएको मुख्यमन्त्रीहरूको आन्तरिक सुरक्षा सम्मेलनमा ‘नेपालबाट अवैध घुसपैठ, लागूऔषध तस्करी, भारतीय नक्कली नोट ल्याउने गरेकाले सीमालाई नियमन गर्नुपर्‍यो’ भनी बोलेका थिए ।

Simarahit Aatanka Sketch

यसै परिप्रेक्ष्यमा खुला सीमालाई नियमन गर्ने प्रक्रियाको पहिलो पाइलाका रूपमा सीमा वारपार गर्नेले परिचयपत्र प्रस्तुत गर्नुपर्ने प्रावधान दुवै मुलुकले संयुक्त रूपमा गर्नुपर्ने परिस्थिति उत्पन्न भइसकेको छ । सीमा–नाकाको चौकीमा यात्रुले पेस गर्ने परिचयपत्र डिजिटल प्रविधिद्वारा स्क्यान गरेर एक मिनेटभित्रै सक्कली यात्रुलाई सीमापार गर्न अनुमति दिनुपर्छ । सन्दिग्ध व्यक्तिजस्तो देखिन आए भिन्नै कोठामा लगी केरकार गर्नुपर्छ । दोषी ठहरिए पक्राउ गर्नुपर्छ । यस्तो व्यवस्था पहिले नै गरिएको भए गोलो अनुहारमाथि सेतो जंगी फेटा गुथेका र खैरो दारी भएका दोहोरो जीउडालका आतंककारीको सूचीमा दर्ता भएका अब्दुल करिम टुन्डा सीमारेखामै पक्राउ पर्न सक्थे ।

काठमाडौंबाट उडेको इन्डियन एयरलाइन्सको हवाइजहाज १९९९ डिसेम्बर २४ मा अपहरण गरिएको घटनापछि दुवै देशको सहमतिमा १ अक्टोबर २००० देखि हवाईमार्गमा नियमन सीमा व्यवस्था अपनाइएको छ । अब सतह मार्गमा पनि नियमन सीमा अपनाउन आतंकको ठूलो घटना पर्खिरहन आवश्यक छैन । टर्कीमा हमला हुँदा त्यहाँका राष्ट्रपतिले भावुक हँुदै ‘टर्कीको विमानस्थलमा खसेको बम विश्वको जुनसुकै कुनामा खस्न सक्नेछ’ भनेका थिए । यो कुरालाई मनन गर्दै आतंकका घटना घट्नु अगावै अर्थात् घटना हुनै नदिनका लागि नेपाल–भारत खुला सीमालाई नियमन पार्न सक्नुपर्छ । भर्खरै काम सुरु गरेको प्रबुद्ध व्यक्ति समूहको दुवै पक्षले यस मामिलामा अध्ययन, विश्लेषण र मनन गरेर सीमारहित तरिकाले आतंक मच्चाइरहेका अवाञ्छित तत्त्वलाई सीमारेखाभित्रै बाँध्ने प्रावधानको सुझाव आआफ्नो सरकारसमक्ष समयानुकूल र यथार्थपरक रूपमा बुझाउने हिम्मत गर्नेछन् भन्ने आशा राखौं ।

 

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: