Let us stop the movement of terrorits

Let us stop the movement of terrorists

आतंककारी चलखेल रोकौं

  बुद्धिनारायण श्रेष्ठ

At Sindhuligadhi

नेपाल–भारतबीचको १ हजार ८ सय ८० किलोमिटर सीमारेखामा बारबन्देज लगाई
करिब ३ सय ६० स्थानमा आवागमनका नाका राखिए
आतंककारी समूहलाई नेपालको भूमिमा चलखेल गर्नबाट रोक्न सकिन्छ।

 

भारतीय गृह मन्त्रालय र इन्डिया फाउन्डेसनले संयुक्तरूपमा नयाँ दिल्लीमा हालै आयोजना गरेको आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा नेपालका तर्फबाट उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भनेका छन्– ‘नेपालले कहिल्यै कुनै पनि आतंकवादी समूहलाई आफ्नो भूमि प्रयोग गर्न दिने छैन। जुनसुकै स्वरूपमा देखापर्ने आतंकवादको हामी निन्दा गर्छौं र त्यसविरुद्ध लड्छौं। आतंकवादविरुद्ध लड्न बलियो अन्तर्राष्ट्रिय पहल आवश्यक छ। विश्वमा देखापर्ने जुनसुकै आतंकवादको नेपालले निन्दा एवं भर्त्सना गर्छ।’ उक्त सम्मेलनमा भारतका उपराष्ट्रपति, गृहमन्त्री तथा रेलवेमन्त्रीलगायतले आतंकवादविरुद्ध लड्न सबै एक हुनुपर्ने कुरा बताएका छन्। तर आतंककारी क्रियाकलाप रोक्न के/कस्तो प्रवन्ध गर्नुपर्छ भन्ने कुरामा कसैले प्रकाश पारेनन्। दक्षिण एसियाली मुलुक, खासगरी नेपाल र भारतबीचको खुला सीमाबाट आतंककारीलाई एक देशबाट अर्काेतर्फ चलखेल गर्न नदिन के कस्तो संयन्त्र विकास गर्नुपर्छ भन्ने कुरो दुवै देशका निम्ति मननीय छ।

Sketch

आजका दिनमा आतंकवाद विश्व शान्ति तथा विकासका लागि ठूलो चुनौतीका रूपमा छ। आतंककारीले सीमारहित विश्व बनाउँदै तहल्का मच्चाइरहेका छन्। इस्लामिक स्टेट (आइएस) का सदस्य तथा कार्यकर्ता जताततै फैलँदो अवस्थामा छन्। उनीहरूको सञ्जालभित्र रहेका सदस्यले कहिले अमेरिका फ्लोरिडास्थित ओरल्यान्डोमा अन्धाधुन्ध गोली चलाएर सामान्य व्यक्ति मारेका छन् भने कहिले पेरिस, बेल्जियम, इस्तानबुल, बग्दाद, काबुल, इस्लामावाद, ढाका आदि सहरी क्षेत्रमा आक्रमण गर्ने र कतै आत्मघाती बम प्रहार गर्ने अनि कतिपय मध्यसहरी भागमा बेपत्तासँग ठूला सवारीसाधन जथाभावी चलाएर निर्दाेष मानिसको ज्यान मार्ने र कतिपयलाई घाइते तुल्याएर समाज त्रसित बनाउँदै आएका छन्।

यस्ता आतंकवादी गतिविधिको गत डेढ महिनाको मात्रै लेखाजोखा गर्ने हो भने पनि १० स्थानमा आक्रमण भएको पाइन्छ। फेब्रुअरी १६ मा दक्षिण पाकिस्तानको सुफी मन्दिरमा आइएस एजेन्टले हमला गरेर १ सय ३० जनाको ज्यान लिए। त्यसपछि पूर्वी अफगानिस्तानको खोस्टमा १ जना मारिए, २ घाइते भए। सिरियाको दमासकसमा आतंककारीले ४४ मारे, १०० घाइते तुल्याए। बंगलादेशको चटगाउँमा ५ मारिए। फ्रान्सको पेरिस ओर्ली विमानस्थलमा १ जना, अफगानिस्तानको उत्तरी प्रान्तमा १५, लन्डनस्थित बेलायती संसद् भवनबाहिर ५, (वेस्टमिनिस्टर पुलमा अन्धाधुन्ध गाडी चलाउँदा ४१ जना घाइते), नाइजेरियाको उत्तरी राज्य बोनोकोमा ४ मारिए र १८ घाइते भए, बंगलादेशको सिलहेट सहरमा २ मारिए (३० घाइते) भए भने २९ मार्चमा सिरियाको हम्स सहरमा ५ जना मारिए र ७ घाइते भए। यीभन्दा अघिका निकै हमला तथा आतंक हृदयविदारक छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावीकालमा आतंककारीलाई विश्वबाट निर्मूल पार्नुपर्छ भनेका थिए। भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको पछिल्लो अमेरिका भ्रमणका बेला दक्षिण एसियामा बढ्दो आतंकवादलाई कसरी मिलेर रोक्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिकी अधिकारीसँग वार्ता भएको थियो। यसैबीच अमेरिकाले मुस्लिम बहुल मध्यपूर्वी तथा उत्तरी अफ्रिकी ८ मुलुकका १० विमानस्थलबाट अमेरिकी सीमाभित्र उत्रने हवाई उडानमा मोबाइल फोन र मेडिकल उपकरणबाहेक अन्य विद्युतीय सामान ल्यापटप, ट्याबलेट्स, क्यामेरा, डिभिडी प्लेयर्स र खेलकुदका विद्युतीय सामग्रीमा बम लुकाउन सकिने भएकाले त्यस्ता सामान यात्रुले आफ्नो साथमा बोक्न निषेध गरेको छ। यसबाट विश्वका विभिन्न देशसहित समृद्धशाली अमेरिकासमेत आतंकवादी र तिनीहरूको जताततै जहिल्यै पनि हुन सक्ने आक्रमणकारी गतिविधिबाट कति त्रसित रहेछ भन्ने कुरा जान्न सकिन्छ।

आतंककारी घूसपैठ हुन नदिन र ल्याटिन अमेरिकीहरू मेक्सिको सिमानाबाट अमेरिका छिर्ने अवैधानिक आप्रवासीलाई रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको २ हजार ७५ किलोमिटर लामो सीमारेखामा १५ फिट अग्लो, ३ फिट चौडा र ६ फिट जमिनभित्र भसाउने गरी पर्खाल लगाउन आदेश दिएका छन्।

पाकिस्तानले अफगानिस्तानको सीमाबाट योद्धाको आक्रमण रोक्न दुई देशबीच २ हजार ५ सय किलोमिटर सीमारेखामा काँडेतारबार खडा गर्न हालैदेखि सुरु गरेको छ। भारतले अतिवादी गतिविधि र अवैध शरणार्थी नियन्त्रण गर्न छिमेकी मुलुक पाकिस्तान र बंगलादेशको सिमाना सन् २०१८ सम्ममा बन्द गर्ने चेतावनी दिएको छ। सीमाक्षेत्रमा घूसपैठ बढ्दै गएकाले यस्तो निर्णय गर्नुपरेको हो भन्ने कुरा भारतीय गृहमन्त्री राजनाथ सिंहले व्यक्त गर्दै सीमा सुरक्षा बललाई सुदृढीकरण पनि गरिने कुरा बताएका छन्। स्मरणीय छ, पाकिस्तान र भारतबीच २ हजार ९ सय १२ किलोमिटर लामो सीमारेखामा फलामे बार निकै पहिले ठड्याइएको छ भने भारतले त्रिपुरा प्रदेशसँग जोडिएको बंगलादेशको सीमामा ८ सय ५६ किलोमिटर काँडेतारबार लगाएको छ। भारत–पाकिस्तानको काश्मीर विवादित क्षेत्रमा ५ सय ५० किमि काँडेतारबार छ। भारत–बर्मा सीमाको १ हजार ६ सय २४ किमिमा तारबार निर्माणाधीन अवस्थामा छ।

चीनले नेपालको सीमा लिजी–कोराला क्षेत्रमा १० किमि लामो तारबार केही वर्षअघि लगाएको छ। नेपालले भारतीय जंगलबाट आउने हात्तीलगायत जंगली जनावर रोक्न राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको दक्षिण सीमास्तम्भ नं. ८६ र ८७ को बीचमा पर्ने सीमारेखाबाट ८० मिटर उत्तर नेपाली भूमिको २७ किमि लामो क्षेत्रमा ६० लाख रुपियाँको लागतमा विद्युतीय तारवार लगाउन भर्खरै सुरु गरेको छ।

विश्वका ६५ देशले छिमेकी मुलुकसँगको सीमामा तारबार तथा फलामे छेकबार लगाएका छन्। यीमध्ये टर्की सिरिया २८ किमि, कुवेत–इराक सीमामा १ सय ९३ किमि, मलेसिया–थाइल्यान्डबीच ६ सय ५० किमि तथा उत्तर–दक्षिण कोरियाको २ सय ४८ किमि सीमा क्षेत्र ‘डिमिलिटराइज्ड’ जोन रहेको छ। जर्मनीमा आप्रवासीहरूको संख्या थुप्रिएकाले र यिनीहरूका साथै छद्मभेषी आतंककारी पनि घुस्न पुगेको सम्बन्धमा चान्सलर मार्केलले जर्मनीमा एउटा बर्लिन पर्खाल २५ वर्षअघि भत्काइयो, विश्वमा आतंकवाद फैलन नदिन अब अर्काे सानातिना पर्खाल लगाउनुपर्ने समय आएको हो कि भनेकी थिइन्।

विश्वका विभिन्न देशबीच फलामेबार, काँडेतारबार तथा पर्खाल लगाएको नालिबेली यहाँ उल्लेख गर्नुपरेको प्रसंगचाहिँ आजको जमानामा आतंकवादी तथा आक्रमणकारीले शान्ति सुरक्षा, अमनचैन खल्बलाएको र देशभित्रका बासिन्दालाई त्रसित तुल्याएको हुनाले आफ्नो देशका जनतालाई आफैँले सुरक्षा प्रदान गर्ने संयन्त्र तयार गर्नुपर्छ भन्ने हो। अमेरिकी कवि रोबर्ट फ्रस्टले लेखेका छन्– ‘गतिलो बारबन्देजले असल छिमेकी बनाउँछ।’ यहाँ जोड्नुपर्ने कुरा के देखिन्छ भने ‘असल छिमेकीले बलियो बारबन्देज लगाउँछ।’ गतिलो छिमेकी र बलियो बारबन्देज भए आतंककारीको चलखेल रोकिन सक्छ।

यस परिप्रेक्षमा नेपाल र भारत एकापसमा गतिलो छिमेकीका रूपमा रहन बलियो बारबन्देज बनाउनुपर्ने हुन आएको छ। दुई देशबीच बलियो बारबन्देज रहेको भए उग्रवादी तथा भारतमा ४० बम बिस्फोटकका योजनाकार तथा मुम्बई आक्रमणका आतंकवादी अब्दुल करिम टुन्डा र भारतको मोस्ट वान्टेड विध्वंशकारी यासिन भटकलजस्ता अतिवादी भारतबाट लुसुक्क नेपाल छिर्न सक्ने थिएनन्। विराटनगरका गंगाविशन राठीजस्ता नेपाली उद्योगपतिलाई भारतको सिलगुडीमा लगेर मारिने थिएन।

इस्लामिक स्टेटको जगजगी भारतको छिमेकी मुलुक बंगलादेश र पाकिस्तान आइपुगिसकेको हुनाले अब यस्ता आतंककारी ती दुई देशका बीच रहेको भारत भएर नेपाल अनि नेपाल भएर भारततर्फ चलखेल गर्न नसक्ने सतर्कता बेलैमा अपनाउनुपर्ने समय आएको छ। यसका लागि कवि रोबर्ट फ्रस्टले भनेझैं नेपाल र भारत दुवै देश एकापसमा असल छिमेकी भएर गतिलो बारबन्देज लगाउनुपर्‍यो। स्मरणीय छ, नेपाल–भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमारेखामा यस्तो बारबन्देज लगाई करिब ३ सय ६० स्थानमा आवागमनका नाका राखिए गृहमन्त्री निधीले आतंककारी समूहलाई नेपालको भूमिमा चलखेल गर्न कहिल्यै दिइने छैन भन्ने भनाइ सार्थक हुने थियो।

Advertisements
%d bloggers like this: