How to look to Prithvi Narayan

How to look to Prithvi Narayan

Buddhi Narayan Shrestha

कसरी हेर्ने पृथ्वीनारायणलाई ?

बुद्धिनारायण श्रेष्ठ

राज्य विस्तारीकरण गरिएको भए विजित राज्य भाइछोराहरूलाई बाँडेर

उनीहरू नै राजा हुन्थे होलान्, तर यस्तो गरिएन ।

 


          गत वर्ष पृथ्वी जयन्तीको अघि र पछि विभिन्न दैनिक पत्रपत्रिकामा पृथ्वीनारायण शाहले सुरु गरेको अभियान एकीकरण हो कि विस्तारीकरण हो भन्ने सम्बन्धमा चर्चा–परिचर्चा भएको थियो । धेरैजसो लेख र पाठकपत्रमा प्रकाशित टिप्पणी र मन्तव्यमा पृथ्वीनारायणको अभियान सीमा एकीकरण नै हो भन्ने व्याख्या गरिएको थियो । एदाकदा लेखमा चाहिँ गोरखा राज्य विस्तारीकरण गर्न खोजिएको हो । के पृथ्वीनारायणमाथि प्रश्न गर्न पाइँदैन र भन्ने प्रकारको थियो । यस प्रसंगमा मज्जाले प्रश्न गर्न पाइन्छ । तर गुण र दोषको मात्रा केलाउनुपर्छ । हामीले मनन गर्नुपर्ने कुरा के हो भने– इतिहासले के भन्छ, पृथ्वीनारायणको क्रियाकलाप कस्तो रहेको थियो, स्वदेशी विद्वत्वर्गको व्याख्या के रहेको छ र तत्कालीन ब्रिटिस जानकारहरूले सत्यतथ्य लेखेका छन् छैनन् भनी खोतल्नुपर्ने हुन्छ ।

इतिहास अवलोकन र मनन गर्दा पृथ्वीनारायण गोरखाको राजा हुनुभन्दा अघि र भइसकेपछि पनि छेउछाउका राज्य तथा ब्रिटिसकालीन भारतको सीमाञ्चल क्षेत्रतर्फ घुमफिर गर्ने गर्थे । यिनी देशदेशावर डुल्ने र त्यहाँको सामाजिक तथा प्राकृतिक वातावरण बुझ्न चाहने प्रवृत्तिका व्यक्ति थिए । यसै सिलसिलामा कहिले लमजुङका राजासँग मित्रता गाँस्न पुग्थे भने कहिले नुवाकोटे राजाका दरबार हेर्न जान्थे । भक्तपुर पुगी त्यहाँका युवराजसँग संवत् १७९७ मा मितेरी साइनो जोडेर एक वर्षसम्म बसेका थिए । मकवानपुरे राजा हेमकर्ण सेनकी छोरीसँग त १७९४ मा विवाह नै भएको थियो । कुनै समय अंग्रेज शासित बेतिया, वनारस पनि पुगेका थिए । फर्कने क्रममा चन्द्रागिरी डाँडोबाट चार भञ्ज्याङभित्रको नेपाल उपत्यका हेर्दा उनी लोभिएका थिए ।

यसरी पहाड, मधेस, भारतीय भू–भाग डुलफिर गर्दा यिनको दिमागमा के आयो भने एकातिर तत्कालीन हिन्दुस्तानको ५ सय ६२ भन्दा बढी सानातिना राज्य हडपेर व्यापार गर्न पसेका इस्ट इन्डिया कम्पनीले ब्रिटिस शासन नै कायम ग¥यो । अर्काेतर्फ गोरखा राज्यको छेउछाउ रहेका राज्य रजौटाबीच बेला कुबेला मनमुटाव भई लडाइँ झगडा हुने गरेको कुरा मनन गरे । यस्तै हरिलो भरिलो तत्कालीन नेपाल उपत्यकाका काठमाडौँ, भादगाउँ, पाटनका राजाबीच कलह हुने र राजाका उत्तराधिकारीबीच वैमनस्य भई भाइभारदारमा फुट पैदा भएको घटना पनि पृथ्वीनारायणको मन–मस्तिष्कभित्र पस्यो ।

यिनको विश्लेषणअनुसार हिन्दुस्तानमा व्यापार गर्न आएको एउटा व्यापारिक कम्पनीले उपमहाद्वीपलाई आफ्नो अधीनमा पारी इस्ट इन्डिया कम्पनी सरकार नै बनायो । कम्पनी सरकार हिमाली राज्यको बाटो भएर तिब्बतसम्म आफ्नो व्यापार फैलाउने मनसायमा थियो । यो कुरालाई सफलिभूत पार्न केही बेलायती गोरा यात्रीका रूपमा गोरखा राज्यको मस्र्याङ्दी नदी, चेपे खोला हुँदै लार्के भञ्जाङबाट तिब्बत भोट पुग्थ्यो । अन्य कोही बेलायती व्यापारी त्रिशुली नदी किनारै किनार रसुवागढी भएर तिब्बतको केरुङ छिचोल्ने गर्थे । बेलायती व्यापारीको यस्तो क्रियाकलाप नरोके गोरखा तथा आसपासका हिमाली ससाना राज्यलाई अंग्रेजले क्वाप्प पार्न सक्छ भन्ने पृथ्वीनारायणको धारणा रहेको पुराना इतिहासको दस्तावेजमा पढ्न पाइन्छ ।

यिनै कारणले सानातिना हिमाली राज्यलाई एकसूत्रमा नबाँधे गोरखा राज्य पनि अस्तित्वमा रहन सक्दैन भन्ने कुरा पृथ्वीनारायणले निक्र्याैल गरेको बुझिन्छ । यसै विचारधारालाई कार्यान्वयन गर्न उनले हिमाली राज्यको सीमा एकीकरण अभियान सुरु गरेका हुन् ।

उनको अभियान एकीकरण होइन विस्तारीकरण हो भन्ने विचारकको भनाइमा– शाहले नेपालमाथि विजय गरेका हुन् । तर एकीकरण गरेका होइनन् । महाराजा गोर्खाधिपति हुने सपनाले गोर्खा राज्य विस्तार गरेका हुन् । अहिल्यै पनि उनको राज्यको नामबाट गोर्खाली फौज भन्ने गरिएको छ । बेलायतमा नेपाली सेनाको नाम गोर्खा रेजिमेन्ट राखेर महारानी एलिजाबेथको सुरक्षार्थ रहेको फौजलाई गोर्खा बटालियन भनिन्छ । शाहकै राज्यको नामबाट गोरखापत्र दैनिक पत्रिका चलाइराखिएको छ । कसैलाई पुरस्कृत गर्न गोरखा दक्षिणबाहु पदक दिने प्रचलन पनि ज्यूँदै छ । यी सबै कुराले पृथ्वीनारायणले राज्य विस्तारीकरण गरेका हुन् भन्ने झलक दिन्छ भनी केही अध्येता भन्ने गर्छन् ।

अंग्रेजलाई तिब्बत पस्ने बाटो दिइएन  
इस्ट इन्डिया कम्पनी सरकार र ब्रिटिस साम्राज्य तथा तिनका अधिकारीले पृथ्वीनारायणले कम्पनी सरकारलाई तिब्बतसम्म व्यापार फैलाउन नदिएको झ्वाँकमा शाहको मानमर्दन गर्न ‘गुर्खा’ शब्द प्रयोग गरी गोर्खाली क्रुर हुन्छन्, झडप गर्न पोख्त छन्, उनीहरू हमलाकारी हुन् भन्ने कुराद्वारा ब्रिटिस लेखकले इतिहासको पाना भरेका हुन् भन्न सकिन्छ । ‘गोर्खा’ भन्ने शब्दलाई ‘नेपाल’ र गोर्खालीलाई नेपाली भन्ने शब्दमा परिणत गर्न केही समयावधि लाग्यो र अभैm लाग्दै छ । तत्कालीन जनजिब्रोमा झुन्डिएको शब्द फेर्न केही दशाब्दी लाग्न सक्छ । तर यस्ता शाब्दिक कुराद्वारा पृथ्वीनारायणले राज्य विस्तारीकरण नै गरेका हुन् भन्ने कुरामा दम रहेको पाइँदैन । एक प्रकारले यी शब्दहरूलाई परालको त्यान्द्रोको सहाराको रूपमा लिई पृथ्वीनारायणको क्रियाकलापलाई विस्तारीकरण नै हो भन्ने कुरा दर्शाउन चेस्टा गरिएको छ ।

कटु सत्य कुरो के हो भने– हिमवत् खण्डमा रहेको सानातिना भुरेटाकुरे राज्यको सीमा एकीकरण पृथ्वीनारायणले नगरेको भए कसले गरेका हुन् त भन्ने प्रश्न आउँछ । उनले नगरेको भए अन्य कुनैले त अवश्य एकीकरण गर्थे नै होला । तर समयको मागअनुसार पृथ्वीनारायणले गरे, श्रेय उनैमा गयो । किनकि भारतमा शासन गरिरहेका अंग्रेजको दबदबा उत्तरतिरको हिमाली राज्यहरूमा परिसकेको थियो ।

इतिहासको व्याख्या आपूm अनुकूल होइन कि, विगतले बोलेको सत्यतथ्य अनुकूल हुनुपर्छ । एकीकरणको सिलसिलामा केही सानातिना गल्ती भएका होलान् । तर जानाजानी गरेको हो होइन भन्ने विश्लेषण गरी निचोडमा पुग्नुपर्छ । यसै प्रसंगमा पृथ्वीनारायणले बिसे नगर्चीजस्ता सामान्य व्यक्तिको सल्लाह लिनु पनि राज्य विस्तारित नै हो त ? भन्ने प्रश्न उठ्न सक्छ ।

देशको नाम नेपाल

गोरखा राज्य विस्तारित गरिएको हो भन्ने कुरा मान्ने हो भने पृथ्वीनारायणले नेपाल (काठमाडौँ) उपत्यकाको भक्तपुर एकीकरण गरिसकेपछि उनले आफ्नो देशको नाम १८२६ मंसिर १ गते किन ‘नेपाल’ घोषणा गरे ? किन गोरखा राखेनन् ? चाहेको भए राख्न सक्थे । यसबाट सीमा एकीकरण हो भन्ने पर्याप्त पुस्टाइँ हुन्छ ।

अर्काे कुरा राज्य विस्तारीकरण गरिएको भए विजित राज्य भाइ छोराहरूलाई बाँडेर उनीहरू नै राजा हुन्थे होलान् । तर यस्तो गरिएन । सीमा एकीकरण अभियानमा पूर्वको धनकुटा, तेह्रथुम, ताप्लेजुङको लिम्बुवान क्षेत्र एकीकृत गरिसकिएपछि पृथ्वीनारायणले भाइभारदारलाई राजा रजौटा नियुक्त गर्न सक्थे । तर त्यसो नगरी लिम्बूजातिको किपट क्षेत्र सदासर्वदा आफ्नो रितिथिति, कुल, धर्म, निष्ठा, परम्परा कायम राखी सन्तान दरसन्तान चलाउनु भनियो । त्यस क्षेत्रलाई विस्तारीकरण गरिएको मान्ने हो भने त्यहाँबाट उठति–पुठति हुने राजस्व केन्द्रको ढुकुटीमा जम्मा गरिएको हुनुपर्ने हो । तर त्यस क्षेत्रको पोत तिर्र्न नपर्ने व्यवस्था गरियो, मात्र सीमा एकीकरणमा समाहित गरियो ।

पृथ्वीनारायणले राज्य विस्तारीकरण गरेको भए उनको मृत्युपछि समसामयिक नभएको ठानी त्यो काम बन्द हुन्थ्यो होला । तर एकीकरण अभियान समयको माग भएकाले उनका सन्ततिले नेपालको सिमाना पूर्वमा टिस्टा पश्चिममा किल्ला काँगडा पु¥याएका थिए । तर अंग्रेजी शासकलाई हिमाली राज्य एकीकृत भई सशक्त भएको कुरा पचेन । बेलायती सामान तिब्बत पु¥याई नाफा कमाउन अवरोध पुग्यो । त्यसैले विशाल नेपालमाथि धावा गरी नेपाल–अंग्रेज सीमायुद्ध भयो । अन्त्यमा दुवै पक्षबीच क्षति भई सेना थाकेकाले अंग्रेजले शान्तिमैत्रीका रूपमा सुगौली सन्धि प्रस्ताव गर्दा नेपालले अन्ततः त्यसमा हस्ताक्षर ग¥यो । परिणामतः विशाल नेपालको एक तिहाइ भूमि गुम्यो । नेपाल एकीकरण नभई विस्तारीकरण गरी पृथ्वीनारायणका सन्ततिले भूमि बाँडीचुँडी लिएको भए अंग्रेजले त्यस्ता राजा रजौटालाई बिरालोले मुसालाई खेलाई खेलाई गरेजस्तै वशमा पारी नेपालको नामोनिशाना राख्ने थिएनन् । एकीकरण गरिएकै हुनाले अहिले नेपाल राष्ट्र रहेको छ । हामी नेपाली भएर बाँचिरहेका छौँ ।

सरकार प्रमुखको अभिव्यक्ति

एतिहासिक तथ्यलाई प्रमाणित गर्न हिजोआजका नेताले पनि आफ्नो अभिव्यक्ति उजागर गर्ने गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका हैसियतमा गत वर्ष पुस २६ गते भरतपुर नगरपालिकाको तेस्रो परिषद् उद्घाटन क्रममा भनेका थिए, ‘छिमेकी भारतमा अंग्रेजले सानासाना भुरेटाकुरे राज्यलाई निल्दै विशाल साम्राज्य खडा गरेको स्थितिमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरी बलियो र शक्तिशाली नबनाएको भए नेपालको अस्तित्व इतिहासबाटै लोप हुने खतरा रहेको थियो ।

उनको भूमिकालाई नकार्ने भन्ने प्रश्नै छैन । उनले नेपालको एकीकरण गर्न खेलेको भूमिकालाई सकारात्मक रूपमा लिनुपर्छ । पृथ्वीनारायणको भूमिकामा हामीले गौरव गर्ने विन्दु छ । भुरेटाकुरे राज्यबाट बलियो देश बनाउने कदम प्रगतिशील नै हो । उनको भूमिका नदेख्नु इतिहासको भौतिकवादी व्याख्याभन्दा बाहिर जानु र इतिहास विकासक्रमलाई इन्कार गर्नु हुन्छ । साना भुरेटाकुरे राज्यका कारण सिंगै देश र जनता आपत्मा परेका बेला पृथ्वीनारायणले एकीकरणको कदम चालेका थिए ।’ पृथ्वीनारायणको सालिक भत्काउनुपर्छ भन्ने उन्माद बोकेर हिँडेका आफ्नो पार्टीका कार्यकर्तालाई समेत त्यसो नगर्न आपूmले कडा निर्देशन दिएको कुरा प्रधानमन्त्रीले बताएका थिए । सरकार प्रमुखको यस्तो उद्गारका कारण यसै वर्षदेखि पुस २७ लाई एकीकरण दिवसका रूपमा मनाउन सरकारले सरकारी सार्वजनिक बिदा दिएको छ । यसबाट पृथ्वीनारायणको एकीकरण अभियानको पुष्टि भएको छ ।

इतिहासको तथ्य
यसै प्रसंगमा नेपाली इतिहासको खोजबिन तथा अध्ययन अनुसन्धानमा निरन्तर क्रियाशील प्रज्ञा–प्रतिष्ठानका सदस्य प्रा. दिनेशराज पन्तले ‘सत्य के हो भने पृथ्वीनारायण नभएको भए नेपाल भन्ने मुलुक नै हँुदैनथ्यो । नेपाल रहन उनको ऐतिहासिक योगदान छ । सुरुमा उनी राज्य बढाउने मनस्थितिमा थिए, जब अंग्रेज आउने र राज्य हडप्ने देखे, त्यसपछि मात्रै नेपाल एकीकरणमा लागेका हुन् । त्यसको प्रमाण मसँग छ ।’ भनेका कुरा गत वर्ष पुस २७ को यसै दैनिकमा प्रकाशित भएको थियो । यसबाट कुनै पनि विषय खोतल्न इतिहास अध्ययन मनन गर्नुपर्छ भन्ने कुरा पुष्टि हुन्छ । अतः इतिहासले एकीकरण अभियान नै हो भन्ने प्रमाणित गरेको छ ।

यी सबै ऐतिहासिक तथ्यका आधारमा के निचोड निकाल्न सकिन्छ भने– पृथ्वीनारायणले नेपालको सीमा एकीकरण अभियान सुरु गरेको यथार्थ कुरो हो भन्ने गर्दा कसैको देउता रिसाउँदैन, कसैलाई भूत चढ्दैन, देश भत्कदैन । बरू नेपालको भौगोलिक अखण्डता कायम भइरहन्छ । यो त इतिहास मनन गरी सत्यता स्वीकार गर्ने कुरो हो ।

 

Identification of Prithvi Narayan

            पृथ्वीनारायणको पहिचान

Labeda Survey PP Size

                                                                                                               Buddhi N Shrestha

समाजमा रहेका नागरिक र देशका प्रशासकको पनि बहुपहिचान हुन्छ। उनीहरुले समाज तथा राष्ट्रका लागि गरेको योगदान अलग–अलग पहिचानका रूपमा हेर्ने गरिन्छ। यस मानेमा पृथ्वीनारायण शाहको पनि बहुपहिचान रहेको पाइन्छ। विभिन्न राज्य–रजौटा, भुरे–टाकुरे, स–साना आकारमा छरिएर रहेका हिमाली राज्यहरूलाई एकीकरणको सूत्रमा बाँधी एउटा बलियो हिमाली राष्ट्र खडा गर्ने अभियन्ताका रूपमा पृथ्वीनारायण शाहको पहिचान छ।
नेपालको सिमाना व्यापक र सुदृढ बनाउने चाहना राख्ने चिन्तकका रूपमा उनको अर्काे प्रकारको पहिचान पाइन्छ। कतिपयले उनलाई राजाका रूपमा हेर्ने गरेका छन् तर उनको क्रियाकलाप अध्ययन गर्दा नेपाल राष्ट्र निर्माता, राष्ट्राध्यक्ष, राष्ट्रप्रेमीको पहिचानसमेत छ भन्नुपर्ने हुन्छ। अन्य कुनैले उनी एकीकरणवादी होइनन् तर राज्य विस्तारवादीका रूपमा रहेको पनि पहिचान गर्छन्। कसैकसैले उनलाई क्रूर शासक र कीर्तिपुरेको धार्नीका धार्नी नाक काट्ने व्यक्ति पनि भन्छन्। यसबाट समाजमा रहेका विभिन्न व्यक्तिको आ–आफ्नै कोणद्वारा उनको पहिचान गरिएको छ भन्न सकिन्छ। यी कुरा आफ्नै ठाउँमा छन् तापनि आफ्नो देहावसान हुनुअगाडि पृथ्वीनारायणले दिएको सन्देश र अभिव्यक्त गरेका दिव्यदृष्टिलाई मनन् गर्दा उनलाई उपदेशकर्ताका रूपमा पनि लिन सकिन्छ। त्यस्ता समयसापेक्ष उक्ति उपदेशमध्ये खासगरी आर्थिक र कूटनीतिक रणनीतिका केही प्रसङ्ग यहाँ उल्लेख गर्न खोजिएको छ।
आर्थिक रणनीति

‘देस (विदेश) का कपरा लगाउन मन्हाई गरिदिनु, आफ्ना देसका कपरा बन्न ज्यान्नालाई नमना देखाई बन्न लाउनु’ भन्ने पृथ्वीनारायणको विचारोक्तिलाई बिर्सेर सरकारले हेटौंडा कपडा कारखाना तथा ज्योति स्पिनिङ मिलजस्ता कलकारखाना बन्द हुन बाध्य तुल्यायो। यो उक्तिको मनसाय देशभित्रै कलकारखानाको विकास गर्नु हो भन्ने बु‰न सकिन्छ। तर सरकारले भएका कलकारखाना बन्द गर्दै त्यहाँका मेसिनरी पार्टपुर्जा कौडीको मोलमा लिलाम गर्‍यो। उदहरणार्थ, बाँसबारी छालाजुत्ता कारखानाको लिलामी मिसिनले अहिल्यै पनि भारतको गोरखपुरमा जुत्ता उत्पादन गरिरहेकै छ।
Picture

‘देशको जिनिस्, जरिबुटी विदेश पठाउनु र नगद खैंचनु’ भन्ने उक्ति भए तापनि नेपालमा भएको १० हजार १ सय ६७ प्रकारको वनस्पति, सुगन्धित बिरुवापात र जडीबुटी परदेशी आएर संकलन गरी नाममात्रको निर्यात शुल्क तिरी असीमित परिमाणमा लैजान्छन्। नेपालीले नै संकलन गरी प्रतिस्पर्धात्मक मूल्यमा विभिन्न देशमा निकासी गरिने व्यवस्था भए नेपालको आर्थिक हैंसियत केही भए पनि बढ्ने थियो।
‘खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जगामा सारिकन पनि खानी चलाउनु’ भन्ने उक्ति सम्बन्धमा यसको उल्टो रितले कार्यान्वयन गर्ने गरेको पाइन्छ। उदहारणार्थ, गत वर्ष नेपाल सरकारबाट अनुमति लिएर चिनियाँ कम्पनीले प्युठान र रोल्पाको सिमानामा पर्ने माडीखोलाको किमिचौर बगरमा सुनखानी खोजी कार्य सुरु गर्दा नगर्दै त्यहाँ अस्थायी टहरा बनाई बस्ती बस्न सुरु भइहाल्यो।

‘पानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जगामा सारिकन पानी चलाउनु, गर्‍हो बन्या जगामा घर भया पनि घर अरु जगामा सारी कुलो काटी खेत बनाई अवाद् गर्नु’ भन्ने पृथ्वीनारायणको विचारोक्ति हँुदाहुँदै पनि काठमाडौं महानगरभित्रका साबिक राजकुलोको नाम–निशान मेटिएको छ। धोबीखोला, टुकुचा जस्ता खोलाको अस्तित्व लोप हुनेगरी बस्तीले ढाकिसकिएको छ। उनको उक्तिलाई मार्गदर्शनका रूपमा लिइएको भए आज ट्राफिक जाम हटाउन सडक चौडा गर्ने क्रममा सर्वसाधारणको अर्बौ रुपियाँ बेकार खर्च हुने थिएन। नदीका डोलक्षेत्र हराभरा भएर सागसब्जी र खाद्यान्न प्रशस्त उत्पादन भई प्राकृतिक वातावरण पनि सन्तुलनमा रहने थियो। तथापि पृथ्वीनारायणकै उक्तिलाई सम्झना गरेर होला हाल सरकारले भू–उपयोग योजना लागु गर्न लागेको छ, जसमा कि कृषियोग्य वर्गीकरणमा परेका जमिनमा आवास तथा अन्य प्रयोजनका लागि उपयोग गर्न बन्देज लगाइने भएको छ।
जनता आर्थिकरूपमा सम्पन्न भए उनीहरूले सरकारलाई प्रशस्त राजस्व बुझाउँछन् र सरकार बलियो हुनसक्छ भन्ने हो। जनता समृद्ध भए सरकार सुदृढ हुन्छ, विदेशीको भर पर्नुपर्दैन तर सरकारले देशभित्रै कलकारखानाको प्रबन्ध गरी श्रम तथा रोजगारी सिर्जना गर्न नसकेकाले जनता आर्थिक मामिलामा पिल्सिएका छन्। सरकारको आर्थिक तथा उद्योगधन्दा नीति कमजोर रहेका कारण २०७० मंसिर महिनामा मात्रै ३९ हजार नेपाली श्रम बेच्न विदेश हान्निए। नेपाली युवायुवतीले विदेशमा श्रम गरेर रेमिटेन्स नपठाएको भए अहिलेसम्ममा नेपाली बजारमा नगद चल्तीफिर्तीमा हाहाकार भइसक्ने थियो होला।

कूटनीति

भारतमा शासन गरिरहेका अंग्रेजको पञ्जाबाट नेपाललाई जोगाउन पृथ्वीनारायणले अनेक रणनीति र कूटनीति अवलम्वन गर्ने सिलसिलामा भनेका थिए– ‘यो राजे दुई ढंुगाको तरुल जस्तो रहेछ, चीन वादशाहसित ठूलो घाहा (मित्रता) राषनु, दषिनको समुद्रका बादशाहसित घाहा ता राषनु, तर त्यो महाचतुर छ’ भन्ने उक्तिलाई देशको बागडोर सञ्चालनका लागि मार्मिक दृष्टान्तका रूपमा लिन सकिन्छ। हुन पनि हो, भारत या चीनमध्ये कुनै एकलाई नेपालले चिढाउने काम गर्‍यो भने नेपाल चिरिप्प नभए पनि हानि भने पुग्न सक्ने सम्भावना छ। त्यसैले नेपाल छुरीको धारमाथि हिँड्नुपरेको छ। चतुरोको फन्दामा परेर नेपाल छुरीको बीच धारबाट दक्षिणतर्फ चिप्लियो भने दक्षिणको चतुरोले नेपाललाई खेलाई–खेलाई आफ्नो बसमा पार्नसक्छ।
दक्षिणतर्फको मित्र चतुर छ भन्ने दृष्टान्त अन्य कुराबाट पनि अनुभव गर्न सकिन्छ। नेपालमा प्रत्येक नयाँ प्रधान मन्त्री हुनेबित्तिकै ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्न तातो निमन्त्रणा पठाइहाल्छ। हाम्रा सरकार प्रमुख पनि लुरुलुरु गइहाल्छन्। आफू भने १६ वर्षदेखि नेपाल आएका छैनन्। मित्रता भनेको त लगभग ‘रिसिप्रोसिटी’ का आधारमा सुदृढ हुने होइन र! उनीहरूको ध्येय होला, हामी बोलाउँछांै उनीहरू आइहाल्छन्। यहीँ हामी उनीहरूको कुरा सुनिहाल्छौं, जे सूत्र भन्नुपर्ने हो, उनीहरूलाई भनिहाल्छौं। अनि बेकारमा धाइधाइ नेपाल जान किन आवश्यक पर्‍यो र! सायद हाम्रा नेताहरुले पृथ्वी विचार बिर्सेर हो कि आफूमात्रै धाइरहेछन्।

उत्तरको मित्र पनि कम छैन। चीन–नेपाल सीमा–नाकाबाट रात–बेरात नेपाल छिरेका तिब्बतीलाई हिरासतमा लिएर चिनियाँ राजदूतावासलाई बुझाऊ, होइन भने उनीहरू जताबाट आएका हुन्, उतै फिर्ता पठाऊ भनेर दबाब दिने गरेको छ, चीनले। चीन भन्छ– ‘यस्ता तिब्बती शरणार्थी होइनन्।’ यसबाट नेपाल फसादमा परेको छ।
वास्तवमा अनियमित तरिकाले नेपालतर्फ घुस्ने तिब्बतीबारे चीनको आफ्नै कमजोरी छ, जुन उसले आजसम्म महसुस गरेको छैन तर नेपाललाई बोझ पारेको छ। तिब्बतीहरू नेपालतर्फ पस्न खोज्ने त चिनियाँ सीमा–नाकाबाटै हो। चीनले नेपाल छिर्ने नाकामा गतिलो ध्यान पुर्‍याएर तिब्बतीलाई त्यतै रोक्न किन सकेको छैन? चीनबाट उम्केपछि मात्रै उनीहरू नेपाल पस्ने हुन्। अर्कोतर्फ मौन चालमा नेपालको दक्षिणी भेगको आर्थिक विकास परियोजनामा चिनियाँ परामर्शदाता तथा कामदार संलग्न गराई भारतको कमजोरी बुझ्ने कार्यमा चीन विस्तारै अघि बढ्दै गरेको कुरालाई भारतले सुक्ष्म दृष्टिले हेर्ने गरेको छ। त्यसैले पृथ्वीनारायण शाहलाई नेपालले दुई ढुंगामध्ये एक ढुंगाले नकिचिने र दुईमध्ये एकमा नलहसिने रणनीति बनाउने व्यक्तिका रूपमा पनि पहिचान गर्न सकिन्छ।

यिनै परिप्रेक्षमा पृथ्वीनारायण शाहको दिव्यविचारलाई राष्ट्रवादको जगका रूपमा लिनु सान्दर्भिक हुन्छ। उनको चिन्तनका अवधारणा राष्ट्रिय नीतिको आत्मास्वरूप रहेको मान्नुपर्छ। उनले कतिपय नराम्रा कार्य पनि गरेका होलान्। उनको केही नकारात्मक पक्ष पनि होलान्। आखिर उनी पनि मानिस थिए। बत्तीसै लक्षणले युक्त सर्वगुण सम्पन्न प्राणी यस संसारमा हुँदैनन् तर अधिकांश क्रियाकलाप राम्रो गर्ने व्यक्तिलाई राम्रै दर्जाको मान्नुपर्छ। यसैले पृथ्वीनारायण शाहमा उनले प्रतिपादन गरेको कूटनीति र आर्थिक रणनीतिको प्रसङ्गमा नेपालको अस्तित्व, पहिचान र सामर्थ्यलाई एक सूत्रमा बाँध्न योगदान पुर्‍याएको व्यक्तिको पहिचान रहेको मान्न सकिन्छ।
हामीले उनलाई शाहवंशीय राजाहरुको पितापुर्खाका हैसियतमा होइन, नेपाल राष्ट्रको निर्माता, हिमाली राज्य एकीकरणका अभियन्ताका प्रतीकका रूपमा पहिचान गर्नुपर्छ। नेपाललाई कसरी अखण्ड राख्नुपर्छ र हाम्रो स्वाधीनता एवं स्वतन्त्रता कसरी बचाइराख्नुपर्छ भन्नेबारे सरकारी नीति निर्माताले पृथ्वीनारायण शाहको दिव्यविचार कार्यान्वयनमा ल्याउनुपर्छ।

Identification of Prithvi Narayan

 

Nagarik