Prithvinarayan’s Perpetual Notion

Prithvinarayan’s Perpetual Notion

Buddhi Narayan Shrestha

prithvinarayan ko kaalajayi ukti

पृथ्वीनारायणको कालजयी उक्ति

             बुद्धिनारायण श्रेष्ठ

 

नेपालको भौगोलिक सीमा एकीकरण अभियन्ता पृथ्वीनारायण शाहको २ सय ४४ वर्षअघिको विचार र उनको उद्गार आजका समयमा पनि सान्दर्भिक पाइन्छ। मर्नुभन्दा पहिले उनले नेपालको आन्तरिक सुरक्षा, कूटनीति, परराष्ट्र नीति, आर्थिक, सामाजिक तथा सीमासम्बन्धी राजनीतिका विषयमा उद्गार व्यक्त गरेका थिए। उनको यस्तो उद्गार केही मात्रामा अवलम्बन गरिएको पाइन्छ भने अन्य कतिपय बुँदा नेपालको वर्तमान राजनीतिक परिस्थितिमा पनि उपयोगी देखिन्छ।

कूटनीति
नेपालको कूटनीतिको परिप्रेक्ष्यमा पृथ्वीनारायणले भनेका थिए– ‘यो मेरो साना दुःखले आर्जेको मुलुक होइन। यस मुलुकको आर्जनमा देशका विभिन्न जात तथा जातिका धेरै नागरिकको परिश्रम परिरहेको छ। यसैले यो मुलुक सबै जात तथा जातिको साझा फूलबारी हो। यस फूलबारीलाई साना–ठूला चार वर्ण छत्तीसै जातका जनताले समानरूपले सम्भार गर्नुपर्छ।’ यस विचारले देश मेरो पार्टीको हितका लागिमात्र होइन अन्य दलको पनि हो, देश सबैको साझा भएको हुनाले राष्ट्रबाट पाइने फाइदा समानुपातिकतवरले हिमाल, पहाड र तराई (मधेस) सबै क्षेत्रमा पुर्‍याउनुपर्छ। अनिमात्रै नेपाल र नेपालीको हित हुन्छ भन्ने कुरो अधिकारवाला नेताले मनन गर्नुपर्छ भन्ने सन्देश दिएको छ।

छिमेक सम्बन्ध
छिमेकीस‘गको सम्बन्धबारे पृथ्वी विचार मननीय पाइन्छ। उनले राज्य सञ्चालनको अनुभवका आधारमा उद्गार पोखेका थिए– ‘नेपाल राज्य भनेको दुई ढुंगाबीचको तरुलजस्तो रहेछ। उत्तरतर्पmको चीनको वादशाहसित सधैँ मित्रता राख्नु। दक्षिणतर्फका समुद्रका वादशाहसित मित्रता त राख्नु तर त्यो अत्यन्त चतुरो छ। त्यसले हिन्दुस्तानलाई बलपूर्वक कजाइराखेको छ। एक न एक दिन त्यो बल यहाँसम्म आउने कोसिस गर्नेछ।’ नभन्दै अंग्रेजको विरासत बोकेको वर्तमान स्वतन्त्र भारतले पनि यस्तै गर्दै आएको भेटिन्छ।

पृथ्वी विचारअनुसार भारत एक न एक दिन नेपाल आउने चेष्टा गर्नेछ भन्ने उनको शंका सम्बन्धमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले २७ नोभेम्बर १९५९ मा भारतीय संसद्मा भनेका थिए– ‘परापूर्वकालदेखि हिमालयले हामीलाई मजबूत सिमाना प्रदान गरेको छ। हामी त्यस्ता छेकबार नाघेर आउन कसैलाई दिदैनौँ।’ यस भनाइबारे नेपालमा धेरै हल्लाखल्ला भए। भारत विरोधी सभा जुलुस भए। यस प्रसंगमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले प्रतिवाद गर्दै भनेका थिए– ‘नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो। यो आफ्नो घरेलु तथा वैदेशिक नीति समन्वय गरी बाहिरी कुनै शक्तिसँगको सल्लाहबिना अघि बढ्नेछ।’ कोइरालाको प्रतिवादपछि नेहरुले भारतीय राज्यसभामा ८ डिसेम्बर १९५९ मा ‘नेपाल वास्तवमा स्वतन्त्र राष्ट्र हो र हामी त्यसको अन्दरुनी मामिलामा दख्खल दिन सक्दैनौँ।’ भनेका थिए। यस्ता सवाल÷जवाफबाट शताब्दियौँपहिलेको पृथ्वी विचार साँच्चै तथ्यपरक रहेछ भन्ने बुझ्न सक्छौँ।

नेपाल राष्ट्र, नेपालको राष्ट्रियता, सार्वभौमिकता बचाउन, राष्ट्रिय सीमा संरक्षण गर्न र नेपालीलाई नेपाली भएर बाँच्न उनको सन्देश आज पनि त्यत्तिकै सान्दर्भिक मान्न सकिन्छ।

भूउपयोग
‘पानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जगामा सारिकन पानी चलाउनु, गर्‍हो बन्या जगामा घर भया पनि घर अरु जगामा सारी कुलो काटी खेत बनाई अवाद् गर्नु’ भन्ने पृथ्वीनारायणको विचारोक्ति हँुदाहुँदै पनि सरकारले भू–उपयोग योजना लागु गर्न सकेको छैन। काठमाडौँको वाग्मती, विष्णुमती, धोबीखोला, टुकुचा, मनोहराजस्ता खोलाको कृषियोग्य डोल क्षेत्रको अस्तित्व लोप हुने गरी कंक्रिटको जंगलले ढाकिसकेको छ। यस्ता हचुवारूपी सहरी बस्तीमा एम्बुलेन्स तथा दमकलसमेत छिर्न सक्ने सडक छैन। नदीका डोल क्षेत्र हराभरा राखिएको भए सागसब्जी र खाद्यान्न प्रशस्त उत्पादन भई प्राकृतिक वातावरण तथा जलवायु सन्तुलनमा रहने थियो। पृथ्वीका यस्ता विचार अनुुशरण गरिएको भए अहिले ल्यान्ड पुलिङ र हाउस पुलिङ गरेर घरबास भत्काइएका स्थानीय जनता रुष्ट हुन पुग्ने थिएनन्।
पर्यटन विकास

पृथ्वीनारायणले ‘यो नेपालको तखत ईश्वर (प्रकृतिले) रचना गरेको किल्ला रहेछ’ भन्ने अनुभव व्यक्त गरेका सन्दर्भमा नेपाल साँच्चै प्राकृतिक रमणीयताले भरिएको देश हो भन्ने सिद्ध हुँदै आइरहेको छ। विश्वका पर्यटकहरू नेपालको मनमोहक प्राकृतिक सुन्दरता हेर्न नेपाल आउने गरेका छन्। उनीहरू यहाँ हिमाल आरोहण गर्न, टे«किङ गर्न, प्याराग्लाइडिङमा उड्न, र्‍याफ्टिङमा बग्न, बन्जी जम्पिङ्मा हाम्फाल्न, माउन्टेन बाइकिङमा पहाड उक्लन, झारल घोरल सिकार गर्न, नेपालको विश्वसम्पदा क्षेत्र घुम्न र केही दिन भए पनि आनन्द मनाउन आउँछन्। यसबाट राज्यलाई निकै मात्रामा राजस्व आम्दानी हुने गरेको छ भने नेपालको पहिचान विश्वमा दिनदिनै बढेर गइरहेको पाइन्छ। ग्लोबल ट्रिप एडभाइजरी संस्थाले सन् २०१७ मा नेपाललाई पर्यटनका हिसाबले विश्वको आठौँ गन्तव्य स्थान तोकेको छ।

स्तरीय पर्यटन विकासका नयाँ नयाँ योजना राष्ट्रिय स्तरमा एकमतले कार्यान्वयन गर्ने हो भने नेपालीको आर्थिक स्थिति सुदृढ हुँदै जाने थियो। तर पर्यटन विकासका लागि बल्ल्तल्ल नेपालले भित्राएको वाइडबडी हवाईजहाज खरिदमा मन्त्रीहरूसमेतले ४ अर्ब ३५ करोड रकम घोटाला गरेको कुरा संसद्को सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले यही पुस १८ गते सार्वजनिकीकरण गरेको छ। यो दुर्भाग्यको कुरा हो।

आर्थिक मामिला
आर्थिक पक्षमा पनि पृथ्वी विचार निकै ज्वलन्त देखिन्छ। पृथ्वीनारायण भन्छन्– ‘आफ्नो देशको कपडा बुन्न जान्नेलाई नमुना देखाएर सिकाउनू र बुन्न लगाउनू। खानी भएको ठाउँमा गाउँ भए त्यसलाई अरु ठाउँमा सारेर भए पनि त्यहाँ खानी चलाउनू।’ यस विचारलाई प्राधान्यता दिई हामीले उद्योग नीति अवलम्बन गरेको भए देश धनी हुँदै जाने थियो। नेपालीले नेपालमै रोजगारी पाउने थिए। अहिले दिनको सालाखाला १५ सय युवा÷युवती विदेशमा श्रम बेच्न गइरहेका छन्। उनीहरूले त्यहाँको कलकारखानाको उत्पादन बढाई त्यसै देशको विकास गरिरहेका छन्। पसिना बेचेर प्रतिदिन करिब दुई अर्ब रुपियाँ रेमिट्यान्सका रूपमा नेपाल पठाउँछन्। साथसाथै दिनको ३ जना नेपालीको लाश कफिन बाकसमा बन्द भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रन्छ। नेपालभित्रै रोजगारी सिर्जना गरिएको भए अनाहकमा दिनहु‘ तीनजना नेपालीले विदेशमा ज्यान गुमाउनुपर्ने थिएन।

नेताहरूको धारणा
पृथ्वी विचार सदाबहार भए तापनि गत दशकमा केही राजनीतिक पार्टीका नेताले पृथ्वीनारायणलाई सत्तोसराप गर्थे। कतिपय स्थानमा उनको सालिक फोरिए। पृथ्वीनारायणको तथ्यपूर्ण भनाइका कारणले होलाअहिले पृथ्वी विचारको गुणगान गाउन सुरु भएको छ। नुवाकोट, गोरखाजस्ता स्थानमा सालिक पुनःस्थापना भए। अब उनको कथनको महत्व र सान्दर्भिकता बुझ्न लागिएको छ।

पृथ्वीनारायण शाहबारेतत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ राष्ट्रिय एकीकरण नामक त्रैमासिक पत्रिका विमोचन गर्दै २०७१ असोज १ गते भनेका थिए– ‘पृथ्वीनारायण शाहको मुलुक एकीकरण अभियान प्रक्रिया समाज विकासको ऐतिहासिक भौतिकवादी दृष्टिकोणले सही थियो। तत्कालीन अवस्थामा शाहको एकीकरण उचित थियो। अब नयाँ आधारमा राष्ट्रिय एकता हुनुपर्छ। मैले जनयुद्ध सुरु गर्ने बेला पृथ्वीनारायण शाहको फौजी र राजनीतिक दस्तावेज अध्ययन गरेको थिएँ। पृथ्वीनारायणले विकासको अवरोधका रूपमा रहेको बाइसे चौबीसेराज्य एकीकरण गरी ठीक काम गरेका हुन्।’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६९ माघ २४ मा भनेका थिए– ‘शाहको दिव्योपदेश पढ्दा उनको दूरदर्शिता र नेतृत्व कौशल प्रमाणित हुन्छ। यो आज पनि उत्तिकै महत्वपूर्ण छ। विदेशी प्रभावबाट देशलाई मुक्त गर्न र परिपक्व कूटनीति चलाउन शाहको मार्गनिर्देशन आधारभूतरूपमा आज पनि सही छ। अहिलेसम्म बुद्ध, पृथ्वीनारायण शाह र केही हदसम्म बिपीमा नेतृत्व क्षमता देखिएको छ।’

प्रधानमन्त्रीका हैसियतमा केपी शर्मा ओलीले २०७२ पुस ९ गते पृथ्वीनारायण शाहलाई महान् राष्ट्र निर्माता र आफूलाई राष्ट्र सम्मान, अखण्डता र एकताका ‘सिपाही’ बताउ‘दै सिपाहीका नाताले म राष्ट्र विखण्डन हुन दिन्न भनेका थिए।यसैगरी पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले२०७३ पुस ३ को कार्यक्रममा ‘ऐतिहासिक काम गरेको हुनाले पृथ्वीनारायणलाई सदैव सम्झनुपर्ने’ बताएका थिए।

नेताहरूको वाक्युद्ध, राजनीतिक लुछाचुँडी र भागबन्डाको अवस्थामा पृथ्वीनारायणको कथन÷विचार अवलम्बन गरिए यसले समस्या समाधानको एउटा बाटो समात्न सक्ने थियो।

अन्त्यमा
पृथ्वीनारायणले सानातिना राज्य रजौटालाई एकसूत्रमा बाँध्दै सीमा एकीकरणका शीर्ष अभियन्ताको भूमिका खेलेजस्तै अहिले नेताहरूको पनि शीर्ष नेता आवश्यक परेको छ भन्ने आमजनताको धारणा पाइन्छ।

prithvi narayan sketch

सर्वमान्य नेता नभएका कारण छिमेकी देशहरूले फितलो सरकारलाई अनेक दबाबमा पार्ने गरेको कुरा बेलाबखत सुनिने गर्छ। अहिले संसद्मा दुईतिहाइ मत प्राप्त सरकार छ। तर एउटै पार्टीमा दुई अध्यक्ष भएकाले आफूमुनिका सहनेता, प्रदेश नेता, जिल्ला नेतालाई समेटेर अघि बढ्न नसक्नाका कारण पार्टीभित्रै किचलो पैदा भएको सर्वसाधारण जनताले महसुस गरेका छन्। यस्ता कुराको समाधानका लागि अधिकारवाला नेता तथा पदाधिकारीले पृथ्वीनारायणको उक्तिअनुसार मुलुक सबै जात तथा जातिको साझा फूलबारी हो भन्ने सान्दर्भिक उक्तिमनन गरी योग्यता र क्षमताअनुसार सबैमा कामको बॉडफॉट गरे अझै पनि ‘समृद्ध नेपाल:सुखी नेपाली’ बन्न सक्छ। नेताहरूको वाक्युद्ध, राजनीतिक लुछाचुँडी र भागबन्डाको अवस्थामा पृथ्वीनारायणको कथन÷विचार अवलम्बन गरिए यसले समस्या समाधानको एउटा बाटो समात्न सक्ने थियो।

त्यसैले यस घडीमा समेत पृथ्वीनारायणको उक्ति सदावहार तथा सार्थक रहेको आभाष हुन्छ। नेपाल राष्ट्र, नेपालको राष्ट्रियता, सार्वभौमिकता बचाउन, राष्ट्रिय सीमा संरक्षण गर्न र नेपालीलाई नेपाली भएर बाँच्न उनको सन्देश आज पनि त्यत्तिकै सान्दर्भिक मान्न सकिन्छ।

%d bloggers like this: