Splitted Nepal by Sugauli Treaty

Splitted Nepal by Sugauli Treaty

 

Namuna Sahitya

Buddhi Narayan Shrestha

 

सन्धिले चोइटयाएको नेपाल

बुद्धिनारायण श्रेष्ठ

 

दुई सय वर्षअघि भएको सुगौली सन्धिले नेपालको भूमि चोइटिएर नेपाल तराईविहीन भएको थियो । तर चोइटिएको पूर्वी तराई नौ महिनामा फेरि जोडिन आइपुग्यो । सन्धिको ४४ वर्षपछि पश्चिमी तराई फर्केर मूलभूमिमा मिसियो ।

यद्यपि मेची–टिष्टा र काली–काँगडा चोइटिएर छुट्टिएकै अवस्थामा रह्यो । यसपछि वर्तमान नेपालको सिमाना कायम रहिरहेको छ । यसरी चोइटिएको क्षेत्र फेरि जोडिएकोले बेलाबखत त्यस्ता जोडान क्षेत्रको रसायन कमजोर भएको पाउँछौं । तर पकलक्क चिरोपर्ने दरार पैदा भएको छैन ।

यस्तो चोइटिने र जोडिने नेपालको सिमानाको इतिहास अवलोकन गर्दा पृथ्वीनारायण शाहले हिमाली क्षेत्रका भुरे–टाकुरे, बाइसी–चौबिसी राज्यहरू एकीकरण गरेको प्रसंग आउँछ । उनका सन्ततिले नेपालको सिमाना पूर्वमा टिस्टादेखि पश्चिममा किल्ला काँगडासम्म जोडेका थिए ।

Choityako Nepal

परिणामत: एउटा सशक्त हिमाली राष्ट्र खडा भएको थियो । तर भारतमा शासन गरिरहेको अंग्रेजलाई यो कुरा पचेन ।

अंग्रेज हिमाली क्षेत्रका साना–तिना तथा कमजोर राजारजौटालाई आपसमा वैमनश्य पैदा गराई भारतको अरु राज्यलाई भैंm आफ्नो अधीनमा लिएर तिब्बतसम्म व्यापार विस्तार गर्न चाहन्थ्यो । तर एकीकृत नेपाल पूर्व–पश्चिम फैलिएकाले अंग्रेज तिब्बतसम्म पुग्न सकेन ।

नेपाल एकीकरण गर्ने सिलसिलामा पाल्पाका राजा अधीनस्थ बुटवल र स्युराजको भू–भागसमेत नेपालको सीमाभित्र समाहित गरिएको थियो । यिनै दुई क्षेत्रको स्वामित्वमाथि अंग्रेजले बखेडा उत्पन्न गर्दै यी भाग साविक औधका राजा अन्तर्गत थियो, त्यसैले अंग्रेज सरकारको भू–भागभित्र पर्छ भनी कचिङ्गल झिक्यो ।

तर नेपालले बुटवल र स्युराज औधका बजिरले खोसेर अंग्रेजलाई दिनुअघि पाल्पाका राजामातहत रहेकोले यी दुवै ठाउँ स्वत: नेपालको हुनगएको जिकिर गर्दै रहयो ।

यस्तो विवादमाथि अत्तो थापेर अंग्रेजी शासक गभर्नर जनरल लर्ड होस्टिङ्गसले नेपालविरुद्ध १ नोभेम्बर १८१४ मा विधिवत युद्धको घोषणा गर्‍यो । अंग्रेज जसरी भए पनि युद्ध गरी नेपाललाई घुँडा टेकाउन चाहन्थ्यो ।

नेपाल दरबारका भाइभारदारचाहिँ युद्ध गर्ने र नगर्ने भन्ने दुई फ्याक्लामा बाँडिएका थिए । तर अन्त्यमा अंग्रेजसँग युद्ध नगरी धरै छैन भन्ने पक्षको कुरा नै नेपाल सरकारले निर्णय लियो ।

अंग्रेजले बेतिया, गोरखपुर, अलमोडा, देहरादुन तथा सिरमौर गरी पाँच स्थानबाट नेपालमाथि धावा गर्‍यो । युद्धका क्रममा कतिपय क्षेत्र अंग्रेजले कब्जा गर्थ्यो भने अन्य कतिपय स्थानमा गोरखाली फौजको मातहत हुन्थ्यो ।

उदाहरणार्थ, पूर्वी क्षेत्रमा अंग्रेजी पल्टनका सिपाही र अफिसर गोरखालीद्वारा मारिंँदा अंग्रेज सेनापति रणमैदान छाडेर बेतियातर्फ भागेका थिए । गोरखालीले खेद्दै सिमाना कटाएका थिए ।

पश्चिमतर्फको युद्ध अभियानमा नेपालका अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवरजस्ता सेनापति तैनाथ थिए । देउथलमा भक्ति थापा र नालापानीमा बलभद्र कुँवर, सतलजमा अमरसिंह थापाले युद्ध मैदानमा ठूलो पौरख देखाए । तर अंग्रेजले नालापानी किल्लाभित्र जाने पानीको नाला काटिदिने जस्ता अमानवीय अनेक छलछाम गर्न लागे ।

युद्ध वर्षौं लम्बिँदै जान लाग्यो । अंग्रेजी फौजसँग सैन्यशक्ति र द्रव्यशक्ति पनि थियो । तर पनि थकित हुँदै गएको थियो । नेपाली फौजतर्फ भने युद्ध सामग्री अपुग र रसदपानी पनि अभाव हुँदै आएको थियो । फलत: गोरखालीले किल्ला थाम्न नसक्ने अवस्थामा पुगेका थिए ।

यस्तो अवस्थामा दुवै राष्ट्रबीच पहिले रहिआएको शान्ति तथा मैत्री सम्बन्धलाई फेरि स्थापना गर्न अंग्रेजले केही सर्तहरू राखी सुगौली सन्धि तयार पारी लेफ्टिनेन्ट कर्णेल प्यारिस ब्राडसले हस्ताक्षर गरेर २ डिसेम्बर १८१५ मा नेपालसमक्ष पठायो ।

प्रस्तावित सन्धिमा पश्चिमतर्फ महाकाली नदीदेखि सतलज/काँगडा र पूर्वतर्फ मेचीदेखि टिस्टासम्म अनि चुरे सिवालिक पर्वतदेखि दक्षिणतर्फको मैदानी भाग नेपालले अंग्रेजलाई सदाका लागि छाड्नुपर्ने उल्लेख गरिएको थियो ।

महत्त्वपूर्ण कुराचाहिँ सन्धि मस्यौदा भएको मितिले १५ दिनभित्र नेपालको महाराजाधिराजबाट अनुमोदन गरी फिर्ता पठाउनु पर्नेछ भन्ने उल्लेख भएको थियो ।

मसौदा सन्धि नेपाल दरबारमा प्राप्त भएपछि भाइभारदार तथा सेना प्रमुखबीच धेरै दिन छलफल भयो । छलफलको क्रममा आधाजसो भारदार अंग्रेजसँग लड्नैपर्छ, यो सन्धिमा हस्ताक्षर गर्न हुँदैन भन्ने मनसायका थिए ।

बाँकी भाइभारदार अंग्रेजसँग युद्ध गर्न सकिँदैन भन्ने पक्षमा थिए । यसैले सन्धि अनुमोदन गर्ने—नगर्ने भन्ने सम्बन्धमा नेपालले महिनौं दिनसम्म पनि निर्णय गर्न सकेन । यसैबीच नेपालले सन्धिमा सहमति जनाएन भने अब काठमाडौं राजधानीमाथि नै हमला गर्ने भन्ने अंग्रेजले धम्कीपूर्ण हल्ला फिँजाए ।

आखिर नेपाल दरबार विवश भएर सन्धिमा हस्ताक्षर गरी अंग्रेजलाई बुझाउन चन्द्रशेखर उपाध्यायलाई पठाइयो । उपाध्यायले गजराज मिश्रलाई साथमा लिई मकवानपुरको सुगौलीमा रहेको अंग्रेजको क्याम्पमा गई नेपालका तर्फबाट सन्धिमा काउन्टर हस्ताक्षर गरी इस्ट इन्डिया कम्पनीका प्रतिनिधि महाराज्यपाल डीडी अक्टरलोनीलाई हस्तान्तरण गरे ।

अक्टरलोनीले सन्धिलाई ४ मार्च १८१६ मा अनुमोदन हस्ताक्षर गर्दै बेलायत सरकारका तर्फबाट एक प्रति उपाध्यायलाई सुम्पुवा गरे । यो सन्धिबाट नेपालको एक तिहाइ भू–भाग चोइटिएर फुत्क्यो । परिणामत: नेपाल तराईविहीन भएको थियो ।

यसरी नेपाललाई चोइटयाउन गरिएको सन्धिमाथि उल्लिखित घटनाक्रमअनुसार नेपालले राजीखुसीसाथ गरेको होइन भन्ने देखिन्छ । सन्धिमा काउन्टर हस्ताक्षर १५ दिनमा गर्नु भनिएकोमा नेपाल विवश भएर ९३ औै दिनमा मात्रै हस्ताक्षर गरिएको थियो । महत्त्वपूर्ण कुराचाहिँ नेपालले असन्तुष्टि जनाउँदै नेपालका राजा–महाराजाले सन्धिमा हस्ताक्षर नगरेको प्रतिविम्बित हुन्छ ।

नेपाल खुस भएको भए भारदारले हस्ताक्षर गरेको सन्धिलाई सरकार या राष्ट्रप्रमुखले अनुमोदन (रेटिफाइ) गर्नुपर्ने हो । तर यस्तो गरिएको पाइँदैन । जबकि सन् १९५० को शान्ति तथा मैत्री सन्धिमा नेपालका तर्फबाट श्री ३ (प्रधानमन्त्री) र भारतका तर्फबाट राजदूतले संयुक्त हस्ताक्षर गरिएकोमा नेपालका राजा त्रिभुवनले रेटिफाइ गरेको पाइन्छ ।

नेपाल करकापमा परेर मात्र सुगौली सन्धि गरिएको हो भन्ने कुरा अंग्रेज र गोरखालीबीच कहिल्यै पनि युद्ध र मनमुटाव नभएको मेची र टिस्टा बीचको भू–भाग नेपालबाट हठात् खोसिएकोबाट प्रमाणित हुन्छ ।

यतिमात्र होइन, मेची–टिस्टा बीचको बलजफ्ती लिइएको नेपाली जमिन लेप्चा प्रदेश (सिक्किम) लाई टिटालिया सन्धि गरी दिइयो । मेची–टिस्टा क्षेत्रमा असन्तुष्ट गोरखाली फौजले युद्ध गर्लान् भन्ने संशयले ४० दिनभित्र खाली गर्नुपर्छ भन्ने उल्लेख गर्दै सन्धिपश्चात् मनसुन वर्षा सकिने बित्तिकैदेखि अंग्रेजले मेची नदीको पूर्वी किनारमा भटाभट जंगे सीमाखम्बा खडागरी १८१७ जनवरी महिनामा नक्सा नै प्रकाशित गर्‍यो ।

नेपाललाई करकापमा पारेर सन्धि गर्न लगाइएको कुरा स्वयम् अंग्रेजलाई पनि महसुस भएको थियो । त्यसैले बेखुस भारदारहरूलाई निवृत्तिभरणका रूपमा वितरण गर्न प्रतिवर्ष २ लाख रुपियाँ नेपाललाई प्रदान गरिने कुरा सन्धिको धारा–४ मै उल्लेख गरियो ।

यी सबै बुँदाबाट नेपाल डरत्रास र धाकधम्कीमा परी विवश भएर सुगौली सन्धि (असमान भए पनि) हस्ताक्षर गर्न करबलमा परेको पुष्टि हुन्छ ।

सुगौली सन्धिपछि नेपालमा बेलायती ‘लिगेसन’ स्थापना भयो । परिणामत: अंग्रेज रेजिडेन्ट काठमाडौंमा बस्न पाउने व्यवस्था भयो । यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि अप्रत्यक्ष रूपले आँच आउन सुरु गर्‍यो ।

ब्रिटिस गोर्खा रेजिमेन्ट स्थापना गरी गोरखा सैनिक भर्ती गर्ने गरियो । यस्ता नेपाली गोरखा सैनिकले बेलायतका लागि जीउज्यान दिनुपर्ने प्रावधान बन्यो ।

सुगौली सन्धिले चोइटयाएर नेपाललाई तराईविहीन बनाउँदा मर्कामा परेको रहेछ भन्ने अंग्रेजको दिमागमा परिरहेका कारण सन्धि भएको ९ महिनापछि राप्तीदेखि कोसीसम्मको समथर तराई भू–भाग फेरि नेपालमा नै जडान हुन आइपुग्यो । यसका कारण नेपाललाई प्रतिवर्ष दिइने दुई लाख नगद दिन बन्द गरियो ।

धारा–३ मा सन्धिमा उल्लिखित भूमि नेपालले सदाका लागि परित्याग गर्नेछ भनिए पनि नेपाललाई चित्त बुझेको छैन भन्ने अंग्रेजले ठानेको थियो । यसैले सन्धि सदाका लागि होइन भन्ने चरितार्थ गर्न अंग्रेजले चोइटयाएको पूर्वी तराई क्षेत्र र नयाँ मुलुक नेपाललाई फिर्ता गरेको हुनसक्छ । यसबाट पनि नेपाल सन्धिमा हस्ताक्षर गर्न बाध्य हुनुपरेको प्रमाणित हुन्छ ।

असमान सन्धिको चोट नेपालमाथि परिरहेकोले जंगबहादुरले ब्रिटिसकालीन भारतमा उब्जेको सिपाही विद्रोह समन गरिदिए बापत नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता लिएर वर्तमान नेपालको सिमाना कायम हुनपुगेको छ । यी सबै कारणले दुई सय वर्ष अघिको सुगौली सन्धि नेपालका लागि कालो सन्धिका रूपमा रहेको मान्नुपर्छ ।

यो सन्धिले गर्दा नेपाल राष्ट्र नै अपमानित र अपहेलित भएको कुराले वीर योद्धा अमरसिंह थापाको मनमा चस्का परेकोले गोसाइँकुण्डमा गएर उनले त्यहीं देहत्याग गरेका थिए ।

सुगौली सन्धिजस्ता विभेदकारी सन्धि—सम्झौता नेपालले अब कहिल्यै देख्न—भोग्न नपरोस् । राष्ट्रको अखण्डता, सार्वभौमिकता र स्वाधीनता कायम राख्न सुगौली सन्धिलाई खेदजनक तरिकाले भत्र्सना गर्नुपर्छ ।

 

 

Sugauli Treaty Until Nepal Having Prosperous

Sugauli treaty until Nepal having prosperous

New 2072Buddhi Narayan Shrestha

 

नेपाल समृद्ध नभएसम्म

बुद्धिनारायण श्रेष्ठ

 

सुगौली सन्धिमा गुमेको भूभाग सहीसलामत फिर्ता लिन सकिन्छ

 

पृथ्वीनारायण शाहले सुरु गरेको नेपालको सीमा एकीकरण अभियानको सिलसिलामा विशाल नेपाल उच्च हिमशिखरका साथै पहाड, उपत्यका, तराई, तथा पूर्व–पश्चिम लमतन्न परी बीच–बीचमा अवस्थित भन्ज्याङ, घाँटी, थुम्का–थुम्कीहरूले भरिएको थियो ।

 

त्यस समयमा १८ तथा १२ ठकुराई, सिरमोर, गढवाल क्षेत्र, कुमाउँ प्रदेश, बाईसी, चौबीसी राज्य, काठमाडौँ उपत्यका, सेन राज्य, माझकिराँत, पल्लोकिराँत, लिम्बुआन क्षेत्र तथा लेप्चा इलाकासमेत गरी, तत्कालीन अवस्थामा छरिएर रहेको ५६ वटा पृथक्–पृथक्, ससाना राज्य–रजौटा क्षेत्रहरू एउटै सीमा रेखाभित्र बाँधिई सिंगो राष्ट्र एकीकृत नेपालको रूपमा स्थापित भएको थियो ।

 

नेपाल राज्यको एकीकरणको अन्तिम चरणमा आइपुग्दासम्मको अभियानमा वीर बलभद्र र भक्ति थापाले गरेको रगतको बलिदान, बहादुर शाह र अमरसिंह थापाले देखाएको वीरता र भीमसेन थापाको कुटिलताको परिणामस्वरूप नेपालको सिमाना पूर्वमा टिस्टा नदीदेखि पश्चिमको किल्लाका ‘गडा र हिमालको उत्तरी फेदीदेखि दक्षिणको उर्वरा समतल भूभाग गंगा–जमुना संगमसम्म पुगेको थियो । नेपालको मानचित्रको सीमारेखाभित्र अंकन गरिएको थियो ।

 

यस्तो विशाल भौगोलिक क्षेत्र ओगटेको हिमाली राज्य स्थापना भएकोमा भारत शासन गरिरहेको ‘सूर्य नअस्ताउने देश’ का अंग्रेजी शासकलाई चित्त बुझेन ।

 

उनीहरूले तिब्बतसम्म पुगेर एकाधिकार व्यापार गर्न पाएनन् । यसैले नेपालले एकीकरण गरेको बुटवल क्षेत्रका छेउछाउका गाउँबस्तीहरूमा अंग्रेजले दावा गर्दै निहुँ खोज्न थाल्यो । नेपालचाहिँ आफ्नो हक अधिकारमा अटल रह्यो । परिणामतः दुवै देशबीच शत्रुता पैदा भयो । अन्ततः कम्पनी सरकारले सिमानासम्बन्धी छलफल गर्ने मनसाय जाहेर गर्‌यो ।

 

यसै प्रसंगमा अंग्रेजको तर्फबाट मेजर पेरिस ब्राडशा र नेपालका तर्फबाट कमिस्नर कृष्ण पण्डितले दुईतर्फको प्रतिनिधित्व गर्दै कुराकानी अगाडि बढाउँदै गएका थिए । तर ब्राडशा र पण्डितका बीच सम्बन्ध बिग्रँदै गयो र कुराकानी नमिल्ने ठानी नेपाली पक्ष अप्रिल १८१४ मा वार्ता भंग गरी काठमाडौँ फर्कियो ।

 

यस्तैमा आफूले भनेको कुरा नेपालले नमानेको भन्ने अत्तो थापेर अंगे्रज पक्षले अब लडाइँकै घोषणा गर्नुपर्‌यो, संघर्ष अपरिहार्य नै भयो भन्ने ठाने । यसको फलस्वरूप कम्पनी सरकारले १ नोभेम्बर १८१४ मा नेपालसँग संघर्ष गर्न विधिवत् युद्धको घोषणा गर्‌यो । गोर्खालीले अंग्रेजका विरुद्धमा युद्ध गर्ने–नगर्ने भन्ने विषयमा काठमाडौँमा भारदारहरूबीच छलफल तथा वादविवाद भयो ।

 

केही भारदारले लडाइँ रोक्नुपर्छ भन्ने धारणा प्रस्तुत गरे भने धेरैजसो भारदारले लडाइँ गर्न अंग्रेजले लल्कारिसकेकाले लडाइँको तयारी गर्नुपर्ने राय व्यक्त गरे ।

निचोडमा अंग्रेजसँग युद्ध गर्नैपर्छ भन्ने भीमसेन थापाको प्रस्ताव नै स्वीकृत भयो । यसअनुसार नेपाली फौजका गणहरूको प्रबन्ध गरियो । परिणामतः कम्पनी सरकार र गोरखाली सेनाबीच ‘एङ्लो–गोर्खा’ युद्ध सुरु भयो । यो युद्ध वर्षौं चल्यो । युद्धका क्रममा नेपाली सिमानाभित्र अंग्रेजहरूको सैनिक गतिविधि तथा दबाब तत्कालीन परिस्थितिमा बढ्दै आएकाले अब अरू युद्ध लम्ब्याउन नेपालले उचित ठानेन ।

 

अतः युद्ध स्थगनको लागि कम्पनी सरकारसँग वार्ता गर्न २८ मे १८१५ मा नेपालको तर्फबाट गजराज मि श्र र चन्द्रशेखर उपाध्यायलाई सुगौलीतर्फ पठाइयो । वार्तामा कम्पनी सरकारका पेरिस ब्राडशाले भाग लिएका थिए । कम्पनी सरकारले आफ्नो हातमाथि पारी नेपाललाई अप्ठेरो पार्ने किसिमका थुप्रै माग राखे, जुनचाहिँ नेपाललाई स्वीकार्य भएन ।

 

फलस्वरूप प्रथम चरणको वार्ता असफल भयो । यसपछि नेपाललाई शान्ति सन्धि गर्न अंग्रेजतर्फबाट दबाब आयो र दोस्रोपटक वार्ता भयो । तर नेपाललाई तराई क्षेत्र छोड्न अंग्रेजले राखेको प्रस्ताव मन्जुर नभएकाले यो वार्ता पनि भंग भयो । अर्को प्रयासस्वरूप तराई छोडेबापत अंग्रेजले नेपाललाई सालिन्दा केही रकम दिने र अन्य केही सुविधा प्रदान गर्ने लोभ देखाई लर्ड हेस्टिङ्सले सुगौली सन्धिको मस्यौदा तयार गरे ।

 

यो मस्यौदो २ डिसेम्बर १८१५ मा नेपालसमक्ष प्रस्तावित गरी पठाइयो । १५ दिनभित्र यस सन्धिपत्रमा सहमति हस्ताक्षर गरी स्वीकृति पठाउन नेपाललाई भनियो । तर यसमा नेपाल सरकारले हस्ताक्षर गर्न तत्परता देखाएन ।

 

यसको प्रतिक्रियास्वरूप सर डेभिड अक्टरलोनीको नेतृत्वमा अंग्रेजी सेना काठमाडौँतर्फ अगाडि बढ्ने एकाएक योजना बन्यो । यसैले नेपाल सरकारले शान्ति सम्झौताको लागि आफ्नो प्रतिनिधि ब्रिटिस हेडक्वाटरमा पठाउने जानकारी गरायो । यसअनुसार नेपालका तर्फबाट पण्डित गजराज मि श्रलाई साथमा लिई चन्द्रशेखर उपाध्याय मकवानपुरतर्फ लागे ।

 

मकवानपुरको सुगौलीमा पुगी उनले नेपालका तर्फबाट सन्धिमा सहमति हस्ताक्षर गरी ४ मार्च १८१६ दिउँसो २.३० बजे कम्पनी सरकारलाई हस्तान्तरण गरे । अंगे्रजका तर्फबाट गभर्नर जनरल डेभिड अक्टरलोनीले प्रामाणिक हस्ताक्षर गरी एक प्रति चन्द्रशेखरलाई दिए । परिणामतःएकीकृत नेपालको एकतिहाइ भूमि गुम्यो ।

 

यसरी विवश भएर सुगौली सन्धि स्वीकार गर्न नेपाललाई कर लागेको थियो । यस्तो करकापमा परी गरिएको सुगौली सन्धि भएको आज दुई सय वर्ष पुगेको छ । तथापि नेपाल राष्ट्र र नेपाली जनता समृद्ध भएमा र अन्तर्राष्ट्रिय स्तरमा वैचारिकरूपले शक्तिशाली भएमा सुगौली सन्धिमा गुमेको नेपालको भूभाग भारतबाट एक दिन सहिसलामत फिर्ता लिनसक्ने सम्भावना रहेको दखिन्छ ।

 

उदहारणका निम्ति सन् १८४२ मा हङकङ अंग्रेजहरूले सदाको लागि भनी सन्धि गरेर लिएका थिए । तर त्यो भूभाग १५५ वर्षपछि अंग्रेज नतमस्तक भएर चीनलाई फिर्ता गर्न बाध्य भयो । चार सय वर्षअघि कब्जा गरेको मकाउ १९९९ डिसेम्बर २० मा फिर्ता हुन सक्यो । यस्तै, मोगलले लगानी उठाइरहेको ‘गोआ’ लाई चार सय वर्षअघि पोर्चुगलले आफ्नो अधीनस्थ पारेको थियो ।

 

अंग्रेजी शासनबाट भारत स्वतन्त्र भइसकेपछि १९६० जनवरीमा गोआको भूमि भारतले फिर्ता लिन सकेको थियो । यिनै उदाहरणको परिपे्रक्षमा आजभन्दा दुई शताब्दीअघि मात्र अंग्रेजले चोक्टाएको नेपालको बाँकी भूभाग फिर्ता हुन सक्दैन भन्न सकिन्न ।

Annapurna Post- Sketch 72-11-21

सुगौली सन्धि खेदजनक भएकाले यस दिनलाई तिरस्कृत भावनाले हेर्नुपर्छ नेपालले भविष्यमा यस्तो कालो दिन खेप्न नपरोस् भनी सार्वभौमिकता तथा भौगोलिक अखण्डतामा सबै नेपालीले प्रतिबद्धता जनाउँदै दृढ संकल्पित रहनुपर्छ सन् १९५० को सन्धिको धारा ले यसअघिका सबै सन्धिसम्झौता खारेज गरेकाले सुगौली सन्धि सदाका लागि भएको होइन भन्ने मनन गरी नेपाल नेपालीले आत्मबल जगाउँदै आजको दिनलाई भत्र्सना गर्नुपर्छ

यसैले नेपालको चोक्टिएको पुख्र्यौली जमिन मूल भागसँग गाभिन नसक्ने भन्ने देखिँदैन । केही अघिदेखि भारतको पूर्वी राज्य आसामले स्वतन्त्रताको आवाज गुन्ज्याइरहेको छ भने नेपालको भूखण्ड पराधीनको हातमा कुँजिएर रहिरहेकोमा यसले आफ्नो ऐतिहासिक मातृभूमिमा एकीकरण भई गाभिने स्वतन्त्रता पाउँदैन भन्न सकिन्न । तर यसका लागि नेपाल समृद्ध र बलियो हुनुपर्‌यो, नेपालीले नै पहलकदमी गर्नुपर्छ ।

 

विश्वको उदीयमान राष्ट्र चीनले आर्थिक क्षेत्रमा विश्वलाई नै गाँज्दै राजनीतिक र विज्ञान प्रविधिमा समेत समृद्ध भएकाले आफ्नो गुमेको हङकङको भूभाग बेलायतबाट फिर्ता लिन सक्षम भएको हो । अंग्रेजले हङकङ लिँदा गरेको सन्धिजस्तै नेपालसँगको सुगौली सन्धि भएकाले कालान्तरमा नेपाल समृद्ध भए नेपालले फिर्ता पाउन सक्दैन भन्न मिल्दैन ।

 

यसका लागि प्रत्येक नेपालीको आर्थिक स्थिति उँभो लाग्नुपर्‌यो, प्रतिव्यक्ति आम्दानी बढाउने परिबन्ध मिलाउनुपर्‌यो । देशभित्रै कलकारखाना, उद्योगव्यवसाय फस्टाउनुपर्‌यो । जलस्रातेको दोहन गर्दै साहसिक पर्यटनको विकास गर्नुपर्‌यो । अनि राजनीतिक फाँटबाट सबल, सशक्त र दूरदृष्टि रहेको नेतृत्वले क्रमबद्ध योजना निर्माण गरे नेपालको आर्थिक अवस्था उकालो लाग्न सक्छ ।

 

नेपाली समाजको विकासको गति अगाडि बढ्न सक्छ । आर्थिक तथा सामाजिक विकास भएमा प्रत्येक नेपालीको बौद्धिक क्षमता वृद्धि भई सोच्ने शक्ति बढोत्तरी हुन जान्छ । समाजमा चेतना अभिवृद्धि भएपछि राष्ट्रिय जागरण तथा राष्ट्रप्रेमको भावना जागृत हुने मात्रा पनि स्वाभाविकैले थपिन पुग्छ ।

 

यसपछि सामाजिक जागृतिले भरिपूर्ण भएको नेपाली नयाँ पुस्ता आफ्नो पुर्खाले आर्जेको मेची–टिस्टा र महाकाली–काँगडाको गुमेको भूभाग फिर्ता लिन सक्षम हुन सक्नेछ र चन्द्र–सूर्य अंकित त्रिकोणाकारको झन्डा एकीकृत नेपालको चौकिल्लामा फहरिन सक्नेछ । नेपालले अन्तर्राष्ट्रिय जगत्मा विश्व जनमत बटुली प्रत्येक नेपाली नागरिकमा आत्मबल जागे सुगौली सन्धिको छेकबार भत्की टिस्टा र किल्लाकाँगडा नेपालको सिमानाभित्र फेरि समाविष्ट हुनेछ ।

 

यसै कारणले नेपालको नयाँ संविधानको धारा ४ (२ख) मा ‘नेपालको क्षेत्र यो संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र हुनेछ’ भन्ने पनि उल्लेख भएको छ ।

स्मरण गर्नुपर्ने कुरा के छ भने ठीक दुई सय वर्षअघि आजैका दिनमा अंग्रेजशासित भारत र परापूर्वकालदेखि स्वतन्त्र रहिआएको नेपालबीच सुगौली सन्धि भएको थियो ।

 

करकाप छलछाम र दबाबमा परी नेपालले यो सन्धिमा हस्ताक्षर गर्नुपरेको इतिहासले बताएको कुरा सर्वविदितै छ । सन्धिका कारण नेपाले आफ्नो एकतिहाइ भूभाग गुमाउनुपरेको थियो । यसैले नेपालको सिमानाको इतिहासमा आजको दिनलाई नेपाली नागरिक समाजले घृणा जनाउनुपर्छ । सुगौली सन्धि खेदजनक भएकाले यस दिनलाई तिरस्कृत भावनाले हेर्नुपर्छ ।

 

नेपालले भविष्यमा यस्तो कालो दिन खेप्न नपरोस् भनी सार्वभौमिकता तथा भौगोलिक अखण्डतामा सबै नेपालीले प्रतिबद्धता जनाउँदै दृढ संकल्पित रहनुपर्छ । सन् १९५० को सन्धिको धारा ८ ले यसअघिका सबै सन्धिसम्झौता खारेज गरेकाले सुगौली सन्धि सदाका लागि भएको होइन भन्ने मनन गरी नेपाल र नेपालीले आत्मबल जगाउँदै आजको दिनलाई भत्र्सना गर्नुपर्छ ।

– See more at: http://annapurnapost.com/News.aspx/story/44782#sthash.hmV4R5TT.dpuf

 

Ancestor earned Greater Nepal is Possible

Ancestor earned

Greater Nepal is Possible

Interviewed by Agnichakra, National Monthly

Year- 5, Number-4, Volume-44, Date: October-November 2013.

Agnichakra final

Greater Nepal might be possible

State Restructuring (4)- Prithvi Narayan Shan and Current State Restructuring

                                पृथ्वीनाराण शाह र वर्तमान राज्य पुनः संरचना

                                                       बुद्धिनारायण श्रेष्ठ

राष्ट्रिय एकताका लागि आजभन्दा २ सय ६८ वर्षअघि पृथ्वीनारायण शाहले हिमाली क्षेत्रका स-साना भुरे-टाकुरे राज्यको भौगोलिक एकीकरण अभियान शुरु गरेका थिए। यस अभियानलाई निरन्तरता दिदै उनका सन्ततिले बाइसी-चौबीसी राज्य सेन राज्य काठमाडौं उपत्यका कुमाउँ गढवाल सिरमोर बाह्र-ठकुराई अठार-ठकुराईसमेत ५६ पृथक-पृथक राज्य-रजौटालाई एउटै सीमारेखाभित्र बाँधी बलियो हिमाली राज्य बनाएका थिए। भारतमा शासन गर्दै आएका इस्ट इन्डिया कम्पनी सरकारको छलछामका कारण सुगौली सन्धिद्वारा नेपालले एक तिहाइ भू-भाग गुमाउनुपर्यो। यद्यपि सुगौली सन्धिपछि पूरक सीमा सन्धिद्वारा तराईको मैदानी भाग फिर्ता पाई संवत् १९१७ कात्तिक १७ देखि वर्तमान नेपालको सीमा कायम रहँदै आएको छ।

अभियानको सिलसिलामा कान्तिपुर ललितपुर कीर्तिपुर एकीकरण गरिसकेपछि पृथ्वीनारायण शाहले १८२६ मंसिर १ गते वर्तमान नेपाल राष्ट्रको भौगोलिक रुपमा जन्म गराए। यहाँ बुझ्नुपर्ने कुरा के छ भने उनले यो राष्ट्रको नाम ‘गोरखा’ राख्न पनि सक्थे। तर उनले ‘नेपाल’ नामकरण गरे। यसबाट उनको विशाल हृदय भएको पहिचान हुन्छ। उनी संकुचित धारणा नभएका व्यक्ति हुन् भन्ने देखिन्छ। यस मानेमा उनी एकीकृत राष्ट्रप्रेमी रहेको बुझिन्छ।

पृथ्वीनारायण शाहले शुरु गरेको अभियानले छरिएर रहेका सानातिना राज्य एकसूत्रमा बाँधिई एकीकृत भएको थियो। यसै कारणले इस्ट इन्डिया कम्पनीले नेपाललाई गाँज्न सकेको थिएन। हाल जनताको चाहनाअनुरुप हाम्रो देश गणतन्त्रात्मक मुलुक भएको छ। जनता आर्थिक समृद्धि तथा सामाजिक विकासका निम्ति आफ्नो हकअधिकार खोजिरहेका छन्। आत्मनिर्णयको अधिकार चाहिरहेका छन्। यसै सिलसिलामा राज्य पुनःसंरचनाअन्तर्गत नेपाललाई विभिन्न प्रादेशिक एकाइमा वर्गीकरण गर्न लागिएको छ। यस्ता प्रादेशिक संरचना तयार पार्दा हामीले पृथ्वीनारायण शाहले त्यस समयमा किन राज्य एकीकृत गरे भन्ने तथ्यलाई मनन गर्नुपर्छ। हामीले हाम्रो देशको इतिहास विश्लेषण गर्न सकेनौं भने हामी गणतन्त्रको गन्तव्यमा पुग्न सक्नेछैनौं।

पृथ्वीनारायण शाहले नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो भनेका थिए। नेपालको सिमानाभित्र रहेका साना-ठूला धनी-गरिब सबै वर्ण तथा जातजातिका सबै नेपाली नागरिकको साझा तथा सुन्दर बगैंचाका रुपमा सिंगो नेपाल राष्ट्रको परिकल्पना गरिएको थियो। नेपाली मात्रको राष्ट्रिय एकताका निम्ति यो निकै राम्रो परिकल्पना भएको मान्न सकिन्छ।

हाल नेपाललाई विभिन्न प्रदेशमा विभाजन गर्दा संविधानसभाअन्तर्गत बनेको राज्य पुनःसंरचना समितिले नेवार तामाङ शेर्पा लिम्बू किराँती तमु थारु कोचे मगरजस्ता नाममा प्रदेशको नामाड्ढन प्रस्ताव गरेको छ। तर वर्तमान नेपालमा १०३ जनजाति तथा ९३ भाषाभाषी नागरिक रहेका छन्। सीमित जातजातिका नामबाट मात्र प्रदेशको नाम राखिँदा अन्य बाँकी जातजातिका समुदायमाथि अन्याय गरेको ठहरिन सक्छ। यस्तो भएमा विभिन्न जातजाति समुदायका बीच द्वन्द्व उत्पन्न हुन सक्छ। परिणामतः नेपाल वैचारिक र भौगोलिक दृष्टिकोणले आपसमा खण्डित हुन पनि बेर लाग्दैन। यसैले प्रदेशको नामावली सम्बन्धमा आजका दिनमा पनि पृथ्वीनारायण शाहको मनसाय र उनका दर्शन मनन गरी नेपाल सदाका लागि सबै जातजातिको एकीकृत फूलबारी रहने गरी अनेकतामा राष्ट्रिय एकता झल्कने साझा पहिचान बोकेको नाम छनोट गर्नुपर्छ। प्रदेशको नामाड्ढन सर्वप्रिय नभए पनि बहुप्रिय हुनुपर्छ। यस्तो नामावली प्राकृतिक सम्पदा भौगालिक वस्तु ऐतिहासिक स्थल सांस्कृतिक स्थल तथा साझा राष्ट्रिय विभूतिको नामबाट लिन सकिन्छ। यो कुराको चाँजोपाँजो हालै गठित राज्य पुनःसंरचना आयोगले मिलाउन सक्नुपर्छ। तितरबितर हुने प्रकारको संघीय संरचना कोर्नुहुँदैन। नत्र नेपाली जनताले दुःख पाउने र नेपालको पहिचान डगमग हुने अवस्था आउन सक्छ।

पृथ्वीनारायण शाहले गरेको क्रियाकलाप अध्ययन मनन गर्दा उनले हिमाली राज्यको एकीकरण अभियान शुरु नगरेको भए आज हामी कहाँ रहने थियौं र हाम्रो अस्तित्व के-कस्तो हुन्थ्यो भनी घोरिनुपर्छ। हाम्रो नेपाल स्वतन्त्र रहने थियो-थिएन हामी नेपाली भएर बाँच्न सक्ने थियौं÷थिएनौं अहिलेको घडीमा यहाँ यस पंक्तिकारले यी हरफ लेख्न सक्थ्यो-सक्दैनथ्यो मननीय कुरा रहेको छ। त्यस समयको पृष्ठभूमि अवलोकन गर्दा भारतमा अंग्रेज शासनको दबदबा थियो। अंग्रेजले हिमाली राज्यप्रति आँखा गाडेका थिए। नेपालजस्तो राज्य आफ्नो अधीनमा लिन पाए बेलायती तथा हिन्दुस्तानी मालसामान नेपाल भएर सजिलै तिब्बत लगी बेच्न सकिन्थ्यो। नेपालबाट टिम्बर हिमाली जडीबुटी काँचो छालाजस्ता कच्चा पदार्थ भारत लगी कारखानाबाट आम्दानी बढाउन सकिन्थ्यो भन्ने अंग्रेजको मनसाय थियो। तर पृथ्वीनारायण शाहले आफ्नो राष्ट्रियता अक्षाण्ण राख्नका लागि अंग्रेजको गिद्दे नीति सफल हुन दिएनन्।

यिनै कारणले गर्दा पृथ्वीनारायण शाहलाई समस्त नेपालीले हिजोआज पनि सम्झिनुपरेको छ। उनलाई हामीले शाहवंशीय राजाहरुको पिता-पुर्खाका हैसियतमा होइन तर नेपाल राष्ट्रका निर्माता तथा हिमाली राज्य एकीकरण अभियन्ताका प्रतीकका रुपमा सम्झना गर्नुपर्छ। उनले गरेको राष्ट्रप्रेमी कामको आदर गर्न हिच्किचाउनुहुँदैन। मैले मेरा बाबुबाजेलाई सम्झना तथा आदर गरिनँ भने म बेकम्मा हुन्छु पतीत ठहरिन्छु। कसैले मेरो तीनपुस्ते परिचय मागेमा मैले बाबुबाजेको नाम भन्नै पर्छ। त्यसै गरी नेपाल राष्ट्रका निर्माता को हुन् भनी स्वदेशी-विदेशीले सोधे भने हामीले विनाहिच्किचाहट पृथ्वीनारायण शाह हुन् भन्नुपर्छ। हाम्रा कतिपय राजनीतिक नेताहरु पृथ्वीनारायण शाहको नाम लिन शंकोच मान्छन्। तर नेपाल राष्ट्रका निर्माता को हुन् भनी कुनै विदेशीले उनीहरुलाई सोधे भने पृथ्वीनारायण शाहभन्दा अर्का व्यक्तिको नाम भन्ने ठाउँ नै छैन। हिजोआज ठूलाबडा नेताहरुले आफ्नो भाषणमा पृथ्वीनारायण शाहको योगदान उल्लेख गर्न लागेका छन्। यद्यपि कार्यान्वयनका रुपमा कमै मात्र ध्यान दिने गर्छन्। तर बिस्तारै उनीहरुले कार्यगतरुपमा पनि काम गर्ने छाँट देखिएको छ।

वास्तवमा पृथ्वीनारायण शाहको दिव्य विचारलाई राष्ट्रवादको जगको रुपमा लिनुपर्छ। उनको चिन्तनका अवधारणा राष्ट्रिय नीतिको आत्मास्वरुप रहेको छ। उनले कतिपय नराम्रा कार्य पनि गरेका होलान्। उनका केही नकारात्मक पक्ष पनि रहेका होलान्। आखिर उनी पनि मानिस थिए। बत्तीसै लक्षणले युक्त सर्वगुणसम्पन्न प्राणी यस संसारमा हुँदैनन्। तर अधिकांश क्रियाकलाप राम्रो गर्ने व्यक्तिलाई राम्रै दर्जाको मान्नुपर्छ। त्यसैले पृथ्वीनारायण शाहले नेपालको अस्तित्व पहिचान र सामथ्र्यलाई एकसूत्रमा बाँध्न पुर्याएको योगदानको स्मरण गर्नुपर्छ। उनको राष्ट्र बलियो पार्ने दिव्य विचारको मनन गर्दै राज्य पुनःसंरचनाअन्तर्गत केन्द्रीय सरकार संघीय प्रदेश र स्थानीय निकाय सुदृढ गर्ने प्रणाली अपनाउनुपर्छ। नेपाल राष्ट्रका संस्थापक पृथ्वीनारायण शाहलाई स्मरण गर्दै उनले नेपाल राष्ट्रको जन्म गराएको दिन अर्थात् प्रत्येक वर्ष मंसिर १ गते १७ नोभेम्बर का दिनलाई ‘नेपाल दिवस’का रुपमा मनाउने परिपाटी स्वदेश तथा विदेशस्थित नेपाली मिसनमा समेत बसाल्नुपर्छ।
bordernepal@gmail.com

%d bloggers like this: