Consequence of Election Security

 

Consequence of Election Security

boston

Buddhi Narayan Shrestha

निर्वाचन सुरक्षा परिणाम

बुद्धिनारायण श्रेष्ठ

 

मंसिर २५, २०७४-मंसिर २१ र १० गते मतदानको दिनभन्दा निकै समयअघि नेपाल निर्वाचनमय भएदेखि सुरक्षा निकाय परिचालन गरिएको थियो । तीन घेरा भएको सुरक्षा संयन्त्रको मध्यभागमा ७२ हजार नेपाल प्रहरी र ९८ हजार म्यादी प्रहरी परिचालित थिए भने त्यसको बाहिरी घेरामा ४० हजार सशस्त्र प्रहरीबल र त्यसभन्दा पनि बाहिरको अन्तिम घेरामा ६० हजार नेपाली सेनाले परिक्रमण गस्ती गर्ने व्यवस्था गरिएको थियो । राष्ट्रिय अनुसन्धानका २ हजार ६ सय गुप्तचर खटाइएका थिए ।

यस्तो संयन्त्रको सुरक्षा अङ्ग परिचालन गर्दागर्दै पनि मंसिर १० को मतदानका दिनभन्दा २ हप्ता अघिदेखि नै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रचार–प्रसारमा हिँडेका उम्मेदवारमाथि ठाउँ–ठाउँमा शृङखलाबद्ध बम आक्रमणका घटना भए । मंसिर २१ गते मतदानको दिनसम्म विभिन्न जिल्लाका ४० भन्दा बढी स्थानमा विस्फोटनका घटना भई एक व्यक्तिले ज्यान गुमाउनुपरेको र धेरै घाइते हुनपुगेका थिए । यस बाहेक अन्य सानातिना छिटपुट घटना पनि भएका थिए । यस्ता ठूला र मझौला विस्फोटनको विवरण यसैसाथ उल्लिखित तालिकाबाट जान्न सकिन्छ ।

 

विस्फोटनको कारण

नेपाल निर्वाचनमय भएका बेला विभिन्न स्थानमा सकेट बम, प्रेसर कुकर बम, माइन बम, सुतली बम, रिमोट कन्ट्रोल विस्फोटन तथा गोली प्रहार हुनाका कारण के हो ? भन्ने कुरा गृह मन्त्रालयले बेला–बेला सुरक्षा निकायको बैठकमा गरेको छलफलबाट जान्न सकिन्छ । प्रथमत: माओवादी नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्नो मूल पार्टीबाट असन्तोष भई फुटेर अलग्गै समूह गठन गरी निर्वाचनको विपक्षमा क्रियाकलाप गर्नाले नै हो । माओवादी केन्द्रले उनलाई समेट्न नसक्नु र उनको विचारधारालाई समन्वयात्मक धारमा ल्याउने भूमिका खेल्न नसक्नु पनि हो । दसवर्षे जनयुद्धपश्चात् शान्ति सम्झौता भएपछि पार्टीले हामीलाई वास्ता गरेनन्, जनयुद्धको मूल उद्देश्य अझै प्राप्त भएको छैन भनी असन्तोष र रोष प्रकट गर्ने व्यक्ति तथा झुन्ड भँmागिँदै गएको गृहको विश्लेषणभित्र परेको छ । यसै कारणले प्रहरीले मंसिर १० सम्ममा विप्लव समूहका ५ सय ९७ जनालाई पक्राउ गरेको थियो । तीमध्ये कतिपयलाई मुद्दा चलाइएको छ ।

दोस्रो, तराईलाई छुट्टै पहिचान भएको राज्य बनाउने भनी लागेका सीके राउतका कार्यकर्ताले पनि बेलाबखत सानातिना बम विस्फोट गराउने गरेको चर्चा रहेको छ । अहिलेसम्म तिनका १३ कार्यकर्ता पक्राउमा परेका छन् । राउतको गृहजिल्ला सप्तरीको महादेवा गाउँमा कुनै मत खसेन । तेस्रो, नयाँ संविधान नरुचाउने र आफ्नो छुट्टै पहिचान जनाउन खोज्ने भूमिगत समूहका कारण पनि छिटपुट विस्फोटका घटना भएका छन् । यस्ता जत्थाका करिब ४४ जनालाई काबुमा लिइएको छ । चौथो, जताबाट पनि पैसा बटुल, खानपिन गर, मोजमज्जा गर भन्ने घैंटे, चरी, मानङेजस्ता झुन्डका गुन्डागर्दी र भगौडा सेना/प्रहरीका कारण पनि लहडैमा केही विस्फोटनका घटना भएको छ । करिब ३ सय यस्ता गुन्डालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुरक्षा निकायका चारै अङ्गको आवश्यक मात्रामा समन्वय नहुनु र एक निकायले प्राप्त गरेको सूचना जानकारी अर्का निकायमा तुरुन्त प्रवाह गर्न नसक्नु पनि विस्फोटनका कारण हुन् । सुरक्षा संयन्त्र चाहेजति मात्रामा संवेदनशील हुन नसक्नुका कारणले नै यतिका विस्फोटनका घटना भएका हुन् ।

विस्फोटक पदार्थ कहाँबाट आउँछ ?

निर्वाचन सुरक्षालाई लिएर मंसिर ३ गते बसेको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई प्वाक्क सोधे– ‘दैनिक विस्फोट गराउने बम कहाँबाट आइरहेको छ ?’ अर्यालले सहजै जवाफ प्रस्तुत गरे– ‘खुला सिमाना छ हजुर, उतै (भारत) बाट आएका हुन् ।’ अर्यालको जवाफपछि गृह मन्त्रालयसमेत कार्यभार सम्हालेका देउवाले तुरुन्तै अर्काे प्रश्न गरे– ‘सीमामा तैनाथ सुरक्षाकर्मी के हेरेर बसेका छन् ?’ सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले झटपट रिपोर्टिङ गरे– ‘सीमा सुरक्षा पोस्टभन्दा अलग बाटो भएर विस्फोटक पदार्थ भित्रिने गरेको छ ।’

सरकार प्रमुखको उपस्थिति भएको सुरक्षा निकायको यस्तो बैठकमा सीमा सुरक्षा चौकीलाई छलेर नेपाल चुनावमय हुनुभन्दा निकै अघिदेखि विस्फोटक पदार्थ तराईबाट पहाडतर्फ लगी त्यहाँ भण्डारण गरी ठाउँ–ठाउँमा विस्फोटन गराएको निक्र्योल निकालिएको थियो । खुला सीमाका कारण यस्ता विस्फोटक सामग्री लुकाइ–छिपाइ ल्याइने गरेको कुरा पनि प्रकाश पारिएको थियो । बैठकको सिलसिलामा प्रहरी प्रमुख अर्यालले सशस्त्र प्रहरी बलसँग समन्वय गरी सीमा केन्द्रित सुरक्षामा जोड दिन मातहतका निकायलाई निर्देशन दिइएको कुरा प्रकाश पारेका थिए । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले मतदाता र उम्मेदवारको सुरक्षाको स्थिति काबुमा आएन भने अत्याधुनिक हतियारसहित अन्तिम शक्तिका रूपमा नियमसम्मत तरिकाले सेना परिचालन हुनेछ भनेका थिए ।

खुला सीमा र विस्फोटक पदार्थ आयात

विस्फोटक पदार्थ खुला सीमाबाट ल्याइने कुरा सत्य हो । यस्ता उदाहरण प्रशस्त छन् । काँकडभिट्टाबाट मंसिर १५ गते काठमाडौं जाँदै गरेको ना ७ ख ४८७६ नम्बरको बस जाँच गर्ने क्रममा दुई भारतीय नागरिक राजु विश्वास र महमद फरमान अलीलाई कुकर बम, सकेट बम तथा बम बनाउन प्रयोग हुने सामग्री र उपकरणसहित धादिङको खानीखोलामा प्रहरीले पक्राउ गरेको थियो । सुर्खेत पञ्चपुरी ढुंगे बजारमा प्रहरीले कात्तिक २४ गते यात्रुबस जाँच गर्दा भारतबाट ल्याइएको ६० थान डेटोनेटर, ५ सय ५५ थान जिलेटिन, २२ मिटर फ्युज वायर बेवारिसे बरामद गरेको थियो । यस्तै कात्तिक २४ देखि २९ सम्म बाँकेको विभिन्न स्थानमा भारतका शेरअली, रमजान खान तथा नेपालको गोपाल रोकाया, जयबहादुर बुढाथोकी कटुवा पेस्तोल, बन्दुक र गोलीसाथ पक्राउ परेका थिए । मकवानपुर सिद्धकालीको एक घरबाट डेटोनेटर, बारुद, बिजुलीको फ्युज तार, कटुवा बन्दुक गोली लगायत १८ किसिमका अवैध सामान बरामद गरिएको थियो । नेपाल प्रहरीका अनुसार मंसिर २० सम्म ६१ थान हातहतियार, २ सय ८३ राउन्ड गोली, २ हजार ३ साय डेटोनेटर, १३ केजी बारुद, ५ सय ८० पटाका तथा केही विस्फोटक पदार्थ बरामद भएको छ । विस्फोटक पदार्थदेखि साना हतियारको तस्करी धन्दाको रुट नै खुला सीमा–नाका बनेको सुरक्षा निकायको बुझाइ रहेको छ ।

सीमानाकामा सतर्कता

निर्वाचन उम्मेदवारलाई लक्षित गरी दिनहुँजस्तै विस्फोटन हुने गरेपछि सुरक्षा निकायले सीमामा कडाइ गरेको थियो । केही जिल्लामा सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती गरिएको थियो । तर सीमा–नाका विन्दुमा मात्रै सतर्क भएर निर्वाचन सुरक्षा परिणाम सकारात्मक भएको पाइएन । खुला सीमा–नाकामा पहरा गरिए बाहेक सीमारेखाका अन्य छिद्रबाट यस्ता विस्फोटक पदार्थ ओसारपसार भएको र अवाञ्छित गतिविधिमा लागेका भाडाका अपराधी भारतबाट आयातित भएका थिए । उदाहरणार्थ, भारतको जोगवनी रेल स्टेसनबाट भित्री मार्ग भएर विराटनगर रानीदेखि ३ सय मिटर उत्तर–पश्चिमको दरैया चोर–नाकाबाट निर्वाचनको ७२ घन्टे मौन समयमा समेत भारतीय नागरिक आउने क्रम जारी रहेको थियो । अन्य छिद्रबाट पनि प्रशस्तै मात्रामा यस्ता व्यक्तिहरू आउने गरेको सञ्चार माध्यमले उल्लखे गरेको थियो ।

अन्त्यमा,

निर्वाचन समयमा सुरक्षाको सकारात्मक परिणाम निकाल्न निर्वाचन प्रचार–प्रसार सुरु हुनुभन्दा निकै महिना अघिदेखि नै सीमालाई नियमन गर्नुपर्ने थियो । अन्तर्राष्ट्रिय सीमा वारपार गर्ने यात्रुलाई सीमा–नाकामा रहेको अध्यागमन चौकीमा परिचयपत्र देखाउने/स्क्यान गर्नुपर्ने व्यवस्था गरिनुका साथै सिसिटिभीले सशक्त मनिटर गरिने प्रबन्ध गर्नुपर्ने थियो । यस्तो व्यवस्था गरिएको भए विस्फोटनको जगजगी आधा घट्ने थियो । अर्काे कुरा, निर्वाचनका निम्ति खटिएका ४० हजार सशस्त्र प्रहरी बलमध्ये कमसेकम २० हजार जवानलाई खुला सीमाको छिद्र विन्दुमा तैनाथ गरिएको भए अर्काे २५ प्रतिशत जगजगी कम हुने थियो । अनि निर्वाचन सुरक्षा परिणाम सकारात्मक निक्लने थियो ।

4 Responses

  1. Indeed very realistic analysis.

    Like

  2. Appreciable. Anyway credit is to be given to the actors of government who contributed the election a success.

    Like

  3. Thank you so much.

    Like

  4. Thank you so much.

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: