Agony due to lack of Border Management

Agony due to lack of Border Management

 

सीमा व्यवस्थापन नहुँदाको पीडा

दुवै फ्रन्टियरमा सीमा व्यवस्थापन गर्दै दुवैतिरका जनताबीचको

सम्बन्ध गाढा र सुढृढ बनाउनुपर्छ ।

Susta Dagarma

बुद्धिनारायण श्रेष्ठ

 

नेपाल–भारत सीमारेखाबाट नेपाली सीमावर्ती क्षेत्रमा नेपालीले कच्ची बाटो र कलभर्ट बनाएका थिए । भारतीय सीमा सुरक्षाबल/‘एसएसबी’ले अहिले आएर कलभर्ट बिगार्न थालेपछि नेपालीले प्रतिकार गरे । वादविवाद गर्ने नेपालीलाई एसएसबीले लखेट्ने क्रममा दुवैतर्फबाट झडप भयो । यस्तो विवाद र झडपमा गोली लागेर एक नेपाली नागरिकको मृत्यु भयो । यसपछि सीमावर्ती क्षेत्रको गोलीकाण्ड घटनाको आगो नेपालको विभिन्न स्थानमा मात्रै होइन, नयाँदिल्लीसम्म पनि सल्कन पुगिसकेको छ । आखिर यस्तो घटना किन हुन पुग्यो ? कञ्चनपुर जिल्लाको सीमावर्ती पुनर्वास नगरपालिका वडा–८ मा नेपालीले कच्ची बाटो र कलभर्ट निर्माण कार्य गतहप्ता पुरा गरेका थिए । यो कलभर्टभन्दा २ सय मिटर उत्तर नेपालतर्फ आनन्द बजार पर्छ । बाटो र कलभर्ट बनाउन लागिएको कुरा नेपालका तर्फबाट भारतीय एसएसबीलाई जानकारी गराइएको थियो । तर फागुन २६ गते एसएसबीका २०–२५ जवान अचानक आएर गुगल नक्साअनुसार यो भारतीय भूमि पर्छ भन्दै निर्माण भइसकेको कलभर्ट माथिको इँटा उप्काउन थालेपछि नेपाली र भारतीय पक्षबीच विवाद भयो । नेपाली पक्षले परम्परादेखि यो सीमावर्ती क्षेत्र नेपालीको रहेको छ । कलभर्ट दक्षिणको २२ विगाह जमिन नेपालीले कमाइ गर्दै आएका छन् भन्ने जिकिर गर्‍यो । वादविवाद चर्कंदै गयो । ३०–३५ जना नेपाली जम्मा भएर हाम्रो भूमिमा बनेको कलभर्टको इँटा किन फालेको भन्दै आफ्नो भनाइ तीव्र पारे । एसएसबीले चाहिँ भारतको जमिनमा किन इँटा र कंक्रिट बिछ्याएको भन्दै नेपालीलाई खेदे । यसपछि सयौंको संख्यामा भारतीय जम्मा भए भने हजारौंको संख्यामा नेपालीको हुल बन्यो । अनि नेपालीले भारतीयलाई लखेट्दै कलभर्ट नजिक पुगेपछि दुवैतर्फबाट ढुंगामुढा भयो । यत्तिकैमा गोली चल्यो । गोली लागेर कलभर्टभन्दा ६०–७० मिटर उत्तर गोविन्द गौतम ढले र उनको प्राण गयो ।

 

यस घटनाबाट केही प्रश्न उत्पत्ति भएको छ । प्रथमत: नेपाली नागरिक मारिनेगरी गोली कसले हान्यो ? दोस्रो, घटना भएको क्षेत्रको सीमारेखामा जङ्गे सीमा—खम्बा खडा छ/छैन ? तेस्रो, गोलीकाण्ड नेपाली सरहदभित्र भएको हो/होइन । चौथो, घटना भएको सीमावर्ती क्षेत्रमा दसगजा रहेको छ/छैन ? पाँचांै, गुगल नक्सा नेपाल–भारत सीमाको आधिकारिक दस्तावेज हो/होइन ? छैठांै, यस्ता घटना पहिले भएका छन्/छैनन् ?

 

प्रथमत: गोली कसले चलायो भन्ने सम्बन्धमा घटनामा रहेका जयबहादुर विकसमेत प्रत्यक्षदर्शीका अनुसार दुवैतर्फबाट ढुंगा हानाहानको सिलसिलामा भारतीय एसएसबीका थानेदार सई अरविन्दकुमार शुक्लालाई छातीमा ढुंगाले लाग्यो । शुक्ला आवेशमा आई आफ्नो पेस्तोलबाट गोली चलाए । तीन गोलीसम्म कसैलाई लागेन । तर चौथो गोलीले भिडभाडभन्दा निकै पर रहेका गोविन्द गौतमको हत्या भयो ।

Sketch

गोली भारतीय जवानले नचलाएको भन्दै एसएसबीका एएसपी आरके मोरलले भनेका थिए । यसै अनुसार भारतीय दूतावासबाट फागुन २६ गते जारी गरिएको विज्ञप्तिमा एसएसबीले गोली नचलाएको उल्लेख गरिएको थियो । घटनाको आगो सल्कँदै दिल्लीसम्म पुगेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कञ्चनपुर पुनर्वास क्षेत्रमा नेपाली युवकलाई गोलीले मारिएको घटनाप्रति दु:ख व्यक्त गर्दै भारतीय विदेश मन्त्रालयले घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

यस अघि भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलले प्रधानमन्त्री प्रचण्डसमक्ष टेलिफोन वार्तामा घटनाप्रति दु:ख व्यक्त गर्दै भारत सरकारको छानबिन प्रक्रियामा कूटनीतिक सहयोग र समन्वय गर्न एवं मृतकको पोस्टमार्टम रिपोर्ट, फोरेन्सिक रिपोर्ट तथा अन्य सम्भव जानकारी उपलब्ध गराउनसमेत अनुरोध गरेका थिए ।

 

यसैबीच गृहमन्त्री विमलेन्द्र निधि र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई टेलिफोनद्वारा ध्यानाकर्षण गराउँदा स्वराजले गम्भीरता व्यक्त गर्दै छानबिनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिएका थिए । राजदूत दीपकुमार उपाध्यायले नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालय गएर घटनाबारे नेपालका तर्फबाट ध्यानाकर्षण पत्र बुझाएका थिए ।

 

यसै क्रममा परराष्ट्र सचिव शंकरदास वैरागीले भारतीय कार्यवाहक राजदूत विनय कुमारलाई मन्त्रालयमै बोलाएर भारतीय सुरक्षाकर्मीले नेपाली भूमिभित्र प्रवेश गरी गोली हानेर नेपाली नागरिकको हत्या गरेकोमा भत्र्सना गर्दै विरोध पत्रस्वरुप उनलाई कूटनीतिक नोट बुझाए । त्यसपछि भारतीय कार्यवाहक राजदूतले परराष्ट्र सचिवसँग घटना दुर्भाग्यपूर्ण रहेको भन्दै दु:ख व्यक्त गरे । उनले घटनाप्रति माफी त मागेनन् । तर भारतीय सुरक्षाकर्मीबाट गल्ती भयो भन्ने खालको स्वीकारोक्ति घुमाउरो पाराले व्यक्त गरेको कुरा प्रकाशमा आएको छ । यसबाट गोली भारतीय एसएसबीले नै चलाएको रहेछ भन्ने सिद्ध भएको छ ।

 

दोस्रो, घटना भएको क्षेत्रमा जङ्गे सीमा—खम्बा मौजुद छ/छैन ? यसको जवाफ हो, आनन्द बजार नजिक दुम्के डाँडा (कारगिल डाँडा) भनिने क्षेत्रको दक्षिणमा खम्बा नं.२०० खडा रहनुपर्ने हो । तर त्यो स्तम्भ दशकौं अघि भत्काई लोप गरिएकाले बेलाबखत वादविवाद हुने गथ्र्याे । यस पटकको विवादमा दुई पक्ष बीचको झडपका कारण एकजना नेपालीले छिमेकी देशको गोलीबाट ज्यान गुमाउनुपर्‍यो । सीमा जङ्गे—खम्बा त्यहाँ खडा भइरहेको भए सायद नेपालीको ज्यान जाने थिएन होला । तेस्रो, गोलीकाण्ड सीमारेखाबाट २ सय ४० मिटर उत्तर आनन्द बजार नजिक भएको थियो । किनकि यसै ठाउँमा नेपाली नागरिक गौतमलाई कम्मरमा गोली लागेको थियो । यसबाट नेपाली सरहदमा भारतीय एसएसबीले गोली छाडेको सिद्ध हुन आउँछ ।

 

चौथो, घटना भएको सीमावर्ती क्षेत्रमा दसगजा (नो–म्यान्स ल्यान्ड) को नामोनिसाना रहेको छैन । अन्तर्राष्ट्रिय सीमा सिद्धान्तअनुसार जङ्गे सीमा—खम्बाको दुवैतर्फ दस–दस गज चौडा निर्जन भूभाग रहनुपर्ने हो । २०० नं. को मूल सीमा—खम्बा नभएकोले दसगजा क्षेत्र कायम नरहनु नै झगडाको बिउ हुँदै आइरहेको छ । पाँचौं, गुगल नक्सालाई होइन, तर दुवै देशबीच संयुक्त रूपमा तयार पारिएको नक्सालाई मात्र आधिकारिक सीमा नक्सा मानिन्छ । कञ्चनपुरको आनन्द बजार क्षेत्रको सीमा नक्सा एघार वर्षअघि तयार पारिएको थियो । २०० नं. को सीमा—खम्बा नक्सामा अङ्कित गरिए तापनि जमिनमा स्थापना नगरिनुका कारण अहिले आएर दु:खपूर्ण घटना हुन पुग्यो ।

 

नेपाल र भारतबीच ९७ प्रतिशत नक्साङ्कन भई १८२ थान सीमा नक्सा संयुक्त रूपमा तयार पारिएका छन् । यस्ता नक्साको फोटोकपी सीमा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी डीएसपी/एसपीले मात्र हेर्नसक्ने गोप्य कागजातका रूपमा उनीहरूलाई प्रदान गरिएको भए त्यस्ता नक्साको विवरण जमिनमा भिडाइ सीमारेखा आँकलन गरिँंदा अहिले कञ्चनपुरको घटना हुने थिएन होला ।

 

नहुनुपर्ने घटना भयो । घटनामा मारिएका गोविन्द गौतमका परिवारलाई सरकारले दस लाख रुपैयाँ प्रदान गर्ने कुरा प्रकाशमा आएको छ । यी खर्च त जुन देशको प्रहरीले मारेको हो, त्यसै देशको सरकारले व्यहोर्नुपर्ने अभ्यास रहेको छैन र ? उदाहरणार्थ, १९६० जून २८ मा तिब्बती विद्रोहीको खोजी गर्दै मुस्ताङको उत्तरी भागमा पसेका चिनियाँ सेनाले एक समूहमाथि आक्रमण गर्दा भूलवश नेपाली सुबेदार बमप्रसाद मारिएका थिए । नेपालले प्रतिरोध गर्दै चीनलाई कडापत्र लेखेको थियो । चीनले जवाफी पत्रमा नेपालसँग माफी माग्दै पीडितलाई रु. ५० हजार क्षतिपूर्ति उपलब्ध गराएको थियो । यस्ता उपमा अनुसार कञ्चनपुरमा भारतीयद्वारा मारिएका नेपालीलाई भारतले नै क्षतिपूर्ति दिएर कूटनीतिक सम्बन्ध सुमधुर पार्नु मित्रतापूर्ण हुने देखिन्छ ।

 

छैठौँ, कञ्चनपुर सीमाको जस्तो घटना पहिले भएका थिए/थिएनन् भन्ने सम्बन्धमा कतिपय घटना भएको पाइन्छ । सम्वत् २०७३ मा सप्तरी तिलाठी दसगजामा भारतले तटबन्ध बनाउँदा दुवै पक्षबीच झडप हुँदा १२ जना नेपाली घाइते भएका थिए । २०७२ मा ११ जवान बन्दुकधारी भारतीय एसएसबी झापाको केचनामा पसेपछि हङ्गामा मच्चिएको थियो । त्यसै वर्ष भारतले नाकाबन्दी लगाइरहेको बखत एसएसबी जवानहरू सुनसरीको हरिहरपुरमा प्रवेश गरी गोली चलाउँदा नेपाली नरेश यादवसहित पाँचजना घाइते भएका थिए । यी प्रतिनिधिमूलक उदाहरण हुन् ।

 

अन्त्यमा,
कञ्चनपुर सीमा घटनाको समाधान गर्न र यो नै घटना अन्तिमपटक पार्न आनन्द बजार दक्षिणको लोप भएको जङ्गे सीमा—खम्बा नं. २०० र अन्य क्षेत्रका यसैगरी हराएका र नाशिएका सीमा—खम्बा दुवै देशका प्राविधिकको उपस्थितिमा अविलम्ब यथास्थानमा स्थापना गर्नुपर्छ । दसगजा क्षेत्र सफा राख्न दुवैतर्फका स्थानीय नागरिकलाई सजग बनाउनुपर्छ । सीमाङ्कनको काम गर्दा दुवैतर्फका स्थानीय निकायका जनप्रतिनिधिलाई पनि उपस्थित गराउन चुक्नु हुँदैन । सीमाको रक्षा उनीहरूले नै गर्नेछन् । यसैले दुवै फ्रन्टियरमा एकीकृत सीमा व्यवस्थापन परियोजना कार्यान्वयन गर्दै दुवैतिरका जनता बीचको सम्बन्ध गाढा र सुढृढ बनाउनुपर्छ ।

http://kantipur.ekantipur.com/news/2017-03-16/20170316075631.html

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: