Life is the Social Identity

Life is the Social Identity

‘सामाजिक पहिचान हो जिन्दगी’

samajik-logo

बुद्धिनारायण श्रेष्ठ, सीमाविद्

 

समाजमा आफ्नो अस्तित्व राखेर अगाडि बढ्ने यात्राको नाम हो जिन्दगी । त्यसो त समाजमा सबैको छुट्टाछुट्टै पहिचान हुन्छ । व्यक्ति मात्र होइन, परिवार, गाउँ, समाजको पनि अलग–अलग पहिचान हुन्छ । तर, हामीले आफ्नो व्यक्तित्व समाजमा पहिचान हुने गरी बिताउनुपर्छ भन्ने लाग्छ मलाई । कतिपय मानिसले कुकर्मतिर लागेर जीवन बिताएका पनि छन् । कति कुकर्ममा लागेपछि ठक्कर खाएर सत्कर्मतिर पनि लागेका छन् । मेरो मान्यता छ, समाजमा शिर ठाडो हुने गरी बाँच्न सक्ने जीवन बिताउनुपर्छ । म समाजमा आफ्नो पहिचान बनाएर बाँचेका मानिसलाई मन पराउँछु ।

मैले जहिले पनि समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राखेँ मेरो जीवनमा । आफूले जानेबुझेको विषयलाई समाजमा उजागर गर्नुपर्छ भन्ने लाग्छ मलाई । देश र समाजकै लागि केही गरेकाले आफूलाई सबैसामु चिनाउने मौका पाएको छु जस्तो लाग्छ ।

कतिपय मानिस निराश भएर बाँचेका हुन्छन् । जीवनमा केही गर्न सकिएन भन्ने ठानिरहेका हुन्छन् । आर्थिक, सामाजिक र राजनीतिक दृष्टिकोणले कमजोर भएँ भन्ने भावना लिएर बाँचेका धेरै मान्छे देखेको छु मैले । तर, मैले भन्ने गरेको छु, ‘मानिस कहिले पनि निराश हुनु हुँदैन, दिनपछि रात आएजस्तै रात पनि जानेछ र ‘दिन’ आउनेछ ।’ मलाई लाग्छ, हामीले सदैव सकारात्मक दृष्टिकोणले सोच्ने गर्नुपर्छ ।

आफ्नो योग्यता र क्षमताले भ्याएको मात्र गर्नुपर्छ । आफूलाई बोझ हुने, मन नलाग्ने पेसातिर लाग्नु हुँदैन । आफूलाई रुचि भएको क्षेत्रमा गएर सामाजिक पहिचान बनाउनुपर्छ । एउटा सामान्य किराना पसलेले पनि समाजमा आघात नगर्ने गरी काम गर्न सक्छ । त्यो पसलेले कालोबजारी नगरी सही तरिकाले सेवा दिइरहेको हुन सक्छ । अझ अगाडि बढेर त्यो किराना पसलेले कम नाफा खाएर बेच्न सक्छ । यस्ता खालका मानिसले पनि समाजका लागि योगदान नै गरेका हुन्छन् ।

भूगोलमा एमए पूरा गरेपछि मैले जागिरे जीवन सुरु गरेको थिएँ । परिवारमा पनि पढाइ पूरा गरेपछि जागिर खानुपर्छ भन्ने मान्यता थियो । त्यति वेला जागिर खाने भनेपछि सरकारी जागिर मात्र हुन्थ्यो । निजीस्तरमा कम्पनी वा अफिसहरू केही पनि थिएनन् । नापी विभागबाट नापी अधिकृतको रूपमा प्रवेश गरे । धेरै प्रतिस्पर्धीबीच अन्तर्वार्ताबाट प्रवेश गरेको हुँ मैले । तर, नापी अधिकृत भए पनि अस्थायी नै थियो । पछि लोकसेवा आयोगले लिएको परीक्षा पास गरेर स्थायी भए ।

मैले जागिर खाने वेलामा युएनडिपीबाट आएका मिस्टर जेआर जी हप नापी विभागमा माथिल्लो निकायका निर्देशक थिए । उनलाई कर्मचारी तथा निजामती नियमावलीलाई आफूअनुकूल प्रयोग गर्ने अधिकार थियो । मलाई लाग्छ, त्यसवेला नापी विभागमा राम्रो काम गर्ने मान्छे नभएर त्यस्तो अधिकार दिइएको होला जस्तो लाग्छ । यो ०२२ सालको कुरा हो ।

नियुक्त भएको तीन महिनासम्म मलाई उक्त अंग्रेजबाट ब्रिफिङ गराएको थियो । ती कर्मचारीले सर्भेयर यस्तो हुनुपर्छ, यस्तो नैतिकता हुनुपर्छ,  आचारसंहिता यस्तो हुनुपर्छ भनेर तालिम दिएका थिए । कर्मचारीका रूपमा फिल्डमा गइसकेपछि एकदमै शुद्धताका साथ काम गर्नुपर्छ भन्ने जस्ता कुरा पनि सिकाएको थियो ।

तीन महिनाको ब्रिफिङ पूरा गरेपछि म झापा गएँ । पछि मोरङ, सुनसरी, कास्की जिल्लामा पनि काम गरेँ । काठमाडौंको नापी विभागको योजना शाखामा १२ वर्ष व्यतित गरेँ । एउटै कार्यालयमा सबैभन्दा बढी त्यहीँ बिताएको हुँ । बढुवा हुँदै जाने क्रममा नापी विभागको महानिर्देशक पनि भएँ ।

मेरो अवकाशको कथा फरक छ । म अवकाश भएको उमेर हद पुगेर पनि होइन, सेवा अवधि पुगेर पनि होइन । निजामती सेवामा सरकारले चाहेमा अवकाश दिन सक्छ । अनिवार्य अवकाश नपुगेर २० वर्ष सेवा पुगेपछि अवकाश पाएको हुँ । उमेर र सेवा अवधि दुवै हुँदै हटाइयो । त्यस वेला मेरो उमेर ५१ थियो । यो ०४९ सालतिरको हो । यसको एउटा पृष्ठभूमि छ । मेरै अनुरोधमा जाइकाबाट उपलब्ध गराएको गाडीमा तत्कालीन मन्त्री जगन्नाथ आचार्य चढ्नुहुन्थ्यो । जाइकाले ६ महिनाका लागि मात्र गाडि उपलब्ध गराएको थियो । तर, मन्त्रीले ६ महिनापछि पनि गाडी फिर्ता गर्नुभएन । त्यसवेला जाइकाले गाडी नहँुदा लुम्बिनी क्षेत्रमा काम गर्न सकिएन, गाडी चाहियो भन्दै दबाब दिइरहेको थियो ।

जाइकाले बेइज्जत गर्ने अवस्था आउन लागेपछि मैले मन्त्रीलाई एक किसिमले दबाबै दिएर फिर्ता गराएको थिएँ । गाडी फिर्ता गराएपछि तत्कालीन भूमिसुधार व्यवस्था विभागका महानिर्देशक भेषराज शर्माले मसँग मन्त्री रिसाएको कुरा सुनाएका थिए । नभन्दै पछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका वेला  दुई हजार सात सय कर्मचारी छटनी गर्ने वेलामा मेरो पनि नाम परेको रहेछ । मैले त्यति वेला अरू केही ‘बिराम’ गरेको थिइनँ । नापी  विभागको महानिर्देशक हुँदा अमिनको सरुवा ६-६ महिनामा मात्र गर्न पाउने थिति बसालेको थिएँ । त्यो वेला अमिनको एकदमै छिटोछिटो सरुवा हुन्थ्यो । राम्रै काम गर्दा पनि मलाई हटाइयो ।

मेरो उमेर र सेवा अवधि हुँदाहुँदै अवकाश दिए पनि पेन्सन भने दिइयो । त्यसैले मेरो जीवन दर्शन जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने छ । मेरो जीवनमा पनि जे भयो राम्रैका लागि भयो किनभने मैले नापी विभागको महानिर्देशकबाट अवकाश नपाएको भए नेपालको सिमाना भन्ने किताबबाट मदन पुरस्कार पाउने थिइनँ । यति धेरै जनासँग चिन्ने मौका पाउने थिइनँ । नापी विभागको जागिर खाएर सचिव भएर रिटायर्ड हुन्थेँ होला । अवकाशपछि यति वर्षको भइयो, के गर्नु अब भन्ने हुन्थ्यो होला । खालि घरको दलिन गनेर बस्ने मात्र काम हुन सक्थ्यो । उमेरमै अवकाश पाएको हुनाले यति धेरै काम गर्ने अवसर पाएँ । यसमा म खुसी छु ।

वास्तवमा यति धेरै मान्छेले चिन्लान्, सम्मान गर्लान् भन्ने मैले कहिल्यै सोचेको थिइनँ । किताब लेखेको हुनाले यति धेरै चर्चा–परिचर्चा भएको हो ।

अवकाश भएको सात–आठ महिनापछि झापाको भद्रपुरमा जंगे पिलरको अध्ययन गर्ने मौका मिल्यो । त्यस वेला त्यो पिलरलाई मूल पिलर नभनेर साँची पिलर भनियो । मैले जाने–बुझेसम्म त्यो मूल पिलर नै थियो । तर, भारतीय पक्षबाट मूल खम्बा नभएर साँची पिलर भनियो । हुँदाहुँदा साँची पिलर सारेर भद्रपुरको विद्यालयको आधा गाउँ भारततिर पारिएको रहेछ । यस्तो व्यवहार गरेपछि मैले कैयौँ पुराना दस्ताबेज खोतल्न थालेँ । आफैँ अध्ययन गर्न थालेँ । यथाशक्य खोज गरेपछि ‘जंगे खम्बाको दर्जा’ शीर्षकमा लेखेँ पत्रिकामा । त्यो जंगे पिलर मूल पिलर हो, साँची पिलर होइन, त्यसकारण सीमा मिचिएको भन्ने लेखको सारांश थियो । लेख लेखेपछि धेरै प्रतिक्रिया आए । त्यसपछि मलाई धेरै हौसला मिल्यो । आफूले गरेको अनुभव र थप खोज अनुसन्धान गरेर पुस्तक लेख्ने सोच बनाएँ । अन्ततः ‘नेपालको सिमाना’ तयार भयो । पुस्तक बजारमा आएको ६–७ महिनापछि मदन पुरस्कार पाएँ । यो पुस्तक र पुरस्कारले धेरैजनासँग चिन्ने मौका दियो ।

मदन पुरस्कार पाएपछि त्यसै चुप लागेर बसिनँ । अहिलेसम्म मैले आठवटा पुस्तक प्रकाशित गरिसकेको छु । मेरा नेपालको सिमाना, सीमा संग्राम, भारत–नेपाल सीमावर्ती बाँध, जंगे बुद्धे, राष्ट्रिय सुरक्षाको सन्दर्भमा सीमा व्यवस्थापन, बोर्डर म्यानेजम्यान्ट अफ नेपाल, सिमानाको ज्ञान पुस्तक प्रकाशित छन् । जंगे बुद्धे नामक पुस्तक भर्खर बजारमा आएको हो । त्यो पुस्तकको सार ‘नेपालको सिमाना जंगबहादुरले गाडेको हो, त्यो मेटिनुहुँदैन, त्यो सिमाना मेटिए नेपालको अस्तित्व नै तलमाथि हुन्छ’ भन्ने छ ।

म पूर्वी पहाडी जिल्ला ओखलढुंगामा जन्मेको हुँ । ६–७ वर्षको उमेरसम्म जुत्ताचप्पल लगाउने चलन नै थिएन । घरमा पढाउने कोही थिएन, स्कुलमा नै बाह्रखरी सिकेको हुँ । मेरा गुरु प्रमुख निर्वाचन आयुक्त रहिसक्नुभएका भोजराज पोखरेलका बुबा हुनुहुन्थ्यो । गुरुलाई टपरीमा एक माना चामलमाथि ५ पैसा तामाको ढ्याक राखेर गुरुदक्षिणा गरी अक्षर सिक्न सुरु गरेको थिएँ । ओखलढुंगाको सगरमाथा स्कुलमा आठसम्म पढेँ । त्यसपछि कक्षा ९ पढ्न काठमाडाैँ आएँ ।

एसएलसी पास गरेपछि जीवनमा धेरै शिक्षा आर्जन गर्नुपर्छ भन्ने लाग्यो । त्यस वेलाको समाजमा पढाइभन्दा जग्गा–जमिन, गाईभैँसी, पैसा हुनेलाई मान्ने गरिन्थ्यो । त्रिचन्द्र क्याम्पसबाट भूगोलमा बिए गरेँ । एमएचाहिँ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट गरेँ ।

युवा अवस्थाको ऊर्जावान् समय भरपूर सदुपयोग नै गरेँ । युवा अवस्थामा गर्नुपर्ने सबै काम गरे जस्तो लाग्छ । त्यसो त अहिले पनि काम गरिरहेको छु । विद्यार्थी जीवनमा पनि निकै घोटिएर पढेँ । जीवनमा जागिरे हुँदा पनि राष्ट्रलाई हानि हुने काम गरिनँ । अवकाश भएपछि नेपालको सिमानासम्बन्धी पुस्तक लेख्ने काम गरेँ । सिमानाबारे मात्र नभई नापी–नक्सासम्बन्धी पुस्तक पनि लेखेको छु ।

baba

७५ वर्ष पुगिसक्दा पनि समय खेर फालेको छैन । धेरैजसो समय लेखपढमै बिताएको छु । एउटा विश्व प्रख्यात भनाइ छ, ‘एक पाना लेख्नका लागि १० पाना पढ्नुपर्छ ।’ त्यसकारण लेख्नकै लागि पनि नियमित पढ्ने गर्छु । बोलाएका वेला पुस्तक विमोचनमा पनि पुग्ने गर्छु । अझै लेखपढ गर्ने योजना छ । केही दिनभित्रै भूकम्पसम्बन्धी पुस्तक प्रकाशित गर्ने योजना बनाएको छु । यसमा भूकम्पका विविध विषय समेटिनेछन् ।

प्रस्तुति : वीरेन्द्र ओली
तस्बिर : अमुल थापा

– See more at: http://www.enayapatrika.com/2017/01/118206#sthash.hqeIkc9i.dpuf

 

Advertisements

2 Responses

  1. i am getting your letter and rading as well. where can i meet you

    ________________________________

    Like

  2. Thank you. We can contact each other through my Mobile: 9841-311611.

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: