Prithvi Jayanti

Prithvi Jayanti

Buddhi Narayan Shrestha

On the occasion of Prithvi Jayanti, I had spoken in front of the Statue of Late ‘Prithvi Narayan Shah the Great’ that he had given birth to the country ‘NEPAL’ on Bikram Sambat 1826 Mangsir 1 (16 November 1769). He didn’t name the country as Gorkha but Nepal. Since he had started to unify the Himalayan country from Gorkha.

 

Prithvi Jayanti

Advertisements

PrithviNarayan to unify the Boundaries of Nepal

सीमा एकीकरणमा पृथ्वीनारायण

सत्रौं शताब्दीमा नेपालदेखि दक्षिणतर्फ रहेका विभिन्न राज्य-रजौटाको भूमिमा आधिपत्य जमाएर बेलायती इस्ट इन्डिया कम्पनी सरकारले भारतमा शासन गरिरहेको थियो। ‘ब्रिटिस साम्राज्यमा कहिल्यै घाम अस्ताउँदैन’ भन्ने धारणाका साथ भारतमा एकछत्र शासन गरिरहेको कम्पनी सरकारको आँखा उत्तरतर्फको बाइसे, चौबीसे तथा सेन राज्य जस्ता सानातिना भुरे-टाकुरे हिमाली राज्यप्रति पर्‍यो। अंग्रेजको यस्तो कुदृष्टिप्रति पृथ्वीनारायण शाह सजग भई त्यसको प्रतिकारस्वरूप उनले हिमाली राज्यको सीमा एकीकरण गर्दै एउटा सशक्त राज्यको सुदृढ सीमा तयार पार्ने अभियान सुरु गरे।

हिमवत् खण्डमा रहेका राज्यको सीमा सृदृढ र निश्चित नभए अंग्रेजले यी सानातिना सबै राज्यलाई एकदुई गरी अंग्रेजी शासनभित्र विलय गराउँछ भन्ने पृथ्वीनारायणले बुझेका थिए। अर्को कुरा, यी हिमाली राज्य हुँदै अंग्रेजलाई तिब्बतसम्म व्यापार गर्न पुग्नु थियो भन्ने उनमा ज्ञान थियो। यिनै पृष्ठभूमिका आधारमा पृथ्वीनारायणले गोरखा राज्यको सीमामा थप गर्दै भक्तपुरको सीमा एकीकरण गरेपछि १८२६ मंसिर १ गते नेपाल राज्यको जन्म गराए।

यो सीमालाई उनले काठमाडौं खाल्डो पूर्वतर्फ भुटानको छेउछाउसम्म पनि तन्काए। उनको देहान्त भएपछि उनका सन्ततिले नेपाल खाल्डो पश्चिमतर्फको भूमिमा नेपालको सिमाना विस्तार गर्दै अन्तत: विशाल नेपालको सिमाना कायम भयो। तर अंग्रेजलाई सुदृढ तथा एकीकृत हिमाली राज्यको सिमाना कायम भएको पचेन। परिणामत: अंग्रेज-नेपाल सीमा युद्ध भई अंग्रेजी शासनको छलछामका कारण सुगौली सन्धिद्वारा विशाल नेपालको सीमारेखामा कुठाराघात गरेर वर्तमान नेपालको सीमा कायम हुन पुग्यो।

सीमा एकीकरण अभियान सञ्चालन गर्ने क्रममा पृथ्वीनारायणले विभिन्न रणनीति अख्तियार गरेका थिए। अंग्रेज कुनै न कुनै दिन यतातर्फ आउने चेस्टा गर्नेछ भन्ने उनले अन्दाज गरेका थिए। यसैले आफ्नो सीमा जोगाइराख्न सुरक्षित किल्लाको खोजी गरी सन्धिसर्पन हेरी गढी तथा गौंडालाई तम्तयार तुल्याई राख्नुपर्छ भन्ने उनको कथन थियो। उनी भन्ने गर्थे, ‘दक्षिणतर्फको समुद्रका बादशाहसित घा (मित्रता) राख्नु, तर त्यो महाचतुर छ।’ यसैकारणले मकवानपुर गढी, सिन्धुली गढी, चिसापानी गढी, सिम्रौनगढ जस्ता प्रवेश गर्ने मुख्य-मुख्य नाकामा गढी वा किल्ला बनाई निगरानी राख्नुपर्छ भन्ने उनको दिव्य विचार थियो।

कथंकदाचित दक्षिणी बादशाहको सेना उत्तर बढ्दै आयो भने समथर मैदानी भागमा लडाइँ गर्नु हुँदैन, तर पहाडी प्रदेशमा ल्याएर मात्र लडाइँ गर्नुपर्छ। चुरे पहाडको घाँटीमा बैरी आइपुगेपछि उनीहरूलाई सखाप पारी काटिदिन सजिलो हुन्छ। यस्तो गर्न सकेमा हामीलाई पाँच-सात पुस्तासम्मलाई पुग्ने खरखजाना पनि मिल्नेछ र श्रीगंगा नदीसम्म हाम्रो देश (नेपाल) को साँध-सिमाना लाग्नेछ भन्ने उनमा आभास रहेको थियो।

यसैगरी पृथ्वीनारायणको सन्देश थियो, ‘चतुरो बैरी लडाइँमा लड्न सकेन भने लोलोपोतो तथा अनेकौं छलकपट गरेर भए पनि हाम्रो देश नेपालको सिमानाभित्र आउने प्रयास गर्नेछ। यो नेपालको तखत भनेको एउटा प्राकृतिक किल्ला हो। यस किल्लालाई दक्षिणी बादशाहले पायो भने संसारका चारैवटा बादशाहलाई ओरालो लगाइदिनेछ। यथार्थमा यो राज्य ईश्वर (प्रकृति) आफैंले रचना गरेको किल्ला हो। आफ्नो किल्लालाई मजबुत राख्न विदेशका महाजनलाई पर्सा गढीबाट उत्तरतर्फ आउन बन्देज गर्नुपर्छ।’

यिनै परिप्रेक्षमा नेपालको सिमानाको सुरक्षा गर्न र खासगरी नेपालको राजधानी रहेको काठमाडौं खाल्डोलाई सुरक्षित राख्न यसको चारैतिर दुर्ग बनाउनु र यसभित्र कुनै फिरंगीलाई पस्न नदिनू भन्ने पृथ्वीनारायण शाहको अवधारणा थियो। यसैको सिलसिलामा उनले भनेका थिए- शिवपुरी, फुल्चोकी, चन्द्रागिरि, महादेवपोखरी, दाप्चा, पालुङ र काहुले जस्ता सात ठाउँमा पक्की किल्ला बनाउनुपर्छ। यस्तो किल्लैपिच्छे लमछट् गरी (लमतन्न पारी) तोप राख्नुपर्छ। यस्ता प्रत्येक किल्लाको ढोकामा पापाँचजना सिपाही पनि तैनाथ गर्नुपर्छ। यस्तो प्रबन्ध गर्न सके संसारका चारै बादशाहले नेपालको सिमानामा एकैपटक चढाइँ गर्दै आए भने पनि उनीहरूको केही लाग्ने छैन।

आफ्नो देशमा हजारौं धनु, बन्दुक, खुँडा र हजारौं तोप जम्मा गर्न सकिए इन्द्रको आसनलाई पनि डगाउन सकिन्छ भन्ने उनको धारण थियो। यसबाहेक उनले भारदार र सैनिकलाई धन कमाउन नदिनु, धनसम्पत्तिमा सिपाही भाइभारदारको मन गयो भने उनीहरू विलासी हुन्छन्, सैनिकलाई कसैको मुलहिजापछि लाग्न नदिनु र नुनको सोझो गर्न लगाउनु, सीमारक्षाका लागि सिपाहीलाई सधैँ तिखारि राख्नुपर्छ, तिखारिएका सिपाही कसैको स्वार्थमा लाग्दैनन् र आफ्नो देशको रक्षा गर्ने काम पनि फत्य हुन्छ भनेका थिए।

देशको माटो जोगाउन पृथ्वीनारायणको दृढ रणनीति रहेको पाइन्छ। यसै सिलसिलामा नेपालको कूटनीतिअन्तर्गत छिमेकी देशलाई समदूरीमा राख्न सक्नुपर्छ, एउटा देशलाई नेपालको सीमातर्फ लहस्सिन दिनु हुँदैन, दक्षिणी बढे भने हाम्रो देशको हित हुँदैन, उनीहरूलाई उत्तरतर्फ बढ्न नदिन ठाउँठाउँमा भाँजो तगारो हाल्नुपर्छ भन्ने उनको दिव्योपदेश थियो। यस्तै, आफ्नो देशको सीमावर्ती भूमि जोगाउने सिलसिलामा ‘जाइ कटक् नगर्नु, झिकी कटक् गर्नु’ अर्थात् शत्रुमाथि जाइ नलाग्नु तर जाइलागेमा शत्रुलाई हान्न नचुक्नू भन्ने रणनीति अख्तियार गरेको बुझिन्छ। यसको मतलब तराईतिर ओर्लिएर लडाइँ नगर्नु तर पहाडतिर डो:याएर गढीगौंडामा पारेर शत्रु सखाप पार्नुपर्छ भन्ने उनको सिद्धान्त थियो।

पृथ्वीनारायणले ससाना हिमाली राज्यको सीमा एकीकरण गर्ने अभियान सुरु नगरेका भए आज हामीमध्ये कोही बंगाली बाबु भइरहेका हुन्थ्यौं होला भने कोही बिहारी दादा बनिरहेका हुने थियौं। यसैगरी कोही उत्तर प्रदेशी पठान त कोही उत्तराञ्चलवासी गढवाली र बाँकी सिक्किमी लेप्चामा गाभिन पुगेका हुने थियौं होला।

आज नेपाल राष्ट्र, नेपालको राष्ट्रियता बचाउन, राष्ट्रिय सीमा संरक्षण गर्न र नेपालीलाई नेपाली भएर बाँच्न पृथ्वीनारायण शाहको दिव्योपदेशले योगदान पुर्‍याएको छ। उनका यस्ता उक्ति र विचार आजको घडीमा पनि त्यत्तिकै सान्दर्भिक छन्। उनको समयकालदेखि हालसम्म नेपालमा धेरै उथल-पुथल भए। उदाहरणार्थ, ऐतिहासिक कालखण्डमा थापा तथा पाँडेकाल थियो भने एक सय चार वर्ष राणाशासनकाल चल्यो।

समयचक्रमा संवत् २००७ देखि २०१७ सम्म प्रजातान्त्रिक अवधि र त्यसपछि ३० वर्षे पञ्चायती काल गुज्रियो। समयको बहाबसँगै पुन: प्रजातन्त्र प्राप्ति हुनुका साथै लोकतन्त्रको प्रार्दुभाव भयो। यसपश्चात् शाहवंशको अन्त्य भएर नेपालमा गणतन्त्रात्मक व्यवस्था आयो। यतिका कालखण्ड व्यतित भइसक्दा पनि पृथ्वीनारायणको उपदेश अझै सामयिक छ।

विदेशीले नेपालमाथि गरेको दुई आक्रमणमा पृथ्वीनारायण शाहले विजय प्राप्त गरेका थिए। १८१९ माघ १० गते मीर कासिम अली खाँका फौज मकवानपुरको हर्नामाडीबाट उत्तरतर्फ बढ्दै गर्दा गोर्खाली सेनाले हराएर खेदेका थिए। यसैगरी कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्ललाई सहयोग गर्न कप्तान किनलकको नेतृत्वमा आएका भारतका अंग्रेजी फौज सिन्धुलीगढी उक्लिँदा नउक्लिँदै १८२४ असोज १५ मा गोर्खाली फौजले उनीहरूमाथि अकस्मात आक्रमण गरी लघारेका थिए।

सिन्धुलीमा फिरंगी आइलाग्दा पृथ्वीनारायणले मकवानपुर एकीकरण गरेर गोर्खा राज्यको सिमाना दक्षिणमा जनकपुरसम्म पुर्‍याएका थिए। यस्ता युद्धमा गोर्खाली सेनाले फिरंगी आक्रमणकारीलाई हराएर भगाउन नसकेको भए वर्तमान नेपालको इतिहास र भूगोल अर्कै हुने थियो।

यसैकारणले होला, हाम्रा गणतान्त्रिक राजनीतिक नेताहरू पनि पृथ्वीनारायण शाहको विचारको उल्लेख गर्न विस्तारै हिच्किचाउन छोडेका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही महिनाअघि पृथ्वीनारायणलाई नेपालको नायक र आफूलाई दोस्रो नायक भनेका थिए। हालका वर्षमा प्रचण्डले पृथ्वीनारायणको बारम्बार गुनगान गर्दै पृथ्वीनारायणको स्तुति शंकराचार्यले गरेको शिवको स्तुतिभन्दा पनि भक्तिभावपूर्ण हुनुपर्छ भनेका छन्। यसैगरी बाबुराम भट्टराईले प्रचण्डको प्रशंसा गर्ने क्रममा देशले ‘नयाँ नेता’ खोजिरहेको उल्लेख गर्दै अहिलेसम्म बुद्ध, पृथ्वीनारायण शाह र केही हदसम्म बीपीमा नेतृत्व क्षमता देखिएको २०६९ माघ २४ मा व्यक्त गरेका थिए।

पृथ्वीनारायणका विचार, उक्ति , उपदेश, धारणा र दिव्य दृष्टिलाई नेपाली राष्ट्रवादको जग हो र नेपाल राष्ट्रको आत्मा भन्न सकिन्छ। अहिले पनि हामीलाई राष्ट्र र राष्ट्रियतासम्बन्धी केही समस्या आइपरेमा उनको त्यसबेलाको वैचारिक दृष्टिकोण अवलम्बन गर्‍यौं भने ती समस्या समाधान गरी देशको राष्ट्रियता अक्षुण्ण राख्न सक्छौं।

Let us celebrate ‘Nepal Day’ in the name of Prithvi Narayan Shah the Great

पृथ्वीनारायण शाहको नाममा नेपाल दिवस मनाउन प्रस्ताव

From: NewsPokhara Blog, 10 January 2012

पृथ्वीनारायण शाहको नाममा ‘नेपाल दिवस’ मनाउन विज्ञहरूले प्रस्ताव गरेका छन् । उनले राष्ट्रनिर्माणका साथसाथै राष्ट्रियताप्रति बलियो जगसमेत हालेकाले राजनीतिक दृष्टिकोणले मात्र हेर्न नहुनेसमेत उनीहरूको भनाइ छ । ‘मुलुकमा जस्तोसुकै राजनीतिक उथलपुथल भए पनि पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्न मिल्दैन,’ सीमाविद् बुद्धिनारायण श्रेष्ठले राष्ट्रिय एकता तथा २९० औं पृथ्वीजयन्ती मूल नागरिक समारोह समितिको अन्तक्रिर्यामा शनिबार भने, ‘यदि उनले नेपाल एकीकरण नगरेको भए हामी छरपष्ट हुन्थ्यौं । उनी गोरखा राज्यका भएर पनि एकीकरणसँगै ‘नेपाल’ देशको नामकरण गरेर नेपाल राष्ट्रको जन्म दिएका हुनाले उनको जन्मोत्सवलाई विश्वभरका नेपालीले नेपाल दिवसका रूपमा मनाउँदा अन्यथा ठहर्दैन ।’

पृथ्वीनारायण शाहले १८२६ मंसिर १ गते नेपाल राज्यको नामकरण गरेका थिए । उनको दिव्योपदेशमात्र मनन गर्ने हो भने पनि कूटनीतिक, आर्थिक, सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको श्रेष्ठ बताए । ‘अब राज्य पुनर्संरचना हुँदा पृथ्वीनारायण शाहले भनेका सबै जातको फूलबारी बनाउन सक्नुपर्छ,’ उनले भने, ‘पृथ्वीनारायणलाई राष्ट्रवादको जडको रूपमा लिइनुपर्छ ।’ जनआन्दोलन २०६२/६३ पछि बनेको सरकारले पुस २७ गते मनाइँदै आएको ‘राष्ट्रिय एकता तथा पृथ्वीजयन्ती’ खारेज गरिसकेको छ ।

 

 

“राज्यपुर्नसंरचनामा पृथ्वीनारायण शाहका दिव्य उपदेश उपयोगी”

 

Image FM 97.3 Interview on 12 January 2012

सीमाविद बुद्धिनारायण श्रेष्ठले पछिल्ला सरकार तथा राजनीतिक दलहरुबाट ईतीहासलाई मेट्दै जाने काम भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । इमेज एफ.एम संग कुरा गर्दै सीमाविद श्रेष्ठले राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र उनका योगदानलाई भुल्नु भनेको राष्ट्रियता नैं भल्नु हो भन्नुभयो । आफ्नै पुर्खा बिर्सने पुस्ता पतित हुने वहाँले बताउनुभयो ।

राज्यपुर्नसंरचनाको विषय उठिरहेका बेला सीमाविद श्रेष्ठले यस सन्दर्भमा पनि पृथ्वीनारायण शाहका दिव्य उपदेश उपयोगी हुने धारणा राख्नुभयो । नेपालमा असिमीत जातजाती र तीनका भाषाभाषी भएपनि १०, १२ जातीको नाममा मात्र प्रदेश नामाकरण गर्न लागिएकोमा उहाँले असन्तुष्टी जनाउनुभयो । प्रदेशको सीमाना निर्धारण गर्दा प्राकृतिक, ऐतिहासिक, धार्मिक र भौगोलिक विषयलाई आधार मानिनुपर्ने सुझाव दिँदै सीमाविद श्रेष्ठले अन्यथा कालान्तरमा द्धन्द्ध निम्तने खतरा औँल्याउनुभयो ।

%d bloggers like this: