Real Estate Scenario in Nepal

Himalayan Times Daily, Published: July 30, 2011

Ghost Laden in America

लादेनको भूत !

बुद्धिनारायण श्रेष्ठ
अमेरिकाको न्युयोर्कस्थित ‘टि्वन टावर’ मा २००१ सेप्टेम्बर ११ का दिन आत्मघाती हमला हुनुअगाडि अमेरिका अघिअघि र ओसामा बिन लादेन पछिपछि दौड्दै थिए । हमलामा २ हजार ९ सय ७४ जनाको ज्यान गएपछि लादेन अघिअघि र अमेरिका पछिपछि ‘रेस’ गर्दै रहे । दौडने क्रममा अमेरिकाले लादेन घरी अफगानिस्थानको तोराबोरा गुफामा लुकिरहेको छ भन्ने गथ्र्यो भने घरी उनलाई भेट्टाइएको हो तर भागे भन्ने समाचार प्रसारित गरिरहन्थ्यो । अर्कोतर्फ लादेन स्वयम्ले बोलेको भिडियोमा सन् १९८२ को युद्धताका लेबनानी ‘टावर’ नष्ट गरिएपछि अमेरिकाको ‘टि्वन टावर वल्र्ड ट्रेड सेन्टर’ लाई ढाल्न अभिप्रेरित भएको कुरा प्रसारित गरेका थिए । यस दौडका क्रममा अन्तत: पाकिस्तान इस्लामाबाद नजिकको एब्बोतावादस्थित घरमा अमेरिकी हमलाद्वारा २ मे २०११ का दिन लादेन मारिए । लादेन मारिए पनि उनको भूत अमेरिकामा रहेको कुरा यस पंक्तिकारले अनुभूति गरेको छ । लादेनको भूतद्वारा अमेरिका त्रसित रहेको पनि अनुभव भयो ।

क्यानडाको युनभर्सिटी अफ् कुबेक एट मोन्ट्रेलद्वारा आयोजित अन्तर्राष्ट्रिय सीमा सम्मेलनमा नेपालका तर्फबाट ‘बोर्डर फेन्सेस वाल्स एन्ड आइडेन्टिटी अफ नेपाल’ नामक कार्यपत्र प्रस्तुत गर्ने सिलसिलामा म एम्सटार्डमबाट डेल्टा एयरको उडानद्वारा अमेरिकाको बोस्टन जाँदै थिएँ । सो उडान भर्नुअघि एम्सटार्डममा ट्रान्जिट यात्रुलाई समेत निकै खोजीनीति र सोधपुछ गरिँदो रहेछ । आकाशमा पनि सिमाना हुने हुनाले हवाइजहाज अमेरिकी सीमाभित्र पस्नुअगावैको बिन्दुमा सुरक्षा सतर्कतास्वरूप यात्रुमाथि खानतलासी गरिएको हुनुपर्छ । बोर्डिङ कार्डसहित पासपोर्ट पेस गर्ने ठाउँमा लामो लाइन थियो । लाइन कछुवाको गतिमा सर्दै थियो । पाँचजना पछि रहेको मैले भित्र यस्सो हेर्दा अमेरिकी ग्राउन्ड स्टाफले प्रत्येक तीन यात्रुलाई तीनतिर लगेर केरकार गर्दै गरेको देखें । मभन्दा दुईजना अगाडिको मध्यएसियाली नागरिकजस्तो देखिने युवक यात्रुलाई जुत्ता र कम्मरपेटी फुकाल्न लगाएको पनि देखें ।

मेरो पालो आएपछि बोर्डिङ कार्ड र पासपोर्ट अमेरिकी स्टाफले लिएर हलको दाहिनेतिर लगे । पासपोर्टको फोटो र मेरो अनुहार पटक-पटक हेर्दै उनले सोधे- मिस्टर श्रेष्ठ, तपाईंलाई कस्तो छ, उडान कस्तो भयो ? उत्तर- राम्रो छ, उडान बेसै लाग्यो । यत्तिकैमा उनले प्लास्टिकको खोलभित्र रहेको नेपाली पासपोर्टबाट प्लास्टिक खोल झिके, ओल्टाई पल्टाई हेरे र पानाभित्रको पाँचवर्षे भिसा पढे । अन्य देशको पासपोर्टमा प्लास्टिक खोल हालिएको हुँदैन, हाम्रो देशमा प्लास्टिक खोल पनि दिन्छन्, त्यसैले खोल झिकेका होलान् भन्ने लाग्यो । यसपछि उनले अन्य प्रश्न पनि गरे :

तपाईंको हाते झोलामा के छन् ?

ल्यापटप, कागजको फाइल र दुई पुस्तक ।

राम्रो । तपाईंको कति थान चेक इन् ब्यागेज छन् ?

दुई थान । काठमाडौंदेखि बोस्टनका लागि ब्यागेज ट्याग पासपोर्टको पछाडि टाँसिएको छ ।

ट्याग हेर्दै, ती ब्यागेजमा तपाईंको मात्र सामान छ कि अरूको पनि सामान ल्याउनुभएको छ ?

मेरै मात्र सामान छ ।

ब्यागेज तपाईंले नै प्याक गर्नुभएको हो ? श्रीमतीले मद्दत गरिन् कि ?

प्याक मैले नै मात्र गरेको हुँ ।

ब्यागेजमा के के छन् ?

आफ्नो लगाउने लुगाफाटो, सम्मेलनमा वितरण गर्न मैले लेखेको केही प्रति पुस्तक, छोरीहरूलाई सारी, चोली र नातिनातिनीलाई क्यान्डी प्याकेट, नेपाली च्युरा र भुजिया दालमोट ।

के तपाईं आफैले मात्र प्याक गर्नुभएको हो भन्ने कुरामा निश्चिन्त हुनुहुन्छ ?

शतप्रतिशत निश्चिन्त ।

छोरीहरू के गर्दै छन् ?

दुवैजना फर्मासिस्ट हुन् । फर्मास्युटिकल इन्डस्ट्रीमा फर्मुलेसन साइन्टिस्टका रूपमा काम गर्दै छन् ।

तपाईंले कतिपटक अमेरिका भ्रमण गर्नुभएको छ ?

यो दसौंपटक हो । तपाईंको हातमा भएको पाँचवर्षे भिसामा तेस्रोपटक तपाईंको देशमा जाँदै छु ।

यसपटकको उद्देश्य ?

क्यानडाको ‘युनिभर्सिटी अफ् कुबेक एट मोन्ट्रेल’ले आयोजना गरेको अन्तर्राष्ट्रिय सीमा सम्मेलनमा नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने र छोरी ज्वाइँसित भ्याकेसन मनाउने ।

कति दिन बस्नुहुन्छ ?

करिब एक महिना ।

धन्यवाद, आरामदायी यात्रा गर्नुहोस् ।

यसपछि पासपोर्ट बोर्डिङ कार्ड लिएर अर्धकट्टी च्यातिने ठाउँतर्फ जाँदै गर्दा मभन्दा अघिका पश्चिम एसियाली मूलका यात्रुलाई अझै सोधिखोजी गरिरहेको देखियो । ती यात्रुको अनुहार रातोपिरो तर मलीनजस्तो देखिन्थ्यो । यस्सो अवलोकन गर्दा अमेरिकी मूलका यात्रुलाई औपचारिकता पूरा गर्दै बोर्डिङ हलतर्फ पठाएको देखियो । तर एसियाली र अफ्रिकी नागरिकलाई नानाभाातिका प्रश्न गरी केरकार गर्ने गरेको पाइयो ।

हवाइजहाजमा बोर्डिङ गर्न एरोबि्रजमाथि हिँड्दै गर्दा र सिटमा बसेपछि पनि दिमाग मथिङ्गल गर्दै रहें । धेरै वर्षपछि अमेरिकाले फेरि किन यस्तो खोजीनीति गरेको होला ? अमेरिकामा लादेनले गराएको सेप्टेम्बर ११ को घटनापछि सन् २००३ को अमेरिका भ्रमणमा यसभन्दा धेरै गुणा कडा गरिएको झट्ट सम्झना भयो । अब तिनै लादेनलाई मारिएपछि फेरि कडा गर्न थालिएछ भन्ने लाग्यो ।

अर्कोतर्फको विचार अयो- लादेनलाई मारिएपछि त यस्तो सोधिखोजी नगरिनुपर्ने हो । अमेरिकाको शत्रु ठानिएको र एफबीआईको मोस्ट वान्टेड सूचीको १० औं नम्बरमा रहेको ओसामा बिन लादेनको मृत्यु भइसकेपछि त कामतमाम भइगयो नि ! तर वास्तवमा कुरा बुझ्दा लादेनलाई अमेरिकाले पाकिस्तानी अधिकारीलाई थाहै नदिई इस्लामाबादनजिकै एब्बोतावादमा मारे तापनि लादेनको भूतले अमेरिकालाई सताएको रहेछ । यसैले ट्रान्जिट हवाईयात्रुलाई समेत शंकाको दृष्टिले हेर्दो रहेछ भन्ने लाग्यो ।

वास्तवमा अमेरिकालाई लादेनको भूत सवार भएजस्तो छ । पारम्पारिक सोचाइअनुसार मानिस अकर्तव्यमा परी मरे, त्यो भूतका रूपमा रहन्छ । यो सोचाइ ठीक हो या होइन भन्ने कुरो आफ्नै ठाउँमा छ । तर अमेरिकालाई लादेनको भूतले सताएकै जस्तो छ । भूतले सताउनुमा केही कुराले भूमिका खेलेको हुनसक्छ ।

प्रथमत: अमेरिकी फौजको कारबाहीमा लादेनले खास प्रतिवाद गर्दानगर्दै चालीस मिनेटको अपरेसन दौरानमा उनी मारिएकोमा विश्वका केही देशले प्रतिवाद नगर्ने शत्रुलाई मार्नु हुन्थेन, पक्राउ गर्नुपथ्र्यो भनेकोमा अमेरिकालाई चिन्ता लागेको हुनुपर्छ । ती देश भन्छन्- इराकका तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई माकुरे गुफामा पक्डेपछि अमेरिकाले तिनलाई ट्रायल गर्‍यो । अन्तत: उनलाई दोषी ठहर्‍याइएपछि मात्र फाँसी दिइयो । तर लादेनलाई ट्रायल नगरीकनै मारियो । यस्तो भूतले अमेरिकालाई पिरोलेको हुनुपर्छ ।

दोस्रो, लादेन मारिएपछि उनको शव उनको राष्ट्रियता भएको देश तथा नातेदारलाई जिम्मा लगाउन त के, हेर्न र अन्तिम श्रद्धाञ्जलि गर्नेसम्म समय दिइएन । मृत शरीरलाई २४ घन्टाभित्रै अरेबियन सागरमा अन्त्येष्टि गरी शवलाई समुद्रमा समाधिस्थ गरियो । यस क्रममा मुस्लिम धर्मअनुसार पारम्पारिक विधि भने अपनाइएको थियो ।

तेस्रो, आफ्नो विशेष सैनिक दस्ताले लादेनमाथि आक्रमण गर्नुपूर्व अमेरिकाले पाकिस्तानलाई सुइँकोसम्म पनि दिएन । जुन देशको भूमिमा विदेशी फौज परिचालन गरिन्छ, त्यस देशले प्रत्यक्ष अप्रत्यक्ष तरिकाले सूचना पाउनुपर्ने हो । तर सूचनाको गन्धसमेत नदिइएको हुँदा अमेरिकालाई

‘न्याउरी मारी पछुतो’ भनेजस्तो परी अमेरिकामा लादेनको भूत सवार भएको पो हो कि ?

चौथो, सन् १९७९ देखि १९८९ सम्म अफगानिस्तानमा चलेको सोभियत युद्धमा अमेरिकाले लादेनलाई पैसा र हतियार मात्रै नभई सैनिक तालिम पनि दिएको थियो । यसरी आफूले उपयोग गरेको लादेन आफैंविरुद्ध खनिएको र त्यस्तालाई बिनासोधपुछ एकाएक मार्न पुगिएकोमा कम से कम ट्रायल गरेर मार्नुपथ्र्यो भन्ने धारणामा लादेनको भूतले अमेरिकालाई गाँजिरहेको हुनुपर्छ ।

हुन त अमेरिकालाई पनि आफ्नै समस्या थियो होला । प्रतिवाद नगर्ने शत्रुलाई पक्रेर ट्रायल गर्दा उनका अनुयायीले अर्कोतर्फ मकै भुट्लान् भन्ने शंका थियो होला । लादेनको शव धेरै दिन राखेर अथवा उनको परिवारलाई अन्त्येष्टि गर्न दिइएको भए विश्वका मुस्लिम देशहरूले अमेरिकाप्रति कस्तो रवैया अपनाउँथे होला भन्ने पनि आफ्नै ठाउँमा छ । लादेनमाथि हमला गर्नुअगावै पाकिस्तानलाई संकेत दिइएको भए सूचना चुहिन पनि सक्थ्यो होला । आफैंले सैनिक तालिम दिएको व्यक्ति

आफ्नै मुठीभित्र राख्न सक्नुपथ्र्यो । तर, नसकेको हुनाले उनलाई मारिसकेपछि पनि लादेनको भूतले अमेरिकालाई सताइरहको आभास हुन्छ ।

अमेरिकी मानसिकतामा पसेको लादेनको भूतको हावाले अन्य कतिपय देशलाई पनि छोएको भान हुन्छ । यस्तो हावा भारतमा पनि पसेको रहेछ । दिल्लीबाट अमेरिका गन्तव्य भएका यात्रुमा लादेनको काँचोवायु पसेको छ कि भनी निकै सतर्कताका साथ शरीर खानतलासी गरिँदो रहेछ । हातेझोला र पोकापुन्तुरो करिब टकटक्याएरै जाँचिँदो रहेछ ।

हुँदाहुँदै लादेनको भूतको हावा काठमाडौंसम्म पनि आएको रहेछ । म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चालीसौंपटक विदेश यात्रामा गएको छु । तर यसपालि भने यात्रुलाई कम्मरपेटी, जुत्ता, घडीसम्म पनि फुकाल्न लगाई वालेट, साँचो, मोबाइल फोनसमेत प्लास्टिक टोकरीमा हाली फगती जीउ सुरक्षाद्वारमा पठाइने नयाँ चलन अपनाइएको अनुभव गर्न पाइयो । लादेनको भूतको हावा कति कडा रहेछ भन्ने यसैबाट जान्न सकिन्छ ।

यी कुरा जे जस्तो भए तापनि मरिसकको लादेनको दास्रो जन्मको रूपमा कोही कतै आफ्नो सिमानाभित्र पस्ने त होइन भनी अमेरिकालाई चिन्ता रहेको छ । एउटा लादेनले जुम्ल्याहा टावर ढलाइदियो । अर्को लादेनले पेन्टागन र ह्वाइट हाउस ध्वस्त पार्ने हो कि ? भनी अमेरिकी सीमाभित्र औपचारिक प्रक्रिया पुर्‍याई पस्ने आदर्श ट्रान्जिट यात्रुमाथि पनि शंका गरिँदै छ । यसै शंकाको भूत अमेरिकाभरि रुमलिइरहेको छ । विश्वको उन्नतशील र समृद्धशाली देशलाई लादेनको भूतले गाँजिरहेको छ । यो भूतबाट अमेरिकाले कहिले छुट्कारा पाउने हो सायद उसैलाई पनि थाहा छैन होला ।

Kalapani in the eyes of local aborigines