Lesson from Kanchanpur Incident

Lesson from Kanchanpur Incident

कञ्चनपुर घटनाको पाठ

Buddhi Photo

बुद्धिनारायण श्रेष्ठ

 

नेपाल र भारतको बीचमा एक हजार आठ सय ८० किलोमिटर सीमारेखा छ । यति लामो सीमारेखामा आठ हजार पाँच सय ५३ वटा सीमा खम्बा गाडिने नक्सामा चिनो लगाइएको छ । तर, जमिनमा चार हजार तीन सय थान मात्रै सीमा खम्बा गाडिएका छन् । तीमध्ये पनि एक हजार आठ सय खम्बा लोप भएका छन् । कति उखेलिएका छन्, कति हराएका छन्, कतिलाई नदीले बगाएको छ । अहिले कञ्चनपुरको गोविन्दनगर क्षेत्रमा दुवैतर्फका जनताको बीचमा मुठभेड भयो । मुठभेड हुनुको मुख्य कारण त्यहाँ अवस्थित दुई सय नम्बरको सीमा (जंगे) खम्बा लोप हुनु हो । दोस्रो, जंगे खम्बा नभए दुवै देशका जनताले नेपाल–भारत सीमा यहाँ हो भनेर किटान गरेको ठाउँबाट लगभग दुई सय मिटर नेपालतर्फ पसेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाउँदा नेपाली नागरिकको मुत्यु भएको छ ।

एउटा देशको सीमा सुरक्षा गर्ने सुरक्षा निकाय अर्को देशमा पस्नका निमित्त त्यो देशको सुरक्षा निकायसँग अनुमति माग्नुपर्छ । तर, अनुमति नै नमागी बर्दीमा आएर नेपाली नागरिक मारिनु दुःखद हो । घटना घट्नुको मुख्य कारण नेपालीले सीमारेखाबाट ४० मिटर नेपालको भूभागभित्र कलभर्ट बनाए भन्ने छ । नेपालीले कच्ची सडक निर्माण गर्दा, अस्थायी कलभर्ट बनाउँदासम्म ठीकै थियो, जब इँटा र बालुवा राखेर पक्की कलभर्ट बनाउन लागियो, तब एसएसबीका जवानले ती इँटा फालिदिए । त्यसपछि नेपालीले पनि आफ्नो मुलुकमा बनाइएको कलभर्टको इँटा किन फालेको भन्दै प्रतिकार गरे । तयसपछि भारतीयले त्यो क्षेत्र आफ्नो भूभागभित्र पर्ने भन्दै दाबी गरे । तर, नेपालीले यो नेपालीकै भूभाग हो, कलभर्ट बनाउनुभन्दा पहिला हामीले तपाईंहरूलाई खबर गरेका थियौँ, त्यसवेला तपाईंहरूले हुन्छ भन्नुभएको थियो, अहिले आएर किन फाल्नुभयो भन्ने जवाफ फर्काए ।

इँटा फाल्दा करिब डेढ सय भारतीय जम्मा भएका थिए भने ३० देखि ३५ जनासम्म मात्रै नेपाली थिए । थोरै संख्यामा रहेका नेपालीलाई भारतीयले त्यहाँबाट लखेटेर आनन्दबजार पु¥याए । पछि, हजारौँको संख्यामा नेपाली जम्मा भएर दुई–अढाई सय भारतीयलाई लखेटेर सीमापार गराउँदा नगराउँदै ढुंगामुडा भयो । ढुंगामुडाको क्रममा नेपालीले हानेको ढुंगा भारतीय एसएसबीका सुक्ल थरका सईलाई छातीमा लागेको भारतीय पक्षले दाबी गरेको छ । आफ्नो छातीमा ढुंगा लागेका ती सईले आवेशमा आएर आफूसँग भएको पेस्तोलले फायरिङ गरे । उनको फाइरिङको चौथो राउन्डको गोली लाग्यो, नेपाली नागरिक गोविन्द गौतमलाई । गम्भीर घाइते भएका गौतमको उपचारका क्रममा निधन भयो । तसर्थ, घटनाक्रमलाई सूक्ष्म रूपमा विश्लेषण गर्ने हो भने नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी आएर नेपालीलाई नै गोली हानेर मार्ने घटना सीमा व्यवस्थापनमा भारतीय पक्षले उल्लंघन गरेको ठहर्छ ।

 

सीमा सुरक्षामा अन्तर्राष्ट्रिय सिद्धान्त
अन्तर्राष्ट्रिय सीमा व्यवस्थापन नियमअनुरूप अन्तर्राष्ट्रिय सीमाबाट एक देशको सैनिक पोसाकमै अर्को देशमा प्रवेश गर्ने हो भने त्यो देशको अनुमति चाहिन्छ । अनुमति पाएपछि पनि हतियाररहित तरिकाले पस्नुपर्छ । हतियार लिएर आएको भए सिमानामा रहेको सो देशको सुरक्षा चौकीमा डिपोजिट गरेर मात्र प्रवेश गर्नुपर्छ । तर, भारतीय एसएसबी त अनुमति नलिई अर्काको मुलुकमा हतियारसहित पस्यो । यो आफैँमा नेपालमाथि गरिएको बलजफ्ती हो ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीले कलभर्ट बनाएको ठाउँ गुगल नक्सामा हेर्दा भारतमा देखिन्छ भन्ने प्रस्टीकरण दिएको छ । तर, गुगल नक्सामा हेर्दा पनि एसएसबीको दाबी मिल्दैन, कलभर्ट बनाएको ठाउँ नेपालमै परेको देखिन्छ ।

सीमाको हकमा गुगल नक्सा नै यथार्थ नक्सा होइन । कञ्चनपुर जिल्लामा १२ वर्षअगाडि नेपाल र भारतको संयुक्त टोलीले सिमाना सीमांकन गरी नक्सासमेत निर्माण गरेकोे थियो । जंगे खम्बाबाट नेपालतर्फ आधा किलोमिटर भूभाग र भारततर्फ आधा किलोमिटर भूभाग समेटेर एक किलोमिटरको सीमानक्सा निर्माण गरिएको थियो । आधिकारिक रूपमा त्यो नक्सालाई हेर्नुपर्नेमा भारतीय पक्षले अहिले गुगल म्याप भन्दै अत्तो थापिरहेको छ । तर, त्यो अत्तो सत्य होइन । अत्तो थापी नेपालतर्फ आएर भारतीय एसएसबीले यहाँको शान्ति सुरक्षामा खलल पार्न खोजेको विश्लेषण सहजै गर्न सकिन्छ । एकजनालाई त मारे नै, धेरै नेपालीको घरमा पसेर कुटपिट पनि गरेका छन् । यो अन्तर्राष्ट्रिय सीमा सिद्धान्तविपरीतको कार्य हो । अर्थात् यो कार्यमा भारतले अन्तर्राष्ट्रिय सीमा सिद्धान्त उल्लंघन गरेको छ ।

 

उल्लंघन गरेपछि कारबाहीको व्यवस्था
अनियमित तरिकाले नेपाल प्रवेश गरेको भारतको सीमा सुरक्षा बललाई भारतले नै कारबाही गर्नुपर्छ । कारबाहीका लागि चित्त नबुझ्ने पक्ष (यो घटनामा नेपालले) ‘प्रोटेस्ट’ गर्नुपर्छ । जब भारतीय सैनिक अनुमतिविना नेपालमा पसे, तब नेपालको सुरक्षाका लागि बसेको सशस्त्र प्रहरीले तिनीहरूलाई घेराबन्दीमा राख्न सक्नुपथ्र्यो । यसमा नेपाल पक्षको कमजोरी भयो । एसएसबीको त्यो क्षेत्रको क्याम्पमा तीन सय सुरक्षाकर्मीको दरबन्दी छ । नेपालको सीमा सुरक्षाका लागि कञ्चनपुरमा खटिएको सशस्त्र प्रहरीको दरबन्दी ८६ जनाको मात्रै छ । त्यसकारणले घेराबन्दी गर्न नसकेको होला । तर, पनि एसएसबीका २०–२२ जनाको जत्था अनाधिकृत रूपमा नेपाल प्रवेश गर्दा सबैलाई घेरामा पार्न नसके पनि गोली प्रहार गर्ने सई सुक्ललाई मात्रै भए पनि हाम्रा सुरक्षाकर्मीले शान्तिपूर्ण तरिकाले घेराबन्दीमा राख्नुपर्ने हो नि । यो कार्य गर्न नसक्नु सिंगो मुलुक र सीमा सुरक्षाका लागि त्यहाँ रहेको सशस्त्र प्रहरीको कमजोरी हो । त्यति मात्र होइन, सरकारको प्रशासकीय व्यवस्था र सीमा व्यवस्थापनको समेत कमजोरी हो ।

 

घटना दोहोरिन नदिन
घटना दोहोरिन नदिन सर्वप्रथम नेपाल सरकार र सीमाको सुरक्षा गर्ने सशस्त्र प्रहरी सजग रहनुपर्छ । सीमा सुरक्षामा रहेको सशस्त्र प्रहरीको संख्या बढाउनुपर्छ । किनभने, पारिपट्टि र वारिपट्टिको सीमा सुरक्षा गर्ने प्रहरीको संख्या बराबर भयो भने मनोवैज्ञानिक रूपमा पनि एक देशका सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी अर्को देशमा पस्ने हिम्मत गर्न सक्दैनन् । तयसका लागि पहिला सीमाको सुरक्षा गर्ने सशस्त्र प्रहरीको दरबन्दी बढाउन आवश्यक छ । सीमाको स्पष्ट रेखांकन गरिनुपर्छ । कञ्चनपुरमा रहेको दुई सय नम्बरको जंगे खम्बा नभएका कारण दुवैतर्फका जनताले खास सीमा कहाँ हो भन्ने पत्ता लगाउन सकेनन् । यद्धपि, त्यो कलभर्ट बनाएको ठाउँ परापूर्वकालदेखि नै नेपालको रहिआएको दुवै देशका स्थानीय जनताले भनिरहेका छन् । सीमापारि रहेका भारतीय जनतालाई सोध्यो भने पनि कलभर्ट बनाएको स्थान नेपालमै पर्ने निस्फिक्रीका साथ भन्छन् । अब त्यहाँ पुनः यस्तो घटना दोहोरिन नदिन लोप भएको दुई सय नम्बरको खम्बालाई द्विपक्षीय सहमतिमा तत्काल निर्माण गरिनुपर्छ । त्यसपछि त्यहाँ दशगजा क्षेत्र कायम गरिनुपर्छ । भारतपट्टि र नेपालपट्टि १०–१० गज जमिनलाई निर्जन भूभाग (नो म्यान्स ल्यान्ड) कायम गर्न सकियो भने भविष्यमा यस्ता घटना दोहोरिने सम्भावना कम हुन्छ । भारतीय सीमा रहेको अन्य स्थानमा पनि यस्तै तवरले १० गजा निर्माण गरिएमा द्विपक्षीय झडपको सम्भावना न्यून हुँदै जान्छ ।

(सीमाविद् श्रेष्ठसँगको संवादमा आधारित) –  नयाँ पत्रिका दैनिक, २०७३ फागुन २९