Expression of A Border Activist

Expression of A Border Activist

सीमा अभियन्ताको अनुभूति

यो कृति मूल रूपमा सिमानाप्रतिको चिन्ता, चासो, अध्ययन र भोगाइको स्वकथन हो ।

 

sima-abhiyantako-promo

 

 

रामबहादुर रावल

दुई मुलुकका बीचमा बग्ने नदीको बीच भागमा सीमास्तम्भ हुनुपर्ने सिद्धान्त, अन्तर्राष्ट्रिय अभिसन्धि र प्रचलनबारे पढ्दा, त्यही ज्ञान अरूलाई बाँड्दा र अन्तर्राष्ट्रिय सभा/सम्मेलनमा प्रस्तुति–प्रवचन दिँदा बुद्धिनारायण श्रेष्ठलाई चसक्क मुटुमा घोच्छ । किनभने, नदीको ओल्लोछेउसम्मै छिमेकका राष्ट्रिय झन्डा गाडेका, प्रहरी पोस्ट राखेका दृश्य आँखाअगाडि आउँछन् । एकपल्ट देखिएका सीमास्तम्भ अर्कोपल्ट जाँदा सोही ठाउँमा भेटिँदैनन् ।

 

हो, सीमासम्बन्धी अन्तर्राष्ट्रिय नियम र सिद्धान्तहरू नेपालको हकमा लागू हुँदैन । कतिसम्म भने नेपालीहरू महाविपत्तिले थिचिएका बेला दुई ठूला छिमेकी नेपाली भूमि लिपुलेक उपयोग गर्ने कुरा आपसी सौदाबाजीमा टुंग्याउँछन् । ५० वर्षदेखि नेपालको कालापानीमा भइआएको भारतीय अतिक्रमणमा चिनियाँ छाप लाग्छ । भूराजनीतिको यो विशिष्ट विडम्बना संसारका अन्य मुलुकले सायदै बेहोरेका छन् । तर, यही मुलुकमा सबभन्दा बढी बिक्री हुने माल राष्ट्रवाद हुन्छ । जंगे र बुद्धे यही विडम्बनाका बीचबाट जन्मिएको कृति हो ।
राष्ट्रवादको खेती जसले जतिसुकै गरे पनि जंगबहादुर राणा (जंगे)पछिका कुनै पनि शासकले नेपाली भूमिको असल रूपमा रक्षा गर्न सकेका छैनन् भन्ने निष्कर्षमा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमा–अभियन्ता बुद्धिनारायण श्रेष्ठ पुगेका छन् । र, सिमाना जोगाउन जंगबहादुरले जेजति काम गरे, त्यसैको कृतज्ञतामा उनले पुस्तकको नाम राखेका छन् । र, आफ्नो जीवनकर्म पनि मूल रूपमा सीमासम्बन्धी नै भएकाले जंगेसँगै आफ्नो नाममा अनुप्रास मिलाएका छन्, बुद्धे ।
श्रेष्ठको यो कृति मूल रूपमा सिमानाप्रतिको चिन्ता, चासो, अध्ययन र भोगाइको स्वकथन हो । उनी राजनीतिकर्मी, विधायक, सञ्चारकर्मी, अभियन्ताहरूलाई लिएर बेलाबेला सीमाछेउ पुगिरहन्छन् । नक्सालाई जमिनमा भिडाउँछन् । आजसम्म शासन सत्तामा पुगेका प्राय: सर्वोच्च, उच्च र मध्यम तहका नेताहरूले विभिन्न समयमा उनको राय–सुझाव लिएका रहेछन् । सबैजसो प्रधानमन्त्री, आधा–उधी मन्त्रीलाई घरैमा गएर सल्लाह दिएका रहेछन् । उनकै शब्दमा, सीमारेखा देखाउन, पथप्रदर्शन गर्न पाएपछि मख्ख पर्छन् र गिदीमा रहेको ज्ञान बाँड्न पाउँदा खुसी हुन्छन् ।
पुस्तकमा स्थलगत भ्रमणका क्रममा भेटेका सीमाक्षेत्रका बासिन्दाका सास्ती र वेदना पनि छन् । बर्दियाको चौगुर्जीमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसमेतका सामुन्ने स्थानीय नुवाजत धोबीले कागज देखाउँदै रोइकराइ गरेको मर्मस्पर्शी प्रसंग छ, ‘हजुर, मेरो १० कट्ठा ७ धुर जमिनको लालपट्टा यही हो । जमिन भारतीय बासिन्दाले मिचेर खाइरहेको छ । मेरो जमिनमा टेक्न जाँदा पनि तेरो पैर भाँचिदिन्छु भन्छ ।’
नेपालको संसदीय टोलीका सदस्यहरूलाई भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले थर्काएका प्रसंग कुनै फिल्मका संवादजस्ता लाग्छन् । छोरीको बिहे पक्का गर्न भन्दै अरूको मोटरसाइकलमा सीमावारपार गरी नापनक्सा लिँदा, सीमास्तम्भ खोज्दाको अनुभूति रोमाञ्चक छन् । सिक्किमले श्रीअन्तु डाँडा क्वाप्प पार्न लागेको, राती सुत्दा नेपालमा, बिहान उठ्दा भारतीय भएको लगायतका प्रसंगले हाम्रो सिमानाको संघर्षमय कथा बोल्छन् ।
सन् १९९३ मा जापानी सहयोगमा नापी विभागले तयार पारेको स्थलरूप नक्सामा सुस्तालगायत सीमा क्षेत्रको यथार्थ चित्रांकन गरिएको रहेछ, जुन पल्टाउन अहिलेका शासकहरूले हिम्मत नगरेको र चिसो गोदाममा थन्क्याइएको श्रेष्ठले उल्लेख गरेका छन् । घुमिफिरी उनी बरू जंगबहादुरकै पालामा हाम्रो हैसियत थियो भन्नेमा पुग्छन् । कतिपयले जंगबहादुरलाई ब्रिटिसको बफादार भन्छन् । हालका प्रधानमन्त्री प्रचण्डले संसद्मै हुंकारसाथ यस्तै अभिव्यक्ति दिएका थिए । तर, श्रेष्ठ यो मान्न तयार छैनन् । उनले उल्लेख गरेको विवरण अनुसार जंगबहादुरले भारत सरकार विदेश विभागका फोर्ट विलियमलाई ७ अप्रिल १८६२ मा रोष प्रकट गर्दै चिट्ठी लेखेका थिए, १ सय ६० बिघा नेपाली भूमि मिचिएकामा । ब्रिटिस रेजिडेन्ट तत्कालै गभर्नर जनरलका तर्फबाट अंग्रेज सर्भेयरहरूले हटाएका सीमास्तम्भ पुन:निर्माण गर्ने सन्देश लिएर आएका थिए । र, जंगबहादुरले पुन:निर्माण गर्न बाध्य पारेका थिए ।
पुस्तकमा कहाँनिर गाम्भीर्य छ र कुनचाहिँ व्यंग्योक्ति हो भन्ने छुट्याउन मुस्किल छ । लेखक स्वयंको दाबी छ, ‘सिंहको गर्जनजस्तै गरी यो पुस्तकले बजार थर्काउनेछ ।’ उनले अनौपचारिक मौखिक भाषाको हदैसम्म प्रयोग गरेका छन् । गम्भीर र संवेदनशील विषयमा कलम चलाउँदा र महत्त्वपूर्ण तथ्यको उद्घाटन हुँदा पनि वाक्य टुंग्याउनीको ‘एछ’ प्रत्ययले खल्लो र लेखकीय दाबीलाई हलुका बनाइदिन्छ । भोलि कुनै अनुसन्धाता, अध्येताले सन्दर्भसामग्रीका रूपमा प्रयोग गर्ने कि नगर्ने भनेर यही ‘एछ’ प्रत्ययका कारण चारपटक सोच्नेछ । विषयवस्तुको विविधता र प्रस्तुतिमा अनेकताका कारण उनको यो पुस्तक र लेखन शैली ककटेल बन्न पुगेको छ । ५० पृष्ठको भूमिका र त्यति नै लामो ‘भक्सपप’ नराख्दा पाठक र प्रकाशक दुवैलाई सहुलियत मिल्ने थियो ।

 

यद्यपि, पुस्तकमा निराशा मात्र छैन । हामीले पनि खोजी गर्दै गयौँ भने ती हराएका, नासिएका सीमास्तम्भहरू यथास्थानमा पुन:स्थापित गर्न सक्छौँ भन्ने विश्वास पनि श्रेष्ठले ठाउँठाउँमा व्यक्त गरेका छन् । जसले भावी पुस्तालाई पनि बुद्धे–मार्ग पछ्याउन प्रेरणा दिनेछ ।

http://bit.ly/2c0Gofe

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: