Indian Special Security Bureau Camp at Nepal-India Junge (Masonry) Boundary Pillar

                   जंगेखम्बामा एसएसबी क्याम्प

                                                    बुद्धिनारायण श्रेष्ठ

दुई देशबीचको सीमाविन्दुका रूपमा काम गर्ने जंगेखम्बामा दाम्लो घुसारी सीमाका वासिन्दाले गाई, भैंसी बाँध्ने गरेको देखिएको र सुनिएको थियो । अब भने भारतीय सशस्त्र सेनाबल -एसएसबी) ले जंगेखम्बामै क्याम्प बनाएर बसेको छ ।

झापा भद्रपुरको माध्यमिक विद्यालयबाट भारतको गलगलिया रेलवे स्टेसनतर्फ जाने मेची नदीको किनारमा रहेको जंगेखम्बा -ठुलो सीमास्तम्भ) नम्बर १ कब्जा गरी हालै भारतीय सुरक्षाकर्मी एसएसबी क्याम्प बनाएर बसेका छन् । यसैगरी महेशपुर गाविस वडा नं. २ मा पर्ने जंगेखम्बा नम्बर ३ मा पनि एसएसबीले क्याम्प खडा गरेको छ । यहाँ प्रश्न उब्जन्छ, जंगेखम्बामा नै क्याम्प बनाउनु हुन्छ या हुँदैन ? यससंगै सम्बन्धित अर्को जिज्ञासा उत्पन्न हुन्छ, भारतीय सशस्त्र सेनाबलले जंगेखम्बामा टाँसेर क्याम्प किन बनाएको होला ?

पहिलो प्रश्नको जवाफ हुनसक्छ- अन्तर्राष्ट्रिय सीमा सिद्धान्तअनुसार सीमास्तम्भ दुवै देशको साझा हो । यसमा एक देशको मात्रै हक लाग्दैन । अझ तीन देशको सीमा भेटिने स्थानमा रहेको शून्य अंकको सीमास्तम्भ त तीनवटै देशको हकाधिकारभित्र पर्छ । उदाहरणका निम्ति नेपाल र भारतबीचमा रहेको सीमाखम्बामा एकातिर भारत र अर्कोतर्फ नेपाल भनी कुँदिएको हुन्छ । नेपाल-चीनबीचको सीमाखम्बामा नेपाल र चीन अंकन भएको छ ।

सीमांकनका समय कुनै पनि सीमाखम्बा खडा गर्दा दुवै देशको सहमतिमा निर्माण गरिन्छ । बराबर सहभागिताका निम्ति जोर नम्बरको स्तम्भ एक देशले र बिजोर नम्बरको अर्को देशले एकान्तर क्रममा बनाउने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ । कालान्तरमा सीमाखम्बा भत्के-बिग्रेमा संयुक्त रूपमा मरमत-सम्भार गरिन्छ । एक देशबाट मात्र सीमाखम्बामा हातहाल्ने तथा प्रशासन गर्ने कार्य प्रतिपादित अन्तर्राष्ट्रिय सिद्धान्त विपरीत हुन्छ । यसबाट सीमाखम्बा दुवै देशको संयुक्त स्वामित्वमा रहेका हुन्छन् भन्ने बुझिन्छ ।

अर्को कुरा सीमाखम्बा दुवैतर्फको दस-दसगजा अर्थात बीसगजाको बीचमा निर्माण गरिन्छ । नेपाल र भारतबीच जंगेखम्बाको दुवैतर्फ १०/१० गज चौडा जमिन नो-म्यान्स ल्यान्ड -मानवविहीन जमिन) का रूपमा राखिएको छ । सिद्धान्ततः नो-म्यान्स ल्यान्ड निर्जन हुन्छ । आवाद-कमोद गर्न पाइंदैन । कुनै पनि प्रकारको संरचना निर्माण गर्नु हुँदैन । यसैले दसगजालाई मानवविहीन भूमि भनिन्छ ।

दसगजा इलाका

दसगजा भूमिमा कुनै देशको कानुन प्रयोग गर्न पाइंदैन । उदाहरणका निम्ति एक देशमा अपराध गरी कुनै अपराधी दसगजाको भूमिमा बसुन्जेल त्यस देशको कानुन लाग्दैन । त्यो अपराधी जब दसगजाबाट कुनै देशतर्फ भाग्छ भने त्यस देशले पक्राउ गरी सुपुर्दगी गर्नुपर्ने भए गरी कारबाही सुरू गरिन्छ । यहाँ के बुझ्नुपर्छ भने नो-म्यान्स ल्यान्डमा कुनै बस्ती हुँदैन । दसगजामा रहेको अपराधी दुई-चार दिन बस्न सक्ला । त्यहाँ उसले बस्ने, खाने, पिउने वस्तु नपाएपछि भोकप्यासले प्याकप्याक्ती भई मर्ने अवस्थामा पुग्छ । अनि ज्यान धान्न दसगजाबाट त्यो अपराधी कुनै देशतर्फ लाग्नुपर्ने हुन्छ ।

यसरी दसगजा क्षेत्रमा बसोबास भएको हुनुहुँदैन भन्ने सिद्धान्त र प्रचलन हुँदाहुँदै भारतीय एसएसबीले भद्रपुर नजिकको जंगेखम्बा नम्बर १ तथा ३ मा क्याम्प बनाई सशस्त्र सेनाबल बसेको कार्य अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको ठाडै विपरीत रहेको छ । यसलाई विश्वले अनुशरण गरेको प्रचलन विपरीत क्याम्प बनाएको भन्न सकिन्छ । स्थानीय वासिन्दाले जंगेखम्बामा भोगचलन गरे सशस्त्र सेनाबलले रोक्नुपर्नेमा आफैले संरचना बनाएको विडम्वनापूर्ण छ । अर्को बुँदा, जंगेखम्बामा टाँसेर भारतीय एसएसबीले किन क्याम्प बनाएको होला भन्ने सम्वन्धमा सीमा मिच्नका लागि संरचना बनाइएको हुनुपर्छ भन्ने शंकाको दृष्टिले हेर्नुपर्ने हुन्छ ।

जंगेखम्बाको इतिहास

भद्रपुर पूर्वको जंगेखम्बा नम्बर १ ले नेपाल र भारतको बिहार तथा बङ्गालको सीमा छुटयाउने सीमाविन्दुको काम गरेको छ । जंगेखम्बाको मुनितिर पत्थर कोइला हाली ६ फिट गहिराइको जग बनाइएको हुन्छ । जमिन सतहमा चार-चार फिटको चौतारी बनाई यसमाथि ७ फिट अग्लो र १० फिट गोलाइ भएको स्मारक खडा गरिएको हुन्छ । यसैलाई जंगेखम्बा भनिन्छ । भूगर्भवेत्ताका अनुसार यस्ता जंगेखम्बा स्मारकलाई ८ रेक्टर स्केलसम्मको भूकम्पले पनि ढाल्न नसक्नेगरी बनाइएको हुन्छ ।

नेपाल र अंग्रेजबीच भएको ४ मार्च १८१६ को सुगौली सन्धिको धारा ३ -५) मा ‘मेची नदीदेखि पूर्वी पहाडका सारा प्रदेश ४० दिनभित्र गोरखा फौजले खाली गर्नुपर्नेछ’ भन्ने उल्लेख भएकोले इस्ट इन्डिया कम्पनी सरकारका सर्भेयरहरूले सर्वप्रथम भद्रपुर क्षेत्रका यी जंगेखम्बा सन् १८१७ मा निर्माण गरेका

हुन् । यस्ता खम्बा मेची नदीको पूर्व लहरै खडा गरिएका छन् । खम्बा स्थापनापश्चात् जनवरी १८१८ मा जंगेखम्बा चित्रांकित नक्सासमेत प्रकाशित गरेका छन् ।

सीमा खम्बाको किचलो

नेपाल-भारतबीच आधुनिक तरिकाले सीमांकन गर्न २०३८ मंसिरमा प्राविधिक स्तरीय सीमा समिति गठन गरिएको थियो । त्यस समिति अन्तर्गत जिल्लास्तरीय समिति प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरियो । यसै प्रसङ्गमा झापाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार सिंहको नेतृत्वमा २०५२ मंसिर ११ मा भारतको किशनगन्जमा संयुक्त बैठक भएको

थियो । त्यस बैठकमा सन् १८७४ को फारसी लिपिको नक्साले देखाएको मेची धारमा नयाँ सीमास्तम्भ गाड्ने सहमतिमा हस्ताक्षर गरियो । सहमति अनुसार मेची नदी किनारका जंगेखम्बाहरू मूल सीमाखम्बा होइनन्, यिनीहरू साक्षी खम्बा

-रिफरेन्स पिलर) मात्र हुन् भन्ने ठानियो । यस अनुसार मेची नदी तथा जंगेखम्बा नम्बर १ देखि करिब १ किलोमिटर पश्चिम -नेपालतर्फ) २०५२ चैत महिनामा नयाँ पुड्का खम्बा गाडियो । भद्रपर विद्यालयको प्राङ्गणमा समेत १०१/१ नम्बरका साना खम्बा गाडियो । त्यसदेखि दक्षिण १०१/११ नम्बरसम्मका एघार नयाँ स्तम्भ खडा गरियो । फलस्वरूप भद्रपुरको मात्रै ४० विगाहा जमिन भारततर्फ पारियो ।

भद्रपुरदेखि राजधानीसम्म खैलाबैला मच्चियो । नयाँ खम्बाबारे स्वयम् प्रजिअले समाजका विभिन्न व्यवसायका व्यक्तिहरूमध्ये कसैलाई अस्थायी सीमास्तम्भ गाडिएको भने र अन्यलाई पछि निर्णय गरेर हटाउन पनि सकिन्छ भने । यस कुरामा चित्त नबुझी भद्रपुर नगरपालिकाले २०५३ साउन ११ गते श्वेतपत्र जारी गर्दै सीमा मिचिएको कुरा प्रकाशमा ल्यायो । काठमाडौंबाट मन्त्रीहरूको पटक-पटक दौडाहा भयो । संासद तथा बुद्धिजीवीहरू मेची नदी पुगेर नेपालको सीमा मिचिएकै हो भन्ने भाषण गरे । सीमा मिचिएको आवाज उठेपछि झापा प्रजिअले २०५४ चैत ८ मा नेपाल-भारतको संयुक्त सर्भे टोलीले पुनः नापजाँच गर्ने कुरा बताए । यसपछि नेपाल र भारतका जिल्लास्तरीय अधिकारीहरूको संयुक्त बैठक २०५५ पुस २० गते चन्द्रगढीमा बस्यो । बैठकले संयुक्त स्थलगत निरीक्षण गरी दुवै पक्षलाई मान्य सहमतिअनुसार विवादको छिनोफानो गर्नेगरी काम अगाडि बढाउने निर्णय गर्‍यो । तर २०५२ सालमा उब्जिएको मेची सीमा विवाद समाधान गर्नेबारे आजसम्म कुनै प्रगति भएको छैन । त्यस समयदेखिको मेची सीमा विवाद समाधान नहुनाका कारणले अहिले भारतीय एसएसबीले जंगेखम्बामा नै क्याम्प बनाएको हुनसक्छ ।

यी सबै खैलाबैलाका कारकतत्व भद्रपुर नजिक मेची नदीको किनारामा सन् १८१७ मा अंग्रेजले गाडेको जंगे सीमाखम्बालाई मूलखम्बाको दर्जा नदिई साक्षीखम्बा भन्नाले नै हो । यहाँ जिज्ञासा उठ्छ, ती जंगेखम्बा मूलखम्बा हुन् या होइनन् ? स्मरणीय कुरा के छ भने मूलखम्बाका दुवै दिशातर्फ साक्षीखम्बा -रिफरेन्स पिलर) स्थापना गरिएका हुन्छन् । यसअनुसार जंगेखम्बा साक्षीखम्बा हुन् भने खोइ कहाँ छ, मूलखम्बा ? साक्षीखम्बा भन्दा मूलखम्बा स्वाभाविकैले आकार-प्रकारमा ठुला हुन्छन् । कहाँ छ, जंगेखम्बा भन्दा ठुलो अजंगको खम्बा ? कतै पनि भेटिएनन् । त्यसैले भद्रपुर विद्यालयको प्राङ्गणमा पुड्के खम्बा गाड्दै यही हो मूलखम्बा भनियो, जुनचाहिं प्राविधिक दृष्टिकोणले मान्य हुनसक्दैन ।

अर्को कुरा नदी किनारका खम्बालाई साक्षीखम्बा मान्ने हो भने अन्तराष्ट्रिय सीमा सिद्धान्त र प्रचलनअनुसार नदीको दायाँ र बायाँ दुवै किनारामा ‘अल्टरनेटिभ’ तरिकाले गाडिनुपर्ने हो । तर भद्रपुर मेची नदी सीमाका सबै जंगेखम्बा नदी किनाराको पूर्वतर्फ मात्र खडा गरिएका छन् र सोही अनुसारको खम्बा नक्सामा अंकन गरी सर्भे अफ इन्डियाले सन् १९२१ मा ‘बंगाल-विहार-नेपाल’ नामक स्थलरूप नक्सा प्रकाशित गरेको छ । सुगौली सन्धिमा मेची नदी पूर्वको जमिन नेपालले छाड्नु पर्नेछ भनी उल्लेख भएको हुनाले अंग्रेजले मेची नदी पूर्वी किनारमा जंगेखम्बा खडा गरी सिमाना कायम गरेको कुरा बुझ्नुपर्छ ।

सीमा सम्बन्धी काम गर्ने नेपाल-भारत प्राविधिक स्तरीय संयुक्त सीमा समिति १ जनवरी २००८ मा विघटन गरिएकोले अब भद्रपुरको जस्ता सीमा मामिला समाधान गर्न कूटनीतिक तहबाट परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने भएको छ । नेपाल के चाहन्छ, हामी कुराकानी गर्न तयार छौं भन्ने कुरा भारतले बराबर भन्दै आएको छ । अतः १ सय ९५ वर्ष पुरानो भद्रपुर-महेशपुर क्षेत्रको जंगेखम्बालाई दुवै देशको पुरातात्विक वस्तुका रूपमा साझा सम्पति कायम गरिराख्न भारत र नेपाल एउटै टेबलमा बसी सौहार्दपूर्ण तरिकाले सहमतिमा पुग्नुपर्छ ।

%d bloggers like this: