Jumbo Pillar, Boundaries and Instability

 

 

Junge – Buddhe

Junge-Buddhe

Jumbo Pillar, Boundaries and Instability

Abhi Subedi

जंगे, सीमा र विचलन

अभि सुवेदी

 

ग्रेगोरी पात्रोको २०१५/१६ सालमा मेरा इतिहाससँग केही जम्काभेट भएका छन् । ती निकैवटा छन्, तर यहाँ एकाध जम्काभेटको मात्र कुरा राख्न चाहन्छु । यो जम्काभेट नेपालमा राणाशासन स्थापना गर्ने जंगबहादुर कुँवर राणा (१८७४–१९३३) सँग भएको चाहिँं सबैभन्दा बलियो छ । काठमाडौंको टुँडिखेलका कुनामा होस् कि कहीं दरबारिया घरका भित्तामा टाँगेको चित्र होस्, त्यो विम्ब उजागरणको वा जंगबहादुरको स्मृतिको तरिकाले म किञ्चित् चकित भएको छु ।

अहिले नेपाल गणतन्त्र युगमा प्रवेश गरेपछि नेपालको इतिहासका दुई पात्रको चर्चा र विवाद हुनुको पछिल्तिर यी पात्रले उठाएका र गरेका कुराको अर्थ जोडिन्छ । नेपालमा संघीयताको बहस सुरु भएपछि पृथ्वीनारायण शाहको चर्चा सोझै हुनथाल्यो । त्यो स्वाभाविक हो, किनभने तिनले धेरैवटा स्वतन्त्र राज्य वा प्रदेशहरू जोडेर अहिलेको नेपालको जग बसाएका थिए ।

अर्कोतिर ब्रिटिस नेपाली इतिहासकार जोन ह्वेल्पटनको किताब ‘जंगबहादुर इन युरोप’को दोस्रो संस्करण लेखकले सूचना र चर्चा थपेर यही साल मण्डला प्वाइन्टले प्रकाशित गरेपछि अनि जोनले बेलायत र काठमाडांैमा विद्वत्वृत्तमा ‘डिस्कोर्स’हरू गरेपछि चर्चा थपिएका हुन् । जंगबहादुर जस्तो नेपालको इतिहासमा फर्की—फर्की आउने शासक पात्र मैले कोही पनि देखेको छैन ।

सम्वत् १९०३ मा कोतपर्व गरेर राणाशासन चलाएपछि अङ्ग्रेजलाई आफू एक स्वतन्त्र देशको शासक भएको विश्वास दिलाएर १९०७ मा बेलायत भ्रमणमा गएका ती मानिसले सम्वत् १९११ मा मुलुकी ऐन घोषणा गरे, जसको प्रभावमा यो समाज अहिलेसम्म चलिरहेको छ । गोर्खाका राजा राम शाहपछि थिति बसाल्ने भनेर कहलिएका यी मानिसको मुलुकी ऐनमा महेश रेग्मीले संविधानजनिन राजकाज गर्नेहरूका काम र तिनका अयोग्यताको विषयमा पनि लेखिएको उल्लेख गरे ।

तर त्यो मुलुकी ऐन भनेको सामन्ती युग र व्यवस्थाको दस्तावेज हो, जसलाई यस देशका सामन्ती शासक र वर्णवादी व्यवस्था गर्नेहरूले प्रयोग गरे । जातका तल र माथिका तथाकथित आचरणका कुरा प्रतिपादन गर्ने यो ऐनको पछि महेन्द्रले केही संशोधन गरे पनि अहिलेसम्म यसको प्रभावमा यो समाज चलेको वा अगाडि जान नसकेको देखिएको र अनुभव गरिएको छ ।

नेपालको सीमा विषयका सबैभन्दा प्रसिद्ध मानिएका बुद्धिनारायण श्रेष्ठ उर्फ बुद्धेले मलाई भने उनको किताब ‘जंगे–बुद्धे’ प्रकाशित भएकोले त्यसको विमोचन दुईजना शताब्दी पुरुष कवि माधव घिमिरे र सत्यमोहन जोशीले गर्ने भएका छन्, अनि मैले त्यसको समीक्षा गर्नु पर्नेछ । मैले सम्मान गरेका, यो देशको सीमालाई लक्ष्मणरेखाजस्तै पटक—पटक ज्वालामा ब्युँझिएको देखेका र सरकारहरूलाई निराकरणको निम्ति आह्वान गरेका, उमेर पाको हुँदै गएका बुद्धिनारायणको अनुरोध स्वीकार गरेर म एउटा पार्टी प्यालेसमा आयोजना गरिएको पच्चीस साउनको त्यो कार्यक्रममा गएँ । केही दिन पहिले उनले निकै मोटो किताब पठाइदिएका थिए ।

पहिलै देखेँ, खेम कोइराला बन्धुको भूमिका पचास पाताजति रहेछ, जुन उनको निबन्ध नै हो, जहाँ सीमा र त्यसका स्तम्भहरूको कुनै स्थान हुँदैन । तिनले नै यो किताबको शीर्षक जुराइदिएका रहेछन् । किताब लेख्ने श्रेष्ठले यसलाई एउटा आत्मकहानी जस्तो बनाउन चाहेका रहेछन् । राम्ररी सम्पादन गरिदिएर अलिक चुस्त बनाइदिने सम्पादकले भेटेको भए यी महत्त्वपूर्ण मानिसको यो मूल्यवान इतिहास, नेपाली संस्मरण साहित्यको पनि एउटा अब्बल किताब हुने थियो ।

त्यो किताबको विषयमा सत्यमोहन दाइले बोलेका कुरा नौला थिए । उनले जंगले बेलायत जाँदा जहाजको गडबडी शान्त गर्न मजिपा लाखेलाई भाका गरेको प्रसङ्ग ल्याए । सत्यमोहन दाइले यसमाथि लेखेको नाटक शिल्पीमा प्रस्तुत भएको थियो । उनले भने, ‘अहिले त्यस्ता देशको सीमा बनाउने जंगको सालिकसमेत सैनिक घेराभित्र फालिएको छ र त्यो हात छुट्टिएर लडेको छ, कुनामा । एउटा सालिक पनि बँचाइदिएनन्, आज त्यो देख्दा दु:ख लाग्छ । जनताको इतिहास लेखिएन ।

त्यत्रो नेपाल ब्रिटेन युद्धमा बहादुरी गरेका कर्नेल उजिरसिंह थापाको इतिहासमा नाउँ छैन । उनले भाकलमा स्थापना गरेको भगवतीको एउटा मूर्तिमात्र छ अहिले, पाल्पामा ।’ उनले थपे, ‘जंगबहादुर लिन्थे, पछिकाले दिए मात्र । २६ वर्षमा २५ प्रधानमन्त्री भए नेपालमा तर दिने प्रधानमन्त्री मात्रै आए, लिने कोही पनि आएनन् ।’ जोडदार ताली बजेका थिए । त्यो हलमा बसेका मानिस समाजको हरेक तहबाट आएका थिए । ती एलिट, विविध विचार भएका र एक अर्थले जोडिएका थिए । त्यो कुरा थियो, राष्ट्रवाद ।

राष्ट्रवादको यो भावनालाई सबैले यी इमानदार, समर्पित र विद्वान भूगोलवेत्ता बुद्धिनारायणका सीमा डिस्कोर्सबाट जगाउन चाहेका थिए । किताबमा बुद्धिनारायण श्रेष्ठले आजसम्म गरिआएका कामको निजी यात्रा छ । उनका भावना र घटना छन् । उनी कुनै दल र जत्थाका मानिस होइनन् । ती भूगोलवेत्ता हुन्, जसले त्यहाँ एउटा इतिहास दोहोर्‍याए ।

जंगबहादुरले सन् १८५७ को लखनौको सिपाही विद्रोह दबाउन अङ्ग्रेजलाई मद्दत गरेबापत फिर्ता दिएका तराईका जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर उनले सीमास्तम्भ राखेर मात्र लिने भनेपछि १५ नोभेम्बर १८६० मा स्तम्भ गाडेर फिर्ता दिएका थिए । बुद्धेले लेखेका छन्, अहिले सयौं जंगे पिलर हराएका छन् । लिपियाधारा नेपालको हो भन्ने कुराको नक्सा नै साक्षी छ । जहाँ—जहाँ पिलर हराएका छन्, त्यहाँ समस्या भएको छ ।

Junge Sketch
मलाई जंगले भारतमा सिपाही विद्रोह दबाउन मद्दत गरेको कथा पढ्दा पीडा हुन्छ । यसको डिस्कोर्स अर्कै छ । जंगले भूमि पाएको कथा नेपालको निम्ति राम्रो कुरा भएकोले यी दुई कुराको सान्निध्य राष्ट्रवादबाट हेर्नेे आफ्नो अनुभव राखिदिएका छन् । सीमाले उनलाई बोलाइरहेको आवाज सुन्छन्, बुद्धिनारायण । नेपालका कम्युनिष्ट नेताहरूले उनलाई खोजे ।

बुद्धेको सूचनाको आधारमा उनीहरू सीमाक्षेत्रमा गए । पञ्चायती मण्डलेहरूले पनि उनको ज्ञानको प्रयोग गर्ने भनेका कथा छन् । नेपाली काङ्ग्रेसका नेताहरूले उनको प्रस्ट कथालाई लुकाएर अस्पष्ट पारेर हेर्नुपर्छ भनेका घटना छन् । बुद्धेलाई सबै प्रधानमन्त्रीले खोजेका कथा छन् । राजनीतिक नेताहरू, संसदीय टोली, बुद्धिजीवीहरूले उनलाई बोलाएका छन् । आफ्ना कुरा राखेबापत ती जागिरबाट झारिएका छन् । कथा तिनको लामो छ । तर मूल कुरा ती पिलरहरूको विषयलाई लिएर केही नगरिनुमा छ ।

मैले त्यस सभामा देखेंँ, जंग नेपालको राष्ट्रियता र यो देशका एकमात्र धरोहर अनि अरू प्रधानमन्त्रीहरू पङ्गु भन्ने भावना व्याप्त भइरहेको थियो । पिलर सारिनु भनेको पहाडी मानिसको मात्र राष्ट्रियताको सम्वेदनशीलता होइन । भर्खरै सप्तरी सीमाक्षेत्रका मानिसको विरोधपछि यही अगस्ट महिनाको सुरुतिर तिलाथीमा भारतले एकतर्फी बाँध बाँध्न रोकेको खबर आयो । सीमा क्षेत्रका मानिस को हुन् र तिनले सीमा अतिक्रमण कसरी भोगिरहेका छन् भन्ने कुराको सम्वेदनशीलता नभएको राष्ट्रवाद एकाङ्गी हुन्छ ।

जंगबहादुर र सीमा व्यवस्थाको कुरा एउटा ऐतिहासिक विषय हो । भारतमा अङ्ग्रेजहरू कुनै सैनिक लिएर युद्ध गर्दै जित्दै आएका मानिस थिएनन् । ती मोगल राजाबाट अनुमति लिएर व्यापार गर्ने मानिस थिए । तर पछि गएर क्षेत्र अनि राज्य जित्ने तिनका योजना भए । भारत भित्रकै मानिस लडाएर तिनले धेरै साना—ठूला युद्ध जिते । भारतका शक्तिशाली राजाहरूलाई जिते जसमा टिपु सुल्तान, रणजित सिंह, झाँसीकी रानीका इतिहास आउँछन् । यता गोर्खालीको सीमा चेतना अमूर्त तर यथार्थ थियो ।

युद्ध उनीहरूको विस्तारको कथा थियो । काठमाडौं दरबारभित्रको राजनीति त्यसमा जिम्मेदार थियो । भारतीय राज्यहरूमा सीमा चेतना गडबड हुँदा नेपालमा त्यस्तो थिएन, यहाँ राज्य थियो । नेपाल–अङ्ग्रेज युद्ध अङ्ग्रेजहरू असुरक्षा र विस्तारको द्वन्द्वले जलेको बेला भएको थियो । पछि जंगको पालामा अङ्ग्रेजले नेपालको सीमा चेतनालाई यथार्थ मानेर सम्झौता गरेका थिए । अथवा युरोपेलीले सीमा र राज्य चेतना भएको राज्य नेपाललाई देखेर सीमाङ्कनको नीति लिएका हुन् । जंगसँग गरिएका सीमाका सम्झौता तिनै थिए । जंग पिलरहरू त्यस अर्थमा साँध पनि थिए, अनि अलिअलि गर्दै ठेलिंँदै जाने, ढल्ने काल्पनिक र अमूर्त सीमारेखा थिए । त्यो अमूर्त सीमा चेतना, जंगको इतिहासको तरङ्ग आज पनि त्यत्तिकै यथार्थ बोक्छ ।

मैले त्यो दिन किताबको समीक्षा र केही प्रश्न राखेंँ । तर मेरो भनाइको सार यस्तो छ । जंगे पिलरको एकाग्र अध्ययनले गर्दा बुद्धिनारायण श्रेष्ठले जंगलाई एक महान ऐतिहासिक मानवको रूपमा ग्रहण गरेको कुरा प्रस्ट देखियो । नेपालमा सीमाको कुरा गरेर क्रान्तिकारी नारा गर्ने र पुरातन सोच गर्नेहरूबाट बुद्धिनारायणले भेटेको तथ्यको सही प्रयोग हुने देखिँंदैन ।

मेरो विचारमा बुद्धिनारायण श्रेष्ठले पत्ता लगाएका सीमाका अतिक्रमण वा बिगिँ्रंदै गएको अवस्थाका प्रतिवेदनहरू नेपाललाई मात्र होइन, भारतलाई पनि त्यत्तिकै काम लाग्ने विषय हुन् । नेपाल र भारतका आधिकारिक मानिस बुद्धिनारायण श्रेष्ठले देखाएका विचलनको अध्ययन गरुन् र सीमा समस्या समाधान गरुन् । बुद्धिनारायण श्रेष्ठले भनेजस्तै न भारतले भित्र पेल्दै आउन मिल्छ, न नेपालले जंगे पिलरको इतिहासको रेखा मेटिरहेको कुरालाई अदेखा गरिबस्न मिल्छ । बुद्धिनारायणको बुद्धिबाट दुवै देशले सिकुन्, यही मात्र समाधानको बाटो हो ।

 

 

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: